13th April | 2021 | Tuesday | 6:27:03 PM

परिहासनीति उर्फ जोक्करतन्त्रमा, भाष्कर क्रान्ति !

बद्रीप्रसाद दाहाल   POSTED ON : माघ २४, २०७७ (८:५८ AM)

परिहासनीति उर्फ जोक्करतन्त्रमा, भाष्कर क्रान्ति !

यतिखेर नेपालको राजनीति बाजनीति, जोक्करतन्त्र, परिहासतन्त्र, जुलुङ्गा नृत्यमा मञ्चित हुँदै तुच्छ विदुषकहरूको राजले उचाइ चुमिरहेको छ । यस क्रममा दोतिहाइको दम्भोक्तिमा छँटाएको नेकपाको सरकार आआफ्ना स्वार्थमा तुष्टि नपाएका कारण संविधानमै व्यवस्था नभएको प्रमको अधिकार प्रयोग गरेर देशलाई जंगलीराजमा भास्दै छ । खर्बौं लगानीमा झन्नै एक दसक लगाई ल्याएको जनताको विधानमाथि अनधिकार चेष्टासाथ हमला हुन पुग्यो । उनीहरूको लहड एवं सनकमा संघीय संसदको विघटन गरेर नेकपा भनिने दल आन्तरिक झगडा र रगडा तगडासित चलाइरहेको छ । सत्ताको मञ्चमा राजनीतिलाई आधार बनाएर नौटंकी मच्चाइरहेको यो दलका शीर्ष र तीर्थ हुँ भनी अभिमान बजार्नेहरू सुरापानले बेसुर भएका नशाबाजजस्ता बनेर परस्परमा आक्षेप, जुगुप्सा, पारुष्य, गालीगलोज, निन्दा, घृणा र वाक्वाँणले भरिएको भेलाको मेला लगाइरहेका छन् । 

‘अभिमानं सुरापानं, गौरवं रौरवं यथा । 

प्रतिष्ठा शुकरी विष्ठा, त्रयं त्यक्त्वाहरिं भजेत्’ ।। 

अर्थात् अभिमान वा घमण्ड सुरापानजस्तै नीच हो । मै ठूलो हूँ, म नै राज्यको सर्वेसर्वा हूँ भनेर तामस भावको गौरवले मडारिनु रौरवजस्तै नरकका भासिनु हो । मजस्तो प्रतिष्ठित र मानित कोही छैन भनेर मानमा माद भर्ने मनोभाव र क्रियाकलाप सँुगुरको विष्ठासमान हुन्छ, त्यसैले दर्पले चुलिएर अहंमा फुलिएर हिँड्न छोडी हरि अर्थात् विवेकको भजन गर भनी नीतिले बताएको कुरा कहिल्यै सम्झिएनन् यी सिद्धान्तहीन अवसरवादका नाइकेहरूले । 

वेद, उपनिषद् गीता, महाभारत, रामायण, आयुर्वेद, ज्योतिष, दर्शनशास्त्र, तर्कशास्त्र गोलघरमा बस्दा, थुनाहामा रहँदा वा वनवास छँदा पानी पारेको भनेर टुक्काबाज, मुक्काबाज, बमबहादुर र बन्दुककमलहरूले धाक छोडे पनि राज्य कसरी चलाउनुपर्छ भन्ने नीतिमा भीति देखेकैले यो दशा आइलागेको हो कि भनेर जनतामा खैलाबैला मच्चेको छ । प्लेटो, माक्र्स, लेलिन, माओ, होचिमिन्ह, किमइलसुङको सिद्धान्त र राज बुझ्ने हूँ भनी जुँगा ताउ लाउनेहरू महाजुकाजस्ता निर्घृणीबनेर देशै चुसिसकेका छन् । त्यसैले त प्रश्न कलियुगे यक्षहरूमा उत्पन्न भइरहेको छ । 

राहु, केतु, शनिश्चर, भ्रामरी, उल्का र संकटाजस्ता देखिएर जनार्दनका प्रतिमूर्ति जनतामा यतिविधि खेलाँची, ठट्टा, दिल्लगी, हँसीमजाक र परिहासवेदी बन्न इतिहासले छुट देला ? ‘गप्पडको थप्पड, लालचीको तमासा’ भनेको यही पो रहेछ । गफाडीका साथ गफ, जुवाडेका साथ जुवा त सुहाउला तर संविधान, जनता र देशसित यतिविधि परिहास गर्न पाइन्छ ? शीर्षको पगरी केही चाकरीवाजले ढल्काइदिएका बडाहरू ‘गन्थनबाटै मन्थन निक्लन्छ’ भनेर जुरे भई भारेभुरेका अघि हुक्काँ गरेर तिल्के, तारे र काले साँढेहरूलाई जितेको जित्यै पो छन् त हे हरि ! 

सानामा हाम्रा बा भन्नुहुन्थ्यो ः बाबु कान्छा, गफीका कुरा र लोभीका पुरामा विश्वास नगर्नू है । ठ्याक्कै अहिलेका नेपालका शीर्षस्थबाट चिप्लिएर पादस्थ बनेका गफाष्टकहरूका लमिलस्टक झुटा कुरा कहिल्यै सकिँदैनन् । यतिखेरको नेपालका जोक्करहरूको व्यवहार यो नीति श्लोकसित काटीकुटी मिलेको छ ।

यत्र द्यूत तनय मदिरापान वेश्याविलासः ।

उत्कोचार्थे प्रथित विभवाः, तुन्दिलाः राजनीतिः ।।

निष्कर्माणोऽखिलधनिगणाः, शोषणस्यावतारः ।

तद्राज्ये किं क्षणमपि वसेन् ? सोन्नतिः शान्तिदेवी ।।

अर्थात्—(जहाँ जुवा खेल्ने, जाँडरक्सी खाने र वेश्यावृत्ति गर्ने काम निर्वाध हुन्छ । जुन देशमा राजनेतामा दरिएकाहरू भ्रष्टाचार घुसखोरी गरेर अकुत सम्पत्ति कमाई मोटाघाटा चिल्ला सुकिला बनेका छन्, जहाँ पुँजीपतिहरू उद्योगधन्दा केही नगरी जनताको शोषणमै कालो बजार खडा गरेर मग्नमस्त रहन्छन् त्यस्तो राज्यमा शान्ति र समुन्नतिकी देवी एकैछिन वा एक दिन के बस्छिन् र !) यही हबिगतमा आज हामी नेपाली पुगिरहेका छौं । स्वस्थ परम्परा, आस्था, मूल्यमान्यता, संस्कृति, धर्म, सदाचरण, आत्मीयता, नैतिकता सबैतिर क्रान्तिको नाममा हमला बोलिएको विदूषित परिवेश पो भयो त वा विदूषकहरूको । 

आए जोक्कर खाए ओख्खर भनेझैँ भयो देशको ढुकुटी । चोक्कर पनि नछोड्ने जोक्करका हुलले उटुंग्याहा बनेर हँसाउने, ठट्टामा गट्टा खेल्ने, छिद्रान्वेषी बनेर गर्हता छेप्ने, मात्सर्यका कुण्ड वक्रतुण्ड भएको दाबी गरेर पूजा नैवेद्य धूपदीप मलाई नै चढाउनुपर्छ भनी गालीपुराणका वेदव्यास हूँ भनी गिडगिडाइरहेका छन् । त्यसैले त यो विदुषित, विद्रुप, जुलुङ्गा, जोक्कर, उटुंग्याहा र परिहासवेदी छेदी वृत्ति जहाँ परिहासवाद भद्दा जोकतन्त्रमा नाचेको छ त्यसको समूल उपचार आवश्यक छ । यस्तो खिसिट्युरीको फटाहा विदुषकतन्त्र देशले थाम्न सक्दैन । राजनीतिबाट चिप्लिएर रागनीति, कागनीति, खागहमला अरिंगालतन्त्र सभ्य देशले मन्त्र बनाउन चाहँदैन । 

‘राजनीति’ जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको रक्षामा प्रतिबद्ध हुने, राज्यको शासन व्यवस्थाको निर्धारण गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिहरूको सन्तुलन मिलाई ठीक तरिकाले अन्य विविध कार्य गर्ने श्रेष्ठ र उदात्त नीति हो । सारांशमा भन्नुपर्दा देशका सबै नागरिकहरूको नाना, छाना, खाना, शिक्षा, स्वास्थ्य र स्वतन्त्रताको पूर्ण दायित्व लिने महान् राजाचिन्तनको नीति नै हो राजनीति । राजनीतिको मर्म बुझेरै राजनीतिमा वैज्ञानिक भौतिकवाद प्रणयन गर्ने कार्लमाक्र्सले यसरी बोले–क्रान्तिपछि ‘राजनीति’ सामाजिक विकास र पुनःस्थापनाको साधन बन्न जान्छ । अनि राजनीतिको मुख्य काम समाजमा परिवर्तन ल्याउन चेतनालाई जागृत गर्नुपर्छ । 

हो, यतिखेर क्रान्तिपछिको नेपालको राजनीति नेपाली समाजको बहुमुखी विकास, पुनःस्थापना सही परिवर्तनको जागरणमा उन्मुख हुनुपर्नेमा त्यसको विपरीत धारतिर पु¥याउने कोसिस यहाँका राजनीतिक दल त्यसमा पनि विशेष गरेर सत्ताधारी दलले गरिरहेको छ । त्यहीको गलत फल आजको अन्योलग्रस्त विधि भएर विधिविहीनता, दण्ड र पुरस्कारको सिद्धान्त भएर पनि अराजकतामा पु¥याइएको छ । यसरी खल नेतृत्वको विदुषकहरूको परिहासवाद र तुच्छ जुलुङ्गाहरूको जोक्करतन्त्र इति गर्न एउटा शान्तिपूर्ण भाष्कर क्रान्तिको अध्यायको अथ गरौं, यही इतिहासको माग हो । अस्तु

Views: 234