13th April | 2021 | Tuesday | 6:26:15 PM

नेपालमा कम्युनिष्टहरूको नियति

डा. राजकुमार राई   POSTED ON : माघ २५, २०७७ (९:०८ AM)

नेपालमा कम्युनिष्टहरूको नियति

नेपाली कांग्रेसको पूर्ववत् पार्टी नेपाली राष्ट्रिय कांग्रेस २००३ सालमा स्थापना भएको तीन वर्षपछि २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टी (नेपाल कम्युनिष्ट पार्टी) को स्थापना भएको थियो । कम्युनिष्ट पार्टी गठन गर्नुअघि उनी पनि नेपाली राष्ट्रिय कांग्रेसकै सदस्य थिए । २००७ सालमा नेपाली कांग्रेसले प्रजातन्त्रका लागि सशक्त आन्दोलन गर्दा कम्युनिष्टहरूको खासै भूमिका थिएन । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा १०९ स्थानमा नेपाली कांग्रेसले ७४ स्थानमा विजय हासिल गर्दा नेपाल कम्युनिष्ट पार्टीले जम्मा ४ स्थानमा मात्र विजय हासिल गरेको थियो । 

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जनप्रतिनिधिमूलक सरकारलाई अपदस्त गरी राजनीतिक ‘कू’ गरेर दलहरूलाई प्रतिबन्ध गरेपछि नेपाल कम्युनिष्ट पार्टी तीन धारमा विभाजित भयो । एउटा धारले राजाको कदमलाई सहयोग गर्यो भने अरू दुईवटा धारमध्ये एउटा धारले संघर्ष गरेर संसद पुनःस्थापना गर्नुपर्ने मुद्दा बोक्यो भने अर्को धारले संविधानसभाको वकालत ग¥यो । यसरी कम्युनिष्टहरू तीन गुटमा विभाजन भएपछि उनीहरूको प्रभाव स्वतः कमजोर भइरहेको अवस्थामा झापाका केही युवा कम्युनिष्टहरूले २०२८ सालमा केही जमिन्दारलाई सफाया गर्ने कामको थालनी गरे । त्यसैको जगबाट नेकपा (माले) को जन्म भयो र पछि यो एउटा सशक्त कम्युनिष्ट पार्टी बन्यो ।

नेपालमा कम्युनिष्ट पार्टी टुक्रिने संस्कारै बसेको थियो । विशेष गरेर व्यक्तिगत मनमुटाव र जडशूत्रवादी सिद्धान्तका कारण उनीहरू सजिलै टुक्राटुक्रामा बाँडिन्थे । २०४६ सालको संयुक्त जनआन्दोलनमा यी टुक्राटुक्रा भएका कम्युनिष्ट पार्टीहरूलाई जोड्ने काममा त्यसबेलाका क्रान्तिका कमाण्डर गणेशमान सिंहले सहयोग गर्नु भएको थियो । ती हरेक टुक्राका नेतृत्वसित संवाद गर्न व्यावहारिक अप्ठ्यारो पर्ने भएकाले उहाँले भन्नुभयो कि तपाइँहरू एउटा मोर्चा बनाउनुहोस् र त्यो मोर्चाको नेतृत्वसित संवाद गर्न सजिलो हुन्छ । सोही सल्लाहबमोजिम नेकपा एमालेको जन्म भयो । र यही पार्टी कम्युनिष्ट पार्टीहरूको मूलधार बन्न गयो । 

२०४६ सालको जनआन्दोलन सफल भएर मुलुक प्रजातन्त्र पुनःस्थापना भएपछि मुलुकमा संवैधानिक राजसंस्थासहितको संसदीय शासन प्रणाली लागू भयो । यो व्यवस्थासँग असन्तुष्ट भएका केही ससाना कम्युनिष्ट पार्टीहरू मिलेर बनेको नेकपा (माओवादी) ले २०५२ सालमा सशस्त्र आन्दोलन सुरु ग¥यो । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनपछि शान्ति प्रक्रियामा आई २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी) सबैभन्दा ठूलो पार्टी बन्न सफल भयो । त्यसपछि यो पार्टी फेरि विभिन्न टुक्रा बन्दै जोडिँदै गयो । पछि नेकपा माओवादी केन्द्र नाम गरेको नेकपा माओवादी मूलधार बन्यो । जुन पार्टीले २०७४ सालको आमनिर्वाचनमा नेकपा एमालेसँग मिलेर निर्वाचनमा भाग लिँदा झण्डै दुई तिहाइ बहुमत ल्याउन सफल भयो । 

नेपाल कम्युनिष्ट पार्टीले झण्न्डै दुई तिहाइ ल्याएपछि राजनीतिक स्थिरता हुने भयो, सरकार पाँच वर्षलाई स्थिर हुने भो, नेपालीहरूले शुख, शान्ति र समृृद्धिको अनुभूति गर्न पाउने भए भनेर अधिकांश नेपालीहरूले सोचेका थिए । उनीहरूप्रति ठूलो आशा र भरोसा गरेका थिए । तर अहिले उनीहरूभित्रको भाँडभैलो हेर्दा उनीहरूको यो सब नौटंकीमात्र रहेछ भन्ने बुझिन्छ । यसबाट धेरै प्रश्नहरू गर्न सकिन्छ । यही बिन्दुबाट उनीहरूको पतन अवश्यम्भावी देखिन्छ । अब नेपालमा कम्युनिष्टहरूलाई कसैले पत्याउनेवाला छैनन् । कम्युनिष्टहरू भनेको झुटको खेती गर्न सिपालु ढोंगीमात्र हुन् भन्ने प्रमाणित भइसक्यो । उनीहरूका ढोंगको पर्दाफास भइसक्यो । उनीहरू छिमेकी मुलुक भारतलाई गालीगलौज गर्दै उग्रराष्ट्रवादको कुरा गर्थे । उनीहरूका शीर्षस्थ नेताहरूको व्यवहारबाट उनीहरूले भन्ने गरेको राष्ट्रवाद नक्कली राष्ट्रवाद रहेछ भन्ने छर्लंग भयो । 

माक्र्सवादी सिद्धान्तलाई आत्मसात गर्दै स्थापना भएको कम्युनिष्ट पार्टी अहिले माक्र्सवादी सिद्धान्तबाट पूरै विमुख भइसकेको देखिन्छ । प्रारम्भ कालमा उनीहरू वर्ग संघर्षका कुरा गर्थे । सर्वहारा गरिब श्रमजीवीका लागि सामाजिक न्याय र आर्थिक सामाजिक समानताका कुरा गर्थे । धनी र गरिबबीचको असमानतालाई वर्ग संघर्ष गर्ने भन्दै धनीको सम्पत्ति जफत गरेर गरिबलाई बाँड्ने जस्ता क्रान्तिकारी कुरा गर्थे । तर राज्यको ढिकुटीमा पुगेपछि जायज÷नाजायज तरिकाले आफैँ धनी बन्न तँ छाड् म छाड् गरिरहेका देखिन्छन् । त्यसैले कम्युनिष्टहरूलाई कमाउनिष्ट भन्ने गरेको सुनिन्छ । सामाजिक न्यायका सन्दर्भमा पनि उनीहरूले आफूलाई सुधार्न सकेका छैनन् । दलितहरूलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको छैन । 

उनीहरू आफूबाहेक नेपाली कांग्रेसलगायत सबै विपक्षीलाई बुर्जुवा देख्थे । नेपाली अर्थतन्त्रलाई दलाल पुँजीवादको संज्ञा दिएर खुब विरोध गर्थे । अहिले सत्तामा पुगेपछि दलाल पुँजीवादको असली मतियार उनीहरू आफैं बनेका छन्, उनीहरू आफैं बुर्जुवा बनेका छन् । 

त्योभन्दा अझ एक कदमअघि बढेर क्रोनि क्यापिटालिज्मको मतियार हुन पुगेका छन् । जहाँ सत्ताधारीका आफन्त तथा साथीभाइहरू र व्यापारीबीच बिचौलियामार्फत अपवित्र साँठगाँठ हुन्छ र राज्यशक्तिको दुरुपयोग गरी दुवै पक्षले अकुत सम्पत्ति जम्मा गर्छन् । उदाहरणका लागि अजय सुमार्गी, झापाका दुर्गा प्रसाई, ओम्नी समूह र विभिन्न धनाड्य व्यापारीहरूसँग उनीहरूको उठ–बस सम्बन्धलाई लिन सकिन्छ । यसै सन्दर्भमा उनीहरूलाई माफियाहरूको मतियार भएको भन्ने आरोप लागेको पाइन्छ । 

अब नेपाली कम्युनिष्ट पार्टीहरूले नयाँ पुस्तालाई आकर्षण गर्न सक्दैन । किनकि युवाहरूलाई चाहिने रोजगारीको अवसर दिने उनीहरूसित कुनै दृष्टिकोण र योजना छैन । भएका उद्योग, कलकारखानाहरूमा मजदुरका हकहितको नाममा हड्ताल घेराउ आदि गरेर अन्ततः मजदुरहरूको रोजगारीमा तालाचाबी लगाइसकेका छन् । अहिले समय धेरै परिवर्तन भइसकेको छ । आजभन्दा ३०–४० वर्ष पहिलाजस्तो सामाजिक न्याय र समानताको कुरा गरेर जनतालाई हात लिने समय छैन । 

त्यो बेलामा गाउँघरमा सामन्ती संस्कार थियो । सामन्तहरूको अन्याय अत्याचारको विरोध गरेर गरिब निमुखा जनतालाई हात लिन सजिलो थियो । अहिले समाजमा धेरै परिवर्तन भइसकेको छ । त्यो बेलामा गाउँघरमा हुने सामन्ती चरित्र अहिले शहर पसेको छ । सामन्ती संस्कारको रूप बदलिएको छ । पहिला जग्गा जमिन धेरै हुने जमिन्दारहरू सामन्ती हुन्थे । अहिले त्यस्तो छैन । अहिले शहरमा चलाइएका निजी स्कुल, कलेज, अस्पताल र वित्तीय संस्थाहरू नवसामन्त भएका छन् र ती संस्था चलाउने अधिकांश सञ्चालकहरू कम्युनिष्ट नै छन् । यसको मतलब अहिले उनीहरू आफैं सामन्त भएका छन् । 

कम्युनिष्टहरूको अर्को विशेषता भनेको उनीहरूमा स्थिरता हुँदैन । ढुलमुले प्रवृत्ति ज्यादा हुन्छ । जस्तै ः उनीहरूको सिद्धान्त बदलिइरहेको हुन्छ, पार्टीको नाम बदलिइरहेको हुन्छ । उनीहरू कहिले जनवाद, कहिले नौलो जनवाद, कहिले जनताको बहुदलीय जनवाद र कहिले जनवादी केन्द्रीयता भन्छन् । अरू कम्युनिष्ट पार्टीहरूको नाम फेरिनु कुनै नयाँ कुरा थिएन । तर ३० वर्ष पुरानो भइसकेको नेकपा एमाले पनि केही नेताहरूको मिलोमतोमा चैट पारिनु चानचुने कुरा होइन । यसबाट पूर्वएमालेका लाखौं कार्यकर्ता र शुभचिन्तकहरूको भावनामा ठूलो चोट लागेको हुनु पर्छ । 

उनीहरू माक्र्सको द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने हुनाले उनीहरूको चरित्र नै द्वन्द्व गरिरहनुपर्ने खालको हुन्छ । पटकपटक द्वन्द्वमा फसाएर मुलुकलाई भडखालोमा पार्ने, अशान्तिको भुँमरीमा फसाउने र हिँसा भड्काउने गरिरहेका छन् । विपक्षी पार्टीहरूसित द्वन्द्व गर्न आवश्यक नभएकाले पछिल्लो समय उनीहरू आफैं घर झगडा गरिरहेका छन् । र यो घर झगडा आफूहरूभित्रको बेमेलले मात्र नभएर पक्कै बाहिरबाट निर्देशित भएको हुनुपर्छ, उनीहरूको आफ्नो विवेकको प्रयोग भएको छैन भन्ने धेरैको अनुमान छ । नेपाली कम्युनिष्टहरूको चरित्र भनेको अरूलाई विभिन्न आरोप लगाउँदै तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गर्नु पनि हो । अहिले केपी ओली र प्रचण्ड–माधवहरूबीच त्यही भइरहेको छ । उनीहरूले अरू विषयहरूमा आफ्नो रंग फेरिसकेको भए पनि गालिगलौजको भाषामा भने फेर्न सकेका छैनन् । 

आफ्नै व्यवहारले नेपाली कम्युनिष्टहरू अहिले जटिल मोडमा पुगेका छन् । मुलुकभित्र र अन्तराष्ट्रिय क्षेत्रमा उनीहरूले विश्वास गुमाएको अवस्था छ । सरकारमा रहँदै गर्दा जनताका लागि अति आवश्यकीय क्षेत्रहरू शिक्षा, स्वास्थ्य र रोजगारको अवसरका बारेमा के गरे ? जनजीविकाको सवालमा के गरे ? ठूलाठूला भ्रष्टाचारीहरूलाई कस्तो कारबाही गरे ? जनतालाई सुशानको प्रत्याभूति कत्तिको गराए ? भन्ने खालका सवालहरू उनीहरू सामु तेर्सिएका छन् । जनचाहनानुसार आफूलाई जनतासँग जोड्न नसक्ने पार्टीलाई ढिलो चाँडो जनताले नै बढार्छ । भारतको वेष्ट बंगालमा सन् १९७७ देखि २०११ सम्म ३४ वर्ष अनवरत शासन गरेको कम्युनिष्ट पार्टी अहिले नाजुक अवस्थामा छ । 


Views: 275