13th April | 2021 | Tuesday | 6:46:34 PM

अर्थतन्त्रमा क्लिनफिडको योगदान

कौशिक नवराज   POSTED ON : माघ २६, २०७७ (९:५४ AM)

अर्थतन्त्रमा क्लिनफिडको योगदान

नेपालमा विज्ञापन व्यावसायीहरूले करिब १२–१५ वर्षदेखि उठाउँदै आएको विषय अन्तत सरकारले दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू क्लिनफिड भएरमात्रै प्रसारण हुनपर्छ भनेर आजभन्दा १२–१५ वर्षअघि कुरा अठाउँदा त्यो बेला नेपालमा एनालग सिस्टम थियो । च्यानलहरू पनि एचडी फर्मेटमा सञ्चालिन हुन्थे र नेपालमा भारतीय माइक्रोम्यानेज हुन्थ्यो तर सोही विषय सरकारले आमसञ्चार नीतिमा समावेश गरेर २०७३ सालमा क्लिनफिडसम्बन्धी विषय समावेश गर्दासमेत केबल व्यावसायीहरूको विरोध र भारतीय ब्रोडकाष्टहरूले राजनीतिक लेभलमा प्ले गरेर सो विषयलाई तुहाइदिएका थिए र सरकारले के महसुस ग¥यो भने अब नेपालमा क्लिनफिड हुने हो भने नीतिमा होइन बलियोसँग ऐनमै समावेश गरेर ल्याउन भनेर विज्ञापन नियमन गर्ने ऐनमा क्लिनफिडको कार्यान्वयन डेटलाइनसमेत तोकेर अगाडि ल्याएको बुझ्न सकिन्छ ।

क्लिनफिड राष्ट्रवादमात्रै नभएर यो नेपालको आवश्यकता पनि भइसकेको थियो । नेपालमा विदेशी च्यानलहरूको दबदबा र दोहोरी नीति थियो । नेपाली ग्राहकबाट टेलिभिजन हेरेवापत रकम पनि असुल्ने अनि सोही च्यालनमा विज्ञापन समावेश गरेर दोहोरो आम्दानी गर्दै आइरहेका थिए । अझ भारतीय मल्टिनेसनल कम्पनीका मालिकहरूले त के सोच्थे भने नेपालमा नेपालीहरूले अधिकांश भारतीय टेलिभिजन च्यानलहरू हेर्छन् र हाम्रा उत्पादनका विज्ञापनहरूसमेत भारतीय च्यानलमा नै देखाए पुग्छ भनेर उनीहरूले उत्पादनमा विज्ञापन शुल्क जोड्थे तर त्यो विज्ञापन शुल्क भारतीय बजारमै खपत हुन्थ्यो त्यसको कुनै हिस्सा न नेपाली च्यानल न कुनै विज्ञापन एजेन्सी न अन्य कुनै कलाकार र प्राविधिकले पाउँथे नेपालीहरूले मात्रै पाउने भनेको विज्ञापन शुल्क जोडिएको महँगो वस्तु र उत्पादनमात्रै हो । क्लिनफिड समयको मागमात्रै नभएर यसले दीर्घकालमा नेपालको अर्थतन्त्रमा योगदान दिनसक्ने देखिन्छ । क्लिनफिडले नेपाली अर्थतन्त्रमा कसरी योगदान दिन्छ भन्नेबारेमा यहाँ चर्चा गरिन्छ 

विज्ञापन बजार विस्तार

क्लिनफिड लागू भएपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न पाउँदैनन् र नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट नेपाली भाषामा डविङ गरिएका विज्ञापन प्रसारण गर्न पाउँदैनन् । यसको सोझो मतलत हो विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापनहरू अब नेपालमै सुटिङ र नेपाली भाषामै तयार गरी नेपाली कलाकार र मोडल राखेर नेपाली टेलिभिजन च्यानलहरूमा मात्रै प्रसारण गर्नुपर्नेछ । विज्ञापन व्यवसायीहरूका अनुसार आजभन्दा १२–१५ वर्षअघि नेपालमा क्लिनफिड हुनपर्छभन्दा नेपालको विज्ञापन बजार करिब २–३ अर्बको मात्रै थियो आज त्यो बढेर करिब दश अर्ब पुगेको छ र अब क्लिनफिडको सफल कार्यान्वयन हुन पुगेमा सो बजार करिब २० अर्बमाथि पुग्ने अनुमान उनीहरूले गर्दै आएका छन् । 

नेपालमा क्लिनफिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हुँदा नेपाली कलाकार प्राविधिकले रोजगारी प्राप्त गर्ने उनीहरूको क्रय शक्ति वृद्वि हुने देखिन्छ जसले गर्दा नेपालमा रोजगारीको अवसरमा वृद्वि हुनसक्छ । यसले नेपालको अर्थतन्त्रदेखि कूल ग्राहस्थ उत्पादन र कूल आयममा समेत वृद्वि भई अर्थतन्त्र थप सबल र चलायमान हुन पुग्छ जसले गर्दा अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

नेपाली टेलिभिजन च्यानलहरूको सक्षमता 

हाल नेपाली टेलिभिजन च्यानलहरूको अवस्था दयनीय हुँदै गएको देखिन्छ । नेपालमा धेरै कम मानिसलले मात्रै नेपाली च्यानल हेर्ने गरेको तथ्यांक रहेको देखिन्छ । यसको एकमात्रै कारण हो नेपाली टेलिभिजनहरूले विज्ञापन नपाउनु । विज्ञापन नपाएमा अर्को कुनै आम्दानी छैन नेपाली मिडियाहरूको । जसका कारण सरकारले दिएको अनुमतिपत्र नवीकरण गर्न, प्रसारण तथा वितरण शुल्क तिर्न र सरकारले तोकेको न्यूनतमा पारिश्रमिक दिनसमेत धौ धौ परिरहेको अवस्था छ । यसको एकमात्रै कारण भनेको आम्दानीको अभाव । आम्दानीभन्दा खर्च जसको बढी हुन्छ ऊ स्वत कंगाल हुने बाटोमा जाने निश्चित नै छ । यसर्थ नेपाली मिडियाहरू विदेशी मिडियाको छायां हुर्कन बाध्य भएका थिए । 

क्लिनफिडपश्चात विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियामा छाउने नै भयो । अब विदेशी मल्टिनेसन कम्पनीको विज्ञापन पाउन नेपाली मिडियाहरूले टिआरपी बढाउनु पर्नेभयो । राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नुपर्ने भयो । जसले राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्छ र जसको टिआरपी राम्रो छ उसलेमात्रै विज्ञापन राम्रो पाउने भयो जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएका बीचमा राम्रो प्रतिस्पर्धा हुने भयो । त्यही अनुसार उनीहरूले सरकारलाई नवीकरण शुल्क, रोयल्टी कर भ्याटजस्ता करहरू दाखिला गर्नपर्ने हँुदा देशको अर्थतन्त्रमा क्लिनफिडले योगदान पुग्ने देखिन्छ । 

न्यूनतम पारिश्रमिक कार्यान्वयन

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर राष्ट्रियस्तरका मिडियादेखि लिएर अन्य मिडियाहरूले समेत आफ्ना संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिनपर्ने भनी अनिवार्य परिपत्र जारी गरेको अवस्थमा कतिपय मिडियाले सो दिन नसकेको र नसक्ने अवस्था देखिएको थियो जसको एउटै कारण हो मिडियाहरूको आम्दानी नहुनु अर्थात् विज्ञापन पाउनसक्ने अवस्था नदेखिनु । हो अब क्लिनफिडपश्चात् नेपाली मिडियाहरूमा तिनीहरूको स्तरअनुसार विज्ञापन बढ्दै जाने भयो र सोही कारण मिडिया सञ्चालकले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिनसक्न अवस्था भए । जसले गर्दा मिडिया पेशामा संलग्नहरूको आयआर्जन रोजगारीमा बढोतरी हुनेदेखि लिएर पारिवारिक हैसियतसमेत बढ्ने देखिन्छ ।

अब नेपाली मिडियामा आबद्वहरूले २–४ महिना लकडाउन हुँदा रोजगारी गुम्ने अवस्था नआउन सक्छ र मिडिया सञ्चालकहरूले समेत १–२ वटा बन्द हुँदैमा कर्मचारी र पत्रकारलाई जागिरबाट निकालिहाल्नुपर्ने अवस्था नआउन सक्छ ।

खेलक्षेत्रमा योगदान 

झट्ट सुन्दा क्लिनफिडले खेल क्षेत्रमा के योगदान दिन्छ होला भन्ने लाग्न सक्छ तर दीर्घकालीन रूपमा क्लिनफिडले खेल क्षेत्रमा ठूलो प्रभाव पार्नसक्ने देखिएको छ । आइपिएलमा सहप्रायोजक, मुख्य प्रायोजक, अफिसियल इस्पोन्सरदेखि खेलाडी लुगामा र खानेपानीको बोटलसम्ममा बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापन गरेको देखियो । यसको मतलव हो बहुराष्ट्रिय कम्पनीहरू आफ्नो सामानको विज्ञापन जुनसुकै क्षेत्रमा गर्न पछि पर्दैनन् । 

अब नेपालमा क्लिनफिड भएपछि सोनी, स्टारलगायतका टेलिभिजनहरूले क्रिकेट र फुटबल लाइभ गर्दासमेत विज्ञापनरहित भएर गर्नुपर्छ र त्यही लाइभ नेपाली टेलिभिजनले ग¥यो भने उसले नेपाली विज्ञापन मज्जाले देखाउन सक्छ । हो, यसको मतलब अब भारतमा आइपिएल भएजस्तै नेपालमा पनि क्रिकेटका विभिन्न टुर्नामेन्टहरू सञ्चालन हुन्छन् जसको प्रत्यक्ष प्रसारणदेखि खेलाडी र खेलको आयोजक अनि प्रायोजन गर्दै आफ्नो उत्पादनको विज्ञापन गर्न मल्टिनेसनल कम्पनीहरू बाध्य हुन्छन् । 

नेपालमा पनि अन्तराष्ट्रिय स्तरमा नाम र दाम कमाउन सफल अनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल र खेलाडीहरूको कमी रहेको देखिँदैन जसले गर्दा उनीहरूले ती खेलाडी र खेलमा प्रायोजन गर्न सक्छन् । ती खेलाडी आयोजक र खेलको स्तर वृद्वि हुनेभयो भने जसले गर्दा रोजगारी र आयकर, नाफाकरलगायतका शीर्षकमा खेल आयोजक र खेलाडीहरूले कर दाखिला गर्ने भए जसले नेपालको अर्थतन्त्रदेखि रोजगारीमा योगदान गर्न सक्छ र नेपाली खेलकुद र खेलाडीहरूको स्तर वृद्वि हुँदैजान्छ ।

मनोरञ्जन क्षेत्रमा योगदान 

क्लिनफिड र मनोरञ्जन एक आपसमा नजिकका विषय हुन् । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो रहेको छ । नेपाली मनोरञ्जन र चलचित्र उद्योगलाई यसकारण सरकारले उच्च प्राथमिकतामा नराखेको हुनसक्छ किनकि यस क्षेत्रबाट अर्थतन्त्रमा योगदान एकदमै कम रहेको छ । अब क्लिनफिड भएपश्चात नेपाली कलाकार अनि मोडलहरू प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक बढ्ने देखिन्छ । 

अब नेपालमा प्रसारित विदेशी च्यानलले त विज्ञापन बजाउने नपाउने अनि नेपाली टेलिभिजनहरू र मिडियाहरूले पनि नेपाली कलाकार भएको र नेपाली भाषी विज्ञापनमात्रै प्रसारण गर्नुपर्ने भएका कारण नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरू विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नुपर्ने अवस्था आएका कारण नेपाली कलाकारहरूले राम्रा–राम्रा मल्टिनेसनल कम्पनीहरू जोडिन पाउने भए साथै राम्रो पारिश्रमिक पाउने भए जसले गर्दा नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुने भयो । 

यसका साथै कलाकार उत्पादन र ट्रेनिङ गर्ने हाउसहरूसमेतको आम्दानी र क्रयशक्तिमा वृद्वि हुने भएका कारण उनीहरूले कर दस्तुर तिर्ने भए र उनीहरूले प्रयोग गर्ने सवारीसाधनदेखि लिएर होटल वासदेखि समग्र क्षेत्रमा योगदान दिने भएका कारण यसले मनोरञ्जन क्षेत्रसँगै नेपाली अर्थतन्त्रमा पनि योगदान पु¥याउने देखिन्छ ।

पर्यटनमा योगदान 

नेपालमा क्लिनफिड भएपछि नेपालको बजार हिस्सा बुझ्न नेपालमा विज्ञापनको अवस्था बुझ्नदेखि लिएर नेपाली कलाकार र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेसन कम्पनीका सञ्चालकदेखि लिएर विज्ञापन दाताहरू र सञ्चालकसमेत नेपालमा आउने भए जसले गर्दा नेपालमा उनीहरू बस, प्लेन, ट्रेन जेबाट आएपनि होटलमा बस्नुप¥यो, खानुप¥यो अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन सुट गर्नपर्ने हुँदा क्लिनफिडले नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याउने देखिन्छ ।

यसरी नेपालमा वस्तुको बजार र विज्ञापन सुट गर्न अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन खिच्न आउँदा पर्यटन ट्राभल र ट्रेकिङ क्षेत्रमा काम गर्नेहरूको आम्दानी र रोजगारीका अवसरहरूमा वृद्वि हुनजान्छ । जसले गर्दा उनीहरूको परिवारदेखि आश्रितहरूको जीवन निर्वाहमा योगदान पुग्ने र होटलबाट कर र दस्तुर संकलन हुँदा क्लिनफिडले पर्यटन क्षेत्र हँुदै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा २ प्रतिशतमा मात्रै सिमित नरहला ।

सांस्कृतिक क्षेत्रमा योगदान 

क्लिनफिडअघि विदेशी च्यानलहरूमा सोही देशअनुकूल धर्म र संस्कृतिदेखि लिएर उनीहरूको आफ्नै संस्कृति र फेसनमात्रै सो हुने गरेको देखन्थ्यो भने अब नेपालमा प्रसारण हुने विज्ञापनहरू नेपाली माटो र परिवेश सुहाउँदो हुने भएका कारण यसले सांस्कृतिक विचलन हुने अवस्थाको अन्त गर्दै नेपाल विदेशी संस्कृतिको गुलजारबाट मुक्त हुने अवस्था देखिन्छ । विशेषगरी नेपाली च्यानलहरूमा नेपाली धार्मिक स्थल र सांस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्ने सकेमा सो स्थानहरूमा विज्ञापन सुटिङ गर्न सकेमा अनि भिडियोहरू बनाउन सकेमा विदेशीलाई थप आर्कषित गर्न सकिने देखिन्छ ।

क्लिनफिडपश्चात भारतीय रकी पाइन्ट अन लेहंगा र घाँधरहरू अनि भारतीय महिलाहरूले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन सक्छ जसले गर्दा नेपाली गलैंचा र गार्मेन्ट उद्योगहरू पुनः फष्टाउने मौका पाउने अवस्था आउँछ । यसले गर्दा रोजगारीदेखि लिएर विदेशी मुद्रा सञ्चितिमा थप मदत पुग्ने र नेपाललाई सांस्कृतिक उपनिवेश बनाउने खेलहरूको समेत कमी हुने देखिन्छ । यसरी क्लिनफिड साध्यरा गर्ने साधन हो जसले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ । अब यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।

(लेखक सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा कार्यरत हुनुहुन्छ ।)


Views: 187