13th April | 2021 | Tuesday | 6:13:35 PM

शिक्षाको न्यूनगुणस्तरीयताको परिणाम राजनीतिक संकीर्णता

प्रा. देवीभक्त ढकाल   POSTED ON : माघ २७, २०७७ (९:१७ AM)

शिक्षाको न्यूनगुणस्तरीयताको परिणाम राजनीतिक संकीर्णता

सुखमय जीवन व्यतीत गर्न मानिस कर्म प्रधान हुनै पर्छ । कर्म प्रधान व्यक्तिले मात्र जीवनको वास्तविक आनन्द प्राप्त गर्छ । अकर्मण्यताले मानिसलाई निराश र भाग्यवादी बनाउँछ । सबै कर्ममा अध्ययन सर्वश्रेष्ठ कर्म हो । अध्ययनप्रिय व्यक्तिले स्वयं र समाजलाई सदैव प्रसन्नता दिन्छ । अध्ययनले मानिसको विचारलाई सधैं उत्थान, प्रगति र जनकल्याणतिर आकर्षित गर्दछ । अध्ययनको महŒव र महिमा अनन्त छ । जुन देशका नागरिकले जति अध्ययनलाई महŒव दिन्छन् त्यसकै अनुपातमा राष्ट्र र समाज उन्नतिशील बन्दछ । अध्ययनको लतले शिक्षा र ज्ञानको स्तर स्वतः उच्च हुन्छ । अध्ययनले नागरिकको चारित्रिक विकास गर्छ । 

भौतिक शिक्षाका अतिरिक्त नैतिक मूल्यलाई आत्मसात गर्दा नागरिकमा आत्मबल र आत्मसंयम विकसित हुन्छ । राम्रो पुस्तकको अध्ययन सत्सङतुल्य हुन्छ । मानिसमा विकसित अध्ययनको लत र प्रवृत्तिले छुद्र, दरिद्र विचार र मानिसिकताको उत्पत्ति हुँदैन । पुस्तकसँग रुचि राख्ने वा अध्ययनशील व्यक्ति कहिल्यै पनि आफूलाई एक्लो अनुभव गर्दैन । दुःखमा पुस्तक नै उसको विश्वसनीय मित्र हुन्छ । सबै समस्याको समाधान उसले पुस्तकहरूको अध्ययन र मननबाटै खोज्न सक्छ । त्यसैले अध्ययनको आनन्द र महŒव अवर्णनीय छ ।

धन, धर्म र कर्म नै अध्ययन हो । धेरै धन जम्मा अध्ययनको घेरा र समयलाई वृद्धि गर्दा हुन्छ । धेरै धर्म गर्नु भनेको अर्थात् मोक्ष प्राप्त गर्न अध्ययनकै माध्यमले हुन्छ । मेरो कर्म थलो अध्ययन हो । अन्य कर्मबाट न धन आर्जन गर्न सक्छु न धर्म नै गर्न सक्छु । मैले गर्ने भनेको उत्तम कर्म अर्थात् समाजोपयोगी कर्म भनेको अध्ययन हो भन्ने विचार, भावका साथ अध्ययन, लेखनको प्रवृत्ति र चरित्र हाम्रा कति शिक्षकहरूसँग, प्रशिक्षकहरूसँग, विश्वविद्यालयका प्राध्यापकहरू र अनुसन्धान निकायका अनुसन्धातामा छ ? 

मेरो जन्म अध्ययनकै लागि हो । मेरो भाग्य, भविष्य र प्रतिष्ठा तथा निष्ठा सबै अध्ययनको विस्तारले नै निर्धारण गर्छ । यस्तो पढनमात्र पाउने, अध्ययन, अनुसन्धान साथै शिक्षाजस्तो महŒवपूर्ण क्षेत्रमा काम गर्न पाएको छु, त्यसैले म वास्तवमा अन्य पेशाका व्यक्तिको तुलनामा भाग्यमानी छु भन्ने सन्तोषका साथ आफ्नो कार्यक्षेत्रमा एकलव्यको शैलीमा कार्यरत कति शिक्षक, प्रशिक्षक, अनुसन्धाता र प्राध्यापक होलान् ? कि छँदैछैनन् यसले देशको, समाजको र व्यक्ति स्वयंको अँध्यारो र उज्यालो भविष्यको दिशानिर्देश गर्दछ । शिक्षण पेशामा हुनेहरूको स्थिति त यस्तो निराशाजनक छ भने राजनीतिमा हुनेहरूले किन अध्ययन गर्ने ? 

मानिस जुन पेशामा छ त्यसलाई पूर्ण निष्ठा, आदर र सम्मानपूर्वक आफ्नो पेशागत काममा आफूलाई समर्पित गर्न अध्ययन जरुरी हुन्छ । अध्ययन देश प्रेम हो र देश विकासको आधार तथा पूर्वाधार दुवै हो । अध्ययनको कामले यो लोकमा प्रतिष्ठा र परलोकमा समेत मोक्षको एउटामात्र बाटो हो भन्ने अन्तरमनले काम गर्ने शिक्षण, प्रशिक्षण र अनुसन्धानका क्षेत्रमा लागेका मानिस नेपालमा कति छन् ? 

यसले नै देश, समाज र व्यक्तिको भाग्य भविष्यलाई निर्धारण गर्दछ । देशको दिगो विकास र समाजको सकारात्मक परिवर्तनको अचुक सूत्र कुनै एक पेशा वा वर्गसँग छ भने त्यो शिक्षण, प्राध्यापन, प्रशिक्षण र शैक्षिक अनुसन्धानमा लागेको व्यक्ति वा वर्गसँग छ । देशको विकास, सभ्य, नैतिकवान, अनुशासित, सदाचारी, इमानदार, कर्म नै धर्म हो भन्ने आदर्श व्यक्ति र समाजको निर्माणको एकाधिकार शिक्षा र शिक्षित वर्गसँग छ । त्यो पेशामा लाग्नेहरूले म को हुँ ? मेरो समाज र देशप्रतिको कर्तव्य के हो ? 

मेरा वा हाम्रा कारणले देशको प्रगति र अधोगतिमा हुने भूमिकाका बारेमा सम्बन्धित व्यक्तिमा कति चेतना जागृत छ यो देश, समाज र व्यक्ति स्वयंको भाग्य र भविष्य निर्माणमा महŒवपूर्ण कुरा हो भन्ने कुरा शैक्षिक जिम्मेवारीमा रहने जिम्मेवारहरूले कति हेक्का राखेका छन ? यो विषयले देशको समाजको र व्यक्तिको छविमा पर्ने सकारात्मक र नकारात्मक प्रभावको मूल्यांकन र विश्लेषण कहिल्यै हामी जिम्मेवारहरूले गरेका छौं ? यस्तो जिम्मेवारी निर्वाह गर्ने निकाय के राज्य संयन्त्रले बनाएको छ ?

अध्ययनलाई जीवन निर्वाहको साधनको रूपमा लिने कि यो मैले जीवनमा पाएको अपूर्व अवसर मान्ने ? यो मेरो पूर्वजन्मको सत्कर्मका कारण मैले पाएको अवसर हो । म यो पेशामा भएकाले भाग्यमानी छु भनेर भित्रैदेखि आत्मिक सन्तोष, उच्च मनोबल र नैतिकताका साथ शिक्षण पेशामा कति व्यक्ति छन् ? त्यस्ता असल व्यक्तिहरू हामीले सिला खोजेझँै खोज्नुपर्ने सामज र देशले कसरी ? किन ? प्रगति र उन्नति गर्नसक्छ ? सबै पेशामा, व्यवसायमा, कर्म क्षेत्रमा व्यक्तिलाई लगनशीलता, अनुसाशित, नैतिकवान, चरित्रवान, इमानदार बनाउन प्रेरित गर्ने र प्रेरणा दिनेहरू नै शिक्षण पेशाका जिम्मेवारहरू हुन् । 

उनीहरू इमानदार नभएको अवस्थामा उनीहरूले उत्पादन गरेका जनशक्ति कसरी र किन इमानदार हुने ? देश बिग्रयो, समाज बिग्रयो, हामी बिग्रियौं भनेर चिच्याउने, यदाकदा लेख्ने वर्ग स्वयं इमानदार छैन र कर्तव्यबोध गर्दैन भने समाजका अन्य वर्गबाट हामीले सकारात्मक पाटो र बाटोको अपेक्षाको कुनै अर्थ हुन्छ ? 

हामीले सिकाइको, ज्ञानको, योग्यताको वर्गीकरण गर्ने तथा जाँच्ने परीक्षाको मर्म र धर्मलाई नै गलत व्याख्या र प्रयोग गरेका छौं । परीक्षामा सामेल हुने लक्ष्य र उद्देश्य नै गलत छ । हामी परीक्षामा योग्यता प्राप्त गर्न वा आफूलाई परीक्षण गर्ने ध्येयले नै सामेल हँदैनौं । हामी त त्यसलाई पास कसरी गर्ने ? जे जसरी गर्नुपर्छ भनेर परीक्षाको मर्यादाविपरीतका क्रियाकलाप गरेरसमेत परीक्षामा पास भएको प्रमाणपत्र हातमा पार्ने एकमात्र कुत्सित लक्ष्यका साथ क्रियाशीलहरू के देशको भाग्य र भविष्य बन्न सक्छन्छ ?

जनशक्तिको उत्पादन नै गलत मनसायले गर्ने अनि देशले विकास गरेन भनेर हामी झोक्राउनु र चिच्याउनुको कुनै अर्थ छ ? त्यसैले सबैभन्दा पहिल्यै देश विकासको आधारहरू के हुन् त्यसको पहिचान जरुरी छ । त्यसपछि मात्रै त्यसको पूर्वाधार निर्माणको इमानदार प्रयासविना देश विकासका कुरा गर्नु हावा महल निर्माण गर्ने सपना जस्तै हो ।

स्कुलका शिक्षक र विश्वविद्यालयका प्राध्यापकहरूमै अध्ययन र लेखनको आनन्द लिने संस्कार र आचरण भएन भने कसरी भोलिका कर्णधार विद्यार्थीमा अध्ययन र अनुसन्धानको प्रेरणा जाग्छ ? नेपाल सरकारका सहसचिव, सचिव, विश्वविद्यालयका प्राध्यापकहरू त्यसमा पनि विद्यावारिधि गरेकाहरू अध्ययनमा रमाउन र अध्यययशील हुन सकेनन् भने तिनको निवृत्त जीवन र एउटा पियनको निवृत्त जीवनमा के अन्तर ? विद्वानहरूले आफूलाई भिन्न परिचय दिने विषय नै लेखन र अध्ययन हो त्यो भएन र गरेनन् भने उनीहरूले समाजलाई दिने सन्देश कसरी सकारात्मक हुन्छ ? भिन्नताको प्रदर्शन पदले होइन गुण र योग्यताले प्रमाणित गर्नुपर्छ । हाम्रो समस्या भनेको नै जे काम गर्दछौं त्यसप्रति समर्पण कम हुनु हो । 

हामी आफ्नो पेशाप्रति प्रतिबद्ध हुँदैनौं । यसको मुख्य कारण हो पेशाप्रति विश्वास र सम्मान नहुनु । जहाँ निष्ठा कम हुन्छ त्यहाँ पेशाप्रतिको इमानदारीता कम हुन्छ । हाम्रो समाज कुनै पनि पेशाप्रति उच्च मनोबलका साथ म यो काम गर्छु भन्न नसक्ने, भन्न नचाहने हुँदा उसको पेशाप्रति सम्मान र निष्ठा नभएको प्रष्ट हुन्छ । यस्ता निष्ठाहीन नागरिकबाट प्रवाहित हुने सेवा कसरी गुणस्तरीय हुन्छ ? यसको मुख्य कारण हो शिक्षाको खस्कँदो गुणस्तर त्यसको प्रभाव हो गरिबी, अभाव, पछौटेपन र विद्यमान सामाजिक बेथिति । 

विधि र पद्धतिका हिमायतीहरू नै हड्ताल, बन्द, आग्जनी, हिंसा जस्ता क्रियाकलापमा संलग्न भएपछि अब उनीहरूलाई विधि र पद्धतिको नाम लिने अधिकार कसरी हुन्छ ? के अब न्याय दिन अदालत असक्षम भयो ? अब न्याय सडकले दिने हो ? अदालतप्रति विश्वास नगर्नेहरू कसरी प्रजातान्त्रिक शासनका हिमायती बन्न सक्छन् ? 

बाबुराम भट्टराई उक्साउँदै छन् कि अब जनताले बलिदानी आन्दोलन गर्नुपर्छ । दशवर्षे युद्धमा उक्साउँदा हजारौं मरे, लाखौंलाई टुहुरो र विचल्ली पारेर पुगेन अझै वलिदानका नाममा फेरि नरसंहार ? देश जनताको कारणले बिग्रेको होइन । ओलीलाई सांसद झापाली जनताले बनाए । प्रधानमन्त्री जनताले बनाएका होइनन् । उनलाई निरंकुश र विधि मिच्ने बनाउने जनता होइनन् । उनलाई भ्रष्टाचारमैत्री बनाउन जनताको कुनै हात र भूमिका छैन । ओलीमा विकृतिहरू उत्पत्ति गर्न र विकसित गर्ने भूमिका उनकै पार्टीका अहिले असन्तुष्टहरूको हो । 

त्यसैले अब ओलीविरुद्धमा हुने आन्दोलनमा जनताले बलिदान दिने प्रश्नै आउँदैन । जनताको बलिदानको साँवा व्याज सबै दलका नेताहरूले यसअघि नै लिए । जनताले त कुशासनमात्रै पाए । अब जसले ओलीलाई निरंकुुश हुने अवसर र वातावरण बनायो तिनै नेताहरूलाई उनका विरुद्ध हुने आन्दोलनमा प्रयोग गर्नुपर्छ ता कि ओलीसँगै उनलाई निरंकुुश र तानाशाह बनाउनेहरू सँगसँगै सती जाउन् । 

नेपाली राजनीतिको शुद्धीकरण गलत नेतृत्वलाई बहिष्कार र तिरस्कारको माध्यमले गर्नुपर्छ । यसका लगि जनचेतनाको प्रचुरता नै पूर्वशर्त हो । सक्कली जनचेतनाको स्रोत गुणस्तरीय शिक्षा हो त्यसैले राजनीतिको दीर्घकालीन शुद्धीकरण शिक्षाको गुणस्तरीयकरणबाट गर्नुपर्छ । यो सम्भव छ । यसको सुरुवातको पूर्वाधार निर्माणमा चिन्तन र कार्यान्वयन नेपाली राजनीतिको शुद्धीकरणको पूर्वशर्त हो । शिक्षाको गुणस्तरीयता विना हामीले अन्य क्षेत्रहरू गुणस्तर बनाउने कल्पना त हाम्रो सरकारले भ्रष्टाचार निवारणको प्रतिबद्धता गरेजस्तै हो ।


Views: 453