13th April | 2021 | Tuesday | 6:27:51 PM

प्रधानमन्त्रीबाट पञ्चायतको झझल्को !

ओम आचार्य   POSTED ON : माघ २७, २०७७ (९:२२ AM)

प्रधानमन्त्रीबाट पञ्चायतको झझल्को !

नेपाल अहिले संघीय गणतान्त्रिक मुलुक हो र यहाँ पूर्णप्रजातन्त्र तथा नागरिक अधिकार छ । संविधानमा मौलिक हकअधिकारसहितको व्यवस्था छ, लिखित दस्तावेजमा यस्तै भनिएको छ । तर, व्यवहार र यसको प्रयोग त्यस्तो छैन । अस्ति नागरिक समाजबाट सरकारले गरेको संविधानको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै गरेको विरोध ¥यालीमा सरकारबाट गरिएको दमनले संविधानविरुद्ध सरकार अगाडि बढेको देखिन्छ । सरकारबाट गरिएका अनियमित र असंवैधानिक अलोकतान्त्रिक कदमहरूको विरोध गर्न पाउने र जनतालाई सुसुचित गराउने हक र अधिकार अहिलेको संविधानले दिएको छ र यो अधिकारमा नियन्त्रण र संकुचन गर्न अहिलेको सरकार लागेको छ ।

अहिलेको सरकारको शासनशैली, सरकारको प्रस्तुति र अभिव्यक्तिले पञ्चायतकालको स्मरण गराउँदै छ । पञ्चायतकालमा पञ्चायत नीति तथा जाँचबुझ समिति र गाउँ फर्कजस्ता अनुदार संस्था भएको पञ्चायतकालको झझल्को दिनेगरी वर्तमान सरकार उभिएको छ । त्यतिखेरको पञ्चायती व्यवस्थाले पञ्चायतको विरोध गर्नेहरू त्यतिखेरका शाशकहरूको विरोध गर्नेहरू सबैलाई देशद्रोही, देशविरोधी, प्रजातन्त्रविरोधी भन्ने गर्थे । अहिले ठीक त्यही भाषा, त्यही शैली र त्यही शब्दमा प्रधानमन्त्री केपी ओलीले भन्ने गरेका छन् । ‘संसद् विघटनको विरोध गर्नेहरू प्रजातन्त्रको विरोधी हुन् लोकतन्त्रविरोधी हुन्, जनताविरोधी हुन् देशद्रोही हुन् भन्न थालेर त्यतिखेरको पञ्चायतको स्मरण गराएका छन् र त्यतिखेरका शासक जस्तै आफूलाई निरंकुश र अधिनायकको रूपमा आफूलाई त्यसरी परिचित गराउन चाहेको देखिन्छ । 

नेकपाभित्र चर्किरहेको दुई समूहको यो द्वन्द्व अहिले अत्यन्त निम्नस्तरमा ओर्लिएको छ । यी दुई समूहमा एक अर्कामा हदैसम्म निकृष्ट रूपमा आरोप÷प्रत्यारोपमा प्रस्तुत भएका छन् । यिनीहरू एकअर्कामा निन्दा र वाणी हिंसामा ओर्लिएका छन् र यसैको परिणति हो प्रधानमन्त्रीको संसद् विघटनको विरोध गर्ने जनविरोधी प्रजातन्त्रविरोधी र विद्रोही हुनुको अभिव्यक्ति । 

वाणी हिंसासम्म आइसकेको नेकपाले यो भन्दा अगाडिको हिंसामा नपुगुन् यिनीहरूको अहिलेको वाणी द्वन्द्व र वाणी हिंसाले भौतिक हिंसासम्म आउन सक्छन् कि ? यसो नहोस् । नेकपाको द्वन्द्व अब नेकपामा मात्रै रहेन । प्रधानमन्त्रीको संसद् विघटनको रक्षामा बोल्नु भएको उहाँको शब्द अब नेकपामात्रैले यसको चोट नबोक्ने भएको छ । प्रधानमन्त्रीको संसद्् विघटनको रक्षामा दिएको अभिव्यक्ति संसद् विघटनको विरोध गर्ने देशद्रोही, जनविरोधी र प्रजातन्त्रविरोधीको संज्ञा दिइरहँदा हाल नेपालमा रहेका सबै राजनीतिक दलहरूले यो अभिव्यक्तिको चोट र प्रहारबाट पीडित पक्कै भएका छन् र सबैभन्दा बडी चोट र प्रहार नेपाली कांग्रेसमा परेको छ । नेपाली कांग्रेसले यो संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेको हुँदा नेपाली कांग्रेसमाथि यो प्रहार हो, नेपाली कांग्रेसले यसरी बुझेको छ र यसैको जवाफमा प्रेस विज्ञप्ति निकालेर यसको जवाफ दिइसकेको छ ।

अहिले प्रधानमन्त्री केपी ओली नेकपाभित्रको प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहलाई मात्र होइन अन्य राजनीतिक दलहरू र त्यसमा नेपाली कांग्रेसलाई उत्तेजित गराउने गरी आएको यो अभिव्यक्तिले आन्दोलित र उग्र रूपमा ल्याउन अभिप्रेरित गर्ने र उक्साउने गरेको देखिन्छ । यसले मुलुक पुनः द्वन्द्वमा आउनसक्ने वातावरण ल्याउन सरकार आफैं अग्रसर देखिन्छ । 

प्रधानमन्त्रीको संकल्प पूजा 

पशुपतिनाथमा प्रधानमन्त्रीको संकल्प पूजालाई लिएर सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी आइरहेका छन् । केही समय पहिलेदेखि प्रधानमन्त्रीले आध्यात्मिक विषयमा प्रवेश गर्दै आफ्नो विचार सम्प्रेषित गरिरहनुभएको छ । यसै क्रममा राम जन्मभूमिको विषयमा दिएको अभिव्यक्ति चर्चामा छ । 

हिन्दूधर्ममा सबै हिन्दू धर्मावलम्बीहरूमा आफ्नो मोक्ष मार्गलाई खुला राख्दै चाहे जस्तोसुकै अपराधी किन नहोस् या सरकारबाट दण्डित या समाजबाट अपहेलित किन नहोस् उसले या उसको परिवारले पापमोचनका लागि, मोक्षका लागि कुनै पूजा अनुष्ठान या भागवत पुराण लगाएर परिवारको कल्याण र मानसिक सन्तुष्टिका लागि यस्ता पूजा गर्न सक्छ । हाम्रो हिन्दूधर्मले यसलाई रोकेको छैन र यसमा अन्य धर्मको तुलानामा हाम्रो धर्म उदार देखिन्छ । 

सामान्यतया पशुपतिनाथमा कुनै पूजा अनुष्ठान या संकल्प पूजा विशेष अवस्थामा मात्रै गर्ने प्रचलन छ र त्यो पनि मानिस आफ्नो प्रतिकूल समय चल्दा आफूमाथि संकट र बाधाहरू आइपर्दा त्यसको समनको लागि पशुपतिनाथको शरणमा पुग्ने गरेको छ । प्रधानमन्त्रीको पशुपतिनाथमा गरिएको संकल्प पूजालाई यसरी नै लिनु उचित देखिन्छ । पशुपतिमा पूजा र अनुष्ठान या संकल्प पूजा सामान्यतया मार्केश दशा र मारक प्रभाव पर्दा गर्ने सल्लाह सुझाब ज्योतिषहरूले परामर्श दिने गरेका छन् । यसको मूल कारण यो हो कि पशुपति महामृत्युन्जय पनि हुन् ।

अहिले नेकपामा बढिरहेको विग्रह, प्रधानमन्त्रीको लोकप्रियतामा निरन्तर आइरहेको ह्रास र उहाँकै स्वास्थ्यको सुधारकै निम्ति पनि यसो गरिएको हुनसक्छ । तर, यसलाई राजनीतिक रूपमा व्याख्या गर्दै उहाँको अब हिन्दू राष्ट्रका लागि मनस्थिति बनिरहेको र देशमा हिन्दू राष्ट्र विचारकले यसलाई सकारात्मक रूपमा लिऊन् र मप्रति सद्भाव राखुन् भन्ने अर्थमा लिइरहेकाले यो स्मरण गरौं कि उहाँले प्रधानमन्त्री हँुदा लिएको शपथ नै उहाँको अन्तकरणभित्र हिन्दूधर्मप्रति कति श्रद्धा रहेछ भनेर पुष्टि गर्ने एउटा आधार हो, उहाँ पशुपति जानुभएको सन्दर्भमात्र उहाँको आस्था मापनको मापदण्ड होइन । 


Views: 150