13th April | 2021 | Tuesday | 6:44:13 PM

हत्याको सही अनुसन्धान होस्

  POSTED ON : माघ २७, २०७७ (९:२५ AM)

हत्याको सही अनुसन्धान होस्

सरकार र प्रतिपक्षीहरू आन्दोलन र जुलुसमा आज भोलि व्यस्त छन् । सरकारले गरेको असंवैधानिक कदमका विरुद्ध जनमास सडकमा भएको अवस्था छ । तर, हाम्रो गाउँघरमा छोरी–चेली सुरक्षित हिँड्नसक्ने अवस्था छैन । बिहान घरबाट निक्लेकी चेली बेलुका सुरक्षित घर आउने हो कि होइन चिन्ता र पीरले परिवारमा सताएको छ । कहिले एसिड काण्ड त कहिले बलात्कारपछि हत्या काण्ड । कहिलेसम्म हामी निरिह भएर बस्नुपर्ने हो ? नेताहरू कुर्सीका लागि तँ छाड म छाडको लडाइँमा छन् । हामी बाच्नका लागि संघर्ष गर्नुपरेको छ । हत्या, हिसां र बलात्कारका घटना दिन प्रतिदिन बढेको जगजाहेर नै छ । ब्युरोका प्रहरी नायब निरीक्षक भनिरहेका छन्, देशमा शान्ति सुरक्षा अमन चयन छ । काहाँ छ शान्ति सुरक्षा ? दिन दहाडै अवोध बालिकाको बलात्कारको ‘कू’कृत्यपछि हत्या हुन्छ के यही हो नेपाल प्रहरीको सुरक्षा ? खोई कहाँ चै छ शान्ति सुरक्षा र सुरक्षाकर्मीहरू ? जनताको नयनले देखिएन । 

गत बुधबार विद्यालय गएकी १७ वर्षीया छात्रा भागरथी भट्टको शव बिहीबार विभत्स अवस्थामा फेला परेको समाचार आयो । बलात्कारपछि हत्यामा संलग्न हुनेलाई छानविन गरेर कडा कारबाही नगर्नुको परिणाम हो यो । भागरथी जस्ता धेरै निर्दोष महिला तथा बालिका बलात्कारको शिकार भएका छन् । कतिको समाचार बनेको छ भने कति समचार बन्नै सकेको छैन । समाचार बनेपछि सरकारले झारो टार्न छानविन समिति बनाउँछ । तर, अपराधीलाई कारबाही भने हुँदैन । आजसम्म त्यस्ता जघन्य ‘कू’कृत्य अपराधीलाई कडा कारबाही भएको भए यस्ता घटना घट्ने अवश्य थिएनन् । राजनीति संरक्षणले गर्दा अपराधीहरू खुलम खुला हिँडिरहेका छन् । उनीहरूको मनोबल राजनीतिक संरक्षणले बढेको छ । भागरथी भट्टका परिवारजनमा शंका छ । कतै प्रहरीकै मिलेमतोले प्रमाण नष्ट गरेर अपराधी त उम्काउने त होइन ?

शान्ति सुरक्षामा खटिएका प्रहरीहरू खोज अनुसन्धानमा चुक्छन् । राजनीति दलका नेताहरूले हत्यारालाई संरक्षण गर्छन् । विधिको शासन कानुनी राज छ भनेर कसरी मान्न सकिन्छ । भाषणमा कानुनीराज छ विधिको शासन छ तर व्यवाहारमा कतै त्यस्तो देखिँदैन । अनुसन्धान टोली बनाउनु ठूलो कुरा होइन । अनुसन्धान गर्नु पनि ठूलो कुरा होइन तर अनुसन्धानबाट आउने परिणाम चाहिँ उपलब्धि पूर्ण हुनु ठूलो कुरा हो । एकपछि अर्को घटनामा नेपाल प्रहरी चुक्दै छ । त्यो त हामीले निर्मला हत्या काण्डबाट देखिसक्यौं । बैतडीको घटना निर्मला हत्या काण्डजस्तो नबनोस् । सरकारसँग अपिल छ । अपराधी जो कोही भए पनि कडाभन्दा कडा कारबाही गरियोस् ।

प्रहरी अनुसन्धान ब्युरोले घटनाको छानविनका लागि एसएसपी जनक पाण्डेको संयोजकत्वमा छानविन समिति बनाएको छ । देखावटी छानविन समिति नबनोस् । परिणाम मुखी बनोस् । पछिल्लो समयमा कतिपय घटनाको छानविन गर्नु तर परिणाम नआउनु दुःखद् कुरा हो । प्रहरीको अनुसन्धान टोलीले हामी हत्याराको नजिक पुगिसकेका छांै भनेको छ । हेरौं कतिसम्म सत्य खबर बाहिर आउँछ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाउन सकेको छैन । त्यो भएर पनि जनमानसमा एक प्रकारको त्रास पैदा भएको छ । अब फेरि अनुसन्धानमा कसैले बाधाअवरोध नपुराउन् । भागरथीको हत्या काण्ड पहिलेको अर्को निर्मला हत्या काण्ड नबनोस् समयमै दोषीलाई कारबाही गरियोस् । सत्यतथ्य बाहिर ल्याओस् ।

पुरुषोत्तम घिमिरे 

जोरपाटी, काठमाडौं ।


Views: 201