13th April | 2021 | Tuesday | 7:57:57 PM

लोकतन्त्रका कमजोरी र उत्पन्न लोकलज्जा

लोकनारायण सुवेदी   POSTED ON : माघ २८, २०७७ (९:१२ AM)

लोकतन्त्रका कमजोरी र उत्पन्न लोकलज्जा

विश्वमा प्रत्येक राजनीतिकतन्त्रसँग एउटा न एउटा दर्शन जोडिएको हुन्छ नै । यस सन्दर्भमा राजतन्त्रको दर्शन एकदमै प्रष्ट थियो । राजतन्त्र शासन गर्ने दैवी अधिकारको सिद्धान्तमा टिकेको थियो । राजा पृथ्वीमा ईश्वरका प्रतिनिधि मानिन्थे । उनलाई पृथ्वीमा प्रजामाथि शासन गर्न पठाइएको भनिन्थ्यो । जनताका लागि खान अन्न होस् या नहोस् तर त्यहाँ राजा हुनु जरुरी थियो । अराजकता यसरीमात्र रोकिन्छ भन्ने मान्यता थियो । यो आवश्यकता वास्तवमा यत्तिको स्पष्ट र अनिवार्य मानिन्थ्यो कि राजविना काम चलाउन सकिन्छ र ? भन्ने प्रश्न दृष्टिविहीनको कुरै छोडौं दुई आँखा प्रष्ट देख्नेहरूलेसमेत सोच्न र उठाउन सक्तैनथे ।

हुन पनि सत्तासँगको मानिसको सम्बन्ध धेरै नै पुरानो छ । समाजलाई संगठन चाहिन्छ र संगठनलाई एकताबद्ध राख्न सत्ता त्यो जस्तोसुकै किन नहोस् त्यसको स्वाभावैले त्यो केन्द्रीकृत हुने गर्दछ । कसैले आफ्नो जमिन या सम्पत्ति साझा तुल्याउन सक्तछन् र सक्लान् तर सत्ताको साझेदारीको कुरा सोच्न सक्तैनन् भन्ने त्यो बेलाको मान्यता थियो र अहिले पनि धेरथोर अवशेषको रूपमा त्यही नै छ । हाम्रो छिमेकी भारतमा एक समय राजाका साथसाथै ब्राहृमणले पनि आफूलाई अदण्डनीय घोषित गरेको थियो । जसले गर्दा त्यो राजदरबारभन्दा पनि निरंकुश हुन सक्तथ्यो ।

हाम्रै देशको इतिहास हेर्ने हो भने सत्ताका लागि काटामार गर्ने र बन्धुबान्धव पनि कसैलाई बाँकी नराख्ने राणाहरूले राणा शासनको विरोध गर्नेलाई कसैलाई फाँसीमा झुण्ड्याउने र कसैलाई गोली ठोक्ने काम गरेको एक सय वर्ष पनि पुगेको छैन । तर, जनताका बीचमा आपूmलाई बडो धर्मको पालक देखाएर ब्राहृमण समुदायबाट राणा शासनको विरुद्ध नेतृत्व गर्ने टंकप्रसाद आचार्य, रामहरि शर्मा आदिलाई भने चारपाटा मुढेर सुँगुरको पाठो बोकाई चारभञ्ज्याङ कटाएर छोडेका हाम्रो इतिहास छ । 

हुन पनि रुसो जस्ता विचारकहरूले राजाको सत्तालाई सीमित तुल्याउनका लागि ‘सोसियल कन्ट्रयाक्ट थ्योरी’ अर्थात् ‘सामाजिक सम्झौताको सिद्धात’ को खोजी गर्नुपरेको थियो । जसअनुसार राजाले जबर्जस्ती मानिसहरूमाथि कब्जा जमाएका होइनन् बरु मानिसहरूले परस्परमा विचार विमर्श गरेर आपूmहरू स्वयंलाई राजाकहाँ सुम्पेका हुन् भन्ने ब्याख्या गरिन्छ । यसरी कुनै बेला राजा र जनताका बीचमा एउटा अनुबन्ध भएको थियो जुन अनुबन्धमा राजालाई सशर्त सत्ता सुम्पिएको थियो । त्यसको सट्टामा जनताले राजालाई निश्चित मात्रमा कर दिन स्वीकार गरेका थिए । के साँच्चै कहिले यस्तो अुनबन्ध भएको थियो होला त ? दाबीका साथ त कसैले बताउन सक्तैन । जन स्मृतिमा यस्तो कतै भेटिँदैन र सुनिँदैन पनि । 

तर, अहिले त हाम्रा अगाडि या हामीसँग ‘सोसियल कन्ट्रयाक्ट’ को त्यस्तो सम्झौताको साटो संविधान तथा कानुनको शासन छ भन्ने मानिन्छ । त्यो एक किसिमको अनुबन्ध नै हो । यसमा सरकार पनि त्यसरी नै अनुशासित रहेको मानिन्छ जसरी नागरिकहरू अनुशासित हुन्छन् या हुनुपर्छ भन्ने मान्यता स्थापित छ । यो अर्कै कुरा हो कि संविधान माछा मार्ने त्यो जाल जस्तै हो जसमा ससाना भुरा माछा त फस्ने गर्दछन् तर ठूल्ठूला माछाहरू त्यो जाललाई चिरेर बाहिरै पर्दछन् या रहन्छन् । राजतन्त्रको के खुबी थियो भने त्यो एक किसिको प्रत्यक्ष र ठाडो शासन प्रणाली थियो जसका त्रुटि र कमजोरीहरू तुरुन्त देखापर्ने गर्दथे । 

कुशासनका लागि कुनै एकजनालाई जिम्मेवार ठहराउन राजा हाजिर र मौजुद थिए । राजा राम्रो भएमा शासन सफल राजा खराब भएमा शासन विफल । यसरी शासन राम्रो या सफल भएमा पनि यसमा प्रजाहरूको कुनै जिम्मेवारी थिएन । यसरी हेर्दा राजतन्त्रको तुलनामा लोकतन्त्र एउटा जटिल र जेलिएको प्रणाली हो । यसमा प्रत्येक मानिस राजा भएको छ । राज्यको सम्प्रभुता जनताको बीचमा रहेको मानिन्छ यो प्रणालीमा, अन्तिम निर्णयकर्ता जनतालाई नै ठानिन्छ र जनता नै हो भन्ने गरिन्छ । यसबाट विभिन्न समस्या उत्पन्न हुने गर्दछन् र भएका छन् । 

जुन समस्याको समाधानको बाटो अहिलेसम्म निस्कन सकेको छैन भन्ने लोकतन्त्रवादीकै विश्वास, अनुभव र मान्यता जीवन्त छ । त्यसैले उनीहरू यो विश्वको सबभन्दा खराब व्यवस्था भए पनि यसको विकल्प छैन भन्नसमेत बाँकी राख्दैनन् । संसदीय व्यवस्थाको जननी मानिने बृटेनका प्रधानमन्त्री बनेका नेता विन्स्टन चर्चिलले त्यसै भनेका थिए ।

निश्चय नै राजतन्त्रको सफलताका लागि कुनै एकजना व्यक्ति या मानिस राम्रो हुनु नै काफी हुन्थ्यो या थियो । तर, लोकतन्त्रको सफलताका लागि करोडौं मानिसहरू राम्रो हुनु नितान्त जरुरी हुन्छ । लोकतान्त्रिक शासन राम्ररी चल्ने कुरा करोडौं जनता राम्रो हुनुमाथि निर्भर गर्दछ । यस शासनमा जनताका बीचका हरेक नागरिहरूको योगदान रहेको र रहनुपर्ने मानिन्छ । राजतन्त्रमा कैयौं पटक राजा शासनबाट उदासीन रहने गर्दथे । उहिल्यै भारत वर्षमा यस्तै एकजना राजालाई चेतावनी दिनका लागि उनकै दरबारिया कविले यस्तो किसिमको श्लोक या दोहा लेखेर उनलाई (राजालाई) पठाउनु परेको थियो, ‘निहं परागनिहं मधुर मधु, निहं विकास यही काल, अलीकली मे बिन्द्यो आगे कोन हवाल’ । 

अर्थात् अहिलेसम्म त पराग पनि आएको छैन, मीठो मह पनि बनेको छैन, जब यस्तै अवस्थामा भँमरा पूmलसँग बिन्दास भयो भने अझ अगाडि के अवस्था होला कसले जान्दछ’ ? भनिन्छ, यो दोहा या श्लोक पढेर आफ्नी नयाँ रानीमा लठ्ठ बन्दै आएका राजा आफ्नो त्यो मोहबन्धलाई तोडेर निस्कन सफल भएका थिए । तर, लाखांै मानिसहरूद्वारा जुलुस निकाल्ने र धर्ना दिने गर्दा पनि आजका सत्तासीन राजाहरूको आँखा खुल्दैन । स्पष्टतः कारण के हो भने देशका नागरिकहरूको सामूहिक अन्तश्चेतनाको साँच्चो प्रतिनिधित्व तिनले गर्र्दैनन् या गर्न सक्तैनन् । प्रतिनिधित्वमाथि आधारित शासन–जसलाई लोकतन्त्रको संज्ञा दिइन्छ, को यो एउटा आधारभूत र भयंकर ठूलो महादोष हो । 

यसका अतिरिक्त प्रत्येक त्यस्ता प्रतिनिधिलाई एउटा निश्चित या निर्धारित अवधिका लागि प्रतिनिधित्व गर्ने अधिकार दिने गरिन्छ । यसका बीचमा यदि ती प्रतिनिधिहरू पतित भए या तिनले देश र जनताको अहितका पक्षमा गम्भीर गडबडी गरे भने पनि तिनलाई फिर्ता बोलाउने ठोस र प्रभावकारी प्रावधान अपवादलाई छोडेर, प्रायःजसो कतै रहेको या राखिएको हुँदैन या राखेको पाइँदैन । लोकतन्त्रको मूलमा यी दुईटा आधारभूत धारणा रहेका छन् । जुन धारणालाई वास्तवमा पूर्णतया दिवालीया धारणा भन्न या मान्न सकिन्छ तर पनि बजारको अर्थशास्त्रमा–जसमाथि धेरैजसो सिद्धान्तहरू आधारित छन् हुन्छन् कि हरेकजसो मानिसहरूले आफ्नो भलाई सबैभन्दा राम्ररी आपैंm जान्दछन् । 

यदि यस्तो हुन्थ्यो भने त धर्मशास्त्र तथा नैतिकताका हजारौं किताबहरू, असंख्य सन्तहरू र उपदेशकहरूको आवश्यकता नै पर्ने थिएन । यिनको आवश्यकता आज पनि रहेको मानिन्छ । त्यसैले आज यत्तिका धेरै सन्त, बाबा, गुरुहरू हुर्कने र फैलने गरेका पनि हुन् शायद । 

यथार्थमा स्पष्ट ज्ञानबोध के छ र हुनुपर्दछ भने हरेक मानिसले आफ्ना सर्वोच्च हितहरूको पहिचान गर्न सकुन् । लोकतन्त्रका पछाडि अर्को दोस्रो दर्शनिक धारणा के पनि छ भने एकजना नागरिकले अरू सबै नागरिकका हितहरूलाई जानेको मात्र हँुदैन, अझ त्यसका आधारमा उसले काम गर्न सक्तछ । शायद मानव चरित्रको यो वर्णन तथ्यमाथि आधारित छैन कि ? जुन मानिसका बारेमा हामी कसैले भन्दछौं या मान्दछौं कि उसले आफ्नै भलाइको कुरा के हो भनेर बुझ्दैन त्यस्ता मानिसले अरूको भलाइको कुरा कसरी बुझ्ला र ? यस्तो मानेर चल्ने हो भने त मानिस नै देवता भएको माग गर्नु जस्तै हुनेछ । 

यसै कारणले आज लोकतन्त्र विश्वभरिका देशमा जति सफल मानिन्छ भने त्योभन्दा धेरै बढी त विफल नै छ । वास्तवमा लोकतन्त्रका लागि यसलाई हुर्काउन, जोगाउन र सही अर्थमा अघि बढाउन आर्थिक, सामाजिक तथा सांस्कृतिक अनुकूल परिवेश बनाइएन वा बनाउन सकिएन भने निरन्तर यस्तै अवस्था कायम रहने या दोहोरिरहने क्रम नै जारी रहन्छ । यो आजको विश्वले निकै राम्रैसँग अनुभूति गरिरहेको कटु यथार्थ हो । यसमा कुनै तर्क र बहस गरिरहनु नपर्ने स्थिति भइसकेको छ । हामीकहाँ पनि यही दोषसहितको लोकतन्त्रकै जगजगी हामी आज देखिरहेका र भोगिरेका छौं ।


Views: 113