13th April | 2021 | Tuesday | 8:10:34 PM

वामपन्थीहरूको धार्मिक व्यवहार आस्था कि ढोंग ?

श्रीमन नारायण   POSTED ON : माघ २८, २०७७ (९:१४ AM)

वामपन्थीहरूको धार्मिक व्यवहार आस्था कि ढोंग ?

वामपन्थीहरू आफूलाई धार्मिक विषयबाट टाढा राख्ने गर्दछन् । माक्र्सवादका अनुयायीहरूले धर्मलाई अफिमको रूपमा बुझ्दै र बुझाउँदै आएका छन् । नेपालका वामपन्थीहरूले आफ्नो सुविधा र आवश्यकताका अनुसार धर्मको आलोचना, प्रशंसा, उपयोग र दुरूपयोग गर्दै आएका छन् । कहिले पशुपतिनाथको मन्दिरमा पुजारी परिवर्तनको कुरा, जानकी मन्दिरमा हस्तक्षेप, मनकामना र मुक्तिनाथमा हस्तक्षेप त केही महिनादेखि भगवान रामको जन्मभूमि नेपालमै भएको दाबी गरेर धार्मिक मामिलामा अनावश्यक हस्तक्षेपको काम भएको छ । 

इतिहासका घटनालाई बंग्याएर चुनावी सफलता हात पार्न सकिन्छ तर ज्ञानलाई दूषित पार्ने काम हुनसक्ने यथार्थलाई खारेज गर्न मिल्दैन । प्रधानमन्त्री केपी शर्मा ओली गतसाता पशुपति जानु धार्मिकभन्दा राजनीतिक मनसायबाट ग्रसित रहेको मान्नुपर्छ ।

ईश्वरको सट्टा देश र जनताका नाममा शपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओली एकाएक धर्मपत्नीसहित पशुपति मन्दिर गएर ईश्वरका नाममा सवा लाख दीप प्रज्ज्वलन, पञ्चामृत पूजा तथा प्रार्थना गर्नुले देशको राष्ट्रिय राजनीतिमा ठूलो पराकम्पन ल्याइदिएको छ । प्रधानमन्त्रीका सहयोगीहरूले यसलाई निःस्वार्थ भावले विश्व शान्ति र राष्ट्र कल्याणको निम्ति संकल्प पूजा गरिएको दाबी गरे पनि मन्दिर जाने भक्तहरूले देवताबाट आशिर्वाद माग्न र वरदान प्राप्त हुने अपेक्षा राखेका हुन्छन् भन्ने यथार्थलाई खारेज गर्न मिल्दैन ।

प्रधानमन्त्रीको पशुपति यात्राले ब्यापक अर्थ राख्दछ । एकातिर सडक आन्दोलनमा उत्रेका राजनीतिक दलहरू पनि प्रधानमन्त्री ओलीमा अचानक आएको यस आस्तिक भावबाट आश्चर्यचकित भएका हुन सक्दछन् भने हिन्दू धर्मसापेक्ष राजनीति गर्ने मनसाय बनाएकाहरू आफ्नो प्रमुख राजनीतिक मुद्दा नै अपहरण भएकोमा आफूलाई ठगिएको महसुस गरिरहेका हुन सक्दछन् । 

प्रधानमन्त्री ओलीको यस माष्टर स्ट्रोकले एकातिर दक्षिणी छिमेकी भारतको सत्ता प्रतिष्ठानसित सुमधुर सम्बन्ध कायम गर्न सत्ताधारी नेकपालाई सहज हुनेछ भने अर्कातिर यदाकदा मठमन्दिरको भ्रमणमार्फत जनताको सहानुभूति बटुल्ने राजा ज्ञानेन्द्रको एकमात्र अस्त्रलाई प्रभावहीन बनाउने काम भएको छ । 

स्वर्गीय बीपी कोइराला नास्तिक थिए । उनी आफूलाई खाटी समाजवादी ठान्दथे । उनी भारतका महान् समाजवादी नेताहरू जयप्रकाश नारायण, डा.राममनोहर लोहिया, आचार्य नरेन्द्र देव र कृपलाणीबाट प्रभावित थिए । नेपाली कांग्रेसका अधिकांश नेताहरू पनि समाजवादकै विचारधाराबाट प्रभावित र स्वर्गीय बीपीको मार्गलाई अनुशरण गर्दै आएका हुन् । स्वर्गीय कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताहरूले धर्मलाई निजी आस्थाको परिधिभित्र सीमित राखेर आफ्नो ब्राहृमणत्व कर्मलाई परित्याग गरेनन् । 

विगत केही समयदेखि नेपाली कांग्रेसका महामन्त्री र स्वर्गीय बीपीका पुत्र डा.शशांकले कोइराला यदाकदा नेपाललाई हिन्दू धर्मसापेक्ष राष्ट्र बनाइनुपर्ने मनसाय राख्दै आएका छन् । यस विषयमा जनमत संग्रह गराइनुपर्ने पक्षमा उनी देखिएका छन् । नेपालका साम्यवादी नेताहरू मनमोहन अधिकारी, विष्णुबहादुर मानन्धर, तुलसीलाल, पुष्पलाल तथा भरतमोहन अधिकारीहरूले पनि आफूलाई धार्मिक गतिविधिबाट टाढा नै राखे तर आफ्ना अनुयायीलाई नास्तिक हुन बढी दबाब दिएनन् । 

मधेसवादी नेता गजेन्द्रनारायण सिंहको निवासमा कुनै देवीदेवताको तस्वीर त हुँदैन्थ्यो तर मैथिली भाषाका महाकवि विद्यापतिको तस्वीर अवश्य हुने गथ्र्याे । पुराना नेताहरू पार्टीको सिद्धान्त एवं विचारधाराप्रति निष्ठावान थिए । धर्मको सवालमा न त बढी कठोर न त बढी उदार नै थिए । 

महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि नाश्तिक नै थिए । जीवनभर उनले धार्मिक गतिविधिमा आफ्नो सहभागिता देखाएनन् तर अन्तिम घडीमा आएर उनले ‘आखिर कृष्ण रहेछ एक’ भन्ने यथार्थलाई स्वीकार गरेका थिए । नेपालका नेल्सन मण्डेला कहलिएका मोहनचन्द्र अधिकारी पनि आफ्नो जीवनको उत्तरार्धमा आएर आस्तिक बन्न पुगे । नेपालका कम्युनिष्ट नेताहरूमा अचानक उब्जेको भक्तिभाव उनीभित्र रहेको ब्राहृमणत्व जागृत भएका कारणले हो, आफूभित्र उत्पन्न असुरक्षा अथवा सम्भावित असफलताको भयले हो कि, चुनावमा धार्मिक कार्ड खेलेर मत बटुल्ने मनसायले हो, त्यो त बुझ्न सकिएन तर नेपालका कम्युनिष्ट नेताहरूको वैचारिक निष्ठा कमजोर धरातलमा टिकेको छ भन्दा अतिश्योक्ति नहोला । 

एक दशकसम्म सशस्त्र संघर्ष गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निम्ति भैँसी पूजा अब स्वाभाविक हुन पुगेको छ । माओवादीको एक दशक लामो सशस्त्र संघर्षताका संस्कृत पढाउने शिक्षकलाई रूखमा झुण्ड्याउने काम किन भयो ? पाठशालाका बटुकहरूको टुप्पी काट्ने र जनै फाल्न लगाउने काम किन भयो ? तथा ब्राहृमणलाई गाई एवं राँगाको मासु तिनको मुखमा कोच्ने प्रयास किन भयो ? यसको जवाफ कसले दिने ? झलनाथ खनालले पनि प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गर्दा पूजा गरेका थिए ।

त्यसैगरी कांग्रेस–कम्युनिष्टका नेताहरूले झापामा रंगशाला निर्माणमा गरेको भूमिपूजा होस् वा हिसिला यमीको व्रत, रातो सारी र नाचगानले तिनको भनाइ र गराइमा रहेको व्यापक अन्तरलाई प्रदर्शित गरिसकेको छ । आफ्नो धार्मिक मान्यता एवं आस्थानुसार पूजापाठ गर्नु व्यक्तिको निजी स्वतन्त्रता हो । यसमा कसैलाई आपत्ति हुन सक्दैन तर धर्मलाई अफिम भन्दै चरम घृणा पढ्दै र पढाउँदै आएका कम्युनिष्ट नेताहरूको उपरोक्त चर्तिकलालाई हृदय परिवर्तन भन्ने कि आफ्नै मूल्य एवं मान्यताबाट पराजित र पतन भएको भन्ने ? 

विगतका दिनमा हिन्दू देवीदेवताको प्रसाद ग्रहण गर्न नमान्ने, खाँटी धर्मनिरपेक्ष कम्युनिष्ट नेताले फिलिपिन्सको युनिफिकेसन चर्चका प्रमुखले ग्रहण गरेको होली वाइनलाई खुशीका साथ ग्रहण गर्नुले हिन्दू धर्मको अनादर र अन्य धर्मप्रतिको आशक्ति भावलाई दर्शाउछ । माक्र्सले धर्मलाई निरपेक्ष रूपमा अफिम भनेका थिएनन् । उनले भनेका थिए, धर्म उत्पीडति प्राणीको सुस्केरा हो, हृदयहीन दुनियाँको हृदय हो, आत्महीन अवस्थाको आत्मा हो, यो सर्वसाधारणको अफिम हो तर नेपालमा कम्युनिष्टहरू सिद्धान्तवादी नै होइनन्, यिनीहरू देखावटी स्वाँङमात्रै गर्दैछन् ।

नेपालमा मनमोहन अधिकारी, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई एवं केपी शर्मा ओली कम्युनिष्ट पार्टीको नेताका हैसियतले प्रधानमन्त्री बनेका हुन् तर प्रधानमन्त्रीको रूपमा धार्मिक प्रयोजनले पशुपति जाने पहिलो प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् । ओलीको संकल्प पूजा उनीभित्रको ब्राहृमणवाद जागेर हो कि, वर्तमानको राजनीतिक संकटबाट पार पाउन उनलाई विशेष दैविक शक्तिको आशिर्वाद चाहिएको कारणले हो कि, आगामी निर्वाचनमा चुनावी सफलता पाउन वरदान माग्न गएका थिए ? यसको समुचित जवाफ त स्वयं प्रधानमन्त्रीले नै दिन सकेनन् तर अचानक उनमा उब्जिएको भक्ति भाव निःस्वार्थ भावले पक्कै होइन । 

नेपालका कम्युनिष्टहरूमात्रै होइनन् अन्य दलका नेताहरू पनि आफूलाई प्रत्येक मामिलामा कट्टर नै सावित गर्ने प्रयास गर्दछन् तर यथार्थमा निकै अस्थिर एवं कम्जोर प्रकृतिका हुन्छन् । नेपालका कम्युनिष्ट नेताहरू कति सैद्धान्तिक माओवादी रहेछन् त्यो पनि हेरियो र कति कट्टर माक्र्सवाद, लेनिनवाद, समाजवादी र लोहियावादी रहेछन् ? त्यो पनि हेरियो । कति नास्तिक रहेछन् ? त्यो पनि हेरियो र कति आस्तिक रहेछन् ? त्यो पनि हेरियो । नेपालका राजनीतिक दलका नेताहरूमा देखिएको वैचारिक एवं सैद्धान्तिक विचलनले युवा पुस्तालाई राजनीतितिर आकर्षित गर्न सक्दैन । 

दक्षिणी छिमेकी भारतमा हिन्दूधर्मसापेक्ष राजनीतिमा विश्वास राख्ने भारतीय जनता पार्टी नेतृत्वको सरकार विगत साढे ६ दशक लामो अथक प्रयासका फलस्वरूपमात्र बहुमतको सरकार बनाउन सफल भएको हो भन्ने यथार्थलाई बिर्सनु हुँदैन फेरि गएको ६, ७ दशकमा यस पार्टीले न त भारतीय राष्ट्रिय कांग्रेस र न त भारतका कम्युनिष्ट पार्टीसित नै मिलेर यसले सत्तामा सहभागिता गरेको इतिहास छ । तसर्थ भारतको नक्कल गर्नु नेपालका कुनै दलको हितमा नहोला, प्रधानमन्त्री ओलीको पशुपतिनाथ यात्राले नेपालमा हिन्दूत्वको राजनीति गर्न खोजेकाहरूको बेलुनमा सियो धोचेर त्यसको हावा फुस्काइदिएको हो । 

धर्मको सवालमा अन्योलमा रहेको नेपाली कांग्रेस पनि अब पश्चाताप गर्न बाध्य छ । राप्रपाको प्रमुख राजनीतिक मुद्दा नै निस्तेज हुनेभयो । प्रधानमन्त्री ओलीले कमजोर बन्दै गएको राष्ट्रवादको हतियारको विकल्पको रूपमा नरम हिन्दूत्व कार्ड प्रयोग गरेका हुन् । प्रधानमन्त्रीलाई पनि आफ्नो इच्छानुसारको धर्म मान्ने अधिकार छ तर हिन्दू धर्मसंस्कृतिको विषयमा नयाँनयाँ ज्ञान पस्केर धर्मशास्त्र तथा धार्मिक स्थलहरूमाथि अनास्था र भ्रम सिर्जना गर्ने कार्य गर्नुको सट्टा नेपाली जनताको आर्थिक विकास तथा देशमा राजनीतिक स्थायित्व कायम गर्ने दिशामा ध्यान केन्द्रित गरे देश, जनता र स्वयं उनकै पार्टीको हितमा पनि हुने थियो ।


Views: 289