13th April | 2021 | Tuesday | 8:22:18 PM

नेपालको रोग : पूर्वव्यवस्थापनमा सकस

प्राडा. तीर्थप्रसाद मिश्र   POSTED ON : माघ २८, २०७७ (९:२० AM)

नेपालको रोग : पूर्वव्यवस्थापनमा सकस

एउटै म्यानमा दुईवटा तरबार रहन सक्दैनन् । त्यस्तै एउटै जंगलमा दुईवटा सिंह रहन सक्दैनन् भने झैं एउटै राज्यमा दुईजना राजा हुँदैनन् भन्ने आमभनाइ हामीले पहिलेदेखि सुन्दै आएका छौं । यसको सामान्य तात्पर्य के हो भने समान हैसियतका दुई व्यक्तित्व एकै स्थानमा रहे भने त्यसले टकरावको स्थिति पैदा गर्ने प्रवल सम्भावना रहन्छ । चाहे राज्यशासनमा होस् वा संगठन वा समूहमा होस् त्यसको नेतृत्व एक व्यक्तिमा हुनु स्वाभाविक हुन्छ भने विभाजित नेतृत्व भएमा राज्यशासनमा होस् वा संगठन कमजोर बन्न सक्दछ । त्यसै पनि नेपाली चरित्रले के देखाउँछ भने जो शक्तिमा पुग्दछ उसले अरूको अस्तित्वलाई सकभर स्वीकार गर्न सक्दैन र आफूलाई नै शक्तिको केन्द्रमा स्थापित गरिरहन चाहन्छ । 

यसबाट नेतृत्वमा पुग्न चाहनेहरूसँग टकरावको स्थिति पैदा हुन्छ । नेपालको राजनीतिमा त यो ऐतिहासिक रूपले पुष्टि भइसकेको छ । चाहे त्यो सात सालपछिको प्रजातन्त्रकालमा होस् वा त्यसपछिका विभिन्न परिवर्तनपछिका घटनाक्रम हुन् सबैमा नेतृत्वको टकराव टड्कारो रूपमा देखापरेको पाइन्छ । नेपालको वर्तमान राजनीतिक रंगमञ्चमा अहिले देखिएका परिदृश्यहरू पनि यसैको नवीन संस्करणमात्र हो । 

नेपालको राजनीतिमा बारम्बार दोहोरिरहने प्रमुख समस्या भनेकै नेतृत्वको व्यवस्थापन कसरी गर्ने भन्ने नै देखिन्छ । राजनीतिक दलभित्रको अन्तरकलहको मूल चुरो नै आफ्नो दलका शीर्ष नेतृत्व (अर्थात् राज्यशक्तिको उच्च ओहोदामा पुगिसकेका पूर्वसरकारप्रमुख वा दलप्रमुखहरू) को दलभित्रको व्यवस्थापनमा देखापरेको समस्या नै हो । अर्थात् पूर्वाधिकारीको व्यवस्थापन गर्न नसक्नु नै आन्तरिक खिचलोको एकमात्र जड कारण हो भन्न सकिन्छ । यस लेखमा यही पूर्वाधिकारीको व्यवस्थापनका बारेमा ऐतिहासिक विवेचना गर्ने प्रयास गरिएको छ । 

संसारका सबै देशको इतिहासमा विजय र पराजयका घटनाहरू प्रशस्त छन् । विजेता राजाले पराजित राजालाई या त युद्धको मैदानमै सिध्याएका छन् या त देशनिकाला गरेका छन् या त कैद गरेका छन् या मृत्युदण्ड दिएका छन् । आफूविरुद्ध कुनै षड्यन्त्र नहोस् भन्ने हेतुले सुरक्षित हुन यस्ता कार्य हुने गर्दथे । नेपालको इतिहासमा यस्ता घटना धेरै छन् । एक राज्यले अर्को राज्यमाथि विजयप्राप्त गर्दा पराजित राजाहरूको यस्तै हाल हुन्थ्यो । धेरै पर नजाऔं । पृथ्वीनारायण शाहकै कुरा गरौं । उनले काठमाडौं उपत्यका विजय गरेपश्चात् भक्तपुरका राजा रणजित मल्ल काशीबास गर्न गए । ललितपुरका राजा तेजनरसिंह मल्ल कैद गरिए । काठमाडौंका राजा जयप्रकाश मल्ल युद्धमा घाइते भएका हुँदा उक्त पीडाकै कारण मृत्युवरण गर्न पुगे ।

पृथ्वीनारायण शाहको मृत्युपश्चात् राजा हुन पुगेका प्रतापसिंह शाह चाँडै बिते । उनका नाबालक छोरारणबहादुर राजा बने । उनको नायवी भएर कहिले राजमाता राजेन्द्रलक्ष्मीले शासन गरिन् त कहिले कहिले काका बहादुर शाहले शासन चलाए । एक पद दुई व्यक्ति पूर्वाधिकारी र उत्तराधिकारी दुवैमा मेल नै भएन । अन्तत्वगत्वा बहादुर शाह मुग्लान पलायन भए । राजेन्द्रलक्ष्मीको मृत्यु भएपछि मात्र बहादुर शाह मुग्लानबाट आई नायवी भए । रणबहादुर शाहले गीर्वाणयुद्धलाई रानी कान्तिवतीको दबाबले आफू जीवित छँदै राज्य त्याग गरी राजा घोषणा गरे । कान्तिवतीको मृत्युपछि पुनः राजकाजमा सक्रिय हुन खोल्दा नेपालमै गृहयुद्धको सम्भावना देखियो । जसमा रणबहादुर शाह कमजोर सिद्ध देखिए । फलतः उनी वनारस पलायन भए । 

यहाँ पनि पूर्वराजालाई उचित व्यवस्थापन नगर्दा नै यस्तो परिघटना भएको हो । यस्तै राजेन्द्रविक्रम शाह र उनैका छोरा सुरेन्द्रसँग तालमेल हुन सकेन । राजा राजेन्द्रले दरबारमै कैदीका रूपमा रहनुप¥यो । त्यसपछि भने एउटा राजाको मृत्युपश्चात् मात्र अर्को राजा भएका कारण पूर्वलाई व्यवस्थापन गर्ने प्रश्न नै आएन । पूर्वव्यवस्थापनको समस्या राजाभन्दा प्रधानमन्त्री, मूलकाजी तथा मुख्तियारमा बढी भएका दृष्टान्त धेरै पाइन्छन् । 

पृथ्वीनारायण शाहले कालु पाँडेपछि मूलकाजी कसैलाई पनि बनाएनन् । रणबहादुरका समयमा सर्वजित राना काटिए । कीर्तिमान सिंह बस्नेतको हत्या भयो । दामोदर पाँडेलाई मृत्युदण्डको सजाय दिइयो । भीमसेन थापा आत्महत्या गर्न बाध्य भए । माथवरसिंह थापा मारिए । फत्तेजंग चौतारिया कोतपर्वमा परे । यसरी आफ्ना पूर्वाधिकारीलाई समाप्त गरी भएका उत्तराधिकारीलाई पूर्वव्यक्तित्वको व्यवस्थापनमा कुनै झमेला आएन ।

विसं १९०३ सालमा जंगबहादुरको अभ्यूदय भएपश्चात् उनले भाइहरूको महŒवाकांक्षालाई व्यवस्थापन गर्ने उद्देश्यले श्री ३ हुनेहरूको रोलक्रम आफूपछि आफ्ना भाइहरूमा र भाइपछि छोराहरूमा जाने व्यवस्था गरे । उक्त रोलक्रमानुसार जंगबहादुरपश्चात् बमबहादुर श्री ३ महाराज बन्ने थिए तर उनलाई जंगबहादुर बेलायत गएको बेलामा षड्यन्त्रको आरोप लगाई चार भञ्ज्याङ कटाइयो । रणोद्दीप त आफ्नै भाइका छोराहरूद्वारा मारिए । वीरशमशेरले आफ्ना भाइ खड्गशमशेरलाई पाल्पा धपाए । चन्द्रशमशेरले आफ्नै दाजु श्री ३ देवशमशेरलाई धनकुटा लखेटे । चन्द्रशमशेरले नै पूर्वश्री ३ हरूको व्यवस्थापन गर्न अंग्रेजलाई खुशी बनाउने नीति लिए । विसं २००७ सालमा राजा त्रिभुवन सपरिवार दिल्ली जाँदा उनैका माइला नाति ज्ञानेन्द्रलाई श्री ३ मोहनशमशेरले राजगद्दीमा बसालिदिए ।

विसं २००७ सालको परिवर्तनपश्चात् राजनीतिको रंगमञ्चमा पार्टीहरू अगाडि देखा परे । विसं २००७ सालको आन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा भएको थियो । तत्पश्चात् धेरै कालसम्म नेपालमा नेपाली कांग्रेस नेपालको मुख्य पार्टीका रूपमा देखा प¥यो । तर, पदप्राप्तिका लागि नेताहरूबीच हानाथाप भइरहृयो । एकपटक पार्टीको प्रमुख भएपछि छोड्नै नचाहने, छोडे पनि पुनः आकांक्षा राख्ने प्रवृत्ति देखा प¥यो । विसं २००७ सालपश्चात् नेपाली कांग्रेसमा कोइराला दाजुभाइकै समन्वय हुन सकेन । मातृकाप्रसाद कोइरालाले नेपाली कांग्रेसको अध्यक्षबाट हट्नेबित्तिकै अर्को पार्टी खोले । नेपाली कांग्रेसलाई पूर्वसभापतिको व्यवस्थापनमा नै सकस प¥यो । 

नेपालको कम्युनिष्ट पार्टीमा त नेतृत्वको समस्या सदैव गम्भीर समस्याका रूपमा रहने गरेको देखियो । नेतृत्वबीच समन्वयको अभाव देखियो । यतिसम्म कि कम्युनिष्ट पार्टीमा दुई समान हैसियतका नेता एकै ठाउँ बस्नै सक्दैनन् भन्ने कुरालाई पटक–पटक नेतृत्वकै टकरावका कारण पार्टी विभिन्न टुक्रामा विभाजित हुँदै गएका घटनाले पुष्टि गर्दछ । 

विसं २०१७ साल पुस १ गतेको काण्डपछि सबै राजनीतिक पार्टीमाथि प्रतिबन्ध लाग्यो । नेताहरू भूमिगत हुन पुगे । त्यसबेलादेखि बीपी कोइराला नै नेपाली कांग्रेसको सभापति भए यसैबीचमा कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापति भए । विसं २०४९ मा उनी कांग्रेसका निर्वाचित सभापति भए । त्यसबेला नेपाली कांग्रेसका पूर्वसभापति मातृकाप्रसाद कोइराला कांग्रेसमा सरिक नभई पञ्चायतवादी भएका थिए । मातृकाप्रसाद कोइरालापछि नेपाली कांग्रेसमा आफ्नो भविष्य नदेखेर अर्कोतिर लागेका हुन् । यसै बेलादेखि कांग्रेसमा अन्त नभए लखन थापाको जन्त जस्तो अवसरवादी प्रवृत्तिको देखियो । 

पूर्वव्यवस्थापनको सकसले २०४७ सालदेखि हालसम्म नेपाललाई गिजोल्ने कार्य गरिरहेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनता पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीपूर्वकालाई व्यवस्थापन गर्न नै चुनौती छ । यिनै पूर्वहरूको स्वार्थकै कारण मुलुकले अपेक्षित दिशा लिन सकिरहेको छैन ।

हालै देखिएको नेपाल कम्युनिष्ट पार्टीको कलह तथा द्वन्द्व कुर्सीकै लागि हो । जसमा एकपटक उच्च पदमा पार्टीको प्रमुख वा प्रधानमन्त्री बन्न पुगेकाहरूको पुनः सत्ता प्राप्त गर्ने र सत्तामा रहेकाले संै सत्तामै रहिरहन खोज्ने महŒवाकांक्षाको दुष्परिणाम हो हालको प्रतिनिधिसभाको विघटनको घटना । यसले नेतृत्वको सही व्यवस्थापन हुन नसक्दा मुलुकले नै क्षति व्यहोर्नुपर्ने स्थिति पैदा गरिदिएको छ । मुलुक पुनः दिशाहीन र अस्थिरतातर्पm उन्मुख हुन पुगेको छ । पदप्राप्तिकै लागि कांग्रेसमा एक व्यक्ति एक पदको विवाद आइरहृयो । नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद व्यवस्थापन गर्न निकै सकस भइरहेको देखिन्छ । 

विसं २०१७ सालपछि राजाले प्रत्यक्ष शासन लिई पञ्चायत व्यवस्था लागू भएपछि पूर्वप्रधानमन्त्रीहरूको व्यवस्थापनमा नदेखिँदो समस्या रहृयो । सबैलाई आफ्नो इच्छानुसार प्रयोग गर्ने दरबारको नीति हुँदा सूर्यबहादुर थापा, तुलसी गिरी, कीर्तिनिधि विष्ट तथा लोकेन्द्रबहादुर चन्द पञ्चायती कालखण्डमा पटकपटक प्रधानमन्त्री हुन पुगे । यस कालमा पूर्वप्रधानमन्त्रीहरूको सम्बन्धमा तिक्तता नै थियो ।

विसं २०४६ सालको आन्दोलनपश्चात् राजनीतिक पार्टीहरूको चुरिफुरी बढ्यो । बढ्ने नै भयो । लामो समयसम्म जेल र अनेकौं तरिकाले पीडित भएका नेताहरू खुला मैदानमा देखिए । सबैले आफ्नो त्याग तपस्या र बलिदानको पुरस्कार पाउने लिगलिगे दौड सुरु गरे । एकपटक पार्टीप्रमुख भएपछि वा प्रधानमन्त्री भइसकेपछि पुनः पदको चाहना सबैमा रहृयो । यसकै कारण सबैजसो राजनीतिक पार्टीमा गुट उपगुट सिर्जना भए । मुलुक र पार्टीको स्वार्थभन्दा आफ्नै स्वार्थका कारण २०५१ देखि २०६२ सम्म अनेकौं अपवित्र साँठगाँठ देखिए । 

खासगरी ठूला राजनीतिक पार्टीमा सभापति÷अध्यक्ष वा प्रधानमन्त्री भइसकेका नेताहरू पुनः सत्तामा जान खोज्ने कारणबाट अधिकांश राजनीतिक विवाद सिर्जना भएका हुन् । अहिले देखिएका ठूला पार्टीका नेताहरू जो एकपटक अध्यक्ष, सभापति वा प्रधानमन्त्री भइसकेकाले पुनः बारम्बार सोही पदमा आउन र रहिरहन खोज्ने प्रवृत्ति, अहिलेको सन्दर्भमा राजनीति र कूटनीतिले गर्दा मुलुक अस्थिरताको शिकार हुन पुगेको छ ।

नेपालको इतिहास हेर्ने हो भने राष्ट्रप्रमुख वा राजामा भन्दा प्रधानमन्त्रीहरूमा पूर्वको उचित व्यवस्थापन गर्न नसक्दा देशमा समस्या आएका छन् । पृथ्वीनारायण शाहको मृत्युपछि जंगबहादुरको उदयसम्म भएका प्रधानमन्त्रीहरू सबै आफ्नै कार्यकालमा मारिएका हुँदा व्यवस्थापनको त समस्या भएन तर षड्यन्त्रकारी राजनीति देखाप¥यो । यसको कारण मुलुक लामो आन्तरिक संकटमा फस्यो ।

विसं १९०३ पश्चात् पूर्वश्री ३ र राणा परिवारकै समुचित व्यवस्था गर्न नसक्दा राणाहरूले अंग्रेजलाई प्रशन्न गराउने नीति लिए । खड्गशमशेर, देवशमशेर, जुद्धशमशेर, पद्मशमशेरलगायत १९९० सालमा रोलक्रम खोसिएका प्रायः सबै नै हिन्दुस्तान पुगे । अंग्रेज सरकारबाट उनीहरूलाई कुनै सहयोग नहोस् र हिन्दुस्तानबाट बागीहरूले सत्ताविरोधी कार्य गर्न नसकुन् भन्ने अभिप्रायले नै राणाहरूले अंग्रेजलाई खुशी बनाउने नीति लिए । 

यसबाट मुलुकले भने ठूलो मूल्य चुकाउनुप¥यो । भारत स्वतन्त्र भएपछि राणाहरूको सातो गयो । इष्टदेवता नै पलायन भएको अनुभव गरे । त्यसैकारण गणतन्त्र भारतलाई खुशी बनाउन सन् १९५० को सन्धिमा भविष्यमा पर्नसक्ने असर नै राम्ररी नहेरिकन ल्याप्चे लगाए, मोहनशमशेरले । सन् १९५० को सन्धिपछि प्रत्यक्ष र परोक्षरूपमा नेपालको आन्तरिक र बाह्य मामलामा भारतको भूमिका निर्णायक हुँदै गएको छ । जसको एउटा प्रमुख कारण हो, पूर्ण सत्ता प्राप्त गर्ने उत्कट अभिलाषा । प्रदीप गिरीको रक्सीको मातभन्दा सत्ताको मात लाग्ने यस सन्दर्भमा उचित टिप्पणी मान्न सकिन्छ ।

स्थानीय तहदेखि माथिसम्म सबै राजनीतिक पार्टीमा पूर्वाधिकारी र उत्तराधिकारीबीच सुमधुर सम्बन्ध हुन सकेको छैन । यसको मूल कारण हो, पूर्वाधिकारीहरूलाई पुनः पदमा आउने महŒवाकांक्षा । यसप्रकारको द्वन्द्व गैरसरकारी संस्था, विश्वविद्यालय तथा अन्य निकायमा प्रशस्त देखिएका छन् । पूर्व र वर्तमान अधिकारीबीच समन्वय ल्याउन उचित संयन्त्रको विकास नहुनु, आफ्नो महŒव देखाउन पूर्वाधिकारीका कार्यको अवमूल्यन गराउनु र पदासीन रहने समयसीमा नतोकिनु जस्ता कारणले यस्ता अवाञ्छित शीतयुद्धका घटना उजागर हुन पुगेका हुन् ।

एकपटक राजनीतिक पार्टीको प्रतिनिधित्व गर्दै उच्च र सम्मानित ओहोदामा पुगेकाहरूले संरक्षक, पार्टीको संरक्षक सल्लाहकार तथा मार्गप्रदर्शक भएर बसेको खण्डमा आपसी विवाद समाधान गर्न सजिलो हुने थियो । अहिले सबै राजनीतिक पार्टीमा सर्वमान्य नेताको अभाव छ । यसको कारण हो, सबैको शक्ति र सत्तामा आउन चाहने उत्कट आकांक्षा । विशुद्ध संरक्षक सल्लाहकारले मात्र पार्टीको हितमा सल्लाह दिने अपेक्षा हुन्छ । यहाँ त नेताले संविधान, कानुन तथा नियम आफ्नो स्वार्थअनुकूल व्याख्या गर्दै आएका छन् । गर्दै रहनेछन् । 

आगामी निर्वाचनका सम्बन्धमा भने दोस्रो संविधानसभाको निर्वाचन जस्तै केही समयका लागि प्रधानन्यायाधीशले कार्यकारी प्रमुख भई चुनाब गराउँदा सत्ताको दुरुपयोग हुने सम्भावना टर्छ कि ! अब यस्तै संक्रमणकाल भोग्ने नै नेपालीको पुर्पुरोमा लेखेको भए महŒवपूर्ण केही बुँदामा जनमतसंग्रह नै गर्नुपर्ने हुनसक्छ । हालको संविधानको सबैलाई प्रशन्न बनाउने नीतिले गर्दा कार्यान्वयनमा जटिलता देखिएको हो । यस्तो अवस्था झन बढ्दै जानेसमेत देखिन्छ । 

नेपाललाई नेतैनेताको देश बनाउन खोज्ने प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । पूर्वसत्तासीनलाई उचित व्यवस्थापन गर्न सके संसद्् विघटन गर्ने, आफ्नो स्वार्थअनुकूल अध्यादेश ल्याउने, सरकारी संयन्त्रमा आफ्नैमात्र मान्छे नियुक्त गर्ने, सुरक्षा निकाय तथा न्यायपालिका र कर्मचारीतन्त्रलगायतमा आफ्नो प्रभुत्व कायम गर्न खोज्ने जस्ता गतिविधि अन्त्य हुने थिए । संवैधानिक आयोगमा हाल भइरहेको तीव्र राजनीतीकरण कम हुने सम्भावना रहन्थ्यो । यसका लागि हाल एउटै औषधि देखिएको छ । त्यो हो पार्टी अध्यक्ष होस् वा प्रधानमन्त्री एउटै व्यक्ति दुईपटकभन्दा बढ्ता (जति समयका लागि भए पनि हुने पूर्णअवधि नै भन्ने होइन, पूर्ण दुई कार्यकालभन्दा अर्को जटिलता हुनसक्छ ।) पार्टीको सभापति÷अध्यक्ष र प्रधानमन्त्री वा राष्ट्रपति तथा अन्य महत्वपूर्ण निकायमा प्रमुख हुन नपाउने व्यवस्था हुनुपर्छ । यसैगरी उमेरको हद तोकिनुपर्छ । अन्यत्र उमेरको हद तोकिने तर राजनीति गर्न उमेरको सीमा नहुने हुँदा सबैको ध्यान राजनीतितिर आकृष्ट भएको छ । 

नेपालको राजनीतिमा चोरलाई चौतारो साधुलाई शुली हुने परम्पराले गर्दा र जुन जोगी आए पनि कानै चिरेका हुने परम्पराले गर्दा यी दुवै कुरा लागू हुनै नसक्ने देखिन्छ । गणतन्त्र भारतको संविधानका निर्माता अम्बेडकरको भनाइ संविधान जतिसुकै राम्रो किन नहोस् यसलाई कार्यान्वयन गर्नेहरू खराब भए भने खराबै हुन्छ । संविधान खराबै किन नहोस् यसलाई पालना गर्नेअरू असल भए भने यो असल हुन्छ (कान्तिपुर, सम्पादकीय ६ पुस २०७७) । उपर्युक्त भनाइ नेपालको संवैधानिक इतिहासको विचरण गर्दा ठीक लाग्छ ।


Views: 350