सामान्य अर्थमा कुनै प्रतिफलको आश नगरी कसैलाई केही दिनु वा केही बनाई दिनु दान मानिन्छ । यसलाई धर्म वा पुण्यको काम मानिन्छ । यसलाई धर्मद्वारा निर्देशित मान्ने चलन पनि छ । किनभने सबै सबै धर्महरूमा दानको उल्लेख र महŒव रहेको छ । प्राय सबै धर्मको निचोडमा वा शास्त्रीय विधिअनुसार दान आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने काम हो भने धार्मिक भावनाले प्रदान गर्ने कुरा, वा धार्मिक विधिअनुसार संकलप गरी अन्न, वस्त्र, पैसा, जग्गा, गाई जस्ता कुराहरू दिने कामलाई बुझ्ने गरिन्छ ।
जसमा दानको बदलामा कुनै प्रकारको विनिमय हँुदैन र दान पाउनेको अधिकारमा पुग्नुभन्दा अगाडि नै नष्ट भएमा पनि त्यसलाई दान मानिँदैन । यसबाट दातालाई पनि दानको फल प्राप्त हुँदैन भन्ने मान्यता छ । संस्कृत, पाली, देवनागरी शब्दमा दान भारतीय सिद्धान्तअनुरूप सदाचारका रूपमा कुनै वस्तु उदारताका साथ कसैलाई दिइन्छ भने त्यसलाई दान भनिन्छ । यो वैदिक कालदेखि नै चल्दैआएको परम्परा हो । हिन्दू मान्यताअनुसार दान दक्षिणा, भिक्षा, परोपकार जस्ता शब्दहरूसँग जोडेर पनि हेर्ने गरिन्छ र यसलाई नर्फकाइने वा त्यसबापत कुनै वस्तु प्राप्त नहुने मान्यता राखिन्छ ।
विशेषगरी सनातन मान्यतामा दान सार्वजनिक हितको काम पाटीपौवा, धर्मशाला, विद्यालय, वृक्षरोपणलगायत अरूको हित हुने कामसँग सम्बन्धित हुन्छ । मुख्यगरी ऋगवेदमा दानका बारेमा उल्लेख भएको छ । त्यसैगरी उपनिषद्, भागवत गीता, माहाभारत, विभिन्न पुराणलगायतमा उल्लेख भएअनुसार कन्यादान, विद्यादान, धर्मदान, भूमिदान, अन्नदानलगायतका दानका बारेमा उल्लेख छन् । आध्यात्मिक सोचअनुसार दानले यस लोक र परलोक दुवैलाई उन्नत बनाउँछ ।
यसलाई धार्मिक मान्यताअनुरूप समाजमा परम्पराको रूपमा मान्दै प्रचलनमा ल्याइएको छ । विशेषगरी दक्षिण एसियाका बाटो छेउमा रहेका हिन्दू मन्दिर नजिक गरिब यात्रुहरूलाई पानी र भोजनसमेतको व्यवस्था मिलाइएका धर्मशालाहरू बनाउने प्रचलन निकै पुरानो मानिन्छ । जैन धर्ममा चार प्रकारका दानका सम्बन्धमा व्यख्या गरिएको पाइन्छ । दानलाई उनीहरू दश सकारात्मक एवं राम्रा कामहरूमध्ये एकका रूपमा मान्दछन् । आहार दान, औषधि दान, ज्ञान दान र अभय दानका बारेमा धेरै चर्चा गरिएको छ ।
सिखहरू पनि आफ्ना जीवनका तीन मुख्य कामहरूमध्ये आफूले आर्जन गरेको केही भाग दान कर्म गर्नुपर्छ भन्ने ठान्दछन् । दानका बारेमा बौद्ध धर्ममा धेरै प्रसंगहरू छन् । बुद्धŒव प्राप्त गर्नलाई नभई नहुने पारमिता धर्ममध्ये पहिलो धर्म दान पारमिता हो । शरीरबाट अलग रहेका जस्तै पैसा, अन्न, घर, जग्गा, औषधि, हीरा, मोती, पन्ना, लुगा, जुत्ता, छाताजस्ता वस्तुहरू दिनुलाई दानपारमिता भनिन्छ । पारमिताको मतलब तरेर जानु हो । दानको लक्षण भनेको केही वस्तुमा लोभचित्त टाँसेर नबस्नु, आशक्त नहुनु, लोभ नहुनुजस्ता कुराहरू पर्दछन् ।
दान सबै धर्ममा प्रचलित छ र पुण्यकर्मको रूपमा यसलाई मानिन्छ । धर्मअनुसार दान गरेमा धर्म हुने, स्वर्ग पुग्ने, फल मिल्ने, मोक्ष हुने जस्ता कुराहरू उल्लेख भए पनि बौद्ध धर्ममा मोक्षको प्रसंग निर्वाणसँग जोडिएको छ । विशेषगरी सनातन धर्ममा दानको बारेमा विभिन्न व्यख्या एवं टिप्पणीहरू भए पनि ऋगवेदमा दानको सम्बन्धमा उल्लेख छ । धेरथोर जस्तो सुकै होस् श्रद्धापूर्वक गरिएको दानले अक्षय फल मिल्ने अर्थात् दानबाट प्राप्त फल क्षय वा नास हँुदैन भन्ने मानिन्छ ।
दान विशुद्ध हुनुपर्ने मान्यताअनुरूप अन्न दान सर्वश्रेष्ठ दान मानिएको छ भने अक्षय तृतीयाको दिनलाई दानको लागि उत्तम दिन मानिन्छ । आशक्तिविना र कुनै शर्त नराखी गरिएको दान वा दान पारमिताले अर्को जन्ममा पनि सुखी र सम्पन्न बनाउँछ अनि दाताको मनलाई शुद्ध एवं आनन्दित बनाउँछ भन्ने विश्वास बौद्ध धर्मावलम्बीहरू मान्दछन् ।
त्यसैगरी बौद्ध धर्म वा दर्शनमा सामान्य रूपमा दानको अर्थ आफूसँग भएको वस्तु अरूलाई दिनु हो वा श्रद्धापूर्वक कुनै वस्तु कसैले त्याग गर्दछ भने त्यो दान हो । बौद्धधर्म र दर्शनअनुसार आफूले केही इच्छा नराखी बहुजन हित र सुखका लागि दिएको दानले महाफल र बोधियान प्राप्त हुने मानिन्छ । दान गर्नाले आशक्तिभाव कम भएर त्यगको भावना वृद्धि हुने मानिन्छ । दान शुद्ध रूपमा गर्दा चित्तमा एकाग्रता आएर ध्यान पनि सफल हुन्छ । यसैले बौद्ध दर्शनमा विभिन्न प्रकारका दानका बारेमा विभिन्न निकायमा चर्चा भएको पाइन्छ ।
बोधिसत्व वा बुद्धŒवका लागि थेरवाद वा महायान दुबैमा पारमिताको गहन अर्थ छ । यी दुवैमा आफ्नो निष्कर्षमा पुग्न पारमिताहरूलाई पूर्ण गर्र्नुपर्छ । पारमिता भनेको अन्तिम चरणसम्म पुग्नु हो । विशेषगरी यसका लागि थेरवाद बुद्धधर्मानुसार दश पारमिताको उल्लेख गरिएको छ भने महायानमा षट्पारमिता चर्याको बारेमा व्यख्या गरिएको छ । दुवै पारमितामा दान भने पहिलो स्थानमा पर्दछ ।
थेरवादीहरू यसलाई दश पुण्यक्रिया वस्तु मान्दछन् । पुण्य–क्रिया–वस्तु तीन शब्दबाट बनेको छ र पुण्य भनेको असल, सुन्दर, स्वच्छ र सफा मानिन्छ भने क्रिया भन्नाले गर्नु योग्य अनि गर्नुपर्ने काम मानिन्छ । त्यसैगरी वस्तुलाई आधार मानी कुशल कर्म र अशल फल उत्पन्न गराउने कारण मानिन्छ । यी दशवटालाई तीन समूहमा विभाजन गरी दान समूहलाई पहिलो प्राथमिकता दिएको पाइन्छ । जुन मानिससँग सदैव सम्बन्धित हुन्छ ।
त्यसैगरी नवसूत्र संग्रहको दश भूमिक सूत्रमा दान पारमिताको सम्बन्धमा उल्लेख छ । विशेषगरी थेरवादीहरू व्यक्तिगत दानभन्दा दानपात्रमा दिइने सामूहिक दान बढी पुण्यको ठान्दछन् । किनभने त्यहाँ संघको महŒव हुन्छ र भिक्षुहरू गृहस्थ जीवनबाट टाढा हुन्छन् अर्थात् उनीहरूले त्यस्ता आशक्तिका सबै कुरा त्यागेका हुन्छन् ।
नेपालमा बौद्ध परम्पराअनुसारको दान कार्य चावहिलको धर्मदत्त चैत्यको अभिलेखले देखाएको छ र यो अभिलेख राजा वृषदेवको समयको मानिएको छ । त्यसबेला एक महिलाले जग्गालगायत धेरै प्रकारको दान गरेको कुरा अभिलेखमा उल्लेख छ । कुनै राम्रो काम सम्पन्न भएपछि संघभोजन गराइएको प्रसंग उल्लेख छ । अर्थात् उनले पनि त्यसैगरी सम्यक दान, नवदान र क्षीर दान गरेकी थिइन् ।
नेपालको प्रसंगमा मध्यकालमा दानको प्रचलन निकै बढेको देखिन्छ । विशेषगरी शिवदेवको समयमा भिक्षु भोज सत्र भन्ने शब्दको प्रयोग भएको र त्यो शब्दले अन्नदानलाई बुझाउँछ जुन पञ्चदानसँग बढी सम्बन्धित हुन्छ । राजा शिवदेवले नन्दीलाल बिहार बनाई त्यस्तो दान गरेका थिए । मध्यकालमै दीपंकर बुद्धलाई मान्ने चलन ज्यादै उत्सहजनक रूपमा वृद्धि भएको देखिन्छ । तत्कालीन अभिलेख एवं ऐतिहासिक स्रोतहरूका अनुसार दीपंकरको प्रतीमा पनि यस समयमा धेरै बनेको उदाहरण छन् ।
जयस्थिति मल्लले इटुंवहाल र पाटनका महापात्र अतृतसिंहले धर्मकीर्ति विहारमा दीपंकरको प्रतिमा बनाएर प्रतिस्थापन गरेर पञ्चदानसमेत गरेका थिए । यसरी नेपालको इतिहासको ज्ञात समयदेखि नै दानको प्रचलन रहेको र विशेषगरी बौद्ध धर्ममा अहिलेसम्म पनि नवदान, पञ्चदान, सम्यक दान, महादान, कठिन दानलगायतका दान कर्महरूले निरन्तरता पाइराखेका छन् जुन थेरवाद र महायान दुवैमा प्रचलनमा छन् । त्यसैगरी मुस्लिम र इसाई धर्ममा पनि दानको त्यतिकै महŒव रहेको छ । ती धर्महरूमा त वाषर््िाक रूपमा आफूले कमाएको सम्पत्तिको निश्चित प्रतिशत दान गर्नुपर्ने नियमनै छ । त्यसलाई सामान्यतया पालना भइरहेको देखिन्छ ।
तर, आजभोलि दान धेरैजसो आडम्बरीका रूपमा देखिएका छन् । दानका नाममा देश विदेशमा दान उठाउने र दानभन्दा पनि त्यसलाई प्रचारप्रसार गर्न र तस्वीर वा बृत्तचित्र बनाएर देखाउनमा बढी खर्च गर्ने र रमाइलो मान्ने गरिन्छ । जुन दान पाउन हिनताबोध गराउने कार्य पनि हो ।
वास्तवमा दान शुद्ध हुनुपर्दछ । अर्थात् दानमा मुख्यतया तीन किसिमले शुद्ध वा पवित्र मानिनु पर्दछ । अरूको देखासिकी, कुनै बाध्यता र सामाजिक प्रतिष्ठाका लागि मैले पनि गरे नि ! भन्ने निहित भावनाले कुनै पुण्य हुँदैन । दान दिनेले आत्मैदेखि चाहेको हुनुर्पदछ । जसको प्रतिफल यो होस् भनिँदैन । दान दिने वस्तु उपयोगी हुनुपर्दछ । आफूलाई बढी भएको वा आफूलाई काम नलाग्ने वस्तु दानका लागि उपयोगी मानिँदैन । अझ शास्त्रहरूले त चोरी, ठगी वा कुनै अत्याचार गरी जोडेको वस्तु वा सम्पत्तिलाई दानयोग्य नै मान्दैनन् । त्यसरी नै दान लिने लोभीपापी हुनुहुँदैन । दान लिने वा पाएको दानबाट सन्तुष्ट हुनुपर्दछ । त्यसलाई विभेद नगर्ने हुनुपर्दछ ।
Views: 151