13th April | 2021 | Tuesday | 7:13:32 PM

गिनिज बुकमा नेकपा !

शान्तिकृष्ण अधिकारी   POSTED ON : माघ २९, २०७७ (८:१३ AM)

गिनिज बुकमा नेकपा !

हामीले ससानो उमेरमा पढेको एउटा लोक कथा छ । एउटा चार पाँच वर्षको केटो छिमेकीको घरमा जान्छ । त्यहाँ यताउता खेल्दै गर्दा कोठामा सियो देख्छ । नयाँ थियो सियो, टलक्क टल्केको । हेर्दै लोभ लाग्दो । केटो सियोमा लोभिन्छ । आफ्नो घर फर्कने बेला त्यहाँबाट सियो बोकेर हिँड्छ । उसले सियो लगेको कसैले थाहा पाउँदैनन् । केटो सानै थियो, त्यसरी अर्काको सामान लैजान हुन्छ या हुँदैन भन्ने उसलाई पत्तो थिएन, राम्रो लाग्यो, बोकेर हिँड्यो ।

घरमा लगेर त्यो सियो आमालाई दिन्छ, आमाले खुशी हुँदै धन्यवाद दिन्छिन् । कति लुगा उध्रेका थिए, सियो नभएर सिलाउन पाएकी थिइन, छोराले ल्याइदियो, अब सिलाउन पाउने भइयो भन्छिन् । आमा खुशी भएको देखेर अर्को दिन छोरो अर्कै घरमा जान्छ । त्यहाँबाट कुचो बोकेर हिँड्छ र आमालाई ल्याएर दिन्छ । आमा त्यसैगरी रमाउँछिन् । घरको कुचो पुरानो भएर कति अप्ठ्येरो भएको थियो, छोराले ल्याइदिएर अब सजिलो हुने भयो भन्छिन् । छोरो पनि अब काम गर्ने भयो भन्दै धन्यवाद दिन्छिन् ।

छोरालाई भने आमाको खुशी देखेर रमाइलो लाग्न थाल्दछ । उसमा चोर्ने हौसला बढ्न थाल्छ । दैनिकै कुनै न कुनै घरमा जाने र चोरेको सामान घरमा ल्याएर आमालाई दिने गर्न थाल्यो । उमेर बढ्दै जाँदा उसले चोर्ने सामानहरूमा पनि स्तर बढ्दै जान थाल्यो । उसका महŒवाकांक्षाहरू बढ्दै गए । जब ऊ सोह्र÷सत्र वर्षको भयो, एकदिन कुनै छिमेकीको घरमा पसेर ढुकुटी नै फोर्न थालेछ । उसले चोरी गर्ने प्रयास गर्दागर्दै घरधनीले थाहा पाएर पक्रेर प्रहरीकहाँ बुझाए ।

अनि बल्ल आमाछोरा दुवैले चेते । गर्न नहुने काम गरिएछ भनेर पछुताउन थाले । समय धेरै घर्किसकेको थियो, पछुताउँदैमा मुक्ति मिल्ने अवस्था थिएन । पहिलो पटक सियो ल्याउँदा नै मैले यसरी चोर्न हुँदैन भनेको भए त आज छोरो जेलमा हुने थिएन नि भन्दै पुर्पुरोमा हात राखेर आमा रुन थालिन् तर अब कानुनले तोकेको सजाय भोग नगरी छोरो छुट्नेवाला थिएन । छोरो पनि समयमै नसम्झाएकोमा आमालाई गाली गर्दै जेलमा बस्न बाध्य भयो ।

यो कथा अहिलेको नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र यसका नेताहरूसंग ठ्याक्क मिल्दो छ । सबैभन्दा पहिले वर्तमान प्रधानमन्त्री केपी ओलीले राजतन्त्र विरुद्धको गणतान्त्रिक आन्दोलनमा आएको उत्साहलाई शिथिल पार्न सकिन्छ कि भनेर बयल गाडा चढेर अमेरिका पुगिँदैन, नेपालमा पनि यस्ता आन्दोलनले गणतन्त्र आउँदैन भन्दै हिँडे । त्यसको पुरस्कारस्वरूप नेकपा एमालेका कार्यकर्ताहरूले ओलीलाई पार्टीको अध्यक्ष बनाए भने गणतान्त्रिक संविधान आएपछिको प्रधानमन्त्री पनि बनाए । यसबाटै केपी ओलीमा उल्टो बाटो हिँडेमात्रै सफलता हात लाग्छ भन्ने अनुभूति भइसकेको अनुमान गर्न सकिन्छ ।

माओवादी र मधेसीहरूको दोहोलो काढ्थे केपी ओली । माओवादी र मधेसीहरूलाई ओलीले जति गाली शायदै अरू कसैले गरेको होला । मनमा इख भएको भए या आत्मसम्मान भन्ने कुरा यिनीहरूमा भएको भए केपी ओली र माओवादी अनि मधेसीहरूको मिलन सम्भव हुने अवस्था कुनै पनि हालतमा देखिँदैनथ्यो । नेकपा एमालेसँग सहकार्य गरेर माओवादी र मधेसीले नै पछि आएर दुई तिहाइको प्रधानमन्त्री बनाइदिए । त्यसैले पनि वर्तमान प्रधानमन्त्रीलाई सहमति, सहकार्य र एकताका माध्यमद्वारा सरकार चलाउने होइन कि गाली गलौज र हेपाहा प्रवृत्तिबाटै तह लगाउन सकिन्छ भन्ने मात चढेको हो भन्न सकिन्छ ।

संसद् सदस्यको निर्वाचनमा विजय हासिल गरेपछि सांसद् पदको शपथै लिएका थिएनन् केपी ओलीले । सांसद् पदको शपथ नखाइकनै राष्ट्रपतिबाट प्रधानमन्त्री पदको शपथ लिए । नेपालको संविधानले सांसद् नभएको मान्छेलाई प्रधानमन्त्री बनाउन मिल्दैन तर यसो गर्न हुँदैन भनेर न राष्ट्रपतिले भनिन् न नेकपाका अहिले केपी ओलीको उछित्तो काढ्ने कुनै नेताले नै सम्झाए या विरोध जनाए । नहुँदो काम गर्दा ताली पिटेर रमाए, ओलीको हौसला बढाउँदै गए । ओलीलाई मनुष्य प्रधानमन्त्री होइन कि देवलोकबाट झरेको भगवान् भन्ने पुष्टि गर्न निरन्तर लागिरहे ।

संविधानले प्रष्टै भनेको छ–प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै दलको हुन हुँदैन, दुई फरक फरक दलको हुनु पर्दछ भनेर । करिब दुई तिहाइ बहुमत भएको बलमा संविधान मिचेर नेकपाकै नेता र नेतृ कृष्णबहादुर महरा र शिवमाया तुम्बाहाम्फेलाई सभामुख र उपसभामुख बनाइयो । संविधान मिच्न पाइँदैन भनेर न प्रचण्डले बोले न माधवकुमार नेपालले नै विरोध जनाए । एउटै झुण्डमा बसेर ओली, प्रचण्ड, नेपाल र खनालहरूले खुशी मनाएको सबैले देखेकै हो । संविधान मिच्ने कार्यमा अहिलेको कदमलाई मात्र हेरेर ओलीलाई मात्रै दोषी त्यसैले पनि देख्न मिल्दैन जस्तो लाग्दछ । यी सबै नै मतियार हुन् भनेर निःसंकोच भन्न सकिन्छ ।

संविधान मिच्न र कानुनको धज्जी उडाउन नेकपा पार्टीका नेताहरूको निःशर्त साथ पाउँदै गएपछि प्रधानमन्त्री ओलीको प्रवृत्ति बढ्दै जानु कुनै आश्चर्य मान्नुपर्ने कुरा होइन । त्यसपछि गुठी विधेयक, मिडिया विधेयक, सुरक्षा विधेयक, दल परिवर्तनसम्बन्धी लोकतन्त्रविरुद्धका अध्यादेशहरू ल्याए । दल परिवर्तनसम्बन्धी अध्यादेश बाहेकका कुनै जनविरोधी र अलोकतान्त्रिक विधेयकमा अहिले ओलीका घोरविरोधी देखिएका माधव–प्रचण्ड (माचण्ड) हरूले कुनै असहमति जाहेर गरेको जनतालाई थाहा छैन ।

औषधि खरिद प्रकरण, वाइड बडी खरिद काण्ड, सुन काण्डहरूमा पनि माचण्डहरूको विरोधका आवाज त्यतिबेला सुन्न पाइएको थिएन, जुन अहिले अत्यन्त चर्का आवाजमा आइरहेका छन् । सेक्युरिटी प्रेस खरिद काण्डमा पनि नेकपाका नेताहरूको कुनै धारणा सुन्न पाइएन । वर्तमान प्रधानमन्त्री ओलीको गोकुल बाँस्कोटालाई संरक्षण हुने खालका तर्क सुनियो र मौनं सम्मति लक्षणं भनेझैँ सबै नेताहरूले त्यसैमा सहमति जनाएको भान आमनागरिकलाई परेकै हो ।

यति हुँदाहुँदै पनि अहिले नेपालको राजनीतिक रंगमञ्चमा नेकपाकै नाटक चलिरहेको छ । सरकारमा, सडकमा र गल्ली–गल्ली र चोकहरूमा नेकपाकै रजगज छ । दुई समूहमा बाँडिएका छन्, दुई कित्तामा उभिएका छन् । एउटाले अर्कोलाई लोकतन्त्रविरोधी, गैरसंवैधानिक देखाउन तँछाडमछाड गरिरहेका छन् । सक्कली नेकपा र नक्कली नेकपाको द्वन्द्वले मुलुकलाई धराशयी बनाउँदै लगेको छ । एकले अर्कोलाई भ्रष्टाचारी, तानाशाही र जनविरोधीको बिल्ला भिराएर आफू पानीमाथिको ओभानो बन्ने निरर्थक प्रयास गरिरहेका छन् । 

परिस्थिति यो छ तर पनि नेकपाका दुवै समूहका जुलुस र सभाहरूमा यिनै नेताहरूलाई विश्वास गर्दै अझै हजारौंको संख्यामा मानिसहरू देखिनुलाई अचम्मका रूपमा पर्यवेक्षकहरूले लिएका छन् । कस्ताको पछि लाग्नु हुन्छ र कस्ताको हुँदैन भन्ने कुरामा नेपाली जनताको मूल्यांकन गर्नसक्ने खुबीमाथि नै प्रश्न उठ्न थालिसकेको छ । जस्तोसुकै अवस्था र जस्तोसुकै व्यवहार गरेर भए पनि जनतालाई गुमराहमा राख्न सक्ने यो खुबी विश्वका कुनै पनि राजनीतिक दल र नेताहरूमा शायदै भेट्न सकिन्छ होला । यसैले पनि गिनिज बुकमा नेकपा पार्टीको नाम छिट्टै दर्ज नहोला भन्न सकिन्न ।

त्यतिमात्रै होइन, सत्तामा आफैं छ, सडकमा जुलुस र सभा आफैं गर्दै आफ्नै सरकारको विरोध र समर्थनमा कार्यकर्ता उतार्ने दल पनि नेकपाबाहेक कुनै हुन गाह्रै पर्ला । निर्वाचन आयोगमा गएर दुईटा पार्टी नभन्ने तर मैदानमा दुई दल भएको अनुभूति दिलाएर जनतालाई अलमलमा पार्न सक्ने दल पनि नेकपामात्रै हो भन्न कुनै अप्ठ्यारो मान्नु पर्ने देखिँदैन । सत्तारुढ दलले नै संसद्मा हंगामा मच्चाएर सदन बिथोल्ने दल पनि नेकपाबाहेक अर्को हुनै सक्दैन ।

करिब दुई तिहाइ बहुमतको सरकारले आफूले प्रस्तुत गरेको बजेट खर्च गर्न नसकेर लगातार तीन वर्ष नै बजेटको आकार घटाएको छ तर विकासको बाढी ल्याएको दावी पनि गर्दैछ । पैसै खर्च नगरी देवत्व प्राप्त गरेका प्रधानमन्त्रीले विकासको मूल फुटाए भनेर जनताले विश्वास गरिदिनु परेको छ । प्रधानमन्त्रीले भनेपछि प्रचण्डमात्रै हत्याहिंसाका नाइके हुने र प्रचण्डसँगै जंगलमा दश वर्ष बिताएका बादल र टोपबहादुर रायमाझीहरू दूधले धोएका बनाउनसक्ने अद्भूत क्षमता भएका नेता भएको पार्टी नेकपा नै देखिएको छ । 

आफ्नै पार्टीका नेतालाई भन्न हुने र नहुने सबै खालका आरोपहरू सार्वजनिक रूपमै लगाएर आज जमिनमुनि पु¥याउन उद्यत् हुने र भोलि त्यही नेतालाई मुलुककै सबैभन्दा ठूलो समाजवादी, राष्ट्रवादी, लोकतान्त्रिक र जनप्रिय भन्नसक्ने नेता भएको पार्टी पनि नेकपा नै हो भन्ने प्रमाणित भइसकेको छ । आज प्रशंसा गर्ने, भोलि धज्जी उडाउने र पर्सि फेरि उसैको प्रशंसा गरेर नथाक्ने नेताहरू भएको दल पनि नेकपा नै हो भन्ने पुष्टि हुनगएको छ । यति भएपछि गिनिज बुकमा नाम लेखाउन अरू केही कुर्नु पर्ला र ?


Views: 310