13th April | 2021 | Tuesday | 7:24:14 PM

उपत्यकावासीको मेलम्ची सपना : पूरा होला !

रिसव गौतम   POSTED ON : माघ २९, २०७७ (८:१५ AM)

उपत्यकावासीको मेलम्ची सपना : पूरा होला !

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माण प्रारम्भको २६ वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । फलतः यसले काठमाडौं उपत्यकावासीलाई निराशमात्रै बनाएको छैन, नेपालको विकासको गतिलाई लिएर अन्तर्राष्ट्रिय जगतमा देशलाई नै लज्जित बनाएको छ । २०५१ सालमै कांग्रेस नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्न पनि पुग्ने बताएका थिए । त्यसपछि लगानीकर्ताको खोजी गर्दै २०५२ सालमा मेलम्ची खानेपानी आयोजनाको स्थापना गरिएको थियो । यसरी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै यस आयोजना निर्माणका लागि प्रारम्भिक पहलकदमी उठाएका थिए । 

यद्यपि भट्टराईपछि धेरै नेताले मेलम्ची–काठमाडौंमा ल्याइदिने भन्दै चुनाव जिते । तर, २०५८ सालदेखि विधिवत् निर्माणको काम थालिएको यो खानेपानी आयोजना हालसम्म २९ अर्ब खर्च भइसक्दासमेत पूरा भएको छैन । खानेपानी आयोजना निर्माणका लागि नेपाल सरकार र दातृ निकायहरू एडिबी, विश्व बंैक, जेबिक (जापान), नोराड, सिडा, जापान सरकार, ओपेक, एनडिएफलगायतबाट आर्थिक स्रोत जुटाइएको हो । झण्डै २० लाख उपत्यकावासीलाई खानेपानी आपूर्ति गर्नेअनुमान गरिएको यो आयोजना राजनीतीकरण, ढिलासुस्ती र कमिसनतन्त्रको चरम चपेटामा प¥यो र पर्दै आएको छ । जसले गर्दा तिर्खाएका राजधानीवासीले पानीको प्यास मेट्न अझै पाएका छैनन् ।

झण्डै ३ दशकबीच दर्जनांै मन्त्रीहरू फेरिए, कैयांै नेताहरूले मेलम्चीको पानी काठमाडौंमा ल्याएर छेलोखेलो बनाउने सपना देखाएर चुनाव जिते । कैयौं वसन्तहरू आए÷गए तर मेलम्ची आएन । खासगरी मेलम्ची खानेपानी आयोजजना कार्यगत ढिलासुस्ती, राजनीतीकरण, भ्रष्टाचार, अनियमितता, झन्झटिलो खरिद ऐन र कर्मचारीहरूको असहयोगकै कारण हालसम्म पूरा नभएको हो । हिजोआजका वर्षहरूमा वर्ष÷वर्ष दिनमै छिमेकी देशहरूले स्मार्ट शहरहरू बनाएर चमत्कार गरिरहेका छन् । विदेशीले विकासका नवीनतम् चमत्कार गरिरहेका छन् । विडम्बना हामीले हाम्रो आधारभूत आवश्यकताको एउटा बहुप्रतिक्षित आयोजना २६ वर्षमासमेत पूरा गर्न सकेका छैनौं । यो हदसम्मकै लज्जाको विषय हो । 

हाम्रोमा जिन्दगीभर राजनीति गरेर जेलनेल झेलेर आएको मान्छे मन्त्री भयो भने पनि सक्तामा पुगेपछि उसमा शासकीय भूत सवार हुन्छ । चश्मा लगाएर हिँडेको छ भने उसले अगाडिका मान्छे नदेख्न सक्छ । जनताले त्यो बखत नमस्कार गरेछ भने नमस्कार नफर्काउन सक्छ । किनकि उसमा शक्तिको, पदको उन्मत उन्माद चढेको हुन्छ । आफ्नो जिम्मेवारी एकातिर छ, उसको प्राथमिकता अर्कोतिर छ । जनताको आवश्यकता, दुःख र दर्द बुझ्ने मन्त्री हुँदैनन् । उनीहरू दिनहुँ दलाल, आसेपासे र नातेदारको स्वार्थ पूरा गर्न लालायित तिर हुन्छन् । त्यसैले यस्ता बहुआयामिक महŒवका आयोजना अलपत्र बनिरहेका छन् । 

अहिले खानेपानी मन्त्री पुनः फेरिएको अवस्था छ । पुराना कम्युनिष्ट नेता मणि थापा राजधानीवासीको आकांक्षा पूरा गर्नसक्ने मन्त्रालयको जिम्मेवारीमा आइपुगेका छन् । उनका लागि बडो अवसर छ काम गरेर देखाउने । किनभने समयकालले अहिले मेलम्ची पूरा गर्ने अन्तिम अन्तिम घडीमा थापालाई मन्त्री बनाइएको छ । हेरौं, उनले त्यो जिम्मेवारी पूरा गर्छन् वा गर्दैनन् त्यो भविष्यको गर्भमै छ । 

काठमाडौं उपत्यकामा मेलम्ची गत दशैँमा आउँछ, अर्को दशैँसम्ममा आउँछ, दुई महिनापछि आउँछ, अर्को महिना आउँछ नै र आइ नै सक्यो भनिरहँदा रहँदै अहिले त त्यस्ता प्रचारमा जनताले विश्वास गर्न छाडिसकेको अवस्था छ । त्यसकारण मेलम्ची आउँन अझै दृढ संकल्प र कडा प्रयत्न आवश्यक देखिन्छ । त्यसैले नवनियुक्त मन्त्रीज्यूलाई केही सुझाब छन् ।

खासगरी उनले आफ्नो टिमलाई अलिक सशक्त बनाउन जरुरी छ । सक्षम मान्छेहरू सल्लाहकार कमिटीमा राखेर विज्ञ, ठेकेदार, कर्मचारी र स्थानीय जनताको राय सुनेर पहिला त आयोजना सम्पन्न हुननसक्नुका कारण पहिल्याउन जरुरी छ । यस्ता काम नदीको गड्गडाहटझँै बेगले गर्न जरुरी छ । जहाँ समस्या छन् । त्यसलाई फुकाएर, कर्मचारीमा उत्प्रेरणा भर्दै ऊर्जावान ढंगले त्यसको अनुगमन तथा कार्यसम्पादनमा ध्यान दिन जरुरी छ । 

खासगरी विकास भनेको गाह्रो छ र सजिलो पनि । त्यो आफूमा निर्भर रहने कुरा हो । पूरा गर्न चाहने उत्कट आकांक्षाको कुरा हो । हिजो कैयौं कर्मचारीले गर्न नसकेका काम निष्ठापूर्वक, ऊर्जावान र विवेकपूर्ण ढंगले गर्दा कुलमान घिसिङले नेपाललाई लोडसेडिङबाट पूरा मुक्त गराए । त्यही शैली मन्त्री थापा र उनको मन्त्रालयले अवलम्बन गर्न जरुरी देखिन्छ । अनिमात्रै मेलम्ची काठमाडांै उपत्यकामा आउँन सक्छ । 

एउटा आयोजनालाई घुमाउने, हो भने जति पनि गर्न सकिएला । बिग्रार्ने वा भुलभुल्याउने काम धेरै असजिलो छैन तर बनाउने काम भने जटिल हो । त्यहाँ कर्मचारीको स्वार्थको कुरा रहलान्, स्थानीयको रहलान् ठेकदारको रहलान् मन्त्रीकै पनि रहलान् । हिजोका दिनमा आयोजनालाई लिएर बाहिर आएका समाचारले त्यही दृष्टान्तलाई दर्शाएको छ । तर, केन्द्रमा रहने मन्त्रीले नै विनास्वार्थ काम गरेको खण्डमा अरू सबै स्वार्थ समूहलाई नियन्त्रण गर्दै काम गर्न सकिन्छ । जो कुलमानले उदाहरण दिएका छन् । विकासलाई दुष्टहरूबाट जोगाउँदै संयमित र व्यवस्थित ढंगले मिलाएर लान सक्दा यो आयोजना पूरा गर्न अब कठिन नभएको बुझिन्छ । 

२७ किमी व्यवस्थित सुरुङमार्ग बनिसकेको छ । पानीको भण्डारणका लागि सुन्दरीजलमा व्यवस्थित ट्याङ्की बनिसकेको छ । राजधानीमै व्यवस्थित पाइपलाइन तथा आवश्यक भण्डारण स्थलहरू बनिसकेका छन् । त्यसकारण यस आयोजनाका लगभग सबैजसो पूर्वाधारहरू बनिसकेका छन् । मात्रै केही आन्तरिक प्राविधिक काम र त्यसको ट्रायल गर्न बाँकी छन् । ती काम गर्न महिनौं वा वर्षौं लाग्न सक्छन् यदि मन्त्रीले तदारुकता नदेखाउने हो भने । त्यसकारण भए गरेका थोरबहुत जटिलतालाई सुल्झाउँदै अविलम्ब मेलम्चीको पानी काठमाडौंमा ओराल्न आवश्यक छ ।

मेलम्ची नआएकै कारण काठमाडांैवासी ट्याङ्करको पानीमा निर्भर छन् । त्यस्तो पानीको गुणस्तरसमेत मापन हुनेगरेको छैन । फलस्वरूप पानीजन्य रोगले धेरैलाई सताउने, मेडिकल खर्च बढ्ने, स्वास्थ्य बिग्रने समस्यामा छन् । अर्कोतिर ट्याङ्करमार्फत अन्यन्त्रबाट पानी ओर्सादा इन्धनको व्यापक खपत भई इन्धन आयातमार्फत व्यापार घाटा बढाएको छ । राजधानीमा त्यसले सडक जामको अवस्था सिर्जना गर्नुका साथै अरू अनेकन समस्या बढाएको छ । 

ट्याङ्करमा पानी ओर्सानेले रोजगारी पाएका त हुन् तर देशको लागि त्यो उत्पादनमूलक एवं अर्थपूर्ण भएन । बरू त्यसरी रोजगार भएकालाई अन्यन्त्र स्थापित गर्न सकिएला । ठाउँ धेरै छन् । मूल कुरा सफा पानी सहज रूपमा, व्यवस्थित रूपमा शहरवासीलाई पु¥याउने कुरा हो । त्यो नै खास अर्थको विकास र समृद्धिको कदम हो । 

गत असार ३० गते मेलम्चीको पानी परीक्षणको क्रममा सुरुङको ढोका भत्किएर पानी बाहिर आएसँगै मेलम्ची–काठमाडौं आउनेमा झन् शंसय उत्पन्न भएको छ । जनता झन् बढी निराश भए । अर्कोतिर आयोजना निर्माणको गुणस्तरमै प्रश्न उब्जिएको छ । अख्तियारले ढोका भत्किएर पानी आएको घटनापछि आवश्यक कागजात झिकाएर छानविनै सुरु गरेपछि गुणस्तरमा झन् आशंका उब्जिएको छ । त्यसकारण तीन दशकदेखिको यो आयोजना धेरै धोखाधडी र भ्रष्टाचारको गोलचक्करमा जकडिएको छ । सबै खालका समस्याबाट मेलम्चीलाई अलग्याउँदै आयोजनाको बाँकी काम पूरा गर्नुपर्ने जिम्मेवारी नवनियुक्त मन्त्रीज्यूको काँधमा आइपुगेको छ । 

(गौतम स्वतन्त्र आर्थिक लेखक तथा विश्लेषक हुनुहुन्छ ।) 


Views: 66