13th April | 2021 | Tuesday | 8:01:50 PM

पितृको स्वरूप र पिण्डपूजा

तोयराज नेपाल   POSTED ON : माघ ३०, २०७७ (८:५० AM)

पितृको स्वरूप र पिण्डपूजा

कुनै समयको प्रलयकालमा हिरण्याक्ष दैत्यले पृथ्वीलाई रसातलमा डुबाएको थियो । भगवान् नारायणले वराह अवतार लिएर पृथिवीलाई दाह्राले टोकी जलबाट उद्धार गर्न लाग्दा हिरण्याक्ष दैत्यले रोक्न खोज्यो । त्यसबेला हिरण्याक्षसँग युद्ध गरी त्यसलाई मारेर पृथिवीको उद्धार गरी आफ्ना स्थानमा राख्नुभयो । त्यसपछि भगवान् लोककल्याणका काममा लाग्नुभयो । त्यसबेला मध्याहृनको सन्ध्या गर्नेबेला भयो र हात गोडा धोई कुल्ला गर्दा दाह्रामा अड्किएका माटाका तीनवटा डल्लाहरू (पिण्डहरू) झिकेर कुशमाथि राखी मध्यान्नको कृत्य गर्नुभयो । अनि ती पिण्डहरूमा पितृको भाव राखी आफ्नै उद्देश्यले श्रद्धा एवं विधिपूर्पक पितृपूजा अर्थात् श्राद्ध गर्नुभयो । 

प्राप्ते चाहिृणककाले तु मध्यदेशे गते रवौ । दंष्ट्राविलग्नान् त्रीन् पिण्डान् विधाय सहसा प्रभुः । स्थापयामास वै पृथ्व्यां कुशानास्तीर्य नारद ! स तेष्वात्मानमुद्दिश्य पित्र्यं चक्रे यथाविधि ।। महाभारत शान्तिपर्व अध्याय ३४५ श्लोक ( १४, १५ )

पितृपूजा कसरी गर्नुभयो भने पहिले संकङ्कल्प गरी अपसव्य भएर भगवानका आफ्नै पसिनाद्वारा उत्पन्न तिलद्वारा पिण्डको प्रोक्षण गरी पूर्व फर्किएर धर्ममर्यादा स्थापना गर्न यी वाक्यहरू उच्चारण गर्नुभयो । सम्पूर्ण लोकको सृष्टि गर्ने म नै हुँ । म स्वयं नै जब पितृहरूको सृष्टिगर्न उद्यत् भएर पितृकार्यसम्बन्धी विधिको चिन्तन गर्न लागेँ, उसै बेला यी मेरा दुवै दाह्राबाट तीनवटा पिण्ड उत्पत्ति भएर दक्षिण दिशातिर भूमिमा झरे । 

यसकारण यी पिण्डहरू पितृस्वरूप हुन् । पितृहरू अमूर्त छन्, अर्थात् मूर्तिरहित छन् तर पिण्डरूप मूर्तिधारण गरी प्रकट भएका छन् । मद्वारा प्रकट भएका यी पिण्डहरू सनातन पितृरूप कहलाउँछन् । यी तीन पिण्डभित्र सबै मनुष्यका पिता, पितामह र प्रपितामहका रूपमा म नै अर्थात् भगवान् नै रहनुभएको सम्झनुपर्दछ । यस संसारमा म अर्थात् भगवान्भन्दा श्रेष्ठ अर्काे कोही छैन । त्यसैले म कसको पूजा गरौं ? म मेरै पूजा गर्दछु । किनकि मेरा पिता, पितामह र प्रपितामह कुनै छैनन् । म सबैको बाजे हुँ । यस जगतको मूल कारण म नै हुँ ।

अहं हि पितरः स्रष्टुमुद्यतो लोककृत्स्वयम् । यस्य चिन्तयतः सद्यः पितृकार्यविधिन् परान् । दंष्ट्राभ्यां प्रविनिर्धूता ममैते दक्षिणां दिशम् । आश्रिता धरणीं पिण्डास्तस्मात् पितर एव ते ।। त्रयो मूर्तिविहीना वै पिण्डमूर्तिधरास्त्विमे । भवन्तु पितरो लोके मया सृष्टा सनातनाः ।। पिता पितामहश्चैव तथैव प्रपितामहः । अहमेवात्र विज्ञेयस्त्रिषु पिण्डेषु संस्थितः ।। वराहपर्वते विप्र दत्वा पिण्डान् सविस्तरान् आत्मानं पूजयित्वैव तत्रैवादर्शनं गतः ।। (महाभारत शान्तिपर्व पृष्ठ ३४५, श्लोक १८, १९, २०, २१ र २४ ) 

जुन् भगवानलाई ब्रहृम, परमात्मा भगवान्, आत्मा, नारायण, ईश्वर, कृष्ण, हरि, राम, मत्स्य, कूर्म, वराह आदि विभिन्न नामले पुकारिन्छ । यस्ता भगवान् वराहले यसरी पिण्डदान गरी पिण्डहरूमा पितृरूप आफ्नै पूजा गरी अन्तध्र्यान हुनुभयो । यो भगवानले नै स्थापना गर्नुभएको धर्मको मर्यादा हो । त्यसै बेलादेखि पितृहरूलाई पिण्डसंज्ञा प्राप्त भएको हो । पिण्डहरूमा पूजा गर्दा भगवानकै पूजा गरेको हुन्छ, किनकि भगवान् नै सर्वत्र व्यप्त भएर रहनुभएको छ । 

जसले देवता, ब्राहृमण, गुरु, अतिथि, गाई, धर्तीमाता र मातापिता आदिलाई मन, वचन र कर्मले श्रद्धा एवं भक्तिपूर्वक पूजा, आदर गर्दछन् भने तिनले नारायणकै आराधना गरेका हुन्छन् । किनभने नारायण नै सबै प्राणीका हृदयमा अन्तरात्मा रूपले विराजमान हुनुभएको छ । सबैमा समभावले रहने नारायण भगवान् नै महान्, महात्मा र सर्वात्मा सबैका सुखदुःखका स्वामी हुनुहुन्छ भन्ने कुरा वेदका वचनले प्रमाणित गरेका छन् । 

ॐ हरये नमः । श्रीकृष्णार्पणमस्तु ।। 


Views: 69