13th April | 2021 | Tuesday | 8:13:31 PM

अहिलेको महत्वपूर्ण प्रश्न ?

कलानिधि दाहाल   POSTED ON : माघ ३०, २०७७ (८:५३ AM)

अहिलेको महत्वपूर्ण प्रश्न ?

ओलीको बोली र उन्मादको गोलीका बीच कुनै अन्तर देखिन्न । उन्मादको गोलीले निशानाको पर्वाह राख्दैन, बन्दुकबाट छुट्टिदिए पुग्यो । अर्को मरोस्, आफ्नो मरोस्, आफैं मरौं कुनै ठेगान हुँदैन । ढलिसकेपछि बन्दुक हेर्दा थाहा हुन्छ–गोली जथाभावी चलेछ उन्मादमा, आक्रोशमा, आँखा नहेरी । गोलीका आँखा हुँदैनन् तर ओलीका अरू अंग जीर्ण भए पनि, मनोनसाहरू यताउति डिस्प्लेस भए पनि आँखा सद्दे छन्, चश्माकै कारण भए पनि तगडा छन् तर निशाना नहेरी बन्दुक चलाए, उन्मादमा चलाए, अहंकारमा चलाए, वर्गस्वार्थ त्यो पनि सामन्त, परम्परावादी तन्नम भिखारी हित रक्षार्थ चलाए जसमा स्वअस्तित्वको निधन सिवाय अर्को कसैप्रति छर्रा छरिएको छैन । सम्भवतः यसलाई यदुवंशंी विनाशको नांगो नाटक भन्न सकिन्छ । स्ववंशीविनाशको लीला भन्न सकिन्छ । जसमा अर्को रमितेमात्र हुन सक्छ–भीष्मपितामहजस्तै, द्रोणाचार्यजस्तै आफ्नै वंशविनाशको दृश्य, आफ्नै इतिहास जलेको दृश्य, आफ्नै संस्कार र लामो संघर्षको ओलीदानी धुवाँ पुत्पुताएको दृश्य आफ्नै आँखाले हेर्नु सिवाय यसको परिणाम अर्काे रहन्न ।

इतिहास साक्षी छ, वर्तमान प्रत्यक्ष छ । उन्मादी खेलहरू समूहविशेषका लागि स्वार्थ विशेषका लागि एकछिन मात्र आनन्ददायक रहन सक्छन् । चाउचेस्कुको कहालीलाग्दो समाप्तिजस्तै, ओसामाबिन लादेनको सुनसान सन्नाटा छाएको रातभित्रकै समाप्तिजस्तै उन्माद त सबै विचारमा हुन्छ । राणा उन्माद थियो–जल्यो, शाह उन्माद थियो सकियो । हुकुमी र निर्विकल्प उन्मादका शिकारीहरू सकिए । अर्को उन्मादको घेराबन्दीमा विश्वकै बादशाह हुने अघोषित सपनाले ट्रम्पको जरा उखेल्यो तर प्रजातान्त्रिक डिक्टेटरलाई कहीँ न कहीँ संस्कारको जनैले अलिकति भएपनि जेलेको हुनाले यिनीहरू व्यक्ति सकिन्छन् तर संस्थामा केही धक्का पुगे पनि ढल्नबाट बच्छ र संस्थाले नै तानाशाही चरित्रको समाप्ति गर्छ । लामो समयको ट्रम्पको ताण्डव नृत्य पाँच व्यक्तिको हत्यापछि समाप्त भयो । अलिकति प्रजातान्त्रिक जनैको टुप्पोले छोएझैँ कम क्षतिमै झस्कन पुगेर सत्ता हस्तान्तरणको झिनो भए पनि, उन्मादी भए पनि आवाज निकाल्दै बहिर्गमनको बाटोतिर लड्खडाउँदै थन्कियो । कमसेकम ट्रम्पले जुन थालमा खाएर त्यसमै फोहोर गर्ने प्रयास गरेका थिए निष्फल भयो । प्रजातन्त्र सुरक्षित रहृयो । अमेरिका बच्यो । अमेरिकन ठूलो हिस्साले विश्वसामु सरमले शिर झुकाउनु परेन ।

ज्यादै खतरनाक तीन निरंकुश– हुकुमी वा निर्वैकल्पिक, प्रजातान्त्रिक र साम्यवादीमध्ये पनि सबभन्दा घातक निरंकुशता नै साम्यवादी निरंकुशता हो । कारण यसको जन्म नै व्यक्तिगत अहं, इष्र्या र जलनबाट भएको हुन्छ । अर्को त्यो चाहे आफ्नै परिवारको किन नहोस् प्रभाव आफूभन्दा अलि बढी देखिनासाथ उसलाई सिध्याउन धेरै जलाउनु किन नपरोस् गर्वका साथ तयार हुनु साम्यवादी चुरो हो । यसकै कहिल्यै नमर्ने कहानी बनेर देखापरे ओली । यिनी जे गर्छन् त्यो कहिल्यै मुखबाट निकाल्दैनन्, जे गर्दैनन् त्यसलाई तुक्कामार्फत, ठट्टामार्फत, इन्टर्नल इमोसनमार्फत सर्वत्र छरिरहेका हुन्छन् । अद्यावधि उनको खेती यही प्रचण्ड बहुमतको आफ्नै साम्यवादी शिविर त खरानी पारे पारे त्यसपछिका न्यायालयप्रतिका र न्यायाधीशप्रतिका उनका उरन्ठेउले ठेट्ना वक्तव्यबाजीले यसै कुराको पुष्टि गर्दैछन् बडो हुंकारका साथ । उनले नेपाली जनमानस एक्काइसौं शताब्दीको हो भन्ने कुरा पनि कतै अध्ययन गरेका छैनन् जस्ता छन् । उनै पचास वर्षअघिका निरक्षर नेपाली जनतामाझ आफूमात्र साक्षर, आफूमात्र शिक्षित भएझैंका बक्बासे आवाजहरू देशको उच्च आसनमा पदासीन व्यक्तिबाट गर्वका साथ घन्किनु यसभन्दा लज्जास्पद स्थितिबोध कुनै तानाशाहका पालामा पनि भएको थिएन ।

हुँदै नभएको विधानको सूत्रलाई बलजफ्ती मनोलड्डुका आधारमा निकाल्न खोजेर प्रचण्ड बहुमतको जनमतलाई अपहेलना गर्दै सर्वाधिकार सम्पन्न जनताको संसदलाई एक व्यक्तिको लहड प्राप्तिका लागि समाप्त गर्नु चरम तानाशाहीको रूप यसभन्दा अर्को के हुन सक्छ ? एउटै अपराध त भयो भयो यस अपराधका पछि नियोजित षड्यन्त्र के र कति रहेछन्का पुष्टि लगातार भइरहेकै छन् । एकपछि अर्को मन्त्रीमण्डलमा आफ्ना मान्छेहरू भिœयाउनु, संवैधानिक अंगमा भटाभट नियुक्तिका लाम लगाउनुले विधि र विधानको मर्ममा वा मुटुमा लात हानेको अर्थ लाग्नुबाहेक अर्को केही हुन सक्छ ?

कार्यपालिकाले न्यायपालिकामाथि गरेको नांगो हस्तक्षेपको पहिलो नमुना पनि यो नै हुनसक्छ । अर्कालाई उपदेश छाँट्ने प्रधानमन्त्रीले पटक पटक सार्वजनिक समारोहमा संसद पुनःस्थापना हुँदैन हुँदैन भन्दै कुर्लनुको हैसियत ओलीलाई कुन अदृश्य शक्तिबाट प्राप्त भएको छ । सामान्य सडकमा हिँड्ने सत्ताको हैसियतबाट हटेका व्यक्तिले यही कुराभन्दा न्यायालयमाथि हस्तक्षेप गरेको हुने, राज्यव्यवस्थाको नभएको अधिकार पनि लिएर आसनमा बसी जनताको करको रासन खानेले बारबार यसरी भुक्दा चाहिँ संवैधानिक अंगको सम्मान गरेको छाप बनाउन खोज्ने ओलीलाई कुन तिलस्मी झोलीले फुत्त निकालेर प्रधानमन्त्रीको कुर्सीमा सजाएछ ?

साँच्चै निर्विकल्पी संस्कार सच्चा प्रतिमूर्तिका रूपमा ओली व्यक्तित्व देखा परिरहेको प्रमाणित हुन्छ । आफैं सत्तामा आफैं विखण्डक अनि आफैं सडकमा समूहको नाटक मञ्चन गरेर बर्बराउनु, शक्तिको आड लिएर आदेशका भरमा मान्छे जम्मा गर्दै सर्वोच्चको न्यायाधीशले बोलेझैँ संसद् पुनःस्थापना नहुने जानकारी सर्वत्र छर्दै हिँड्नुले यही अर्थ पुष्टि गर्दैन र ? म्यानमारको सैनिकी तानाशाहझैँ, जर्मनको हिट्लरी तानाशाहझैँ, पञ्चायतको शाही तानाशाहझैँ ओली तानाशाहीलाई कुनमा राख्ने ? प्रजातान्त्रिक तानाशाह त हुँदै होइनन् । साम्यवादी तानाशाहले चुनावी जालको चिर्कटो फाल्दैन भने पक्कै पनि राणा तानाशाहीको व्यक्तिरूपओली तानाशाही हुन सक्छ, घटनाक्रमले पुष्टि यही गर्दछन् यस तानाशाहीको पृष्ठपोषकका अनजान शक्ति संवाहक त नेकपाकै अर्को सडक समूह छँदैछ । बेलैमा अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेको भए दुई तानाशाह मनोन्मादबाट निस्केर प्रत्यक्षमै छताछुल्ल भएको यो तानाशाही बच्चो भ्रूणमै समाप्त हुन्थ्यो । अहिलेको भाष्यको महारूप देखिने नै थिएन ।

मानौं ओलीलाई आफ्नै पार्टीको भित्री भेडा समूहले मार्गावरोध गरेछ । साँच्चै देश र जनताका लागि काम गर्न पाएन छन् । सच्चा मनले नै उनले नभएको शक्ति प्रयोग गरेरै भए पनि चुनाव गराए । परिणाम जस्तो आए पनि के उनी अर्को या उनकै सरकार आएपछि यसै संविधानको कुनै एक कमा थपेर बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउन्न भन्ने वाक्यांश थप्न चाहन्छन् सक्छन् ? सक्छन् भने ठीक छ । अहिले नै यो कुरा सार्वजनिक गरुन् होइन भने उनी र उनका समर्थकहरू संविधान निर्माणकै बेलादेखि ब्वाँसाले शरीर कन्याएर आन्द्रा लुछेझैं यिनका नियत संविधान च्यातेर गणतन्त्रका केहीपछि थपिएका संघीयता, धर्म निरपेक्षता जस्ता कुराको आहार गर्ने योजना रहेछ । यसकै खेल सफलताका लागि तीन–सवा तीन वर्षसम्म प्राकृतिक रूपले सहज भइरहने कार्यबाहेक यिनले देश र जनताका नाममा सिन्को पनि नभाँचेका रहेछन्, सहज भन्न सकिन्छ ।

‘जनतामा जान, ताजा जनादेश लिन चाहने मान्छे निरंकुश ?’ यो प्रधानमन्त्री ओलीले सर्वत्र भन्ने गरेको वाक्य हो । जाने पनि तरिका हुन्छन्, विधि हुन्छन् । विधानमा व्यवस्था गरिएका सिँढी हुन्छन् । रूख चढ्नु छ, फेद नछोइकन बनावटी भ-याङ प्रयोग गरेर म टुप्पामा पुगेँ तिमीहरू रूख चढेर आओ भन्नुजस्तो निर्लज्जता अरू केही हुन सक्छ ? यस्ता बकम्फुसे कुराहरू भट्टी पसलमा सुहाउलान्, गँजडी समूहमा सुहाउलान्, उरन्ठेउला भीडमा सुहाउलान् तर यत्रो गरिमामय राष्ट्रको आसनमा बसेर यसरी भन्नु भनेको जनतालाई राजनीतिप्रति, नेताप्रति, प्रजातान्त्रिक-लोकतान्त्रिक-गणतान्त्रिक आस्थाप्रति निराशा जन्माउनु सिवाय अर्को केही हुँदैन । आफ्नै विचारका, आफ्नै आस्थाका, आफ्नै संस्कार र संस्कृतिका सानो समूहको अन्तरमनोलोकलाई मिलाएर लान नसक्नेले चुनावको दुहाइ दिनु, जनमत र जनचाहनाको कदरका लागि भन्दै हुंकार गर्नु अझ कति निर्लज्जताको नांगो रूप होला ? अब चुनावमा गएर भए पनि केका आशले कुन भरोसाका लागि कुन मनोविज्ञान प्रयोग गरेर यी र यस्तालाई भोट हाल्दै जनताले जिताउने ? नेपाली जनताका सामु खडा भएको अहिलेको महत्वपूर्ण प्रश्न यो नै हो । 


Views: 86