13th April | 2021 | Tuesday | 7:58:45 PM

नारीगरिमा बुझेर बलात्कार हत्या र हिंसाविरुद्ध एक बनौँ !

बद्रीप्रसाद दाहाल   POSTED ON : फाल्गुन १, २०७७ (९:१४ AM)

नारीगरिमा बुझेर बलात्कार हत्या र हिंसाविरुद्ध एक बनौँ !

हाम्रो देशमा यतिखेर नारी हिंसा झन्झन् चुलिँदै गएको छ । सुस्त मनस्थितिका, अपांगता भएका, पाँच वर्षे ससाना बालिकादेखि किशोरी, नवयौवना, प्रौढ र हजुरामा उमेरसम्मका मातृशक्ति दिनदहाडै लुटिएका छन् । यसरी महिलामाथि भ्रष्ट, भोगी र कामुकहरूका गिद्धे नजर तथा बाघझम्टाइले हत्या र हिंसाको राक्षसी आचरण वनमारा झारझैँ मौलाएको देख्दा मानवीय हृदय उद्वेलित संवेदित बनिरहेको छ । भर्खरै कक्षा बाह्रमा पढ्दै गरेकी बैतडीकी नानी भागरथी भट्टको बलात्कारपछिको नृशंस हत्याले आमनेपालीको मुटु द्रवीभूत र गम्भीर बन्नपुगेको छ । महाकाली महालक्ष्मी र महासरस्वतीका शक्ति, ऐश्वर्य र ज्ञानविज्ञानका बिम्ब वा प्रतिमूर्तिमाथिको यस्ता जंगली हमलाले सरकारका अंगउपांगहरू र सिंगो नेपाली समाजलाई भयकारी चुनौतीको पहाडले थिच्न लागेको अनुभव हुन्छ ।

हरेक शब्दहरूको आफ्नै इतिहास र व्युत्पत्ति हुन्छ । समयको अन्तरालसँगै ती शब्दहरू कुनै संकोचनका सिकार हुन्छन् भने कुनै फराकिलो अर्थमा अर्थिन पुगेका हुन्छन् । यो संसारको सिर्जनामा नारी एक अनौठो तागत हो, जससित नरको शारीरिक सम्बन्धमात्र नभएर, धार्मिक एवं मानसिक नाता अन्योन्याश्रित भएर रहेको हुन्छ । यसै क्रममा शब्दशास्त्रीहरूले नारीसित सम्बन्धित शब्दका चर्चालाई अर्थपूर्ण रूपमा नियालेका छन् ः ‘नारी‘ शब्दका पर्यायवाची शब्दहरू ‘मेना, ग्ना, स्त्री, योषा, नारी, वामा, अवला, सुन्दरी, प्रमदा, ललना, मानिनी, महिला, दुहिता, जाया, माता, श्रीमती, आदि छन् । 

ऋगवेदमा नारीलाई ‘मेना’ भनिन्छ । महर्षि यास्कका अनुसार ‘मानयन्ति एनाः’ जसलाई पुरुषले मान्दछन् भन्ने अर्थमा यो नाम रहन गएको रहेछ । वास्तवमा पार्वती माताको नाम पनि ‘मेना’ नै थियो । अर्को शब्द ‘ग्ना’ ऋग्वेदमा स्त्री बोधकको रूपमा रहेको कुरा विज्ञहरू बताउँछन् । प्रायः देवपत्नीहरूमा व्यवहार हुने यो शब्दको व्युत्पत्ति ‘ग्ना’ ‘गच्छन्ति एनाः’ अर्थात् जहाँ सिर्जना संसारमा जानका लागि पुरुषहरू संसर्गको कामनाले जान्छन् भन्ने आसयमा यो शब्द बनेको भन्ने आसय भेट्टाइन्छ । ‘गम्’ धातुबाटै यो शब्द निष्पत्ति हुन पुगेको कुरा व्याकरणले देखाउँछ । 

नारीका लागि अर्को प्रचलित शब्द ‘स्त्री’ वैदिक साहित्य, पाली, प्राकृत हु‘दै अपभ्रंश कालमा पनि बॉचेर आएको शब्द रहेछ । ‘स्त्यै‘ धातुबाट बनेको यो शब्द लज्जा अर्थ बुझाउँछ । तर, पाणिनिले भने ‘स्त्यै’ शब्दसंघातयोः’ भनेर धेरै बातचित गर्न सक्ने क्षमता भएकी हु‘दा यो संबोधन गरिएको हुनसक्ने भनेका रहेछन् । किन्तु अर्का विख्यात व्याकरणकार पतञ्जलिले भने ‘स्त्रीयाम्’ सूत्रको भाष्यमा लोक जीवनमा बेग्लै खालको चिन्ह ः भग, स्तन, भएकी वा ‘स्त्यायति अस्यां गर्भ इति स्त्री’ भन्ने आसयलाई जोड दिएका छन् । अर्को व्युपत्तिअनुसार ‘शब्दस्पर्शरूपरसगन्धानां गुणानां स्त्यानम् स्त्री’ भन्दै शब्द, स्पर्श, रूप, रस र गन्धको समष्टि रूप नै स्त्री हो भनेर पनि उल्लेख गरेको पाइन्छ । 

‘यु’ धातुबाट बनेको ‘योषा’ नारीलाई बुझाउने अर्को शब्द हो । जसको अर्थ जुटाउनु भन्ने बुझाउ‘छ । ‘नारी’ नृत् धातु जो नाच्नु अर्थमा छ, त्यसबाट यो निष्पन्न भएको मानिन्छ । सायण महासयले यसलाई विश्लेषण गर्दै भनेका छन् ः ‘न अरि ‘नारी’ अर्थात् जसको कुनै शत्रु छैन त्यही नारी हो । तर ऋग्वेदमा नारी भनेको वीरताको काम गर्ने क्षमता भएकी शक्तिलाई जनाउँने रहेछ । नारीलाइए ‘वामा’ पनि भनिन्छ यो शब्द ‘वयन्ति सौन्दर्यं’ जसले सौन्दर्य बोकेका हुन्छन् त्यही तागतलाई ‘वामा’ भनिएको पत्ता लाग्छ । कालिका पुराण र देवी पुराणमा ‘वामा’ शब्दको प्रयोग भएको कुरा विज्ञहरू बताउँछन् । 

अब अर्को शब्द ‘अबला’ नरको भन्दा नारीको शारीरिक बल कम हुने हु‘दा यो शब्द संवोधित भएको लख काट्न सकिन्छ । त्यसैगरी ‘सुन्दरी’ शब्दले पनि नारीलाई नै सङ्केत गर्छ । ‘सु उन्द अर् ङिष्’— ‘सुन्दरी’ बनेको व्याकरणले देखाउँछ । जसको अर्थ शोभाशाली भनेर बुझिन्छ । त्यसैले त नारीलाई घरसंसारका शोभा र विभूषण भनिएको हो । 

‘प्रमदा’ शब्दमा पनि नारीलाई संवोधन गरिन्छ । सबैलाई हर्षित र पुलकित बनाउन सक्ने खुबी भएकीले यसो भनिएको हो । अर्को शब्द ‘ललना’ स्त्रीकै पर्यायवाची हो । जोसित इच्छा जगाउने तागत हुन्छ त्यही क्षमतालाई ‘ललना’ भनिएको रहेछ । ‘मालिनी’ नारीलाई बुझाउँने अर्को नाम हो । मानिनीबाटै मालिनी बनेका कुरा विज्ञहरू बताउँछन् । हो, उनीहरू पुरुषबाट मान चाहन्छन् त्यसैले त मनुले पनि भने ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ । त्यसै गरी ‘महिला’ शब्द पनि ‘मह् इलच् आ,’ अर्थात् पूजा गर्न योग्य भन्ने अर्थमा विग्रह गर्दा देखिन्छ । 

महिलामा विद्यमान सहिष्णुता, स्नेह, ममता, आदर र सृष्टिको संसारलाई दृष्टि दिने तागत पूजनीयमात्र नभएर बन्दनीय छ । त्यसैगरी ‘दुहिता’ शब्द यास्कको भनाइमा ः ‘दुर्हिता, दूरेहिताः’ आदि अर्थमा चिरफार गरिएको । मतलव टाढा दिँदा हित हुने, माइतघर र पतिघर जहॉ पनि हेला हुने, पितामातालाई सधैं दुहिरहने भन्ने अर्थ पनि हो भनेर तर्क पेश गरेका छन् । 

नारीलाई ‘जाया’ भनिन्छ, ‘तत्जाया जाया भवति यदस्यां जायते पुनः’ पुरुष स्वयं सन्तानको रूपमा जोबाट जन्मन्छ भन्ने आसय ‘जाया’ शब्दले दिन्छ । माता यो शब्द ऋग्वेदमा अन्तरिक्ष, पृथ्वी, नदी र जललाई बुझाउँदो रहेछ । ‘मान्’ धातुमा तृच् प्रत्यय लागेर यो शब्द बन्दछ । ‘मान्’ शब्दको आसय आदर हो । माता भनेकै मान वा सम्मान गर्न लायक देवीकी बिम्ब हुन् । नारीका यी बहुमूल्य आदर्शलाई आत्मसाक्षात्कार गरेर हिँड्न सक्नु नै पुरुषको कर्तव्य हो । विडम्बना आज यस्ता पूजनीया, मान्या, वन्दनीया र आराधनीया साक्षात् त्रिशक्तिरूपा देवीलाई अवमूल्यन गरेर नारी अस्मितामाथि चर्को जंगली हमला बर्बर आक्रमण केही कुपुत्र र कुपुत्रीले बोलिरहेका छन् ।

पुँजीवादी बजारमा वस्तुजस्तै मोलतोल गरेर बेच्ने कुकाम भइरहेका छन् । यौनदासी, इन्द्रियभोगको आनन्द वा मोजको साधनमा परिणत गरिएको कहालिलाग्दो दृश्य छ । देशविदेशमा कपूतहरूले वेश्यालय खोलेर सेक्स ट्याब्लेट, महँगा रक्सी पिलाई यौनपिपासा शान्त पार्ने कुकर्ममा लीन बनाई अलौकिक मातृशक्तिलाई चरम अपमान गरिरहेको देख्दा र सुन्दा हरेक सुसन्तानका मुटु मगज हल्लिएको छ पीडाबोधले छट्पटी भइरहेको छ । उनीहरूको सिधापनको गलत उपयोग गर्दै ललाइफकाई गरेर विदेविदेश आयातनिर्यात भइरहेको सुन्नु पर्दा कुन नारीभक्तका हृदय विदीर्ण हुँदैनन् र ? 

नारी सौन्दर्यकी ज्योति हो, सौन्दर्यमै प्रेमको विराट् तत्व लुकेको हुन्छ । प्रेमले अनन्यता दिन्छ, अनन्यताले नै आनन्द पाउन सकिन्छ । स्त्री भनेकै शोभा हो, रमणीयताको नाम नै नारी हो । नारी श्री हो, लक्ष्मीको जस्तो मति, गति, शक्ति र चिति पनि । उनको मुस्कानमा सिर्जना सिर्जनाको संसार प्रबोधित हुन्छ, उनको दूधमा जगत्को स्थिति र उनको पीडामा प्रलय छिपेर बसेको छ । दाइजोको नाममा, बोक्सी र डंकिनीको आरोपमा, शारीरिक तुच्छ आनन्दमा, उनीमाथि गरिने हमला निकृष्टता हो निशाचरपन हा,े राक्षसी वृत्ति हो । 

यतिखेर नारी हिंसामा संमिलित हुने व्याधागणलाई न्यायसंग्राममा सिध्याई सभ्यता, सिर्जना, सौन्दर्यलाई जोगाउनु मानवमात्रको कर्तव्य हो । केवल औपचारिक भाषण, आश्वासन, नारा, कार्यपत्र, प्लेकार्ड बोकेका जुलुस सडकमा मार्चपास गरेर मात्र नारी हत्या र हिंसा अन्त्य हुँदैन । मन, वचन र कर्ममा एक भएर नारीको अपमान र हिंसाचारविरुद्ध एकजुट हुने प्रण गरौं । हराएका बेचिएका र बेपत्ता पारिएका आमाको खोजी गरेर लाखौं नेपाली आमालाई पुनस्थापना गरौं । बलात्कार हत्या र हिंसाको वर्तमान शृंखलाको बर्बरतालाई ठेगान लगाउन ‘मातृवत् परदारेषु, परद्रव्येषु लोष्ठवत् । आत्मवत् सर्वभूतेषु यःपश्यति सः पण्डितः’ को वास्तविक सभ्यतालाई बँचाएर उग्र जडवादमाथि पण्डितवादको भाष्करक्रान्ति शीघ्रातिशीघ्र जरुरी छ । जय नारी ! जय माता ! 

अस्तु


Views: 254