13th April | 2021 | Tuesday | 8:11:19 PM

पर्यटकीय गन्तव्य बन्दै स्याङ्जाको ‘दरौं–थाप्ले’

युवराज पौडेल   POSTED ON : फाल्गुन १, २०७७ (९:१९ AM)

पर्यटकीय गन्तव्य बन्दै स्याङ्जाको ‘दरौं–थाप्ले’

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा–६ मा पर्ने दरौं थाप्ले डाँडा यतिबेला धेरैको आकर्षक गन्तव्य बन्दै गइरहेको छ । समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको थाप्ले लेक आन्तरिक पर्यटकका लागि लोभलाग्दो स्थान बनिरहेको छ । कोभिडले समग्र पर्यटनलाई थला पारिरहेको बेलामा थाप्लेले विश्राम गर्न पाएन । देश रोकिँदा पनि थाप्लेमा न मूर्ति निर्माणको काम रोकियो, न पर्यटकहरू आउने क्रम नै रोकियो । थाप्ले नचाहेर परिस्थतिअनुकूल नहुँदा नहुँदै पनि पर्यटकको स्वागतमा खटिरहृयो । लकडाउनमा समेत यहाँ पाहुनाहरू आउने क्रम रोकिएन । 

थाप्ले लेक यहाँका पञ्चासे र डहरेपछिको अग्लो स्थान मानिन्छ । यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरिलगायत थुप्रै हिमशृंखलाका लामो लर्कनहरू स्पष्ट देख्न सकिन्छ । सुन्दर हिमालयको ताँती बिहानको सूर्याेदयमा चाँदीझैँ टल्कदाँ नरमाउने को होला र ? यहाँबाट नदेखिने सायद कुनै हिमाल छैन होला । साधारण मानिसका आँखाले सबै हिमाल चिन्न नसक्ला तर उत्तरतिरका लहरै ठडिएका थुप्रै हिमालहरूको दृश्यावलोकनको मज्जा भने अवश्य लिन सक्छ । थाप्ले डाँडाबाट आँधीखोला उपत्यकाका सुन्दर फाँट र बस्तीहरू निकै मनमोहक र लोभलाग्दा देखिन्छन् । अर्जुन चौपारी गाउँका थुम्काहरू, दरौं खोला, खर्सुको लेक, डहरेको चुचुरो नजिकै आँखा अगाडि आम्नेसाम्ने देखिन्छन् । 

दरौं थाप्ले वास्तवमा प्रकृतिको भूस्वर्ग नै हो भन्दा फरक नपर्ला । यहाँ पुग्ने हरेक यात्रुले स्वर्गीय आनन्दको अनुभूति गर्नसक्छ । यहाँको विशेषता नै प्रकृतिको विराट सौन्दर्य हो । मानव निर्मित संरचनाहरू धेरै नभए तापनि यहाँको प्रकृतिको अद्भूत रहस्यले मान्छे त्यसैत्यसै प्रकृतिमा हराउँछ । प्रकृतिको रहस्यले द्रवीभूत हुन्छ । यस ठाउँमा मानव निर्मित संरचनाका रूपमा हाल एउटा भीमकाय बुद्धको मूर्ति (प्रतिमा) निर्माण भएको छ । यो मूर्ति हाल निर्माणको अन्तिम चरणमा पुगेर उद्घाटनको पर्खाइमा छ । यो नेपालकै सबैभन्दा अग्लो स्थानमा भएको सबैभन्दा ठूलो बुद्ध प्रतिमा हो भन्ने यहाँका स्थानीयको दाबी छ । 

यस दृष्टिमा यसको धार्मिक महŒव उच्च छ । करिब २ करोडको लगानीमा निर्माण भएको यो मूर्ति निकै आकर्षक र कलात्मक छ । यहाँ पुग्ने प्रत्येक यात्रुले अरू बिर्सिएलान् तर शान्तिका अग्रदूत महामानव गौतम बुद्धको मूर्तिलाई पाश्र्वमा राखेर सेल्फी लिन भने पटक्कै बिर्सिँदैनन् । एकचोटि यहाँ सेल्फी खिचेपछि प्रत्येक यात्रुका फेसबुक प्रोफाइलमा लामो समयसम्म बुद्ध मूर्तिसँगै खिचेको ‘प्रोफाइल पिक्चर’ देखिन्छ, जसको पृष्ठभूमिमा सुन्दर हिमालय र अग्ला डाँडाँहरूको लामो लर्कन देखिन्छ, जसले यसको आकर्षण र महत्वलाई स्वतः सिद्ध गरेको छ । करिब ५५ फिट अग्लो यो मूर्ति आफैंमा विराट, भीमकाय र भव्य छ । 

बिहानै सूर्याेदय हुँदा सूर्यका रश्मिहरू टल्किँदा निक्लने आभाले शान्तिको खोजमा निक्लने प्रत्येक अस्थिर मनलाई पुलकित बनाउँछ, आलोकित बनाउँछ । होमष्टेको ऐतिहासिक विरासत बोकेको सिरुबारीलाई दायाँ पारेर महामानव बुद्धले मुस्कुराउँदै शान्ति र आनन्दको मृदुल स्वर गुन्जाइरहे जस्तो लाग्छ । यहाँ बस्दा भौतिक जीवनका जटिलता र उहापोहले आक्रान्त भएका प्रत्येक दुःखी आत्माहरूले शान्ति र परमानन्दको ‘चित्तवृत्ति’ मा एकैछिन भए पनि आफूलाई भुलाउन पाउँछन् । यहाँ बस्दै गर्दा यो क्षेत्रकै सबैभन्दा अग्लो स्थानमा उभिएर बुद्धले स्थिर शान्तिको कामना गरिरहे जस्तो लाग्छ । 

अशान्तितर्फ उन्मुख भइरहेको मुलुकलाई शान्तिपथमा हिँड्न उत्प्रेरित गरिरहे जस्तो लाग्छ । दश वर्षे सशस्त्र द्वन्द्वपछि शान्तिको सास फेर्दै गरेको नेपाललाई स्थायी शान्तिको तपोभूमि बनाउने प्रयासलाई सार्थक बनाउने सन्देश प्रवाहित गरेको प्रतीत हुन्छ । अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणीधाम बन्दै गरेको थाप्लेको शिरमा उभिएर बुद्धले हिंसाका पथिकहरूलाई गिज्याइरहे जस्तो अनुभूति हुन्छ । यतिबेला यो विशाल मूर्ति बन्दै गर्दा आजभन्दा तीन दशकअगाडि स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङले देखेको सपना भौतिक रूपमै साकार भएको अनुभूति हुन्छ । 

यो मूर्तिको निर्माण विसं २०७५ सालमा सुरु गरिएको थियो । यसको मूलभूत काम हालसम्म सम्पन्न भइसकेको छ । पहाडको चुचुरो, विकट भौगोलिकता, कच्ची सडक, सामानहरूको अपर्याप्तताका बीचमा पनि यो मूर्ति द्रुत गतिमा बन्नु आफैंमा प्रशंसनीय छ । इच्छाशक्ति बलियो हुने हो भने समुदायस्तरमै पनि ठूला काम गर्न सकिन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो । यो मूर्ति तथा यहाँका अन्य भौतिक संरचना निर्माणको सम्पूर्ण लगानी आजसम्म यहाँको गुरुङ समुदायले नै गरेको छ । 

दरौंमा बस्ने गुरुङ समुदायको प्रयासमा यो मूर्तिको निर्माण गरिएको हो । दुई वर्षमै यसप्रकारको ऐतिहासिक मूर्ति निर्माण कार्य सम्पन्न गर्दा आफूहरूलाई गौरव लागेको मूर्ति निर्माण समितिका संयोजक सामाजिक अभियन्ता भूमिबहादुर गुरुङ ‘विश्व’ ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले गाउँको महŒव बुझाउन र सहरीकरण रोक्न आफ्नै प्रयासमा करोडौंको लगानी गरेर गण्डकी प्रदेशले नै गर्व गर्न सक्ने सम्पदा निर्माण गरेका छौं । अब बाँकी विकास निर्माणमा राज्यले ध्यान दिनुपर्छ ।’ 

थाप्ले डाँडामा लक्ष्मी गुरुङ र बलराम गुरुङले केही वर्षअगाडि खोरिया फाँडेर टहरा हाल्न लागेका बेला यो ठाउँ यस्तो बन्ला भन्ने उहाँहरूलाई समेत लागेको थिएन रे । तर, सकारात्मक भावनाका साथ काममा अगाडि बढ्दै जाँदा यहाँसम्म पुग्न सफल भएको उहाँहरू बताउनुहुन्छ । पछिल्लो समय यो ठाउँ निकै सम्भावनायुक्त बन्दैगएको उहाँहरूको भनाइ छ । दरौंकै स्थानीय मेजर लक्ष्मीप्रसाद गुरुङ भन्नुहुन्छ, ‘एक टेक्टर बालुवा डाँडासम्म पु¥याउँदा २३ हजार रुपैयाँसम्म तिर्नुप¥यो । 

बाटो राम्रो नबनिसकेकाले बुद्ध प्रतिमा, भ्युटावर बनाउन केही कठिनाइ पनि महसुस गर्नुप¥यो ।’ डाँडामा यस्तो बन्ला भनेर कल्पनासमेत गर्न गाह्रो भएका अवस्थामा आफूहरूले काठमाडौं, पोखरा, बेलायत, हङकङबाट पैसा उठाएर करोडौंको बुद्ध मूर्ति निर्माण गरेको मेजर गोविन्द गुरुङले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हाम्रा सन्तानहरू विदेशिने प्रवृत्ति बढेकाले कम्तीमा यो ठाउँको आकर्षणका कारणले वर्षमा कहिलेकाँही भए पनि आफ्नो भूमिमा सन्तानहरूले टेक्ने आशा राखेर निकै मिहिनेतका साथ थाप्ले विकास योजनाको काम अगाडि बढाइएको हो’ । 

यस्तो डाँडामा के बनाउन लागेका होलान् भनेर मान्छे सुरुसुरुमा अचम्म मान्ने गरेको स्थानीय अभियन्ता बलराम गुरुङ बताउनुहुन्छ । जुनकिरी च्यारिटी ग्रुपका सदस्य समाजसेवी पार्वती गुरुङ, दरौं थाप्ले बुद्ध निर्माण समितिका संयोजक विश्व गुरुङ, थाप्ले भ्यु टावर एण्ड रिसोर्टका अध्यक्ष बलराम गुरुङ, विष्णु गुरुङ, जमुना गुरुङ, मेजर गोविन्द गुरुङलगायत थुप्रै व्यक्तिहरूको सकारात्मक पहलकदमीका कारण नै आज यो ठाउँ एउटा पर्यटकीय केन्द्रका रूपमा चिनिँदैगएको छ । 

नेपालकै पहिलो होम स्टे सिरुबारी थाप्लेबाट पन्ध्र मिनेटको बाटोमा पुगिन्छ । यसका कारण पनि यो ठाउँको विशिष्ट पर्यटकीय महत्व रहेको छ । धार्मिक, प्राकृतिक, सांस्कृतिक र जैविक दृष्टिकोणले पनि थाप्ले क्षेत्र आफैंमा निकै सम्भावनायुक्त ठाउँ हो । नजिकैको विशाल खर्सु लेक वनस्पति, जडिबुटी, पशुपक्षी र जैविक विविधताले सम्पन्न मानिन्छ । डहरे लेक पर्वत र स्याङ्जाको संगमका रूपमा रहेको अर्काे महŒवपूर्ण वनपैदावारयुक्त धार्मिक क्षेत्र हो । डहरा ऋषिको आश्रम, मन्दिर, उच्च पहाडी क्षेत्रमा पाइने विविध वनस्पति र जडिबुटीले भरिएको यो क्षेत्र पनि विविध सम्भावनायुक्त ठाउँ भएको कुरा विभिन्न अध्ययनले देखाएका छन् । 

डहरेमा बालाचर्तदशीका दिन ठूलो मेला लाग्छ । आध्यात्मिक पावन क्षेत्रका रूपमा यसले आफ्नो परिचय बनाउँदै लगेको छ । यसरी खुर्सु, थाप्ले, सिरुबारी, डहरे, पञ्चासे, एउटा राम्रो पदमार्ग बन्नसक्ने ठूलो सम्भावनालाई थाप्ले विकास योजनाले अझै बढाइदिएको छ । यी ठाउँहरूको ‘कनेक्टिभिटी’ हुने हो भने यसबाट स्याङ्जाकोमात्र नभएर गण्डकी प्रदेशकै ग्रामीण पर्यटनका क्षेत्रमा उल्लेख्य उपलब्धि हुने निश्चित छ । यहाँ अझै होम स्टेहरूको विकास गरी ग्रामीण विकासका पूर्वाधारहरूको निर्माण गर्ने हो भने थाप्ले हजारौं पर्यटकहरूको उत्कृष्ट रोजाइ बन्ने कुरामा कुनै शंका छैन । यसका लागि स्थानीय पालिकाहरूको पहल मात्र अपर्याप्त हुने भएकाले समग्र गण्डकी प्रदेश र अझ संघीय सरकारको समेत ध्यान पुग्नु आवश्यक देखिन्छ । 


Views: 71