13th April | 2021 | Tuesday | 7:37:02 PM

नेपाली कांग्रेसका युवा नेताहरूसँग गरिएका अपेक्षा

डा. राजकुमार राई   POSTED ON : फाल्गुन २, २०७७ (१०:२५ AM)

नेपाली कांग्रेसका युवा नेताहरूसँग गरिएका अपेक्षा

तत्कालीन जहानियाँ राणा शासनलाई विस्थापित गरेर प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले स्थापित नेपाली कांग्रेस पार्टीले नेपाली राजनीतिको हरेक आरोहअवरोहमा सफल नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यथार्थ सर्वविदितै छ । अहिले पार्टीका दोस्रो पुस्ताका नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायत अन्य अग्रज नेताहरूले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । केन्द्रीय कार्य समितिमा उहाँहरूसँगै युवा पुस्ताका नेताहरूको बाहुल्य छ । 

ती युवा नेताहरू पार्टीमा नेतृत्व प्रदान गर्न हरेक हिसाबले परिपक्व देखिन्छन्, ती पढेलेखेका छन् । देश विदेश घुमेर अनुभव बटुलेका छन् । आन्दोलनमा सक्रिय सहभागी भएका छन् । तीमध्ये केहीले नेविसंघको अध्यक्ष, महामन्त्री भएर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । केही युवा नेताहरू सांसद, मन्त्री भइसकेका छन् । युवा नेता विश्वप्रकाश शर्मा पार्टीको प्रवक्ता छन् भने केही युवा केन्द्रीय सदस्यहरूले विभागीय प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । समयको परिक्रममा पार्टीलाई हाँक्ने जिम्मेवारी ढिलोछिटो अहिलेका उनै युवा नेताहरूको काँधमा आउने कुरा पक्का छ । अर्थात् पार्टीको भविष्य उनै युवा नेताहरूको हातमा हुनेछ । 

नेपाली राजनीतिमा नेतृत्व विकास तीन प्रकारले हुन्छ भन्ने गरिन्छ । पहिलो कर्मशील नेतृत्व जो आफ्नो कर्मले नेता बन्दछ । दोस्रो सुविधाको नेतृत्व जो सुरुमा कुनै व्यापार व्यावसाय वा पेशामा संलग्न भएरपछि आफ्नो सुविधानुसार नेता बन्दछ । तेस्रो विरासतको नेतृत्व जो आफ्ना पितापुर्खा वा परिवारका सदस्यको विरासतमा नेता बन्दछ । कोही–कोही मिश्रित हुन्छन् विरासत तथा कर्मशील । अहिले केन्द्रीय नेतृत्वमा रहेका युवा नेताहरू सबै कर्मशील नेतामा पर्दछन् । 

नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि नै भोग्दैआएको एउटा चिरस्थायी रोग भनेको यसभित्र हुने गरेको गुटबन्दीको संस्कार संस्कृति हो । हिजोका दिनमा बीपी कोइराला तथा डिल्लीरमण रेग्मीहरूको गुटबन्दी, बीपी कोइराला तथा मात्रिकाप्रसाद कोइरालाहरूको गुटबन्दी, बीपी कोइराला तथा सुवर्ण शमशेरहरूको गुटबन्दी, गिरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद भट्टराईहरूको गुटबन्दी चल्दैआएको यथार्थ हो । वर्तमान समयको बारेमा त गुटबन्दीको कुरा गर्न जरुरी छैन । पार्टीभित्र गुटउपगुटको पराकाष्टा छ । 

बीपी कोइरालाको पालामा हुने गुटबन्दी राजनीतिक कार्यदिशाका लागि हुन्थ्यो भने पछिल्लो कालखण्डका गुटबन्दीहरू विशुद्ध सत्ता तथा व्यक्तिगत स्वार्थकेन्द्रित छन् । नेपाली राजनीतिमा हुने गरेको खुराफाती प्रथाले गुटबन्दीलाई राम्रैसित मलजल गरेको छ । यस्ता व्यवहार नकारात्मक हुन्छन् । यसले व्यक्तिहरूबीच अविश्वास र द्वन्द्व सिर्जना गर्छ । 

यो संस्कार अहिलेका युवा पुस्तामा झन् चर्को रूपमा सर्ने सम्भावना उत्तिकै छ । किनकि कुनै समयमा नेतृत्वमा पुग्न कुनै नेतादाइको सहारा लिनुपथ्र्यो । नेतादाइको आशिर्वादविना नेता बन्न गाह्रो थियो । पद्धतिको विकास गरेर सोअनुसार चल्न पाउने हो भने नेता बन्न नेतादाइको आशिर्वाद अवश्यकता पर्दैनथ्यो । तर, हामी कहाँ पद्धति बसाउनेभन्दा पनि भएको पद्धतिलाई बिगार्ने र आफूखुशी गर्ने पद्धतिको विकास गरिन्छ । जसले गर्दा संगठन गरेर तल्लो तहका साथीहरूलाई हात लिएर नेता बन्नेभन्दा पनि नेताहरूको खल्तीको टिके नेता बन्ने बनाउने संस्कारको विकास गरियो । जुन लोकतन्त्रविरोधी अभ्यास हो ।

हिजोका दिनमा जो जसरी नेता बने, जो जसका प्रतिस्पर्धी थिए, सिनियर जुनियर जो थिए ती सब कुरालाई अतीतका दराजमा थन्क्याएर अबका दिनमा कसरी एक भएर अघि बढ्न सकिन्छ भनेर सही बाटो पहिल्याउनु जरुरी छ । बुढा दाइहरूले तयार पारेको गाडीमा सवार हुनैपर्ने नत्र गन्तव्यमा पुग्न गाह्रो हुन्छ भन्ने मानसिकताबाट माथि उठ्न जरुरी छ । हिजोका दिनमा कुनै नेता दाइको सामिप्यमा रहेर नेतृत्व विकास गरेपनि अब आफ्नै विवेकले चल्न सकिन्छ भन्ने आत्मविश्वास हुनुपर्छ । 

त्यस्तै युवा पुस्ताका नेताहरूले अनुभव गरिरहेका समस्याहरूमध्ये एकातिर समाजमा आफ्नो हैसियत कायम राख्न पदमा भइरहनुपर्ने बाध्यता छ भने अर्कोतिर प्रभावशाली नेता बन्न पैसा खर्च गर्नसक्ने हैसियत हुनुपर्ने संस्कारको विकास गरिएको छ । जुन सरासर गलत संस्कार हो । त्यसलाई युवा पुस्ताका नेताहरूले सच्याउनुपर्ने हुन्छ । 

अहिले प्रायः सबै नेताहरूको राजनीति गराई आत्मकेन्द्रित छ । त्यसलाई बदलेर पार्टीको सिद्धान्तकेन्द्रित हुन आवश्यक छ । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने स्पष्ट दृष्टिकोण हुनुपर्छ र सोहीअनुसार आफ्नो क्रियाकलाप गरिनुपर्छ । एक्लाएक्लै हिँडेर गन्तव्यमा पुग्न सकिँदैन भन्ने कुरालाई हेक्का राख्नुपर्ने हुन्छ । सबैको बलियो पक्षलाई अधिकतम उपयोग गर्न पछि पर्नु हुँदैन । फराकिलो मन बनाउँदै सबैसित समन्वयकारी भूमिका निभाउनसक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । 

२०७४ सालमा भएको आमनिर्वाचनमा पार्टीले सर्मनाक हार व्यहोरेपछि गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी र बद्री पाण्डेजस्ता युवा नेताहरू एक ठाउँमा गोलबन्द हुन खोजेका थिए । तर, त्यसले कुनै ठोस आकार पाउनुअगावै पार्टी सभापति शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएपछि त्यो समूह त्यत्तिकै निष्क्रिय जस्तो भयो । अझै पनि बेलाबखतमा अन्य युवा नेताहरूसमेत थपिएर युवाहरूबीच छलफल चलिरहेको चर्चा सुन्नमा आउँछ । 

युवा नेताहरूबीच छलफल र एकता हुन अति आवश्यक छ । एकले अर्कालाई रोक्न खोज्ने अर्थात् निषेधको राजनीति नगरेर सकेसम्म सबैको चित्त बुझाएर, आफ्नो क्षमता र व्यवहारको आधारमा लोकप्रिय नेता बन्ने राजनीति गर्नु राम्रो हुन्छ । एकले अर्काको रिस गर्ने, खुट्टा तान्ने प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । सहअस्तित्वमा सबैको कल्याण हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ । हिजोका दिनमा खुराफाती राजनीति बढी हुन्थ्यो भने अब खुराफाती होइन कर्मशील भएर एजेण्डाको राजनीति गर्नु उपयुक्त हुन्छ । त्यस्तै संस्थापक नेताहरूले छाडेर गएको त्याग र निष्ठाको लिगेसीलाई आत्मसात गर्नु जरुरी छ । 

केही युवाहरूले पुस्ता हस्तान्तरणको कुरा उठाउने गरेको पाइन्छ । अग्रज नेताहरूले गरेको राजनीतिक ट्राफिक जामले गर्दा नेतृत्वमा नपुग्दै सबैजना बुढो हुने अवस्था उनीहरूको चिन्ताको विषय हो । तर खालि पुस्ता हस्तान्तरणको कुरा उठाएरमात्र राजनीति हुँदैन । राजनीति गर्ने भनेको व्यक्तिको विचार र सक्रियताले गर्ने हो, उमेरले होइन । कुनै व्यक्ति बुढो छ तर ऊसित समसामयिक मुद्दाहरूमा स्पष्ट दृष्टिकोण छ । बिहानदेखि बेलुकासम्म पार्टीको काममा खट्न सक्छ भने ऊ बुढो भएर केही फरक पर्दैन । साथै नेतृत्व भनेको कसैले दिएर पाउने वस्तु होइन, नेतृत्व आफैंले आर्जन गर्ने अवसर हो । 

नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको हुँदा नेतृत्वले आन्तरिक लोकतन्त्रलाई पनि कसरी बलियो बनाउने भन्ने बारेमा सोच्न जरुरी छ । सत्ताकेन्द्रित राजनीतिमात्र नगरेर पार्टीको आदर्श र सिद्धान्तको राजनीति गर्न जरुरी छ । हिजोका पुस्ताले के काम राम्रा गरे त्यसलाई निरन्तरता दिने र के काम नराम्रा गरे त्यसलाई सच्याउनुपर्ने हुन्छ । नेतृत्वमा रहेकाहरूको अकर्मन्यताले गर्दा नेपाली कांग्रेस पार्टी अहिले थोत्रो बनिसकेको छ । यसलाई नयाँ जीवन दिन युवा नेताहरूको ठूलो जिम्मेवारी छ । 


Views: 189