13th April | 2021 | Tuesday | 7:35:39 PM

प्रणय दिवसको औचित्य

गीता अधिकारी   POSTED ON : फाल्गुन २, २०७७ (१०:४२ AM)

प्रणय दिवसको औचित्य

फेरि चर्चा छ यतिबेला प्रेम दिवस (भ्यालेन्टाइन डे) को । नेपालमा पनि पछिल्लो समय प्रेम दिवसले व्यापकता पाउँदैआएको छ । खासगरी १४ फेब्रुवरीलाई प्रेम दिवसको मुख्य दिन मानिए पनि यो दिवसले एक हप्ताअघिदेखि नै चर्चा परिचर्चा र विभिन्न दिनका रूपमा व्यापकता फैलाउने गरेको छ । फेब्रुवरी १४ मात्र होइन, फेब्रुवरी ७ देखि नै भ्यालेन्टाइन डेका महŒवपूर्ण दिन सुरु हुने गर्दछन् । फेब्रुवरी ७ देखि १४ सम्म रोज डे, पर्पोज डे, चक्लेट डे, टेड्डी डे, मा प्रमिस डे आदि र फेब्रुवरी १४ मा भ्यालेन्टाइन डे । तथापि, नेपाली समाजमा भने खासगरी १४ फेब्रुवरीलाई विशेष लिने गरिन्छ । केही वर्षअघिसम्म नेपालमा यो दिवसको खासै चर्चा नभए पनि पछिल्लो पुस्तामा भने यसको चलन झाँगिदो छ ।

भ्यालेन्टाइन डेको सुरुवात यसरी भयो भनिन्छ–भ्यालेन्टाइन डे इस्वी सम्वत् २ सय ६९ मा इटालीको रोमबाट सुरु भएको हो । तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोले देशवासीलाई सैन्य भर्तीमा सामेल हुन उर्दी जारी गरे । महिलासँगको सम्बन्धका कारण पुरुष कमजोर हुने ठानी सम्राटले प्रेम र विवाहमा रोक लगाए । रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको उक्त अभियानलाई विरोध गरेकाले धेरै सैनिकले विवाह गरे । 

अभियान असफल भएपछि सम्राटले पादरीलाई पक्राउ गरी मुत्युदण्ड दिए । जेलमा छँदा जेलरकी छोरी र भ्यालेन्टाइनबीच प्रेम बसेकाले मृत्युदण्ड अघि लभ फ्रम योर भ्यालेन्टाइन भनी हस्ताक्षरसहितको प्रेमपत्र भ्यालेन्टाइनले २ सय ६९ को फ्रेबवरी १४ तारिखका दिन मुत्युदण्ड दिएकाले यसै दिनलाई प्रणय दिवसका रूपमा मनाउने गरिएको छ । यसरी यो दिवस मनाउने प्रचलन बढेको पाइन्छ ।

प्रविधिको विकाससँगै विश्व साँघुरिँदै गएको छ । योसँगै विश्वव्यापीकरण र आधुनिकीकरण हुँदै पश्चिमी परिवेशका संस्कृति पनि विश्वभर परिचित भइसकेका छन् । क्रिसमस, अंग्रेजी नयाँ वर्षलगायत यहाँको परिवेशमा नौलो रहेनन् । त्यस्तै, भ्यालेन्टाइन डे पनि यहाँको परिवशेमा खासगरी युवायुवतीमाझ चर्चित बन्दैगएको छ । त्यसैले त यो विशेष अवसरमा युवायुवतीबीच प्रेम साटासाट गर्नु, कार्ड र फूलहरू आदान–प्रदान गर्नु, कुनै निश्चित स्थानमा घुम्न जानु सामान्यजस्तै भइसकेको छ ।

यस दिन युवायुवतीहरू आफूले मन पराएको व्यक्तिलाई रातो गुलाबको फूल, कार्ड र उपहार दिई प्रेम प्रस्ताव राख्ने गर्दछन् । त्यसो त, मोबाइल फोन, एसएमएस, फेसबुक र नियमित च्याटले उनीहरूबीच धेरै कुराकानी भइसकेका हुन्छन् र मनका कुरा अलिअलि खोलिसकेका हुन्छन् । तर पनि भ्यालेन्टाइन डेमा सरप्राइज गिफ्ट दिने, सरप्राइज प्रेम प्रस्ताव राख्नाले सम्बन्ध अझ प्रेमिल बन्छ भन्ने विश्वास रहेको पाइन्छ ।

युवायुवतीमात्र होइन, वयस्क जोडीहरू पनि यो विशेष अवसरमा आफ्ना ‘पार्टनर’ लाई विशेष उपहार दिने र डिनर गर्न लैजाने आदि सामान्य बनिसकेको छ । खासगरी सहरियाजनमा त यो एक प्रकारको संस्कृति नै बन्न थालेको छ । प्रेम दिवस पाश्चात्य संस्कृति भए पनि यो विशेष दिनले दाम्पत्य जीवन वा ‘पार्टनर’ हरूमा अझ प्रेम, आदर, सम्मान बढाउने उनीहरूको तर्क रहेको छ । त्यसो त, यस संस्कृतिलाई पश्चिमेली छाडा संस्कृतिको संज्ञा दिनेहरूको संख्या पनि कम छैन । हुनत चोखो माया र प्रेम गर्न न कुनै मौसम चाहिन्छ, न चाड नै । आपसमा प्रेम, सद्भाव र माया बढाउने चाड वा अवसरहरू हामीमाझ नै यथेष्ट छन् ।

युवायुवतीहरू भ्यालेन्टाइन डेमा रमाइरहेकै बेला केही मानिसले भने यसलाई नेपाली संस्कृतिमाथिको अतिक्रमण भनी चिन्ता गरेका छन् । अहिले हामीहरू हाम्रा चाडपर्वलाई बेवास्ता गरी पाश्चात्य संस्कृतिमा रमाइरहेका छौं । पश्चिमेली संस्कृतिको रूपमा हेरिँदै आएको यो पर्व विस्तारै पूर्वीय समाजमा पनि प्रचलित बन्दै गएको छ । युवा पुस्तामाझ यसलाई विशेष अवसरकै रूपमा लिन थालिएको छ । सूचना र प्रविधिले साँघुरिँदै गएको विश्वमा एक ठाउँको संस्कृति वा पर्व विश्वभर नै पुग्ने गर्दछ । यसलाई कुनै भौगोलिक सीमामा मात्र सीमित राख्न सकिन्न । प्रेम दिवसकै दिन एक थुंगा फूल दिएरमात्र चोखो प्रेम प्राप्त गर्न सकिएला र ?

एउटा बादशाहले प्रेमको प्रतीकका रूपमा ताजमहल बनाए । आफ्नी प्रेमिकाका लागि रोमन सम्राट् एन्टोनीले इजिप्टमा धावा बोलेका थिए । आज पनि रोमियो–जुलियट, लैला–मजनुका प्रेम प्रसङ्ग चर्चामा रहने गर्दछन् । बाबुआमाले आफ्नो सन्तानलाई, त्यही सन्तानले बाबुआमालाई, सच्चा देशभक्तले देशलाई गर्ने प्रेमजस्तो महान् प्रेम अरू के होला ? 

प्रेम दैहिक र आत्मिक हुन्छ । न प्रेमको सुरु हुन्छ, न यसको अन्त्य नै । यसमा न कुनै स्वार्थ हुन्छ न कुनै प्राप्ति । अहिले आएर भ्यालेन्टान डेलाई प्रेम दिवसको रूपमा हामीकहाँ चर्चा गर्न थालिए पनि ‘प्रेम’ शब्द संस्कृतबाट विकसित भएको हो, जसको अर्थ हुन्छ– ‘इच्छा’ वा ‘कामना’ । प्रेमलाई प्रीति, माया, ममता, अनुराग, स्नेह, प्रणय, प्यार आदि विविध अर्थमा प्रसंगअनुसार लिने गरिन्छ । विश्व प्रेमको परिधिमै सञ्चालित भएको हुन्छ । प्रेमले नै मानिसलाई आशा, धैर्य, क्षमा, सहिष्णुता प्रदान गर्दछ । जसले प्रेमलाई बोध गरेको हुन्छ उसको निम्ति प्रेम धैर्य हो, प्रेम सहिष्णुता हो, प्रेम प्रतीक्षा हो, प्रेम सेवा हो । 

शिष्टता, विनम्रता, सौम्यता, भद्रता, अनुग्रह, करुणशीलता, नम्रता प्रेमकै अभिव्यक्ति हुन् । प्रेम पदार्थमा हुन्छ, प्रेम चेतनामा हुन्छ । प्रेम मायालुको आँखामा हुन्छ, प्रेम पत्नीको इष्र्यामा हुन्छ, प्रेम आमाको बोलीमा हुन्छ, बाबुको हप्काइमा हुन्छ । प्रेम मातृत्वमा खेल्छ, भ्रातृत्वमा बाँँच्छ, मित्रतामा हाँस्छ । यत्रतत्र सवत्र प्रेम छर्न सके सबैतिरबाट प्रेम नै पाइन्छ । प्राप्तिको अपेक्षा नराखी अन्तरआत्माबाटै प्रस्फुटित हुने हृदयको झंकार नै प्रेम हो । प्रेमलाई दिवसको रूपमा होइन हरेक दिनका आफ्ना क्रियाकलापमा जरुरी हुन्छ । सबैभन्दा ठूलो प्रेम देश प्रेम हो । प्रेममै सबै धर्म, दर्शन अध्यात्म र रहस्यवादको प्रकृति हो, सत्व हो । प्रेमलाई सस्तो रूपमा नबुझौं । 

पछिल्लो समय प्रेममा हिंसाको प्रवेश भएको पाइन्छ । प्रेमीको प्रस्ताव स्वीकार नगर्दा हिंसाको शिकार हुनुपरेका थुप्रै घटनाहरू हामीमाझ छन् । कति सजिलै भन्छन् म तिमीलाई माया गर्छु, तर त्यही माया गर्छु भन्ने मान्छे राक्षसको रूपमा प्रस्तुत भएका घटना धेरै छन् । पश्चिमा संस्कृतिको रूपमा आएको भए पनि प्रेम दिवस मनाइरहँदा प्रेमलाई सस्तो नबनाइयोस् । कुनै दिन यस्तो नओस् प्रेम भन्ने शब्दप्रति नै घृणा उत्पन्न नहोस् । प्रेमदिवस मनाइरहँदा घातप्रतिघात र क्षणिक माया प्रेमभन्दा पनि सर्वत्र प्रेम नै प्रेम होस् यही कामना गरौं । 


Views: 226