13th April | 2021 | Tuesday | 7:47:38 PM

जयचन्दहरूको चक्रब्यूहबाट मुक्त होऔं

मणि शर्मा   POSTED ON : फाल्गुन ३, २०७७ (८:३५ AM)

जयचन्दहरूको चक्रब्यूहबाट मुक्त होऔं

कहीँ नभएको जात्रा हाडीगाउँमा । नेपालका कम्युनिष्टहरू बैठक बस्नु परे वा पत्रकार सम्मेलन गर्नु परे पाँच तारे होटलमा गर्ने गर्छन् । अनि त्यहीँबाट अमेरिका, युरोपीययन युनियन, भारत र चीनलाई उनीहरूकोे आन्दोलनको जात्रामा सहयोग गर्न गुहार माग्छन् । हिजो चीनबाहेक बाँकी ती मुलुकहरूबाट परिचालित भई हतियारसहित आर्थिक सहायता लिई कथित सशस्त्र युद्ध गरेजस्तो सम्झेको होलान् अहिले पनि । अब त सत्ता र सडक कम्युनिस्ट पनि त्यही खेमाबाट परिचालित भएको अवस्था छ । 

एक कट्ठा घडेरी र तीन तोला सुन भएका कम्युनिष्टका सुप्रिम नेताले छोरीलाई पन्ध्र करोडको घर दाइजो दिन सक्छन् । आफ्नो र आफ्नो परिवारको जीवन शैली सामन्ती राजा महाराजाको भन्दा उच्चकोटिको राख्छन् । निमित्त अध्यक्ष चाँही आफू ख्रिष्टान बन्दै तीस वर्षमा छब्बीस मुलुकको यात्रा त्यही ख्रिष्टान संगठन र चर्चको पैसामा गर्छन् र नेपालमा होली वाइनको व्यापार गरेर आफ्ना मातहतका कम्युनिष्टहरूलाई ख्रिष्टान बनाउँदै हिँड्छन् । उनका बोस ख्रिष्टान र कम्युनिष्ट भनेको एउटै हो भन्दै भाषण गर्छन् । 

तर, पनि यिनीहरू जनताको बुद्धि भुट्न आफूलाई कम्युनिष्ट भन्ने गर्छन् र मुड्की कस्दै लाल सलाम भन्न लाज शरम मान्दैनन् । यिनीहरू कम्युनिष्ट भएको भए भारत, युरोप र अमेरिकाले जनयुद्धको नाममा यिनीहरूलाई प्रयोग गथ्र्यो र ? । १८ गतेको आन्दोलनमा एमसिसीविरुद्ध नारा लाग्दा त्यो नारा नलगाउन आदेश दिने र प्रदर्शनकारीले उनको आदेशको पालना नगरेर एमसिसीविरुद्ध नारा लगाएपछि घोप्टे मुण्टो लगाउँदै पुच्छर लुकाएर भाग्न बाध्य हुन्छन् । तैपनि यिनीहरू आफूहरूलाई कम्युनिष्ट भन्छन् । यो उनीहरूको बाध्यता हो ।

अमेरिका जसले कम्युनिष्टको क पनि सुन्न चाहँदैन, जसले कम्युनिष्ट शासन भएको सोभियत संघबाट कम्युनिष्ट शासनको अन्त्यमात्र गरेन अपितु सोभियत संघलाई टुक्रा टुक्रामा विभाजित गरिदियो । अमेरिका जो आफ्नै ३५औं राष्ट्रपति जोन एफ क्यानेडीको सबन्ध कम्युनिष्टसँग भएको शंकामा उसको हत्या गर्छ उसले यी नेपालका कम्युनिष्ट साँच्चैको कम्युनिष्ट भएको भए सहयोग गथ्र्यो र ? चीन जो माओकालीन कट्टर कम्युनिष्ट मुलुक होइन, खुला अर्थतन्त्र अपनाएको पुँजीवादी मुलुकमा परिणत भइसकेको छ उसलाई घेराबन्दी गर्ने थिएन, न त नेपाललाई एमसिसीको नाममा सहयोग दिन अगाडि नै बढ्थ्यो । एमसिसी त चीन घेर्ने एउटा नीति नै हो ।

अमेरिकाले कम्युनिष्टलाई यति घृणा गर्छ कि कम्युनिष्टसँग सम्बन्ध भएको शंकाकै भरमा आफ्नै राष्ट्रपतिको हत्यासमेत गर्न पछि पर्दैन भन्ने उदाहरण हेरौं । सुविख्यात मोडल, गायिका तथा नायिका मर्लिन मुनरोसँग राष्ट्रपति जोन एफ क्यानेडीको पहिलो भेट उनको बर्थ डे पार्टीमा भएको थियो । उनले सुरिलो स्वरमा गाएको हृयापी बर्थ डे मी प्रेसेडिन्ट गीतबाट क्यानेडी यति प्रभावित भए कि उनले मुनरोलाई भनेका थिए ‘तिमीले गाएको बर्थडे गीत सुनेपछि मलाई राजनीतिबाट सन्यास लिऊँ जस्तो भएको छ ।’ त्यसपछि उनीहरूको भेट हुँदै गयो । तबसम्म मर्लिन मुनरोले तीनवटा विवाह गरेर पारपाचुके गरिसकेकी थिइन् । 

उनीहरूको प्रेमप्रसंग बेडरुमसम्म पुगेको थियो । सन् १९९३ मा मर्लिन मुनरोको बायोग्राफी लेख्ने डोनाल्ड स्पोटोले लेखेका छन्, ‘मार्च २४, १९६२ मा क्यालोफोर्नियाको बिंग क्रसबीको घरमा क्यानेडी र मुनरोबीच शारीरिक सम्बन्ध भएको थियो । मुनरोको जम्मा एकचोटि मात्र क्यानेडीसँग शारीरिक सम्बन्ध भएको कुरा राल्फ रोबर्टले भनेका छन् । तर, धेरैको विश्वास थियो कि यी दुईबीच धेरैपटक शारीरिक सम्बन्ध भएको थियो ।

अमेरिकामा यो कुरा सामान्य मानिन्छ, यसकै लागि मुनरोको रहस्यमय मृत्यु र क्यानेडीको हत्या भएको थिएन । मुनरोको सेरोगेट बहिनी भनेर चिनिने नायिका सुसन स्ट्रेसबर्गले मुनरोको भनाइलाई उद्धृृत गर्दै लेखेकी छिन् ‘चामत्कारिक राष्ट्रपतिसँग शाारीरिक सम्बन्ध राखेकी हुँ’ तर क्यानेडी ज्याकलीनसँग विवाहित भएकाले उनी यो सम्बन्धलाई यसभन्दा अगाडि लग्न चाहँदैनथे । 

मुनरोकोे प्रेम प्रसंग राष्ट्रपति क्यानेडी र उनका भाइ महान्यायाधिवक्ता रोबर्ट क्यानेडीसँग सँगसँगै थियो । उनीसँग पनि उनको शारीरिक सम्बन्ध थियो । उनले एउटा रातो डायरी राखेकी थिइन् । जसमा उनले विभिन्न सेलिब्रेटीसँगको आफ्नो सम्बन्ध र राष्ट्रपति क्यानेडीले ओछ्यानमा विस्तारै भनेका राज्यको गोप्य कुराहरू टिपेकी थिइन् । रोबर्ट क्यानेडीलाई एकचोटि उनले उनको दाइले भनेको सिआइएले क्युबाको राष्ट्रपति फिडेल क्याष्ट्रोको हत्या गर्न योजना बनाएको कुरा बाहिर पब्लिकलाई भनिदिऊँ भनेर धम्क्याएकी थिइन् । 

सन् २०१३ मा एन्डरसनले लेखेको मुनरोको बायोग्राफीमा, मुनरोले ज्याकलीनलाई भनेकी थिइन् ‘ज्याकी (जोन एफ क्यानेडी) ले मसँग विवाह गर्न चाहन्छन् ।’ यो सुनेर ज्याकलीनले मञ्जुरी दिँदै भनेकी थिइन् ‘मर्लिन, तिमी ज्याकसँग विवाह गर, धेरै राम्रो हुनेछ । अनि तिमी हृवाइट हाउसमा जानेछ्यौ र फष्र्ट लेडी भएर सबै जिम्मेवारी लिनेछ्यौ । म निस्केर जानेछु ।’

तर, उनले रोबर्ट क्यानेडी जो महान्याधिवक्ताको अलावा माफिया पनि थिए लाई उनीसँगको शारीरिक सम्बन्ध र राष्ट्रपति क्यानेडीबाट प्राप्त गोप्य सूचना फिँजाइदिने धम्कीले उनले नै उनको हत्या गर्न लगाएको दाबी गर्ने धेरै छन् । उनी मानसिक बिरामी थिइन् । उनले डक्टरलाई भनेर लिने औषधि बारबिच्युरेटकोे बढी डोज दिन लगाएर हत्या गरेको आरोप पनि लगाउने गरेका छन् । अर्को महŒवपूर्ण कुरा उनलाई एन्टीकम्युनिष्ट खेमाले मार्न लगाएको भन्ने चर्चा बढी छ । किनकि उनको सम्बन्ध उनको पूर्वपति लेखक आर्थर मिलर कम्युनिष्ट थिए जोसँग पारपाचुकेपश्चात् मुनरोको सम्बन्ध थियो । 

यस अतिरिक्त उनी माध्यमवाट अरू कम्युनिष्ट नेताहरूसँग मुनरोको सम्बन्ध भएको आशंका गरिएको छ । उनले सबै गोप्य विवरण आफ्नो रातो डायरीमा लेखेकी थिइन् । जुन उनको मृत्युपश्चात् गायब गरियो । प्रहरी उनको घरमा पुग्दा उनी सुतेको तन्ना उनको हाउसकिपरले सफा गरिरहेकी थिइन् । यसबाट पनि उनको मृत्यु शंकास्पद देखिन्छ । उनको हत्यामा एफबिआई र सिआइएसमेत माथि शंका गरिएको छ भने राष्ट्रपति क्यानेडीको हत्यामा सिआइएमाथि शंका गरिएको छ । साथै दुवै हत्या गराउनुमा उनको भाइ रोबर्टमाथि शंका गरिएको छ । 

मुनरोसँगको संगतले राष्ट्रपति क्यानेडीमा कम्युनिष्ट छाप परेको र उनी कम्युनिष्टहरूमाथि सहानुभूति राख्छन् भन्ने शंका गरिएको थियो । राष्ट्रपति क्यानेडीले भन्नै नहुने राज्यको गोप्य कुरा मुनरोलाई भनेकोमा सबै सशंकित थिए । फिडेल क्यास्ट्रोको हत्याको सिआइएको योजना मुनरोको कारण पहिला नै फ्लेस भइसकेको थियो । राष्ट्रपति क्यानेडीको हत्या २२ जनवरी १९६३ मा र मुनरोको रहस्यमय मृत्यु ४ अगष्ट १९६२ मा भएको थियो । क्यानेडीको हत्याको अभियोगमा हृयारभे ओसवाल्ड समातिएका थिए दुई घण्टाभित्रै । जेल ट्रान्स्फर गर्न लाग्दा उनलाई नाइटक्लब माफिया ज्याक रुबिले उनको हत्या गरे । 

नेपालका कम्युनिष्ट नामधारी कोही पनि कम्युनिष्ट होइनन् । बेलाबेलामा पुष्पकमल दाहाल आफ्नो हत्या हुनसक्ने बताउँदै आउँछन् । तर उनी कम्युनिष्ट भएर कुनै विदेशीले उनको हत्या गर्ने छैनन् । उनी त के नेपालका बाँकी कम्युनिष्टहरू पनि पुँजीवादी शक्तिकेन्द्रका खेलौना भएकाले उनीहरूलाई तिनीहरूबाट मारिने खतरा छैन, एमाले त पहिल्यै सिआइएको खेमामा पार्टीलाई एनजीओकरण गरेर आत्मसमर्पण गरिसकेको छ भने पुष्पकमल र बाबुरामहरू त कथित सशस्त्र युद्ध सुरु हुनुअगावै इण्डोपश्चिमा शक्तिको गुलामी स्वीकार गरिसकेका कम्युनिष्ट मकुण्डोधारी हुन् । 

अहिलेको यी आन्दोलन, यी कार्यकर्ता सभा सबै सत्ताप्राप्तिको खेल हो । न त यो आन्दोलन देशका लागि हो न त जनताका लागि र न त विचार र सिद्धान्तका लागि । कम्युनिष्ट आस्थाबाट च्यूत भएका पार्टीका लागि केको विचार केको आस्था ? केवल लुटको साम्राज्यमाथि आफ्नो आधिपत्य जमाउने लडाइँ हो यो । 

नागरिक समाज त एउटा एनजीओ हो । मालिकले जे आज्ञा दिन्छ त्यही गर्नेमात्र हो । आवरणमा यी राजनीतिक दलहरू र यी नागरिक समाज जे जस्तो देखिए तापनि यी सबै मकुण्डोधारीहरू हुन् । माओवादी कम्युनिष्ट भएको भए अमेरिकालगायत पश्चिमा शक्तिले यिनीहरूमाथि लगानी गर्ने थिएनन् न त एमालेमाथि सिआइएले । त्यसैले त पिकेले पाँचतारे होटलको पत्रकार सम्मेलनमा होस् वा आमसभामा ती शक्तिकेन्द्रहरूसँग आफूहरूको आन्दोलनमा सहयोग गर्न अपिल गरिरहेका छन् । 

ती शक्तिकेन्द्रबाट प्रयोग भएर भएको सशस्त्र संघर्षले देशको कुन दुर्गति भएको छ हामीले हेरी भोगिरहेका छौं । धर्म नासियो, संस्कार नासियो, परम्परा नासियो र मौलिकता नासियो । हुँदाहुँदै अब आमसभाबाट विश्वका सवा अर्ब हिन्दूहरूको आस्थाकेन्द्र पशुपतिनाथमाथि प्रहार हुन सुरु भएको छ । यसैबाट थाहा हुन्छ यस कथित आन्दोलनको लगानीकर्ता को हो ?

देश र आफूभित्रको विवादले के हुन्छ र यसको परिणाम के हुन्छ भारतको इतिहास हेरे हुन्छ । जहाँ न त मुसलमान थिए र न त ख्रिष्टान तर आफूबीचको लडाइँमा प्रतिशोध लिन विदेशीलाई बोलाउँदा मुसलमान र अंग्रेजबाट हजार वर्षसम्म भारत गुलाम हुनुप¥यो ।

पृथ्वीराज चौहान र जयचन्दको आपसी झगडाले जयचन्द जसले विदेशी आक्रमणकारीलाई युद्धमा परास्त गरी आफ्नो राज्य कनौजबाट लखेटेका थिए, उसैलाई पृथ्वीराज चौहानसँग प्रतिशोध लिन निम्ता गरे । पृथ्वीराज चौहानले पनि आफ्ना छिमेकी हिन्दू राजाहरूसँग युद्ध गरेर उनीहरूसँग सम्बन्ध बिगारिसकेका थिए, त्यसैले विदेशीले आक्रमण गर्दा उनलाई बचाउन कोही आएनन् ।

जयचन्दकी छोरी संंंयोगिता विवाहित पृथ्वीराज चौहानलाई मन पराउँथिन् तर उनका पिता जयचन्दको पृथ्वीराज चौहानसँग शत्रुतापूर्ण सम्बन्ध भएकाले उनी यसको विरोधमा थिए । उनले आफ्नी छोरीको विवाहका लागि स्वयंवर सभाको आयोजना गरे जसमा विभिन्न राज्यका राजा र राजकुमारहरू आएका थिए । उनले पृथ्वीराज चौहानको अपमान गर्न उनको शालिक बनाएर पहरेदारको रूपमा मूल ढोकामा राखेका थिए तर स्वयंवर सभामा संयोगिताले वरमाला पृथ्वीराज चौहानको शालिकमा पहिराइन् । शालिकपछाडि लुकेर बसेका पृथ्वीराज चौहानले उनलाई समाती घोडामा बसालेर लगे । 

त्यसपछि जयचन्दले मुसलमान आक्रमणकारी मोहम्मद गोरीलाई निम्ता दिए । पहिला जिते पनि पछि तराइनको युद्धमा उनी पराजित भएर बन्दी बनाइए । उनलाई मोहम्मद गोरीले आफ्नो अधीनता स्वीकार गरी राजा बन्न प्रस्ताव राख्दा उनले नमानेपछि उनको हत्या गरियो । यो युद्धपछि भारतमा मुसलमानहरूको शासनको सुरुवात हुन्छ जुन आठ सय वर्षसम्म चल्छ । 

हिजोसम्म एमसिसीका विरोधी पुष्पकमल अहिले रातारात त्यसको कट्टर समर्थक बन्नु सत्ताप्राप्तिका लागि अमेरिकी सहयोग खोज्ने उनको उद्देश्य हो । यी जयचन्दहरू देशलाई समाप्त पार्न जे पनि गर्न सक्छन् । के हामीले यी गणतान्त्रिक जयचन्दहरूबाट हाम्रो देशलाई युद्धस्थली बनाउँदै पराधीन बनाउने वा यो व्यवस्थालाई फालेर यी जयचन्द र लेण्डुपका उत्तराधिकारीहरूलाई उनको कर्मअनुसारको सजाय दिने ?

दुई पार्टी मिलेर बनेको पार्टीले अब देश र जनताका लागि केही गर्छ भन्ने आशा जनतामा पनि पलाएको थियो तर आज त्यसको ठीकविपरीत हुन पुग्यो । प्रचण्ड, ओलीको व्यक्तिगत स्वार्थको लडाइँ, आरोप प्रत्याआरोपमै सीमित हुन पुगेको छ ।


Views: 218