13th April | 2021 | Tuesday | 8:14:58 PM

श्रीपञ्चमी र सरस्वती महिमा

नारायणप्रसाद निरौला   POSTED ON : फाल्गुन ३, २०७७ (८:५१ AM)

श्रीपञ्चमी र सरस्वती महिमा

आद्यशक्ति भगवती सरस्वतीको महिमा अपरम्पार छ । समस्त कला जगत्की प्रतिमूर्ति, ज्ञानकी खानी सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा गरिन्छ । आद्य शक्ति भगवतीका अनेक स्वरूपको उपासना हुने गर्दछ । विशेषगरी विद्याकी देवी सरस्वतीको उपासना माघ शुक्ल पञ्चमीमा विशेष हुने गर्दछ । हरेक ज्ञानका साधक सरस्वतीका उपासक हुन् । वेदले पनि सरस्वतीको उपासना गरेको पाइन्छ । किनकि सरस्वतीको कृपा विना ज्ञानका चक्षु खुल्न सक्दैनन् । परब्रहृम नै सरस्वतीलाई भनिएको छ । आद्य शक्ति भगवतीका कर्म अनुसार भिन्न भिन्न रूप हुने गर्दछन् । संहार गर्न महाकाली, पालन गर्न महालक्ष्मी र ज्ञानको दीप बाल्ने महासरस्वतीको स्वरूप प्रकट भएको हो । 

श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन पर्ने गर्दछ । पञ्चमी तिथिकै दिन भगवतीको उपासना गर्नुका पछाडि पूर्णताको रहस्य रहेको छ । सरस्वती पूर्णब्रहृम हुनुहुन्छ । यसरैगरी पञ्चमी पूर्ण तिथिका रूपमा लिइन्छ । शुक्लपक्षमै भगवतीको उपासना गर्नुको तात्पर्य पनि भगवतीसँग अन्तर्निहीत पाइन्छ । भगवतीलाई सर्वप्रिय रङ सेतो हो । उहाँ सेता वस्त्रले वेष्टित र सेतै कमलको आसनमा निवास गर्नुहुन्छ । माघ प्रिय महिना भएकाले माघशुक्ल पञ्चमीमा सरस्वतीको विशेष उपासना गरिएको हो । जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको पूर्वसन्ध्या अर्थात् आरम्भको संकेत यस दिनबाट हुने गर्दछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । 

यस दिन साकार रूपमा भगवतीले अवतार ग्रहण गर्नुभएको प्रसंग पुराणमा उल्लेख पाइन्छ । आद्यशक्तिकै साकार स्वरूमा प्रकट भएकाले यस दिनलाई भव्यरूपमा विशेष पर्वका रूपमा मनाइएको हो । वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन रहेकाले पनि वसन्त पञ्चमीलाई भव्य रूपमा मनाइएको हो । यस दिन विद्या आरम्भ गर्न, नाक कान छेड्नुका साथै विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम हुने कुरा ज्योतिष शास्त्रमा पनि वर्णन भएको पाइन्छ । संसार ज्ञानकै आँगनमा अडिएको हुनाले ज्ञान अर्थात् विद्याका उपासक सवैले यस दिन सरस्वतीको विशेष पूजा आराधना गर्ने गर्दछन् । 

सरस्वतीको महिमा वेदले पनि सर्वत्र गाएको पाइन्छ । ‘सरस्वती श्रुति महति महीयताम्’ (यजुर्वेद) सरस्वी श्रुति अर्थात् वेदभन्दा महान् छिन् ‘सरस्वती नः सुभगा मयस्करत्’ (यजुर्वेद) अर्थात् सरस्वतीले हाम्रो यश कीर्तिलाई बढाउन् भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमा कति छ भन्ने कुरा प्रष्टिन आउँछ । उपनिषद्, पुराण, देवीभागवत आदिले पनि भगवती सरस्वतीको विशेष महिमा गान गरेका छन् । 

यसैगरी आद्यशक्ति भगवतीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वती मध्येकी एक सरस्वतीको महिमा अपरम्पार रहेको छ । सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन्, भनी मार्कण्डेय पुराणले वर्णन गरेको छ । कार्य र प्रकृतिअनुसार भगवतीका अनेक स्वरूप पाइन्छन् । 

माघ शुक्ल पञ्चमीका दिन शुद्ध स्नानपूर्वक भगवती सरस्वतीको मन्दिर गई विधिपूर्वक सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन भगवतीको षोडशोपचारले विशेष पूजा हुने गर्दछ । पूजापश्चात् भगवतीप्रति विद्याको वरदन माग्न स्तुति प्रार्थना गर्नुका साथै आआफ्ना कलाको प्रदर्शन एवं अभ्यास गरिन्छ । संगीतका पारखीहरू यस दिन वसन्त रागको गान गर्ने गर्दछन् । सरस्वतीको पूजा गर्नु भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प चन्दन अक्षतालेमात्र खुशी हुनुहुन्न । जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ । 

सरस्वती आद्य शक्ति हुन् । उनका अवतार रूप अनेक छन् । ब्रहृमामा आफ्नी पुत्री सरस्वतीप्रति आशक्त भाव उत्पन्न भयो । यसपछि ब्रहृमालाई आत्मग्लानि भएपछि आफ्नो शरीरलाई त्यहीँ त्यागेकाले उक्त अवस्था अन्धकारका रूपमा व्याप्त भएको हो (श्रीमद्भागवत, ३।१२।२८–३३) भन्ने कुरा भागवतमा पाइन्छ । मत्स्य पुराणले उक्त कुरा पाउन सकिन्छ । पुराण वर्णित कथा सरस्वती भगवतीका कार्यअनुसार साकार रूपमा भएका अवतार कथा हुन् । वास्तवमा सरस्वती आद्य शक्ति नै हुनुहुन्छ । महाकाली, महालक्ष्मी र माहासरस्वती वास्तवमा एउटै आद्य शक्तिका स्वरूपहरू हुन् । अर्थार्थीले महालक्ष्मीको उपासना गर्दछन् । 

शक्तिका उपासकले महाकालीको आराधना गर्दछन् भने ज्ञानका उपासक सरस्वतीको आराधना गर्ने गर्दछन् । समस्त विद्या र कलाकी देवी सरस्वती हुन् । सरस्वतीलाई कसैले ब्रहृमाकी पुत्री र कसैले ब्रहृमाकी पत्नी भन्ने गर्दछन् । वास्तवमा सरस्वती आद्य मातृशक्ति हुनुहुन्छ । सोही शक्तिको अवतारक्रममा ब्रहृमाकी मानसपुत्री हुनुभएको हो । सरस्वतीलाई आद्यस्वरूपाको रूपमा बुझ्नु नै उपयुक्त हुन्छ । साक्षत् ब्रहृम स्वरूपा भएकाले सरस्वतीलाई ब्राहृमी भनी सम्बाधन गरिन्छ । 

ब्राहृमी सरस्वतीका सात भेद मानिएका छन् । चिन्तमणि सरस्वती, ज्ञान सरस्वती, नीलसरस्वती, महासरस्वती, किनि सरस्वती, अन्तरिक्ष सरस्वती र घट सरस्वती । कार्यअनुसार भिन्न भिन्न सरस्वतीको आराधना हुने गर्दछ । शारदा सरस्वतीका पाँच भेद छन् जसअन्तर्गत वाणी सरस्वती, वागिश्वरी सरस्वती, वाचासरस्वती, वाक्प्रदा सरस्वती र पारिजात सरस्वती । यसैगरी महासरस्वतीका पनि अनेक भेद पाइन्छन् सन्ध्या सरस्वती, अनिरुद्ध सरस्वती आदि । ज्ञानका उपासकले आराधना गर्ने सरस्वती महासरस्वती हुनुहुन्छ । जसको महिमा वेद, उपनिषद, पुराण आदिले गान गरेका छन् । सरस्वतीका अनेक नाम भए पनि बाह्रवटा विशेष मानिन्छन् । 

प्रथमं भारतीनाम द्वितीयं च सरस्वती । तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।

पञ्चमं तु जगन्माता षष्ठं कात्यायनीति च । सप्तमं चैवकौमारी अष्टमं वरदायिनी ।। 

नवमं बुद्धिदात्री च दशमं ब्रहृमचारिणी । एकादशं चन्द्रघण्टा च द्वादशं भुवनेश्वरी ।। 

द्वादशै तानि नामानि त्रिसन्ध्यं यो पठेन्नरः । जिहृवाग्रे वसति तस्य ब्रहृमरूपा सरस्वती ।।

अर्थात् भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, कात्यायनी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी गरी सरस्वतीका बाह्र नाम प्रसिद्ध छन् । जसले यी नामको प्रातः, दिवा र सन्ध्यामा पाठ गर्छन् त्यस्ता व्यक्तिका मुखमा सरस्वतीको वास हुन्छ भन्ने कुरा सरस्वती महिमामा बताइएको छ । 

सरस्वतीको स्वरूप शुक्ल अर्थात् सेतो वर्णको छ । ज्ञानका माध्यमले जगत्मा व्याप्त भएकी सरस्वतीको वाहन हाँस हो । चार हातमा वीणा, पुस्तक, अक्षमाला र वरदमुद्रा विराजमान रहेका छन् । यसरी सरस्वतीले हातमा लिएका हरेक वस्तुको आआफ्नै महिमा रहेको पाइन्छ । हाँस विवेकको प्रतीक हो । जसले दूध र पानी छुट्याउने कार्य गर्दछ । यसैगरी वीणा नादको प्रतीक हो । संगीत विधाको प्रतिनिधित्व वीणाले गरेको छ । कमल शान्तिको प्रतीक हो । सेतो कमलको फूलमाथि विराजमान सरस्वतीको हातमा रहेको वेदले पुस्तकको प्रतिनिधित्व गर्दछ । अक्षमालाले चिन्तनशील रहने प्रेरणा प्रदान गर्दछ । सेता वस्तु शुद्ध एवं पवित्रताको प्रतीक मानिन्छन् । 

सरस्वतीलाई ब्रहृमा, विष्णु र महेश्वरले पनि आराधना गरेको कथा प्रसंग पाइन्छ । 

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।

 या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।

 या ब्रहृमाच्युतशंकरप्रभितिभिर्देवैसदा वन्दिता ।

 सा मां पातु सरस्वती भगवती निः शेषजाढ्यापहा ।।

अर्थात् श्वेत कमलमा विराजमान, चन्द्रमा जस्तै स्वच्छ स्फटिकको माला गलामा सुशोभित भएकी, स्वच्छ सेतो वस्त्रले वेष्टित वरदमुद्रायुक्त वीणाधारी सरस्वती सेतो कमलको फूलमा विराजमान हुनुहुन्छ । जसलाई ब्रहृमा, विष्णु, शंकरआदि गरिएका देवताले पनि विशेष वन्दना गर्दछन् । यस्ती भगवती सरस्वततीले हाम्रो जड अन्धकाररूपी अज्ञानलाई हटाउनुहोस् भनी गरिएको प्रार्थनाबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ । 

सरस्वतीको पूजा भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प चन्दन अक्षताले मात्र खुशी हुन्नन् । अथक परिश्रम र मिहिनेत नै सरस्वतीको अर्को नाम हो । भगवतीको पूजा आराधना भनेको नै विद्याको चिन्तन, अध्ययन, मनन र अभ्यास हो । भगवतीको मन्दिरमा गई पूजा गर्नु भनेको अध्ययनतर्फ रुचि जगाउन मनलाई प्रेरित गर्नु हो । जबसम्म हाम्रो मन पवित्र हुन सक्दैन तबसम्म हामी केही पनि गर्न सक्दैनौं यसैले वसन्त पञ्चमीका दिन भगवतीको विशेष पूजा आराधना गरी मनलाई शुद्ध बनाउने यत्न गरिन्छ । पवित्र मनले गरेको चिन्तन नै सार्थक हुन्छ । ज्ञानप्रतिको लगाव नै सरस्वतीको सच्चा पूजा आराधना हो । जय सरस्वती माता ।

(निरौला नेपाल संस्कृत विश्वविद्यालयमा उपप्राध्यापक हुनुहुन्छ ।) 


Views: 87