13th April | 2021 | Tuesday | 8:24:27 PM

मेडिकल ल्याबको आवश्यकता

रोशनी घिमिरे   POSTED ON : फाल्गुन ३, २०७७ (८:५७ AM)

मेडिकल ल्याबको आवश्यकता

चिकित्साशास्त्रको अभिन्न अंग भनेकै मेडिकल प्रयोग शाला हो । मेडिकल ल्याबविना मेडिकल क्षेत्र अपांग हुन्छभन्दा फरक नपर्ला । जसरी एउटा फिल्म सफल बनाउन टिमका सबैको उत्तिकै भूमिका रहने गर्छ त्यसैगरी एउटा अस्पताललाई सफल बनाउन ल्याबको त्यति नै ठूलो भूमिका हुने गर्दछ । पर्दाअगाडि देखिने हिरोलाई सबैले नमन गर्छन् । त्यही हिरोलाई हिरो बनाउने कथाकारलाई कसैले चिन्दैनन् । यो नै हाम्रो कमजोरी हो । अस्पतालमा पनि डाक्टरलाई सबैले नमस्कार गर्छन् । त्यही डाक्टरलाई सफल बनाउने ल्याबको कर्मचारीलाई कसैले गन्दैनन् । 

एउटा अस्पताललाई सफल बनाउन जति डाक्टरको हात हुन्छ त्यतिकै हात ल्याबको पनि हुन्छ । एउटा खराब रिर्पाटले बिरामीको ज्यानै जान सक्छ । डाक्टरले उपचार गर्ने भनेकै ल्याबको रिपोर्टको आधारमा हो । एउटा दुःखलाग्दो कुरो के छ भने डाक्टर र नर्सलाइ सबैले नमस्कार गर्छन् तर त्यही अस्पतालमा अहोरात्र खटिने ल्याबमा कार्यरत कर्मचारीलाई वास्ता गर्दैनन् ।

हरेक डाक्टरले ल्याबकोे रिपोर्ट हेरेपछि मात्र बिरामीकोे उपचार कसरी गर्ने भनेर अघि बढ्छन्् । नेपालमा सिटिइभिटीअन्तगर्त ८ महिने ल्याब असिस्टेन्ट, सिटिइभिटीअन्तर्गतकै तीन वर्षे ल्याब टेक्निसियन र विज्ञान विषय लिएर दुई वर्ष सकेपछि गरिने बिएमएलटी ल्याब टेक्नोलोजिष्ट हरूले ल्याब चलाएका छन् । हिजोसम्म एउटा अँध्यारो सानो कोठामा सीमित ल्याब अहिले उच्चस्तरको बनाइएको छ । बिरामीसँग सिधैं सम्पर्कमा नआउने ल्याबका कर्मचारीको महत्व डाक्टर नर्र्सको भन्दा कमी छैन ।

नेपालमा त्रिभुवन विश्वविद्यालयले मेडिकल ल्याब टेक्नोलोजिष्टको पढाए सुरु गरेको थियो । पहिला यो कोर्सलाई दुई वर्षको राखिएको थियो भने अहिले आएर यसलाई परिमार्जित गरेर चार वर्ष बनाइएको छ । बिएमएलटी चार वर्ष कोर्स सक्न २ देखि ५ लाख खर्च लाग्छ । सरकारी स्थरबाट नै यसको पढाइ हुने हो भने यो शुल्कमा कमी आउने थियो । बिएमएलटी पढ्नका लागि प्लस २ साइन्स गर्नुप¥यो कि तीन वर्षको ल्याब टेक्निसियन पढाइ सक्नुप¥यो । अनिमात्र यो पढ्न पाइन्छ । मेडिकल ल्याबको लागि सीटीइभीटीले ८ महिने ल्याब असिस्टेन र ३ वर्ष ल्याब टेक्निसियन भनेर पढाइ सुरु गरिरहेको छ । 

अस्पतालहरूमा ल्याब असिस्टेनले नै काम गरिरहेका हुन्छन् । बिएमएलटी गरेका विशेषज्ञहरूले त रिपोर्टमा साइनमात्र गर्नेहुन् । कतिपय सरकारी अस्पताल हरूमा ल्याबको अवस्था नाजुक बनेको छ । वर्षौंदेखि बिग्रेका मेसिनहरू बनाइएका छैनन् । बिरामीलाई प्रत्यक्ष असर पार्न ल्याब जस्तो संवेदनशील ठाउँमा सम्बन्धित निकाएको ध्यान जान सकेको छैन ।

मेडिकल ल्याब टेक्निसियन भनेको के हो ? पहिला यसको जानकारी राख्न आवश्यक छ । ल्याब टेक्निसियन भनेको बिरामीको रगत दिसा पिसाब अन्य जे डाक्टरले जाँच्न भनेको छ त्योे जाँचेर बिरामीको हिस्ट्री बताउनेलाई ल्याब टेक्निसियन भनिन्छ । अहिले प्रायजसो अस्पतालहरूमा ल्याब चलाउने भनेकै ल्याब टेक्निसियन र ल्याब असिस्टेन्ट हुन्छन् । मान्छे बिरामी भएर अस्पताल जान्छ । उसलाई सबभन्दा पहिला आवश्यक भनेकै ल्याब हुन्छ । ल्याबको रिपोर्ट नभई डाक्टरले केही गर्न सक्दैन । डक्टरले पनि बिरामी हेरपछि ल्याबमा जान नै भन्छ । ल्याब रिपोर्ट आएपछि मात्र उपचार अघि बढ्छ । 

पछिल्लो समयमा मान्छे आफैं पनि ल्याब जचाउने भएको छ । वर्षको एकपल्ट होलबडी चेकजाँच प्रायःजसो मान्छेले गर्छन् । मान्छे स्वाथ्य छ छैन भनेर पहिचान गर्न एकमात्र उपाय भनेकै रक्त परीक्षण नै हो । चिकित्सकले पनि ल्याबको रिपोर्टविना बिरामीको बारेमा केही भन्न सक्दैन । डक्टरले बिरामीलाई कुन औषधि कसरी कति दिन चलाउने भनेर थाहा पाउन ल्याबको रिपोर्ट नै चाहिन्छ ।

 विकसित मुलुकमा अत्याधुनिक प्रविधिद्वारा रक्त परीक्षण गरिन्छ । हाम्रोमा भने ती सब उपकरणहरू उपलब्ध छैनन् । यहाँ सम्भव नभएका कारण कतिपय रक्त परीक्षणका लागि भारत लैजानुपर्ने हुन्छ । एक महिनासम्म रिपोर्ट आउँदैन रिपोर्ट नआई उपचार नै सुरु हुँदैन । यसले गर्दा बिरामीलाई ठूलो अप्ठ्यारो परिरहेको छ । 

सरकारले नै राम्रो ल्याब नेपालमै खोल्ने हो भने विदेश जाने पैसा यही रहनेथियो र बिरामीलाई पनि केही हदसम्म सजिलो हुन्थ्यो । नयाँ नयाँ मेडिकल कलेज खोल्नुको साटो यस्ता ल्याबोरेटरीहरू खोले हुँदैन र ? ठूलाठूला अस्पतालहरूमा ल्याबको मेसिन बिग्रिएको समचार आउँछ । यसलाई समयमै बनाउनुपर्छ भनेर कतैबाट पहल हुँदैन । देश संघीयतामा गएको छ । अब प्रत्येक प्रदेशमा अत्याधुनिक मेडिकल ल्याब सेन्टर खोल्नुपर्छ । बिरामीलाई रक्तपरीक्षण गर्न बाहिर कतै जानु नपरोस् ।

सरकारले मेडिकल ल्याबबारे पढ्ने विद्यार्थीका लागि रोजगारको राम्रो व्यावस्था गर्नुपर्छ । जसका कारण पढे लेखेका युवाहरू बेरोजगार बस्नु नपरोस् । दैनिक हजारौं युवापुस्ताहरू राम्रो रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । यी दक्ष जनशक्तिलाई यहीँ रोक्नुपर्छ । प्राइभेट अस्पतालहरूले काम लगाएर न्यूनतम पारिश्रमिक पनि दिँदैनन् । श्रम शोषण गरिरहेका छन् । डाक्टरको समाचार बन्छ, नर्सहरूको समचार बन्छ तर ल्याब पढ्ने विद्यार्थीको कहिल्यै समाचार बनेको थाहा छैन । ल्याब पढ्ने विद्यार्थीलाई यसरी सौताको व्यवहार राज्यबाट किन भइरहेको छ थाहा छैन् ।

अस्पताललाई जति डक्टर र नर्सको आवश्यकता त्योभन्दा बढी आवश्यकता ल्याबमा काम गर्नेको छ । यस विषयमा कतै चर्चा परिचर्चा भएको पाइँदैन । उनीहरू जति मिहिनेत गरेर रिपोर्ट बनाउँछन् त्यसको जस लिने सबै डक्टर तथा नर्स हुन्छन् । पर्दापछाडिको कलाकार बनेका छन् ल्याब पढने विद्यार्थीहरू । ल्याब टेक्निसियनको कोर्स तीन वर्षको हुन्छ । रिजल्ट आउन काउन्सिलको जाँच दिन गरेर चर वर्ष लाग्छ । चर वर्ष लगाएर पढ्यो रोजगारीका लागि त्यति कै गाह्रो छ । भनेको बेलामा रोजगारी नपाउने हुनाले यो पढाइमा विद्यार्थीको आकषर्ण घट्दै गएको छ । लाखौं खर्च गरेर बेरोजगार बस्नुपर्ने बाध्यता भएपछि केका लागि पढ्ने । 

रोगी बन्ने रहर कसैलाई हुँदैन नचाहँदा नचाहँदै पनि मान्छे रोगी बनिरहेका छन् । हरेक चिजमा मिसावट छ । मिसावट नभएको खाने कुरा पाउन नै गाह्रो भइसक्यो । हरियो सागसब्जी, फलफूलमा मानव स्वाथ्यमा खराबी गर्ने खालका औषधि हाल्ने क्रम बढ्दो छ । यसकारण पनि मान्छेलाइ अनेक रोग लागेको छ । पछिल्लो समय घरैपिच्छे सुगर, थाइराइट, युरिक एसिड र ब्लड प्रेसरले सताएको छ । प्रत्येक मान्छे दिनप्रतिदिन रोगी बन्दै गएको छ । 

यी सबैको जाँच गर्नु भनेको ल्याबबाटै हो । अहिले देखिएको समस्या भनेको कतिपय अस्पताल तथा मेडिकलहरूले न्यूनतम मापदण्ड पनि पूरा नगरी ल्याब सञ्चालन गरिरहेका छन् । यसले नागरिकलाई प्रत्यक्ष असर पारेको छ । बेलैमा यसको अनुगमन हुनु आवश्यक छ । 

नेपाल सरकारले सीटीईभीटीअन्तगर्त पढ्ने विद्यार्थीलाई सजिलै मान्यता दिएर हौसाला बढाउने काम गरोस् । दुःख गरेर तीन वर्षसम्म पढेका विद्यार्थीको बारेमा राज्यले सोच्नैपर्छ । 


Views: 74