17th April | 2021 | Saturday | 11:54:19 PM

‘पाङ्दुरे’ नाचको र गीत–गीति संस्कृतिको अलिखित इतिहास

सुरेशकुमार भट्ट   POSTED ON : फाल्गुन ८, २०७७ (१०:०४ AM)

‘पाङ्दुरे’ नाचको र गीत–गीति संस्कृतिको अलिखित इतिहास

गोरखा ताकु डाँडा गाउँका वयोवृद्ध काजी  बराम (८७) बाट २०२६ साल र २०३२÷०३३ सालमा सुनेको आधारमा यो गीतको पृष्ठभूमिबारे बुझ्दा पृथ्वीपति शाह बुढा भइसकेको छोरा वीरभद्र मनको पीडा शान्त गर्न श्रीमतीलाई माइती तनहुँ पठाएर आफू कान्छा भाइलाई साथ लिएर पशुपति दर्शन गर्न गएका अचानक गन्दी किनारमा बेथा लागी त्यहीँ नै मृत्यु भयो । मृत्यु हुनुपूर्व भाउजू गर्भिणी छ उसले छोरा नै पाउछे त्यो छोरा र भाउजूको तिमीले ख्याल राख्नु भनेर जिम्मा सुम्पेका थिए । जुन कुरा कान्छा युवराज र केही उनकै विश्वासिला भारदारमा मात्र सीमित राखियो बुढा महाराजलाई समेत सुनाइएको थिएन । 

बरु भाउजूको रेखदेख र युवराज नरभुपालको समेत गोप्य खोजखबर र निगरानी राखिरहेका  र विश्वाशिला मानिस त्यहाँ पठाएका थिए । देवर भाउजूको बीचमा दोहोरो कुराकानी समचार चलिरहेको थियो तर तनहुँ दरबारलाई समेत सो कुराको सुइँको दिइएको थिएन । अति गोप्य राखिएको थियो । किनकि त्यही नातिीमार्फत तनहुँ दरबार गोरखासँग फाइदा लिने मौकाको ताकमा थियो । त्यो कुरा कान्छा राजकुमारलाई मात्र थाहा थियो । त्यसैले तनहुँ दरबार पनि यो कुरा आफ्नै पाराले गोप्य राखिरहेको थियो । यता बुढा महाराज पृथ्वीपति शाह उत्तराधिकारीको अभावमा छटपटिइरहेका थिए । 

तैपनि गोप्य राखियो रातारात बरामहरूले ल्याए गोरखामा कान्छा राजकुमारले  उपयुक्त समयमा देखाउने गरी बालक नरभूपाललाई एकजना विश्वासीको घरमा लुकाएर राखे । किनकि थाकेका बरामहरू केही समय आराम गर्दैगर्दा कान्छा राजकुमारले पठाएका केही भारदारले लिएर आए । लामो समयपछि उचित समय मिलाएर कान्छा राजकुमारले बुढा महाराजका हजुरमा नजर गराए । जसले नजर गराए तिनले स्याबासी र पगरी पाए । 

राजा चोरी ल्याउने बरामहरू, चाँदपगरी पाउने भारदार अरूहरू  भयो । त्येसैले धेरै दिनसम्म पनि युवराज ल्याउने बरामहरूको खोजखबर नभएपछि चारैजना बरामहरू गोरखा दरबार उपस्थित भएर महाराजको हजुरमा जाहेरी पठाएर र धर्ना दिनुपरेको थियो । पछि कान्छा राजकुमारले वास्तविकता बताएपछि मात्र बरामहरूले धर्ना बसेरै भए पनि बाह्र थुममा बाह्र मिजार  कायम गरी किपट पाएका थिए । यससम्बन्धी रोचक सत्य कथा पछि प्रस्तुत गरिनेछ । 

गोरखा दरबारको कचिंगलोले नरभुपाल शाहकी माता गर्भिणी हुँदा तनहुँ माइतीमा बसेकी थिइन् । यो सत्य हो । उनको साथमा रहेकी परिपक्क सहयोगीको सल्लाह र सुझावमा रचित यो गीत बरामहरूले पाङ्ग्दुरे लाउँदा देवदेवी स्तुति सकेपछि गाउने पाङ्ग्दुरे गीत हो । त्यति बेलादेखि नै गाउँदै आएको हो यो गीत । तत्कालीन भाषा, परम्परा, मर्यादा, विश्वास, चलन र संस्कृतिको पहिचान झल्किन्छ यस गीतमा । यसलाई दुई तीन तरिकाले गाइने कुरा काजीबाले बताएका थिए । झट्ट हेर्दा सुन्दा सोरठी जस्तो लाग्ने यो गीत तर फरकफरक र अलग रूपमा नाच्ने गाउने गरिएको देखिन्छ ।

प्रारम्भ—

 १. हा हा सुन सुन रानीमाई

हा हो  सुन सुन रानीमाई

 हा हो सुन रानी माई–२

२. हा हा पहिला महिना लागैला,

 हो हात गोडा गलैला, 

हा हो रानीज्यू  बसुँ बसुँ भइजाला ।

हा हो बसुँ बसुँ भइजाला– ३

३. हा हा रानीमाई दोस्रो महिना लागैला

हा हो जिउसमेत गलैला

हाहो रानीज्यू कता सुतुँ भइजाला –३

४. हा हा रानीमाई तेस्रो महिना लागैला

हा हो रानीज्यू वाकवाकी लागैला

 हा हा खानपीन दुख भैजाला—३

५. हा हा रानीमाई चारमास भइजाला

हा हो झनझन थकाइ लगैला

हा हो रानीज्यू झनझन निद्रा लगैला

हा हो झुपु झुपु भइजाला –२

६. हा हा रानीमाई पाँच मास लगाइला

हो अमिलो पिरो रुचैला

हा हो खाऊँ खाऊँ भई जाला –३

७. हा हा रानीमाई छ महिना लागैला

हा हो पेटमा बच्चा चलैला

हा हो  रानीज्यू मनमा कुरा खेलैला

हो भोक लगैला –२

८. हा हा रानीमाई सात महिना लगैला

हा हो पेटमा बच्चा खेलैला

हा हो रानीज्यू छिन छिन भुख लगैला

हा हो रानीमाई पेट बढैला –२

९. हा हा रानीमाई आठ मास लगैला

हा हो जीउ भारी भैजाला

हा हो रानीज्यू हिँड्नै नसक्ला

हा हो रानी माई थच्चै बसैला –२

१०. हा हा रानीमाई नौ मास लागैला

हा हो भित्र बाहिर गरैला

हा हो रानीज्यू पेटै भारी भइजाला

हा हो रानीमाई भारी भैजाला –२

११. हा हा रानीमाई दश मास टेकैला

 हा हो  रानीज्यू सुत्केरी भैजाला

हा हो युवराज पैदा भैजाला

हा हो महाराज आई हाल

हा हो गोर्खा राज भइहाल

हा हा महाराज आइहाल

हा हो गोर्खा राज भइहाल

हो हो गोर्खा राज भइहाल –२

 २.यसरी पनि गाउँछन् भन्नु भएको थियो—

कसैले गाउँदा हा हो रानीज्यू

भनेर रहनी राखेर पनि गाउँथे ।

यो गीतको थालनीको कारण के हो ? कसरी हो ? भनेर सोद्धा ‘तनहुँबाट राजा ल्याउने बरामुहरू, पगरी गुथ्ने अरू भारदारहरू’ भन्ने जवाफ दिँदै  ती राजा ल्याउने चारजना बरामहरूले किपट कसरी पाए भन्नेबारे रोचक कथा सुनाइएको थियो । तनहुँबाट नानी राजा लुकाएर ल्याकाले यो गीत बनाको हो भन्ने जबाफ थियो रानीलाई उनका पाका सहयोगी रहेकाहरूले गर्भिणी हुँदाका बखतको पीडाबारे सान्त्वना दिएको आधारमा तयार गरेको रचना हो भन्ने बुझिन्छ । 

यो गीत, काजीबाको भनाइ किपट र नरभूपाल शाहको तनहुँ जन्म र तनहुँका राजालाई छलगरी ल्याएबाट नरभूपाल शाहकै जन्मसँग यस गीतले तादम्य राख्छ । यो गीतले ठूलो ऐतिहासिक महत्व बोकेको देखिन्छ । मलाई छाती खोलेर भन्न मन लाग्छ कि हामी  यसरी गीति संस्कृति जोगाइराख्ने बराम समुदायप्रति ऋणि छौं ।

ऐतिहासिक सम्मान हुनुपर्छ जसले उत्तराधिकारीविहीन हुन लागेको गोरखा राजवंशलाई तनहुँदेखि ‘नानीराजा’ ल्याएर राजवंशको परम्परा थामिदिए । यो गीति संस्कृतिमा अलिखित इतिहास हो । जसको संरक्षण र संबद्र्धन गर्नु नितान्त जरुरी छ । 

गोरखा (हाल क्यालिफोर्निया)


Views: 234