13th April | 2021 | Tuesday | 8:20:50 PM

काठमाडौं उपत्यकाको सडक र नेपाली लोकतन्त्र

डा. राजकुमार राई   POSTED ON : फाल्गुन १०, २०७७ (१२:२० PM)

काठमाडौं उपत्यकाको सडक र नेपाली लोकतन्त्र

आजभन्दा ९–१० वर्ष पहिलासम्म काठमाडौं शहरका सडकहरू ज्यादै अस्तव्यस्त थिए । जतासुकै खाल्डा–खुल्डी हुन्थे । घाम लागेको बेलामा धुलोको समस्या हुन्थ्यो भने पानी परेको बेलामा हिलोको समस्या हुन्थ्यो । सडकमा गुडिरहेको गाडीले बाटो हिँड्ने बटुवालाई हिलोपानी छ्यापेर दगुथ्र्याे । शहरका मूल सडकमा दोहोरो गाडी गुड्न पुग्ने चौडाइमात्र थियो भने गल्लीका बाटाहरू त ज्यादै साँघुरा थिए । बाटाहरू मर्मत गर्ने र त्यसलाई तुरुन्तातुरुन्तै खन्ने काम भइरहन्थ्यो । 

तर, अहिले सडकमा भएको प्रगतिलाई हेर्दा ती अवस्थाहरू अतितका सम्झनाहरूमात्र भएका छन् । शहरका मूल सडकहरू दुई लेनबाट चर लेन, ६ लेनको भएका छन् भने शहरका भित्री बाटाहरू पनि फराकिलो भएर ठूला गाडीहरू राम्रोसित दोहोरो चल्न सक्ने अवस्थाका छन् । 

यसका लागि धेरैको घर, घरको कम्पाउण्ड, पर्खाल, टहरा आदि भत्काउनु परेको थियो । अहिले प्रायः सबै सडक खाल्डा खुल्डी नभएका चिल्ला चिल्ला छन् । कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्मको रिङरोडको कुरै नगरौं । सडकलाई ज्यादै चौडा र आकर्षका बनाइएको छ । ठाउँठाउँमा आकाशे पुलको व्यवस्था गरिएको छ । बाटाको अवस्था सुधार्नुका साथौ ट्राफिक नियम पनि धेरै कडा गरिएको छ । पहिलाको जस्तो चोकको मुखैमा गाडी रोकेर यात्रुहरू ओराल्न र चढाउँन पाइँदैन । 

जस्तै कोटेश्वर चोकको दक्षिणमा झण्डै एक सय मिटर पर बनाएको आकाशे पुल काटेपछि मात्र गाडी रोक्न पाइन्छ । गाडी चढ्न यात्रुहरू त्यहाँसम्म हिंडेर जानुपर्छ । यसरी चोकमा हुने ट्राफिक जामको समस्या धेरै हल भएको छ । त्यस्तै ठाउँ ठाउँमा राखेको सिसी क्यामेराले गाडी, मोटरसाइकलले बीच बाटाको सेतो धर्कालाई काटेर अर्को लेनबाट ओभरटेक गरेको छ छैन हेरिरहेको हुन्छ । यदि कसैले त्यसरी ओभरटेक गरेको छ भनेको उसको गाडी वा मोटरबाइकको नम्बर प्लेटको आधारमा चालकलाई सम्पर्क गरेर सप्रमाण देखाएर जरिवाना तिर्न लगाइन्छ । 

यसरी काठमाडौं शहरको अस्तव्यस्त सडकहरूलाई एकातिर फराकिलो र चिल्लो बनाइएको छ भने अर्कोतिर प्रविधिको पनि प्रयोग गर्दै ट्राफिक नियमलाई कडाइका साथ व्यवस्थित गरिएको छ । काठमाडौंका सडकहरूलाई फराकिलो पार्ने सवालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई श्रेय दिनै पर्छ । शहरका सडकहरूलाई सरकारी मापदण्डअनुसार फराकिलो पार्ने काम उनकै निर्देशनमा व्यापक भएको थियो र यसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । यो महान् कार्यका लागि उनीसँगै अन्य दुईजना तत्कालीन राष्ट्र सेवक कर्मचारीहरूलाई पनि सम्झनुपर्छ । ती हुन् भाइकाजी तिवारी र गणेश राई । भाइकाजी तिवारी काठमाडौं उपत्यका नगर विकास योजनाका नगर नियोजक थिए भने गणेश राई ट्राफिक प्रहरीको उपत्यका प्रमुख थिए । 

उनीहरू दुवैजनाले प्रधानमन्त्री भट्टराईको निर्देशनअनुसार आआफ्नो क्षेत्रबाट पूर्ण सहयोग गरे । वर्षौंदेखि काठामाडौंका विभिन्न ठाउँमा बनेका अतिक्रमित संरचना भत्काउने कार्य भयो । जुन ज्यादै चुनौतीपूर्ण कार्य थियो किनकि ती संरचनाहरू भत्काउन नदिन राजनीतिक दबाब आउँथ्यो । पहिला पहिला यस्तो प्रयास गरे पनि ठूलाबडाको दबाबमा सधैं बीचमै तुहिने गरेको थियो । वास्तवमा सडक विस्तार गर्ने नगर विकास ऐन २०३३ सालमै लागू भएको थियो । डा. भट्टराई प्रधानमन्त्री हुँदाको अवस्थामा संसद् थिएन । उनी निर्दलीय प्रधानमन्त्रीजस्ता थिए । 

जसले गर्दा उनको सरकारलाई कसैले ढालिदेला भन्ने चिन्ता थिएन । उनलाई राजनीतिक सौदाबाजीबाट हुने दबाब कसैले दिने अवस्था भएन । जसले गर्दा उनलाई त्यो काम फत्ते गराउन राजनीतिक रूपमा सुविधा भयो । 

यसरी काठमाडौं उपत्यकाको सडकहरूको स्तरोन्नति हुँदै गर्दा नेपालको लोकतान्त्रिक राजमार्ग भने झन्झन् साँगुरो र अस्तव्यस्त हुँदै गएको देखिन्छ । वर्तमान समयमा लोकतन्त्रका इन्जिनियरहरू नै उक्त राजमार्गलाई अस्तव्यस्त बनाउन तल्लीन छन् । स्वतन्त्र न्यायपालिका, स्वतन्त्र संवैधानिक आयोगहरू र प्रशासनिक निकायहरूजस्ता लोकतन्त्रका आधारशिलाहरूलाई आफ्नो मुठ्ठीमा लिएर लोकतन्त्ररूपी राजमार्गमा खाल्डाखुल्डी बनाउने, हिलाम्मे बनाउने काम बारम्बार भइरहेका छन् । । लोकतन्त्र भनेको सुशासनयुक्त कानुनी राज्यव्यवस्था सुनिस्चित गराउने राजमार्ग हो । यो राजमार्ग फराकिलो हुँदा मुलुकमा कानुनी राज्य हुन्छ । कानुनभन्दा माथि कोही हुँदैन । कानुनको नजरमा सबैजना बराबरी हुन्छन् । 

नेपालमा २००७ सालबाट लोकतन्त्ररूपी राजमार्ग खोल्न सुरु गरिएको थियो । अहिले ७० वर्ष भइसकेको छ । यत्तिका वर्षहरूमा यो राजमार्गको चौडाइ २ लेनको मात्र नभएर ६ लेन बराबरकोको भइसकेको हुनुपर्ने हो । तर अहिलेसम्मको परिणामलाई हेर्दा यो राजमार्ग झन्झन् साँगुरो बन्दै गएर नेताहरूका लागि मात्र हिँड्न मिल्ने गोरेटो बाटो हो कि जस्तो लाग्छ । हेक्का राख्नुपर्ने कुरा यो छ कि मुलुकमा शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुग्न यो राजमार्ग सकेसम्म चिल्लो र फराकिलो हुन जरुरी छ । यो राजमार्गमा जति खाल्डाखुल्डी बनाइन्छ, जति यसलाई साँगुरो बनाइन्छ त्यति मुलुक अशान्ति र अधोगतिको दिशातिर अघि बढ्दछ । 

लोकतन्त्रको मेरुदण्ड सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको कुरा के गर्ने ? मूल नेताहरू नै भ्रष्टाचारीको मतियार हुने परिपाटीको विकास भएको छ । समाजमा नराम्रा घटना घटाउने अपराधीहरूसित नेताहरूको साँठगाँठ हुने हुँदा प्रहरीले त्यस्ता अपराधीहरूलाई पक्रँदा तिनै नेताहरूद्वारा ती अपराधीलाई छुटाउन प्रहरीलाई दबाब दिने गरिन्छ । उनीहरूलाई नेताहरूले नै संरक्षण दिन्छन् भन्ने आरोप छ । 

ठूला पार्टीका ठूला नेताहरूले लोकतन्त्रको बाहिर–बाहिर वकालत गरेपनि आफ्नै पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाइरहेका देखिन्छन् । लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसलगायत कुनै पनि पार्टीको महाधिवेशन तोकिएको समयमा नभइराखेको अवस्था छ । नेताहरू एकपटक शीर्षस्थ स्थानमा पुगेपछि आजीवन पद ओगट्ने चलन छ । नेपाली जनतालाई भन्दा राजनीतिमा आजीवन लागि पर्ने तिनै पुराना अनुहारहरूलाई मात्र लोकतन्त्र आएको भान हुन्छ । यसरी लोकतन्त्रका ट्राफिक प्रहरीहरू ट्राफिक नियम पालना गराउनको सट्टा आफैं ट्राफिक जाम गराउने काम गरिरहेका छन् ।

नेपाली लोकतन्त्रमा वाक स्वतन्त्रतामात्र भयो । जनताले बोल्न पाउने भए । तर बोल्न पाएरमात्र भएन । नेतृत्वमा बस्नेहरूमा अलिकति पनि लाज नभएपछि बोलेरमात्र केही नहुने रहेछ । उनीहरूका कर्तुतका विरुद्ध हाकाहाकीभन्दा लाज पचाएर बसिदिएपछि के लाग्दो रहेछ ? नेपाली समाज विभक्त छ । कसैले तिनैलाई दुत्कार्ने र कसैले तिनैलाई पुज्ने गर्छन् । नेपाली समाजलाई आफ्नो विवेक प्रयोग गर्न अप्ठ्यारो छ । त्यसो हुँदा नेताहरू पनि भ्रममा हुन्छन् । 

नेपालका सडकलगायत विभिन्न पूर्वाधार विकासमा विदेशीहरूबाट सहयोग प्राप्त भएझैं नेपाली लोकतन्त्र पनि केही मात्रामा विदेशी सहयोगबाट प्राप्त गरिएको यथार्थ हो । तर, यसलाई अपनत्व गरेर आफैंले चलाउने ढंग भएन । अहिले गणतन्त्र आएर पनि सोच र व्यवहार उही पुरानो नेपाली सामन्ती पाराकै छ । 

मानिसहरू भन्ने गर्छन् लोकतन्त्रको सुन्दर पक्ष भनेको सरकारलगायत समाजमा हुने अन्याय अत्याचारको विरुद्धमा विरोध गर्न पाइन्छ र विरोध गरिरहनुपर्छ । तर, जब लोकतन्त्रको राजमार्ग चाहिने जति फराकिलो भइसक्छ तब आन्दोलन गरिरहनुपर्ने हुँदैन । परे पनि विरलै हुन्छ । जे जति विरोध गर्नु छ खालि आवधिक निर्वाचनको समयमा मात्र गरिन्छ । 


Views: 196