17th April | 2021 | Saturday | 10:24:33 PM

जर्सी गाईको प्रवर्दनमा राजनीतिक अभिष्ट हो ?

मणि शर्मा   POSTED ON : फाल्गुन १०, २०७७ (१२:२८ PM)

जर्सी गाईको प्रवर्दनमा राजनीतिक अभिष्ट हो ?

दोस्रो युद्ध विरामको समय थियो । म कार्यालयको कामले रुकुम जान लागेको थिएँ, साथमा एकजना सहकर्मी मित्र पनि थिए । नेपालगञ्ज विमानस्थलमा आमसभाका लागि जुम्ला जान लागेका नेता देव गुरुङ, मित्र नरेन्द्रजंग पिटर तथा जनादेशका पत्रकार हाल कर्णली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया थिए । 

म रुकुम जान लागेको थाहा पाएर दीपेन्द्रले मलाई कामीगाउँ जसलाई यस क्षेत्रका पहिलो कम्युनिष्ट नेता कामी बुढाको घर, कम्युनिष्टहरूको तीर्थस्थल भन्छन् जान सल्लाह दिए । पिटरले पनि उनको कुरामा सहमति जनाए । कामी बुढाबारे मैले पिटरले लेखेको लेखको अलावा उनको मुखबाट पनि उनको जीवनगाथा र संघर्षको बारेमा सुनेर प्रभावित भएको थिएँ ।

संयोगले रुकुम शाखाले लगानी गरेको परियोजना हेर्ने स्थल पनि कामी बुढाको घर भएको गाउँ नजिकै पर्न गयो । म, मसँग गएका सहकर्मी साथी र रुकुम कार्यालयका एकजना कर्मचारी हामी तीनजना त्यसतर्फ लाग्यौं । 

सम्बन्धित ठाउँमा दिउँसो गएर कार्यालयको काम सम्पन्न गरी स्वर्गीय कामी बुढाको घर जान उकालो लाग्यौं । बाटामा एकजना माओवादीका स्थानीय नेता भेटिए, पछि थाहा भयो उनी क्षेत्रीय सदस्य रहेछन् । उनले हाम्रो परिचय लिए र यहाँ किन आएको भनेर जानकारी लिए । उनी ओरालो लागिरहेका थिए । हामी माथि पुग्नुभन्दा पहिला नै उनले हामी त्यहाँ पुग्न लागेको खबर पठाइसकेका रहेछन् । जबकि त्यसबेला मोबाइल फोन प्रचलनमा थिएन । जनमुक्ति सेनाका कमाण्डरबाट यो कुरा थाहा पाएपछि म अवाक भएँ ।

कामी बुढाको घरमा पस्न लाग्दा बाहिर प्रवेश स्थलमै एकजना युवती बन्दुक लिएर सेन्ट्रीले पहरा दिइरहेकी थिइन् । उनको पछाडि मारेर छालामात्र खुइलाएको गाई झुण्डाएर राखिएको थियो जसमा माखा लागिरहेका थिए र एकजना जनमुक्ति सेनाकै युवतीले माखा हम्की रहेकी थिइन् । अरू वृतान्त लामो भएको र यो लेखमा समावेश गर्न नसकिने भएकाले अरू कुनै लेखमा लेख्ने कोसिस गर्नेछु ।

अचेल स्थानीय नस्लका गाई कम मात्रामा देख्न पाइन्छ र बजारमा स्थानीय गाईको होइन कि जर्सी गाईको दूध प्रशस्त मात्रामा पाइन्छ जो स्वास्थ्यका लागि हानीकारक हो । हिन्दू धर्ममा गाईलाई माता भनेर पूजा गरिन्छ तर जर्सी वा अन्य कुनै विकासे गाईलाई नभएर स्थानीय नस्लका गाईलाई मात्र माता मानिन्छ । स्थानीय नस्लको गाईमा ३३ कोटि याने ३३ प्रकारका देउताहरुको वास हुन्छ भन्ने विश्वास छ । जन्मदेखि मृत्युसम्मको संस्कारमा गाईको गोबर र गहुँत र दूध अनिवार्य मानिन्छ । 

पञ्चामृतमा गाईको दूध, घ्यू, गोबर अनिवार्य हुन्छ । देव र पितृ कार्यमा गाईको गहुँत नभई हुँदैन । भविष्य पुराणअनुसार गाईको मुखमा शिव, घाँटीमा विष्णु र पिठ्यूँमा ब्रहृमाको वास हुन्छ । मध्यभागमा सबै देवदेवीहरूको वास हुन्छ, रौंहरूमा महर्षिहरूको वास हुन्छ, पुच्छरमा अनन्त नाग, खुरमा सबै पर्वत, गोमूत्रमा गंगालगायत पवित्र नदीको वास हुन्छ भने गाईको आँखामा सूर्य र चन्द्रमाको वास हुन्छ । सबै मिलाएर गाईलाई पृथ्वी, ब्राहृमण र देउताहरूको वासस्थल मानिन्छ । प्राचीन समयदेखि गोदानलाई सबैभन्दा ठूलो दान मान्दैआइएको छ । 

वन, वनस्पति र खोलानालाको पानी खाएको, अन्न र नुन कम ख्वाइएको गाईको नजिक बस्दासमेत शान्ति र आरोग्यता पाइन्छ । स्थानीय गाईको दूध धेरै शक्तिशाली हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानले प्रमाणित गरेको छ । गाईले अक्सिजन लिन्छ र अक्सिजन फाल्छ जो मानिसलाई बाँच्नका लागि अपरिहार्य छ । गहूँत हृदय रोगको लागि लाभकारी छ । यसमा पोटेसियम, सोडियम, नाइट्रोजन, फास्फरेट, युरिया, युरिक एसिड तथा दूध दिने समयको गहूँतमा लेक्टोजको मात्रा बढी हुन्छ । जसलाई चिकित्सकीय दृष्टिले लाभदायक मानिन्छ ।

पहिला पहिला खेतबारीमा गाईको गोबर र कीटनाशकको रूपमा गोमूत्र हालिन्थ्यो । जसले गर्दा उब्जनी पनि राम्रो हुन्थ्यो र बालीमा किराहरू पनि लाग्दैनथे । जबदेखि रासायनिक मल प्रयोग गर्न थालियो उत्पादन क्षमतामात्र नभई माटोको उर्बराशक्ति पनि नाश हुँदै गयो । गाईको गोबर र गोमूत्र प्रयोग गरेर उत्पादन गरेको अन्न, तरकारी, फलफूल स्वास्थ्यका लागि अत्यन्त लाभप्रद हुन्छ । त्यसैले पनि पहिलाका मानिसहरू बिमार कम पर्थे, खाना स्वादिलो हुन्थ्यो, जबकि रासायनिक मल र कीटनाशक औषधिहरू प्रयोग गर्न सुरु गरेपछि मानिसहरू दिन प्रतिदिन रोगी र शक्तिहीन हुँदै गइरहेका छन् र खानामा पनि मौलिक स्वाद छैन । 

पश्चिमाहरूले आफ्नो नाफाका लागि रासायनिक मल र कीटनाशक औषधि उत्पादन गरे र तेस्रो विश्वमा व्यापार बढाए । तर, उनीहरू आफैं रासायनिक मल र कीटनाशक औषधि प्रयोगमात्र गर्दैनन् विदेशबाट आयात गरिने खाद्य सामग्री, फलफूल आदि रासायनिक मल र विषादि प्रयोग गरेका भए आयात गर्दैनन् । किनकि विभिन्न किसिमका औषधिहरूको पेटेन्ट राइट लिएका उनीहरूले नै औषधीहरू उत्पादन गरेर हामीलाई बेचेर अर्बौं कमाउँदै हाम्रो शरीरलाई रोगको घर बनाउँदै हामीलाई मृत्युको मुखमा धकेलीरहेका छन् । 

सरकारले रासायनिक मल र कीटनाशक औषधिहरूको आयातमा प्रतिबन्ध लगाएर नेपालमै गाईको गोबर र गोमुत्रबाट प्रांगारिक मल र कीटनाशक औषधि उत्पादनका लागि उद्योगहरू खोल्नुपर्छ । साथै जर्सी वा अन्य कुनै जातका विदेशी गाई पालनमा बन्देज लगाउँदै स्थानीय गाई पालनलाई सहुलियतसहित प्रोत्साहन दिनुपर्छ ।

स्थानीय गाईको सास लिने प्रक्रियाको बीचमा २१ मिनेटसम्म उनको नजिक बस्ने गरेमा ५० प्रतिशत हृदयाघातको सम्भावना कम हुन्छ भन्ने पुष्टि भइसकेको छ । भनिन्छ कुनै शल्यक्रिया भएको बिरामीको २ फिटको घेराभित्र गोमूत्र राखियो भने बिरामीको घाउ चाँडै निको हुन्छ । यस अलावा जोर्नीको दुखाइ, मोटोपन, दन्त रोग, हृदय रोग, जन्डिस, कब्जियत, घाँटीको क्यान्सर, चर्मरोग, आँखाको रोगका लागि पनि गोमूत्र रामवाण औषधि हो । सरकारले प्राकृतिक चिकित्सा अनुसन्धान तथा प्रयोगशाला खोलेर यस विषयमा अनुसन्धान अगाडि बढाए रोग नियन्त्रणमा ठूलो सहयोग हुने र विदेशी मुद्राको सञ्चिति हुनेछ ।

भारतीय कृषि वैज्ञानिकहरूका अनुसार एक लिटर गोमूत्रमा चालीस लिटर पानी मिसाएर दलहन, तेलहन र तरकारीहरूका बिउहरूलाई चारदेखि छ घण्टासम्म भिजाएर राखेर छरे र रोपे बिउको अंकुरण राम्रो, छिटो र रोगरहित हुन्छ, बिउ चाँडै उम्रिन्छ । यसको प्रयोगले लाभकारी जीवाणुहरू बढ्छन् जसले नराम्रो जग्गालाई ठीक पार्छ र सिँचाइका लागि कम पानीको प्रयोजन हुन्छ । गोमूत्र कीटनाशकले फसल हरियो परियो र रोगको प्रकोप कम हुन्छ । 

जर्सी विदेशी नस्लको गाई हो तर धेरै अध्ययनहरूले यसलाई गाई मान्न अस्वीकार गरेका छन् । युरोपमा यसको मूल रूप उरुस नामको जंगली जनावर थियो । जसलाई युरोपियनहरू खानका लागि शिकार गर्ने गर्थे । शिकार गर्न गाह्रो भएपछि यसलाई कैयौं घरेलु जनावरसँग प्रजनन गराइयो र अन्त्यमा स्थानीय गाईसँग प्रजनन् गराएर जर्सी गाईको विकास गरिएको हो । कसै कसैले सुँगुरको वीर्य गाईमा प्रत्यारोपण गरेर जर्सी गाई उत्पादन गरेको पनि भन्ने गरेका छन् ।

वैज्ञानिक अनुसन्धानबाट यसको दूधमा कैसोमोर्फिन नामको रसायन हुन्छ जो एउटा मन्दविष हो । त्यसैले युरोपतिर यसलाई ट्रिट गरेपछि बल्ल बजारमा बेच्न लगिन्छ । यो दूधमा मन्दविष हुनाले यो खानाले उक्त रक्तचापलगायत बिमारहरू हुने खतरा हुन्छ । हाम्रो यहाँ यसको क्रस ब्रिडिङ पनि अवैज्ञानिक भएकाले रोगहरू बढ्नुको खतरा छ । यो दूधमा बिटा क्यासियन नामक तत्व प्रचुरमात्रामा हुने भएकोले यसको दूध हाम्रो लागि र विशेष गरी बच्चाहरूका लागि ज्यादै हानीकारक छ । 

पश्चिमाहरूले जर्सी गाई पाल्नुको आर्थिक कारण छ । यो गाई स्थानीय गाईभन्दा आकार र तौलमा बढी हुनाले उनीहरूले यसको मासु खाडी मुलुकहरूमा निर्यात गरेर मनग्गै आर्जन गर्न जर्सी गाई पाल्ने गर्छन् । 

यसको दूध पचाउन गाह्रो हुन्छ, पेट दुख्ने, अपच, डायरिया, श्वास प्रश्वाससम्बन्धी समस्या हुन्छ जर्सी गाईको दूध पिउनाले । केही अनुसन्धानअनुसार जर्सी गाईको दूधले टाइपको डायबिटिजको खतरा हुन्छ । यसले शरीरमा पर्याप्तमात्रामा इन्सुलिन बन्न दिँदैन ।

यसमा भएको बिसिएम (७ तत्वले बच्चाहरूमा अटिज्मर नामको रोगको सम्भावना बढाउँछ, जसकारण बच्चाहरूको मस्तिष्कको विकास सामान्यरूपमा हुन सक्दैन । अध्ययनहरूबाट पत्ता लागेको छ कि जर्सी गाईको दूधले बच्चाहरूमा सडन इन्फेक्ट डेथ सिंड्रोमले गर्दा मृत्यु हुने आशंका बढाउँछ । यसमा रहेको ए (१ बिटा) क्यासियन तत्वका कारण क्षतिग्रस्त धमनीहरूमा बोसो जम्मा हुन थाल्दछ साथै यसको दूधले रक्त धमनीहरूको कार्यलाई अवरुद्ध गरेर ब्लड प्रेसरलाई पनि प्रभावित गर्छ । यस अलावा अन्य गम्भीर प्रकृतिको रोग पनि जर्सी गाईको दूधले निम्त्याउँछ । 

जर्सी गाईले बढी दूध दिन्छ भनेर पल्काएर हाम्रो स्वास्थ्यमात्र होइन अपितु हाम्रो धर्म पनि भ्रष्ट पार्न लागेकाहरूको मल्टिनेसनल कम्पनीहरूले स्थानीय गाईको मूत्र र गोबरको पेटेन्ट राइट लिएर हामीलाई नै बेचिरहेका छन् । मल्टिनेसनल अमेरिकन कम्पनी अमेजनले एक लिटर स्थानीय गाईको गोमूत्र तीन सय रुपैयाँ प्रतिलिटरका दरले बेचिरहेको छ भने घ्यू बयालीस सय रुपैयाँ लिटर बेचिरहेको छ । 

गोबर र गोमूत्रले बनेको ६० वटा दियो असी रुपैयाँमा, पाँच सय रुपैयाँको एक प्याकेट गोबर, पाँच हजार रुपैयाँको गोबरको दानपात्र, सुकेको गोबरको गुँइठा एउटा सानो प्याकेटको अढाई सय रुपैयाँ, पञ्चगाव्य पाँच सय रुपैयाँ प्याकेट, आदि स्थानीय गाईको उत्पादन हामीलाई बेच्दै आइरहेको छ तर हामीलाई अपवित्र जर्सी गाई पाल्न लगाइरहेका छन् । 

हामी कहाँ स्थानीय गाईलाई सिध्याउने षड्यन्त्रमात्र भएको छैन, हाम्रो स्थानीय जातको बालीनालीको बिउहरूसमेत नष्ट गरी विकासे खाद्यान्न, दलहन, तेलहन र तरकारीको बिउ आयात गरी अधिक उत्पादन हुने लोभ देखाएर हाम्रो स्वास्थ्यसँग खेलबाड गरिएको छ । जुन पौष्टिकता, स्वाद र स्वास्थ्थयका लागि सबैथोक भएका हाम्रा उत्पादनका बिउहरूलाई समाप्त पार्न विदेशी ताकतको सामु नतमस्तक भई सरकारले नेपाली जनतामाथि जघन्य अपराध गरिरहेको छ । यसलाई सुधारेर हाम्रो पुरानै स्थानीय बिउबिजनको उत्पादनमा जोड दिई विकासे बिउहरू प्रतिस्थापन गर्न सरकारले चाँडै नै पाइला चाल्नुपर्छ । हाम्रा किसानहरूले पनि तात्कालिक लाभको मोहलाई त्यागेर हाम्रै स्थानीय बिउबिजनको प्रयोगमा लाग्नुपर्छ । स्थानीय सरकारले यसमा विशेष योगदान दिनसक्छ । 

माथि नै उल्लेखित भइसक्यो कसरी सस्शत्र युद्ध कालमा माओवादीहरूले स्थानीय गाईहरू काटी त्यसको मासु खाएर स्थानीय नस्लको गाईको संख्या अत्याधिक मात्रामा घटाइयो । बढी दूध दिने प्रलोभनमा जर्सी गाई पाल्न हामीलाई बाध्य पारियो र धर्मान्तरण गर्ने कार्यलाई अगाडि बढाइयो । त्यसले नेपाललाई धर्मनिरपेक्ष संघीय गणतान्त्रिक राष्ट्र बनाएर हाम्रो सनातन धर्म, संस्कृति, परम्परा र मौलिकताको बध गरिएको । यसले हाम्रो अस्तित्व मात्र नभएर हाम्रो स्वास्थ्यमाथि खेलबाड भएको छ । 

माओवादी र उसकोे अजेन्डाको पछि लाग्नेहरू सबै हामी सनातन धर्ममाथि विश्वास र आस्था राख्नेहरूको मात्र नभएर यो देशको समेत विरोधी हुन् । हामी सबै नेपाली अब दलीय स्वार्थभन्दा माथि उठेर वैदिक सनातन धर्मअनुसार शासन व्यवस्था तथा जीवन पद्धति नअँगाले हामी र हाम्रो धर्म, संस्कृति र संस्कारको अन्त्य हुने दिन चाँडै नै आउनेछ ।


Views: 247