17th April | 2021 | Saturday | 11:27:07 PM

राजनीति आफू र आफ्नाको लाभको खेती

प्रा. देवीभक्त ढकाल   POSTED ON : फाल्गुन ११, २०७७ (९:२१ AM)

राजनीति आफू र आफ्नाको लाभको खेती

संसारकै विशेषतः लोकतान्त्रिक राजनीतिको लक्ष्य र उद्देश्य देशको शासन र सत्तामा हुने व्यक्ति शक्तिशाली हुने होइन । राजनीतिको प्रमुख काम त कसरी जनता आर्थिक, सामाजिक र राजनीतिक रूपमा शक्तिशाली हुने भन्ने योजना र प्रबन्धनको कार्यान्वयन हो । राजनीति व्यापार होइन । राजनीति पेशा वा व्यवसाय होइन । राजनीति गर्नेले आफूलाई, परिवारलाई, नातागोतालाई र आफ्नो पार्टीका आसेपासेलाई शक्तिशाली बनाउने, आर्थिक रूपमा सम्पन्न बनाउने र उनीहरूलाई मात्र राज्यको तर्फबाट लाभ पु¥याउने कामलाई राजनीति भनिँदैन । 

राजनीति त समग्रमा देश र देशवासीको सामूहिक कल्याणको काम हो । यो जनकल्याणको तप हो । शुद्ध र निष्ठाको राजनीतिमा आफ्नो र अर्को भन्ने विषय प्रवेश हुँदैन । त्यसैले त्यहाँ विभेद हुँदैन भन्ने मान्यता हुन्छ । राजनीतिकर्मी स्वयंमा भएको नितान्त विभेदशून्य योग्यता र क्षमता राजनीतिको धर्म हो । राजनीति त आफू र आफ्नालाई फाइदा दिने काम नभएर सम्पूर्ण देशवासीलाई फाइदा दिने काम हो । जनताको हितमा क्रियाशील हुने पवित्रतम् यज्ञ हो ।

‘खोज्छन सबै सुख भनी, सुख त्यो कहाँ छ । आफू मिटाई अरूलाई दिनु जहाँ छ’ भन्ने कविताका हरफहरू लक्ष्मीप्रसाद देवकोटाले किन लेखे यसलाई राजनीतिसँग आबद्ध सबैले आत्मसात गर्नुपर्छ । यसको मर्मलाई नबुझ्ने वा बुझपचाउनेहरू नै राजनीतिलाई कलंकित गर्ने तत्वहरू हुन् ।

राजनीति आफू मिटाई अरूलाई दिनु जहाँ छ भन्ने भावनाको प्रयोगात्मक क्षेत्र हो । यो प्रयोगमा असफल र अयोग्यहरूलाई लोकतान्त्रिक शासन व्यवस्थामा राजनीति गर्ने नैतिकता, हक र अधिकार हँुदैन । राजनीतिकर्मी निःस्वार्थ, निष्पक्ष, तटस्थ, स्वच्छ, सादगी र इमानदार हुँदै देश र जनताप्रतिको समर्पण गर्ने क्रियाकलापमात्र होइन यो कठोरतम् तपस्या पनि हो । निःस्वार्थ, निष्पक्ष, तटस्थ, इमानदारीता र स्वच्छतारूपी तपबाट विचलित हुनेहरूलाई राजनीतिमा क्रियाशील हुने हक लोकतान्त्रिक शासन पद्धतिमा हुँदैन र छैन । 

राजनीतिको सार भनेको व्यक्तिको समग्र चिन्तनमा शोचमा सामूहिकीकरणको अनुभूति जनताले गर्ने क्षमता, योग्यता र विशेष गुण हो । यस्ता गुणहरूको अभाव र स्वभावमा गरिने राजनीतिले नै समाजमा विकृति सिर्जना गर्दछ । यस्ता विकृतिजन्य व्यक्ति र प्रवृत्ति नै लोकतान्त्रिक शासनका शत्रु हुन् । सच्चा राजनीतिज्ञसँग आफ्नो व्यक्तिगत प्रगतिको लालसा साथै आफ्नो निजी घर बनाउने योजना हँुदैन । उसको चिन्तन कसरी जनतालाई सम्पन्न बनाउने, खुशी पार्ने हुनुपर्छ । आफ्नोमात्र घर बनाउने सोच भएको व्यक्ति राजनीतिक व्यक्ति होइन उससँग जनताको घर बनाउने न योजना नै हुन्छ न त कार्यान्वयन गर्ने प्रतिबद्धता । 

सरकारी पदलाई दुरुपयोग गरेर कसैले व्यक्तिगत धनार्जन गर्न, बन्द व्यापारका माध्यमले थप आयआर्जन गर्न र आफ्नालाई फाइदा पु¥याउन यदि कोही राजनीतिमा लागेको छ भने त्यो सोच र चिन्तन नै गलत हो । यदि राजनीतिक व्यक्तिमा धन कमाउने चिन्तनका लक्षणमात्र कही कतै जनताले अनुभव ग¥यो भने त्यस्ता पात्रहरूले तुरुन्तै राजनीतिबाट सन्याश लिनुपर्छ । मोजमस्ती गर्ने धन कमाउने र विलासी जीवन बिताउने काम र व्यवहार राजनीति गर्नेहरूको हुँदै होइन । 

राजनीतिमा जसले नेतृत्व लिन्छ उसले आफूलाई वृक्षजस्तो सोच्नुपर्छ र बनाउनुपर्छ । रूखले छहारी दिन्छ, फल दिन्छ तर त्यो छहारी र फल उसले आफैं उपभोग गर्दैन । त्यसैले राजनीतिज्ञले पनि आफूलाई वृक्षजस्तै आफ्नो पद, जिम्मेवारीबाट प्राप्त हुनसक्ने लाभको हिस्सेदार बन्नु हुँदैन । यो काम भ्रष्टाचारजन्य र अनैतिक काम हो । यस्तै अनैतिक काम गर्नेहरू राजनीतिलाई बदनाम गर्ने र प्रदूषित गर्ने तत्व हुन् । सच्चा राजनीतिज्ञको ईश्वर नै जनता हुन् । 

धन कमाउने मनसाय र उद्देश्य छ भने व्यापार, उद्योग धन्दा, होटल व्यवसाय आदि गर्नुहोेस् र त्यसको आयबाट मोजमस्ती र विलासी जीवन यापन गर्न सकिन्छ । तर, राजनीति धन कमाउन र प्राप्त धनबाट मोजमस्ती गर्ने ध्येयले गरिँदैन र गर्नु हँुदैन । राजनीतिमा धनआर्जनको विषय भनेको विकृति हो । राजनीति आफ्नो योग्यता, क्षमता, इमानदारीतालाई जनताको हितमा, जनताको चाहना र भावनाको कदर गर्न गर्ने स्वार्थरहित लगानी हो । राजनीति जनतालाई शक्तिशाली र सुखी बनाउने काम हो । राजनीति त समाजमा विद्यमान अन्याय, शोषण, अत्याचार, विभेद आदिलाई जरैदेखि उखेलेर न्याय र समानताको अनुभूति दिने काम हो । 

राजनीति गर्नेको मन विशाल हुनुपर्छ । राजनीतिज्ञले जनताका भावना, चाहना, इच्छा आकांक्षा र सपना सबै मनमा अटाउनुपर्छ । आफू र आफ्नाप्रतिको मोह, अपनत्व, ममता र आशक्ति हुनेहरूबाट राजनीतिमा निष्पक्षता, समानता र न्यायको अनुभूति जनताले गर्न सक्दैनन् । जनताको भाग्य र भविष्यलाई सम्बोधन गर्ने क्षमता र योग्यता नहुनेहरू राज्यसत्ताको जिम्मेवारीमा पुगे भने राजनीतिमा विभेद र भ्रष्टाचारले विकृतिको उत्पत्ति हुन्छ । विभेद र व्यक्तिगत धनमा आशक्तबाट जनताको भाग्य र भविष्यलाई सम्बोधन हुनै सक्दैन । 

अहिलेका शासकहरूको कमजोरी नै म भ्रष्टाचार गर्दिनँ भन्ने चर्को भाषण गर्ने तर व्यवहारमा आफैं भ्रष्टाचारमा निर्लिप्त हुने कमजोरीको सिकार विश्वका प्रायः सबै देश छन् । नेपाल भ्रष्टाचाररूपी रोगबाट आक्रान्त मुलुक हो । भ्रष्टाचार हुन दिन्न भन्ने तर आफैं भ्रष्टाचार गर्नेहरूको नेतृत्वले नै आज भ्रष्टाचार नियन्त्रण हुन नसक्ने महारोगको रूपमा छ । जुन देशका नेताहरूले पार्टीको नाममा चन्दा उठाउँछन्, पार्टीका नाममा लेवी उठाउँछन् भने त्यो देशमा त्यस्ता नेताले भ्रष्टाचार नियन्त्रण होइन प्रबद्र्धन गर्दछन् । 

हाम्रा नेताहरूले यसै गरिरहेका छन् । त्यसको पार्टीभित्र न हिसाब हुन्छ न हिसाब राख्ने सोचले असुली गर्दछन् । आफ्नै कार्यकर्ताबाट उठाएको चन्दा, लेवी आदिको हिसाबसम्म सार्वजनिक नगर्नेहरूबाट राज्यकोषको कसरी सदुपयोग हुन्छ ? यहाँ राजनीतिक पद प्राप्त गर्नु भनेको त राज्यका साधन र स्रोतलाई दुरुपयोग गर्ने हकअधिकारको स्थापना हो भन्ने मान्यता विकसित भएको छ । 

राज्यको जिम्मेवारी प्राप्त गर्ने व्यक्तिमा त्यो जिम्मेवारी कसरी निर्वाह गर्ने भन्ने चिन्ता र चासो नै हँुदैन । चासो त त्यसको बजेट कति छ कसरी कति बजेट दुरुपयोग गरेर आफू र आफ्नालाई अवैधानिक लाभ उठाउन सक्छु भन्ने चिन्तन र सोचका साथ पदलाई हत्याउनेहरूबाट देश विकास हुन्छ भन्ने हाम्रो सोच नै गलत छ । विपन्नलाई विनाभेदभाव सबैलाई आय निमुखालाई न्यायको अनुभूति हुने योजना र त्यसको कार्यान्वयन क्षमता नहुनेहरूलाई राजनीतिको नेतृत्व लिने नैतिक हक हँुदैन । 

भाषणमा निमुखालाई न्याय र विपन्नलाई आय भन्नेहरू एकाएक आफैं सम्पन्न भए । तिमी एकाएक कसरी सम्पन्न भयौं भनेर न जनता सोध्छ न देशको नियम र कानुन ? न्याय दिने निकायहरूमा विकृतिको पहाड खडा गरेर विपन्नले न्यायको अनुभूति नै गर्न नपाउने न्यायालयको संरचना बनाए । भाषण र व्यवहार फरक भएकोले नेपाली राजनीतिले र सबै राजनेताहरूले जनताको विश्वास गुमाएका छन् । नेता जतिजति धनी हुँदै जान्छ ऊ विश्वसनीयता र इमानदारीताको गरिब हुँदै जान्छ भन्ने कुरा नेपाली राजनेताहरूले व्यवहारमा प्रमाणित गरेका छन् । 

सिद्धान्त र व्यवहारबीचको भिन्नताले राजनीति र रनजनीतिकर्मीलाई भ्रष्ट बनाएको छ । राजनीतिक पद धारण गर्नु भनेको भ्रष्टाचार गर्ने लाइसेन्स बनेको छ । नेपाली राजनीतिमा त्याग, निष्ठा, इमानदारीता, नैतिकताजस्ता विषय पूरै लोप भएका छन् । ती मान्यता र तिनको मूल्यहरूलाई भ्रष्टाचारले पूरै विस्थापित गरेका कारण जताततै अनियमितता, असन्तुष्टि र भ्रष्टाचारलाई अहिले सबैले राजनीति भनेर बुझ्न बाध्य पारिएको छ । भ्रष्टाचार गर्नेले नै भ्रष्टाचार नियन्त्रणको कुरा गर्छ । अन्याय गर्नेहरू न्याय, समानता र निष्पक्षताका कुरा गर्छन् । जे जे नहुनुपर्ने हो त्यै त्यै भएको छ जे जे हुनुपर्ने हो त्यो केही भएको छैन । 

राजनीतिमा त्याग, निष्ठा र नैतिकता, इमानदारी दण्डित हुने र अनैतिक र भ्रष्टहरू पुरस्कृत हुने अवस्था र व्यवस्थाको मुक्तिको खोजीमा नेपाली जनता छन् । तर त्यसको नेतृत्वको रिक्तता नै नेपाली राजनीतिको वर्तमान समस्या हो । नेपाली राजनीतिको समस्याको पहिचान गर्नेसँग समाधानको उपाय छैन जोसँग उपाय छ उसले समस्याको पहिचान र निदान भनेको उसको सिद्धान्तविपरीतको विषय हँुदा नेपाली राजनीति अझै सुधारको बाटोमाभन्दा विकृतिको बाटोमै अग्रसर हुने अवस्थामा छ । 

यस परिस्थितिले आगामी दिनमा देश र जनताका लागि थप कष्टकर बनाउने निश्चित छ । नेताहरू इमानदार नहँुदासम्म जति पद्धति र व्यक्ति फेरिए पनि प्रवृत्ति पूर्ववत् नै छ । हामीले पद्धति र व्यक्ति परिवर्तन ग¥यौं तर प्रवृत्ति परिवर्तन नहुँदा हाम्रो अवस्था अझै बिग्रँदो छ । राजनीति पेशा होइन सेवामा परिणत नहुँदासम्म विकास तथा प्रगतिको अपेक्षा निरर्थक प्रमाणित हुन्छ । हाम्रो दुर्भाग्य यही हो । 


Views: 231