13th April | 2021 | Tuesday | 7:32:47 PM

टाइम पास

लेखनाथ पोखरेल   POSTED ON : फाल्गुन ११, २०७७ (९:२६ AM)

टाइम पास

कुन्नि के भएको हो ? काठमाडौंको मौसमको हालचाल बुझिसक्नु हुँदैन । चैतको महिना बित्नै लाग्दासम्म पनि एकसिरक जाडोले अझै मीनपचासको आभास दिँदै छ । अघिल्लो दिन सम्साँझै सुतेको, बिउँझिँदा रातिको दुईमात्र बज्दैरहेछ । सुतीसुती एक हातले पर्दा तानेर अर्को हातले झ्याल खोलेँ । मौका पाउनासाथ सडकका बत्तीको मधुरो उज्यालो र चिसो सिरेटो सँगसँगै कोठाभित्र छिरे । उनीहरूको आगमनमा मुन्टो सिरकभित्र घुसारेसँगै, हिजोको दिन मैले कसरी बिताएको थिएँ भन्ने कुरा मनमा खेल्न थाल्यो । 

सम्झिँदै जाँदा त बत्तीको बिल तिर्ने र तरकारी किनेर ल्याउनेबाहेक केही काम गरेको नै थिएन । मनैमन आफैंलाई भनँे, त्यत्ति जाबो काम गरेर दिन बिताएँ भन्न पनि लाज नलागेको ! के भएको होला ! कहिले भ्याइनभ्याइ कहिले भने छेलोखेलो हुनपुग्छ यो समय पनि ।

के गरौं के गरौं ! छट्पटी हुन थाल्यो । सिरकभित्र कोल्टे फर्केर सुतेका मेरा आँखाको दृष्टि एकाएक छेउको टेबलमा राखेको मोबाइल र बेलुका लेख्दालेख्दै छोडेको डायरीमा पर्न गयो । डायरीको आवरणमा ठूलो अक्षरमा छापिएको नाम पढ्न खोजेँ । अक्षर आधामात्र देखियो । मैले त्यो डायरीमा आफूले भोगका, सम्झेका, अतीतदेखि वर्तमानसम्मलाई समेटेका अनगिन्ती भावहरू महिनौंदेखि लेख्ने गरेको थिएँ । त्यसको आवरणमा छापिएको नाम पनि अनगिन्ती पटक पढेको हो तर आज किन त्यसको लेखौट प्रष्ट पढ्न सकिराखेको थिइन ? टोलाइरहेँ । 

आँखामा सामान्य बाहेकको अन्य कुनै गडबडी भएको कुरा बेलुकीसम्म त थाहा थिएन । एकाएक यो मध्यरातमा के भएको होला भन्ने लाग्यो । आँखामा बिसन्चो पो भयो कि क्या हो ? भन्दै टाउको उठाएँ । टाउको उठेसँगै कोल्टेपर्दा थिचिएको मेरो देब्रे आँखा पनि दृष्टियुक्त भयो । दुवै आँखाको संयुक्त हेराइमा बल्ल पो देखियो डायरीको आवरणको अक्षरमाथि कलम तेर्सिएर बसेको रहेछ । डायरीका अक्षर अपूरो देखिने खेल त कोल्टे परेको अर्को आँखाको कारणले पो भएको रहेछ ।

कस्ता कस्ता भ्रमको सिर्जना हुनजान्छ अर्धचेतनामा भन्ने सोचमा चिन्तन गर्दै, सिरक फ्याँकेर बाथरुमतर्फ लागेँ । फर्केर आएपछि फेरि सुतौं कि के गरौं भन्ने द्विविधा भयो । आँखाको चाल बुझ्दा, उसले सुतौं जस्तो गरेन । जीउको हालचाल बुझ्न खोज्दा उसले आफू सामान्य स्थितिमा फर्किसकेको जानकारी दियो । सबैकुरा ठीक छ भनेपछि गर्नुपर्ने कुनै कुरा बाँकी रहेन । मनमा गुनेँ आखिर दिनरातको गिन्ती त त्यही चौबीस घण्टा नै हो । तर समय किन धेरै भएको होला ? 

रातको यस्तै प्रहरमा उठेर तानेमुनेमा लागेका, बाआमाको गफगाफ सुन्दा, आफ्नो तन्नेरी बेलामा अचम्म लाग्ने गथ्र्याे । पल्लो कोठाको बाआमाको गन्थनले निन्द्रा बिच्किएला कि ! भन्ने पीरले टुप्पीदेखि खुट्टासम्म छोपिनेगरी सिरक तानेर निदाउने त्यो बेला नबुझेको समस्याको रहस्य अहिले खुलेको आभास भयोे मलाई ।

भेटहुने बित्तिकै जहिले पनि पल्लाघरे आमैले भन्नु हुन्थ्यो ‘ए बाबु, मेरो मोबाइलमा हेरिदिनुस् त यो मौसम कहिले सप्रिन्छ ?’ घाम लागेको दिन परोस् कि पानी परेको दिन । मौसमको हालचाल सोध्ने आमैको बानी भइसकेको थियो । घाम लागेको दिन उफ्–उफ्, पानी परेको दिन स्युस्यु गर्दै मकहाँ आइपुग्ने उहाँको बानीले मलाई वाक्कदिक्क लगाउने गथ्र्याे । 

एक दुईपटक त मैले उहाँलाई भने पनि ‘तपाइँलाई चाहिएको के हो ? गर्मी कि जाडो ? जाडो लागे सिरक ओढेर गम्मपरेर सुत्नु । गर्मी भए पंखा खोलेर मस्त निदाउनु ।’ मेरो कुराको प्रतिकारमा आमै भन्नुहुन्थ्यो ‘मान्छेको जात केही गर्दा पनि सुखी हुँदैन बाबु, जाडो भए गर्मी चाहिने । गर्मी भए जाडो चाहिने । आफूसँग जुन कुरा छ त्यसको मतलब नहुने । जे छैन त्यसैको मात्र खोजी गर्ने ।’

ब्रिटिश आर्मीको पति नामको लाहुरेलाई उनले एउटा दयनीय पाल्तु प्राणीबाहेक केही ठान्दिनथिन् । लेखपढ गर्न नजान्ने उनले पति नामको लाहुरेलाई ‘खाने मुखले खान खोज्छ, नखाने मुखले के खोज्छ ! यति कुरा बुझ्नु घरतिर कुद्नु’ भन्ने व्यहोराको पत्र छिमेकीलाई लेख्न लगाएर हुलाकमा खसाल्न लगाएको कुरा टोलका मानिसले बिर्सिएका थिएनन् । श्रीमान् परमधाम भएको धेरै वर्ष भइसकेको थियो । भएका दुईटा छोराछोरी पनि विदेशिएपछि घरमा एक्लै थिइन् उनी ।

पल्लाघरे आमै कुनै दिन सप्रिएलिन् भन्ने कुराको कल्पनासम्म पनि कुनै छिमेकीले गर्नसकेका थिएनन् । तर हेर्दा हेर्दै अचम्म ! उनको रुचिले पल्टीखाएको थियो । उनी एकाएक सप्रिएकी थिइन् । हप्तामा दुई, तीन दिन गुरुको पाउको पानी पिउन आश्रम पुग्ने । घण्ट बजाएर चम्मर हल्लाउँदै साँझबिहान पूजापाठ गर्ने । मीठो बोली बोल्ने र टोल छिमेकको झैंझगडाको मध्यस्थता गर्न अग्रसर हुने । आमैमा आएको यस प्रकारको परिवर्तन देख्दा टोल छिमेकीलाई ‘खुर्सानीको बोटमा टमाटर फलेझैं’ लाग्थ्यो । यथार्थ भने ‘हातमा अदुवा लिएको बाँदरलाई वैद्य ठान्ने’ भुल गरेजस्तो मात्र थियो । नौटंकी गर्न सिपालु उनको त्यो परिवर्तित स्वभाब, टायम पासको एक हिस्सा थियो भन्ने कुरा टोल छिमेकीलाई के थाहा ! 

बिनासित्तीको धोकोको पोकोबोकेर मान्छे आफैं दुःखित र थकित भइरहन्छ । प्रत्येक व्यक्तिको खोजी त सुख, आनन्द वा खुशी नै हो । आफूभित्रको खुशीको बोट सुक्दै गएकाले हो कि ! मृगतृष्णाझैँ कता पाइन्छ भन्ने मेसो नपाएर हो ? मानिस टायमपासको खोजीमा दौडिरहेको ! त्यस्ता कुरा सोचमा पसेसँगै, तन्द्राबाट व्युंिझएझै ंगरी मनको भाव एकाएक बदलिन पुग्यो । एउटा पृथक सोचले जन्म लियो । अलिअलि स्वास्थ्य बाँकी हुँदै टाइमपासको यस्तो समस्या छ ! साँच्चिकैको बुढेसकाल कस्तो भयाबह होला ? मनमा त्यस्तो सोच उम्रिएसँंगै आफ्नु बुढ्यौली आफ्नै अगाडि ठिन्ग्रिंग उभिन आइपुगेको आभास भयो ।

मौसम बदलिएझैँ जीवन कहिले बित्दै गयो थाहै नहुने ! पाचक रस र पञ्चेन्द्रीय शिथिल हुँदै गएपछि शारीरिक दुर्बलता आफैं बढेर कटौराजस्ता आँखामा मोटो चस्माले आफ्नो स्थायी ठेगाना बनायो । मुजा परेका गाला झोल्लिएर गर्दनमा पुगे । लट्ठीको सहारा नभए कहाँ लडिने हो टुंगो नहुने भयो । रोगले ग्रस्त बुढेसकाल रद्दीको टोकरीमा फालिनेखालको टिकट नटाँसेको बहिरंग चिट्ठी जस्तो गन्तव्यहीन बन्दै गयो । 

डाक्टरले नारी छामेको भरमा के केमात्रै थाहा पाउने ? शरीरको घाउचोट भए पो उसले उपचार पनि गथ्र्योे होला ! मनभित्र लुकेर बसेको शून्यता, निराशाको दम्भित भाव, अनि क्षण क्षणमा प्रवाहित हुने मृत्युको त्रास । त्यस्ता कुराको उपचार कसले गरिदिने ? तर पनि तेरो मेरो छँदैछ । मान सम्मानको इच्छा झन् बढ्दो छ । सुन्दर र स्वस्थ शरीरको चाहना ज्युँका त्युँ छ । 

अरूहरूले कस्तो मज्जाले टाइमपास गर्छन् । आफू भने गन्तव्यविनाको यात्रीझैं आफ्नै सोचमा रुमल्लिएर फन्फनी घुम्नेमात्र ! बेला–बेला आउने यस्तो सोचमा आफूभन्दा सुखी आफनो छिमेकी होला भन्ने पनि नलागेको होइन । तर त्यस्तो कुरा पनि नसोचे हुनेरहेछ । ‘जेठा बाबुको फाटेको धोती, कान्छा बाबुको त झन् भान्ग्राको टोपी’ भनेझैं अरूको हालत त आफ्नोभन्दा झन् खराब पो भेटेँ मैले । अरूहरूले देखाएको आडम्बरयुक्त जीवन पद्धति त कलाकारले मञ्चन गरेजस्तो नौटंकीको लाचार उपजमात्र रहेछ भने कुरो बुझ्न समय लागेन मलाई । त्यो बेलादेखि टाइमपासको उपायको खोजी भनेको बहुलठ्ठीपनबाहेक केही होइन रहेछ भन्ने लाग्न थाल्यो ।

एक दिन, एकजना तथाकथित पण्डित मेरो घरमा आइपुगेका थिए । दार्शनिक ढंगमा ज्ञानगुनका कुरा सुनाउँदै भने, जीवन आफैंमा एउटा टाइमपास हो ! टाइमपासका लागि अर्को मानिस किन चाहियो ? अरूको एकान्तमा खलल पु¥याउन लखरलखर किन दौडिनु प¥यो ? आफ्नो एक्लोपनभन्दा महŒवपूर्ण र आनन्ददायी क्षण अरू कुनै हुन सक्दैन । एक्लोपनदेखि मानिस तर्सिनुको कारणमात्र एउटा छ । उसले एकान्तको उपयोग गर्ने विधि जानेन । जान्दो हो त विक्षिप्त भएझैं भौंतारिने थिएन होला ! उनका त्यस्ता कुरा सुन्दा, यी अरू कसैले सुन्न नचाहेका कुरा बोकेर टाइमपास गर्न मकहाँ आएका हुन्जस्तो लाग्यो । 

उनको त्यो प्रवचन मेरा लागि ‘गाँडको ओखती, चिलाउनेको बोक्रो’ भन्ने उखान शरह थियो । बोल्दाबोल्दैका उनलाई बीचमा रोक्दै, दुईहात जोडेर बिदा गर्न खोज्दा, मैले उनलाई ठटाउन पो आँटेको हुँ कि भन्ने भान प¥यो कि क्या हो ! अत्तालिएका पण्डित आफ्नो धोती सम्हाल्दै हत्तपत्त सुइँकुच्चा ठोकेका थिए । मनमा सोचें, ‘घर डढेको छैन, गोरु लडेको पनि छैन’ विनपत्ताको कुरामा अरूको रायसल्लाह किन ? 

टाइमपासको कुरा सबैमा एक किसिमले लागू हुँदैन । त्यो रुचिमा भर पर्ने कुरा हो । औसत टाइमपासका लागि त्यत्ति धेरै साधनको आवश्यकता पर्ने चाहिँ होइन नै ! कुनै ठाउँमा केही जोर तासका गड्डीको आवश्यकता पर्नसक्छ । कतै पासा, गोटी र एक थान थर्की । कहीँ जाँडका दुई चारोटा पुङ । अर्को अनिवार्य चिज भनेको दुईथान मानिस । त्यसमा एउटा वक्ता हुन्छ अर्को श्रोता । वक्ता भनेको, आफ्नो घरआँगनमा को आइपुग्ला र आफूभित्र अटेसमटेस भएर बसेका कुरा बमन गर्न पाइएला भनेर पर्खिबस्ने मानिसको नाम हो । श्रोता भनेको, टाइमपासको लागि गफ चुट्न पाइन्छ कि भन्दै, बेला न कुबेला अरूको घरतिर छिर्ने मानिस भनेर बुझे हुन्छ ।

त्यस्ता मानिससँग केही विशेष गुणहरू हुनु जरुरी मानिन्छ । ऊसँग होसियारी र धैर्यको कमी पटक्कै हुनुहुँदैन । छोरानातिले थातथलो छोडेर मुग्लान पसिसकेका त्यस्ता घरमा प्रायः म्याद गुज्रिसकेका बुढा या बुढीमध्ये कुनै एकमात्र हुने सम्भावना रहन्छ । आआफनो म्यादगुजारेर यदि कुनै जोडीलाई सँगैबस्ने अनुकूलता मिलेको रहेछ भने त झन् होसियार हुनुपर्छ । फुलो परेको आँखा छोप्न घरमुलीले लगाएको चश्मा कस्तो सुहाएको भन्न पटक्कै बिर्सिनु हुँदैन । ढिकिच्याउँ.. ढिकिच्याउँ... गर्र्दै घ्याम्पे भुँडी हल्लाएर हिँड्ने बुढीमाउको स्वास्थ्य पहिलेको भन्दा धेरै राम्रो देखिएको भन्ने झुठो प्रतिवेदन तत्काल पेस गर्न पछि परेमा, त्यहाँ पाइने फोकटको एक कप कालो चियाको सम्भावनासमेत टर्न बेर लाग्दैन । 

त्यस्ता घरहरू प्रायः महँगो कुकुरको आश्रयस्थली बनेका हुन्छन् । पानीघोडाको अनुहार परेको ‘जर्मन सेफर्ड’ नामको, अहिले नै पो टोकेर मार्ने हो कि जस्तो कुकुर देखेपनि डराउन मनाही हुन्छ । त्यसलाई रिझाउन नसकेमा, जतिसुकै महंँगोमा किनेको किन नहोस्, हो त कुकुर नै ! त्यसले पिँडुलाको चोक्टा चट्पार्न बेर लाउँदैन । त्यस्तो बेला, ‘रिस्क’ नै जिन्दगीको सफलताको आधार हो भन्ने कुरा मनमा गुनेर बहादुरी प्रदर्शन गर्दै त्यो कुकुरलाई सुमसुम्याएर म्वाइँ खानपछि पर्नु हुँदैन । 

घरमूलीको हाइड्रोसिलको अप्रेशन गर्दा कति खर्च लाग्यो ? बैठकमा बिच्छ्याएको इरानी कार्पेट कसले उपहारमा दियो ? इटालियन मार्बलजडित उसको नयाँ बाथरुम बनाउने कारिगरले कति रुपैयाँ लग्यो ? यी आदि कुराको फेहरिस्त ध्यान दिएर सुनेको हुनुपर्छ । टाइमपास गर्न पुगेको स्रोताले त्यस्ता कुरालाई श्रीमती भिœयाउँदा सासू, ससुरा निःशुल्क पाएसरह मान्नुपर्ने हुन्छ ।

अरूको घरमा गएर खाना खाँदा जसरी खानाको झुटो प्रशंसा गर्नुपर्छ । त्यसैगरी टाइमपासको लागि अरूको घरमा छिर्नु पूर्वबिर्सिनु नहुने थप एक दुईवटा कुरा हुन्छन् । वाहियातभन्दा पनि वाहियात प्रसंग नै किन नहोस्, बिसौलीको मुन्टो हल्लाउन र आफ्ना बत्तिसी ङिच्याउन बिर्सिनु हुँदैन । मानिसको बोली र अनुहार भनेको फसाद हो । मानिसले बोलीभित्र आफ्नो अनुहार लुकाउन सक्छ । कुन बेला कस्तो बनावटी मुखुण्डो लाएर बस्ने हो भन्ने कुराको सीपमात्र चाहिन्छ, त्यति गर्न सक्यो भने बुझे हुन्छ टाइमपास भयो । ‘गंगा गए गंगा दास, जमुना गए जमुना दास’ । के फरक पर्छ र ! घर पुगेपछि देवदास बन्नु त छंँदैछ । 

एक क्षणका लागि यी सब कुरा पनि हापीदिऊँ । मैन बन्नु पनि छैन, ढुंगा बन्नु पनि छैन । कुरा टाइमपासको न हो ! केको टेन्सन ! बसमा बस्दा झकाएको बेला छेउको मानिसको काँधमा टाउको अड्याउन पाउँदा कस्तो आनन्द आउँछ ! हो त्यस्तैखाले आनन्दको खोजी गर्न र टाइमपासका विशेष उपाय पत्ता लगाउन घरबाट बाहिर निस्किनुमात्र पर्छ । गज्जब हुन्छ ! त्यस्ता अनगिन्ती अखडा फेला पर्दा आफैं दंगदास परिन्छ । त्यसमध्येको बित्पाती गफ सुन्न उपयुक्त थलो हो हजामको पसल । तालु खुइलेले स्वयं कपाल उमार्ने उपायको जानकारी दिइरहेको हुन्छ । कान नसुन्नेले संगीतको ज्ञान र बखान बाँड्दै गरेको हुन्छ । रतन्धोले सुन्दर जुनेली रातको वर्णन गरिरहेको सुन्न पाइन्छ ।

कुनै गहन रोगव्याधिको जानकारी चाहिएको खण्डमा पानपसल पनि एउटा उत्तम अखाडा हो । पान, खैनी जसले छोड्न सकेको छैन उसले क्यान्सर र मुटुरोगको उपचार विधि बताइरहेको हुन्छ । पिनासको कुरा होस् कि काखी गनाउने रोग होस् कि हर्षाको उपचार । दुर्गन्धित मोजा सुँघाएर गरिने छारेरोगको उपचारको विधि सुनाउने त कति कति । त्यसो त कपडाको जुत्ताभित्र लगाएको मोजाको भयानक दुर्गन्धले भूत त भाग्छ भने छारेरोगको के कुरा ? समस्याको उठानमात्र गर्नुपर्छ । समाधानको उपाय सुझाउन एकपछि अर्को विज्ञको त्यहाँ अभाव नै हुँदैन । 

रक्सीभट्टीको त झन् कुरै नगरौं । जिन्दगीको मज्जा भन्ने कुरा स्वादमा भरपर्ने कुरा हो । कसैलाई अमिलो अचार त कसैलाई अकबरे खुर्सानीयुक्त पीरो तरकारी । कसैलाई दुर्गन्धित ठर्रा त कसैलाई कवाफसहितको आयातीत रक्सीको प्याक । अनुकूलता आआफ्नै खाले । जेहोस् जुक्ति सिक्ने र ज्ञानगुनका कुरा जान्ने इच्छा भएको कुनै पनि सभ्य नागरिक यदि कुनै रक्सीभट्टीभित्र छिरेको छैन भने बुझे हुन्छ उसले जिन्दगीको सबभन्दा ठूलो अवसर गुमायो । उसले आफूलाई सधैंका लागि ठगिएँ भनेर बुझे हुन्छ । 

त्यस्ता ठाउँमा ठूल्ठूला सन्त, महन्त र ज्ञानीजन पुगेका हुन्छन् । धर्मग्रन्थले रक्सीलाई दुश्मन ठान्दछ । धन्य छन् उनीहरू ! जो दुश्मनसँग पनि घाँटी जोडेर मित्रता गर्न पुगेका हुन्छन् । त्यस्ता ठाउँमा निःशुल्क अक्कल बाँडिन्छ । पहिलो पेग अध्यात्मको भक्तिकालको हुन्छ । दोस्रो र तेस्रो पेग वीररसको हुन्छ । उप्रान्तका पेग चड्न थालेसँगै, त्यहाँ कसैको कुरा कसैले सुन्नेवाला छैन । सबैले आआफ्ना प्रवचन अर्कोलाई सुनाउनमात्र खोजेका हुन्छन् । परिणाम बन्नपुग्छ प्रसंगविहीन एउटा कोलाहल । त्यहाँको कोलाहल सुन्दा लाग्छ आत्मकेन्द्रित एकोहोरो बोल्ने पागलहरूको जमघट हो त्यो ।

कुरानदेखि धम्मपदसम्मका ग्रन्थका महाभावको खोलो बगेको हुन्छ । कुन धार्मिक मतबाट ज्ञान र मोक्ष्य प्राप्ति गर्न खोजेको हो ? त्यसको सुइँकोमात्र दिनुपर्छ, ज्ञानको झरना झरर बग्न थाल्छ । जिउँदैमा स्वर्ग पु¥याइदिने आध्यात्मिक ज्ञान होस् कि, एयरपोर्ट र मालपोत कार्यालयतिर छिरेर दुईचार दिनमै मालामाल हुने भौतिक उपाय । त्यहाँ हरेक प्रकारका ज्ञानको अटूट खोला बगेको पाइन्छ । 

घरबाट निस्किँदा चाउरी परेको बयर जस्तो देखिने अनुहार, भट्टीभित्रको ज्ञानदर्शनको सेसनबाट बाहिर निस्किँंदै गर्दा, लामो साधनापश्चात् हिमालयबाट भर्खरमात्र बाहिरिएका युवासाधुको अनुहार जस्तो रातोपीरो देखिन्छ । भर्खर पाइला टेकेर हिँड्दै गरेको बच्चाझैं ला¥याङब¥याङ गर्दै पान पसलसम्म पुग्नु ठूलो उपलब्धि ठानिन्छ । अरूले रोक्दा साइकल रोकिँदैन । त्यस्ता सन्त, महन्त हिँड्ने बाटो भएर त्यस्तो बेला कुद्दै गरेका ठूल्ठूला गाडी र घोडा पनि टक्क रोकिन बाध्य हुन्छन् । 

पाएमा ४६० नम्बर, नपाएमा १२० नम्बरको जाफरानीपत्ती र किमाम हालेको पान चपाएर, रक्सीले डुङडुङती गनाएको मुखलाई गन्धहीन बनाएको ठान्ने बेकुफी गर्नुको मज्जाको त झन् कुरै नगरौं । घर नपुगुञ्जेल जति रमाइलो भयो, भयो । घर होस् कि डेरा । त्यहाँ पुग्नलागेसँगै लर्बराएका पाइला सोझिन थाल्छन् । घरभित्र पस्दासम्म ऊ साँच्चिकै ज्ञानी बनेर निगुर्मुंण्टी ‘न’ भइसकेको हुन्छ । 

उट्पट्याङ् यस्तै सोचमा रुमल्लिएर रात बितिसकेको मलाई पत्तै भएन । एकाएक बुढीमाउको आवाज कानमा बज्रियो—सिलिङ्मा एकोहोरो के क्वा¥क्वारती हेरिराखेको, ओछ्यानबाट उठ्ने विचार छैन कि क्या हो ? उनले यसो भन्दै सिरक तान्दा पो म झसंग भएँ । अर्को दिनको सुसे धन्दा सुरु हुनेबेला भइसकेछ । 


Views: 163