17th April | 2021 | Saturday | 11:21:28 PM

मेलम्ची पानी : उपत्यकावासीको धैर्यपूर्ण प्रतीक्षा

  POSTED ON : फाल्गुन १२, २०७७ (८:४६ AM)

मेलम्ची पानी : उपत्यकावासीको धैर्यपूर्ण प्रतीक्षा

मेलम्ची काठमाडौं उपत्यकाका बासिन्दाका लागि एउटा ठूलो सपनाका रूपमा रहेको छ । अबको चार महिनाभित्र यहाँ पानी वितरण हुन्छभन्दा फेरि यहाँका नागरिकमा आशाको सञ्चार भएको छ । वर्तमान मन्त्रिपरिषद्का खानेपानीमन्त्री मणिचन्द्र थापाले सुरुङमा पानी छोड्ने कार्यको दोस्रो चरणको परीक्षण गर्नुभएको छ । पहिलो चरणमा भएको परीक्षणमा भएको मानवीय क्षतिलाई ध्यानमा राखेर सावधानीपूर्वक गरिएको परीक्षण सफल भएबाट अब भने जनताको प्रतीक्षामा तुषारापात हुने छैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ ? सुरुङमा पानी जम्मा गर्दै विस्तारै सुन्दरीजलसम्म ल्याइने भएकाले १६ दिनको समय लिने भनिएको छ । उपत्यकाका बासिन्दालाई आस देखाउँदै र पर्खाउँदै गरेको धेरै भयो । उपत्यकाका बासिन्दा धैर्य गरेर मेलम्चीपानीको प्रतीक्षामा छन् । नेपालको सबैभन्दा बढी जनघनत्व भएको ठाउँ हो काठमाडौं उपत्यका । 

जनसंख्या र क्षेत्रफलको यो असमान स्थितिका कारण उपत्यकाका बासिन्दाले फोहोर, धुलो, धुवाँ, ध्वनि प्रदूषणलगायत समस्या भोग्नु परेको छ । यस्ता समस्यासँग जुध्दै आइरहेका यहाँका जनताको सबैभन्दा प्रमुख समस्या भनेको पानीकै हो । पानी नभएसम्म अन्य प्रकाका समस्याबाट समेत मुक्ति पाइँदैन । पहिले यहाँ पानीका स्रोतहरू प्रसस्त थिए । यहाँका बस्ती बाक्लो बन्दै जाँदा कतिपय स्रोतहरू प्रदूषित बने । बागमती, विष्णुमती, मनहरा, कर्मनासा, धोबीखोलो इच्छुमतीलगायत यहाँका पानीका ठूला स्रोत प्रदूषित बनेपछि जनताका लागि दैनिक उपभोग्य पानीको कमी हुँदै गयो । त्यसपछि पनि यहाँको कुवा, पोखरी र ढुंगेधाराबाट यहाँको पानीको समस्याको परिपूर्ति हुँदै गएको थियो । निजी निवासलगायत ठूला सरकारी भवन, स्कुल, कलेज, व्यापारिक मलहरूलगायत संरचाना अधिक संख्यामा निर्माण हुँदैजाँदा पानीका यस्ता स्रोतहरू सुक्दैगए । 

उपत्यकामा एकातिर पानीको कमी हुँदै गएको र अर्कातिर मानिसको संख्या अनियन्त्रित ढंगले बढ्दै गएको छ । २०४६ सालको प्रजातन्त्रपछि कृणप्रसाद भट्टराई नेपालको अन्तरीम प्रधानमन्त्री बन्नुभयो । मेलम्ची पानीको आयोजना त्यही समयदेखिको हो । भट्टराईले त्यसबेला मेलम्चीको पानी आएपछि पिउनमात्र होइन यहाँका सडक पखाल्नसमेत पुग्छ भन्नुभएको थियो । त्यसपछि नेपालमा जति सरकार बने ती सबैको चासो मेलम्चीतिर तानियो । त्यो चासो छिटोभन्दा छिटो यहाँ पानी ल्याउन नभई सकेसम्म त्यसका ढिलाइ गरी आपूmले अनुचित लाभ लिइरहन थियो जस्तो देखियो । जलस्रोत मन्त्रीहरूले यसलाई दुहुने काम गरिरहे । कृष्णप्रसाद भट्टराई जसको यस योजनामा कुनै स्वार्थ थिएन तर उहाँको भनाइलाई लिएर बेला बेलामा उहाँलाई उडाउने काम पनि भइरहृयो । 

सरकार र सरकारका मन्त्रीहरूसँग कुरा नमिल्दा कतिपय ठेकेदारहरू बीचबीचबाटै भागे । यसरी ठेकेदार भागेको बाहनामा, नयाँ ठेकेदार खोज्दा ढिलाइ भएको बाहनामा, स्थानीयले अवरोध गरेको बाहनामा काठमाडौंमा पानी आउँने समय तोक्दै र त्यसलाई पर सार्ने काम गरिँदै लगियो । तैपनि यहाँका जनता मेलम्चीको पानीको प्रतीक्षा गरिरहेकै छन् । तिनको धैर्य अचम्मलाग्ने खालको छ । जनता आसआसैमा निरास बन्दैगएका बेला २०७५ सालकै दशैंमा उपत्यकामा पानी आउने भनिएको थियो । पाइप ओछ्याउने काम धेरैजसो पूरा भइसकेको छ तर फेरि यसैगरी विभिन्न बहानामा पानी ल्याउने कार्यलाई पर सार्ने काम भइरहेको छ । 

केही महिनापहिले सुरुङबाट पानी परीक्षणको काम भयो तर स्थानीय जनता तथा स्थानीय जनप्रतिनिधिसँग समन्वयन नगरिएको भनेर विरोध भयो । सरकारले यस्ता बहुपक्षतर्फ राम्ररी ध्यान देओस् र चाँडोभन्दा चाँडो उपत्यकामा मेलम्चीको पानी वितरण होस् । जुन समयमा जति पानीको मागको अनुमान गरेर यो योजना ल्याइएको थियो अबको मागलाई यसले धान्न नसक्नेतर्फ सरकार सचेत रहनुपर्छ र अन्य वैकल्पिक योजनाको सोच बनाइनु आवश्यक छ । लगभग तीस वर्ष पर्खिएका जनता अब चार महिना पर्खिन नसक्ने होइनन् तर फेरि यसैगरी पटकपटक समय सार्दै लानु भने उचित हुँदैन । जुन सरकारका पालामा मेलम्चीको पानी यहाँ आउँछ अघिलला सरकारका पालामा जे जति काम भएको भए जस भने पानी आएकै बेलाको सरकारले लिने हो । त्यसैले पानी छिटोभन्दा छिटो ल्याउने पहल हुनुपर्ने आवश्यक छ । जसले गर्दा एकातिर सरकारको जसको कुरा छ भने अर्कातिर जनताले पानी उपभोग गर्न पाउनेछन् । 


Views: 42