13th April | 2021 | Tuesday | 7:17:46 PM

आजको कम्युनिष्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा

लोकनारायण सुवेदी   POSTED ON : फाल्गुन १२, २०७७ (८:४९ AM)

आजको कम्युनिष्ट आन्दोलन र लिनुपर्ने सही शिक्षा

विश्वमा एक जमाना थियो विश्वमा कम्युनिष्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आमश्रमजीवी जनताको आशा र भरोसाको एकमात्र विकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जननैतिकता, इमानदारीता, जनसेवाका हिसाबले मात्रै होइन सबै किसिमका समाजिक–सांस्कृतिक तथा अर्थराजनीतिक भेदभाव अर्थात—‘वर्गीय शोषण र सामाजिक उत्पीडन’ बाट मुक्तिको जुन दिशाबोध यसले गराएको र र स्थापित गरेको थियो त्यसको सान्दर्भिकता र महŒव आज पनि छ र अझ बढ्न गएको छ । 

यद्यपि अहिले यो आन्दोलन ठूलो धक्का र पराजयको घोर विचलनकारी पवृत्तिको नराम्रोसँग शिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । अनि जुन उच्चाइको जनताको विश्वासको धरोहर हिजो यो आन्दोलन बन्न सकेको थियो आज त्यो स्थिति छैन । बरु उल्टै कम्युनिष्टको खोल ओढेर कम्युनिष्टविरोधी पुरानै शोषक शासक वर्गको तावेदारी गर्ने, त्यही गलत प्रवृत्तिको अनुसरण गर्ने र जनतालाई भ्रमित तुल्याउने परिपाटी प्रबल बनिरहेको स्थिति आज छ ।

यस परिप्रेक्षमा अहिलेम्मको विश्व कम्युनिष्ट आन्दोलनलाई हामीले सर्सरीमात्रै पनि हे¥यौं र केलायौ भने विश्वस्तरमा मूलतः तीनवटा अत्यन्तै महŒवपूर्ण मोड यस आन्दोलनमा आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सकिन्छ । त्यस्तो पहिलो उल्लेखनीय र महवपूर्ण पहिले मोड १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्रको प्रकाशनपछि नै विश्वमा आरम्भ भएको थियो । 

वस्तुतः यसले संसार अर्थात् मानव समाज र प्रकृति दुवैलाई हेर्ने, व्याख्या गर्ने र फेर्ने एउटा अत्यन्तै महŒवपूर्ण वैज्ञानिक तथा समकालीन विश्वका अरू दर्शनभन्दा भिन्न द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सामाजिक दर्शन, विचार, दृष्टिकोण र नीति दियो । वस्तुतः कार्ल माक्र्स र फेडरिक एंगेल्सले विश्वका सामु प्रस्तुत गरेको त्यो कालभेदी कम्युनिष्ट घोषणापत्रले संसारलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र फेर्ने एउटा नयाँ सशक्त आधार र अभूतपूर्व ऊर्जा प्रदान ग¥यो । 

यस प्रकार यसले विश्वमा ठूलो हलचलमात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा–शोषण, अन्याय, दमन, दबाब र थिचोमिचोको अमानवीय बाटोमा–हिँडिरहेको संसारलाई बदल्न सकिन्छ, युगौं पुराना सबै प्रकारका दुःखकष्टबाट पार पाउन सकिन्छ, सबै किसिमका विभेद, अन्याय, असमानताबाट समाजलाई मुक्त गर्न सकिन्छ अनि परस्परमा प्रेमपूर्वक बाँच्न सकिने सुन्दर र सुखमय एउटा सुनिश्चित भविष्य भएको संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै महŒवपूर्ण, सारगर्भित र दूरगामी मानवीय सन्देश विश्वलाई यसले दियो ।

यसरी वस्तुतः नयाँ किसिमले संसारलाई हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउँदै लाने क्रममा नै रूसको १९१७ को अक्टोबर सामाजवादी क्रान्तिले सफलता पाएको हो । पुँजीवाद साम्राज्यवादमा विकसित भएपछि त्यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भव छ भन्ने विकसित ठोस परिस्थितिको ठोस निष्कर्ष माक्र्सवादकै सिर्जनात्मक विकास र प्रयोगको आधारमा निकालेर लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले विश्वमा पहिलोपटक मजदुर किसानको अर्थात् पिँधमा परेका शोषित पीडित जनताको शासन सत्ता स्थापना गरेको थियो । 

यसरी त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलोपटक विश्व कम्युनिष्ट आन्दोलनमा अर्को या दोस्रो आधारभूत र नयाँ मोड ल्याएको हो । त्यो मोड सर्वहारा क्रान्ति र साम्राज्यवादबीचको संघर्षको मोड थियो र हो । वास्तवमा मूलतः अहिले पनि त्यही क्रान्तिको मूलप्रवाहबाट विश्व कम्युनिष्ट आन्दोलन गतिमान छ । अर्थात् त्यो मोडलाई छोडियो भने त्यो कम्युनिष्ट आन्दोलन रहँदैन, अवरुद्ध हुन्छ र त्यसमा विकृति विसंगति आउँदछन् । लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्तिपछि नै विश्वका अरू धेरै देशहरूमा सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनको लहर विश्वव्यापीरूपमा पैmलिएको र तिनले सफलता पाएका हुन् भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको कुरा हो ।

त्यही क्रममै चीन र भारत पनि उपनिवेशवादको पञ्जाबाट मुक्त भएका हुन् । त्यसै क्रममै चीनमा माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज विश्वको अग्रतम् आर्थिक शक्तिको रूपमा चीन स्थापित हुन गइरहेको छ । तर विश्वले यतिबेला समाजवादी सोभियत संघमै त्यो महान् समाजवादी क्रान्तिका उपलब्धिहरू नजोगिनु र सोभियत समाजवादको पतन हुनुको पछाडिका वस्तुगत र मनोगत कारणहरू सही किसिमले केलाएर सार्थक निष्कर्षमा पुग्नुपर्ने गम्भीरतम् आवश्यकता छ–विश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर अध्ययन, विश्लेषण र संश्लेषणको आवश्यकता वास्तवमा आज अझ बढ्न गएको छ । 

यो विश्व कम्युनिष्ट आन्दोनलको अहिलेको तेस्रो महŒवपूर्ण मोड हो–सोभियत समाजवादले ७० वर्ष चलेपछि १९९० मा खाएको अत्यन्तै गम्भीर धक्का र यसको पतन जसको व्यापक असर अहिले पनि विश्वव्यापीरूपमा परिरहेको छ । यसले विश्व कम्युनिष्ट आन्दोलनका गम्भीर प्रकारका कमी कमजोरी केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन विश्वभरिका कम्युनिष्ट तथा यो शोषण उत्पीडनमा आधारित विश्व समाजलाई समूल रूपमा फेर्न चाहने प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूले आज गहनरूपमा सोचविचार पु¥याउनुपर्ने दूरगामी महŒवको अत्यन्तै गम्भीर कुरा छ ।

यसरी सर्सरी हेर्दा हामी प्रष्ट देख्दछौं कि विश्वमा अहिलेसम्म कम्युनिष्ट आन्दोलनका दुईवटा चक्रले पूर्णता पाइसकेका छन् भने तेस्रो चक्र अर्थात् ठूलो धक्का खाएको कालखण्डमा आजको विश्व समाज रहेको छ । त्यसैले यतिबेला यो धक्काका सांगोपांगो कारणहरू केलाएर आन्दोलनको पुनर्समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट विश्व समाज अघि बढ्दैछ । यो चरण वास्तवमा घोर विचलन, सिद्धान्तहीनता, भयंकर धक्का र आत्म समीक्षाको अत्यन्तै गम्भीर र महŒवपूर्ण चरण हो । यो कुरालाई नेपाललगायत विश्वभरिका कम्युनिष्ट तथा वामपार्टीले महसुस गर्नुपर्छ र गर्दै आएका पनि छन् । 

यस सन्दर्भमा केही वर्षअगाडि पोर्चुगलको राजधानी लिस्वनमा विश्वका ६१ देशका ७६ कम्युनिष्ट पार्टीहरूको संयुक्त बैठकले एकमतले के निचोड निकालेका थियो भने ठूलो धक्का खाए पनि वास्तवमा वैज्ञानिक समाजवाद नै पुँजीवादी संकटबाट मुक्तिको विश्वको आजको एकमात्र सही विकल्प हो । तर, विगतमा र अहिले समाजवादी सिद्धान्त र व्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरू दोहो¥याइएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिविधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दामात्र वैज्ञानिक समाजवादका मानवीय, विश्वव्यापी उपलब्धिहरू, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टि गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार त्यो संयुक्त बैठकले खिचेको थियो । 

त्यस बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमुना हुँदैन र त्यो दोहो¥याइरहन मिल्दैन । त्यसो गर्न सकिँदैन पनि भन्ने उल्लेख गर्दै तर समाजवादी क्रान्ति सम्पन्न गर्न, जीवन्त समाजवाद निर्माण र त्यसको सही ढंगले व्यवस्थापन गर्न जनताको अग्रतम र निर्णयक भूमिकालाई सुनिश्चित गरिनुपर्छ र त्यो सम्भव छ र हुन्छ भन्ने कुरालाई विशेषरूपमा, दृढतापूर्वक दोहो¥याएको थियो । वर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षमा विश्वभरिका कम्युनिष्ट तथा श्रमजीवी जन समुदायका साथै साम्राज्यवादविरोधी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरूको ऐक्यबद्धता र पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो जसले वैज्ञानिक समाजवाद एउटा अजेय विकल्प हो भन्ने कुरालाई मूर्त र ठोसरूपमा चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने अर्थपूर्ण निष्कर्ष बैठकले निकालेको थियो । 

यसका लागि विश्वका बदलिदा गतिविधिलाई निरन्तर हेर्ने, केलाउने, परस्पर यस्ता अन्तक्र्रिया गर्ने, विचारहरूको आदानप्रदान गर्ने र समय सापेक्ष र सही क्रान्तिकारी गतिविधिलाई अघि बढाउन हर तरहले लाग्ने प्रतिबद्धता जनाइएको थियो । यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन समयसापेक्ष विभिन्न नीति र विभिन्न कदम अवलम्बन गर्ने र तिनलाई व्यवहारमा खरो उतार्ने महŒवपूर्ण निर्णयसमेत लिएको थियो ।

महान् समाजवादी अक्टोबर क्रान्ति हुनुअघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हे¥यौं भने पनि त्यतिबेला कम्युनिष्टहरू राज्यसत्ता सञ्चालन गर्ने अवस्थामा नपुगेको भए पनि त्यो समय उनीहरूको निमित्त बृहत् बहस, अन्तक्र्रिया र रचनात्मक प्रक्रियाको दृष्टिले अत्यन्तै उर्वर समय थियो । विशेषगरी यस सन्दर्भमा पेरिस कम्युनको असफलतापछिको कालखण्ड कम्युनिष्ट सिद्धान्त र विचारधाराको समृद्धिका निमित्त आदर्शतम काल खण्ड रहेको औंल्याउन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा अरूको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी असल परिपाटी अत्यन्तै प्रबल बनेको थियो ।

त्यतिबेला माक्र्स र एंगेल्सलाई समकालीनले गरेको आलोचनाबाट उनीहरूले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिष्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षडयन्त्रको गन्धसम्म थिएन । माक्र्सवादी नेता कार्यकर्तामा पारदर्शीता, इमानदारीता र जनताप्रति शतत समर्पण त्यो बेलाको प्रष्ट चरित्र र उदात्त स्वाभाव थियो । वास्तवमा लेनिनको नेतृत्वमा भएको अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः यही महŒवपूर्ण विशेषता र वस्तुस्थितिलाई दिइनु सर्वथा उचित हुुन्छ ।

आजका पछिल्ला दिनहरू समग्र विश्व कम्युनिष्ट अन्दोलन र विभिन्न देशका कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट नैतिकता, निष्ठा, इमानदारीता, आचरण र व्यवहारको ठाउँमा जालझेल र षड्यन्त्रले नराम्रोसँग गुँड लाउन र यो आन्दोलनलाई भित्रैबाट कमजोर र खोक्रो बनाउन थाल्यो । जालझेल र षड्यन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिष्ट पाटीका अध्यक्ष माओले आफ्नो जीवनको उत्तरार्धमा पुग्दै गर्दा ‘माक्र्सवादको प्रयोग गर संशोेधनवादको होइन, एकजुट होऊ नफुट, खुला र खुलस्त होऊ, जालझेल र षड्यन्त्र नगर’ भन्ने अत्यन्तै महŒवपूर्ण मार्गदर्शन गरेका र निर्देशन दिएका थिए । 

वास्तबमा यिनै महŒवपूर्ण सारलाई बुझेका तथा विश्व कम्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपाली कम्युनिष्ट आन्दोलनभित्र भित्रिएको जालझेल र षड्यन्त्रको अनुभव बटुलेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले पनि ‘राजनीति जालझेल होइन, वास्तविक वस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड हो’ भन्ने दूरगामी र महŒवपूर्ण निष्कर्ष निकालेका थिए र विभिन्न घटना, परिघटनाबाट सही शिक्षा लिनुपर्ने महŒवपूर्ण सन्देश दिएका थिए । वस्तुतः आज पनि समग्र नेपाली जनआन्दोलनलाई र विशेषतः कम्युनिष्ट आन्दोनललाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउँन यो निष्कर्षको अत्यन्तै ठूलो महŒव छ र रहिरहने छ । देश र जनताको समुन्नति, समानता, समृृद्धि शतत शान्ति चाहने सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी र क्रान्तिकारी लोकतन्त्रवादीहरूले आज यी कुरालाई आत्मसात गर्न र सही दिशामा अघि बढ्न सिक्नु, सक्नु र अग्रसर हुनुको कुनै विकल्प छैन । समयले दिएको सारभूत शिक्षा नै यही हो । 


Views: 97