17th April | 2021 | Saturday | 10:37:46 PM

अहिंसाका पुजारी महेन्द्रनारायण निधि

निनु कर्ण   POSTED ON : फाल्गुन १२, २०७७ (१०:१७ AM)

अहिंसाका पुजारी महेन्द्रनारायण निधि

प्रजातान्त्रिक मुलुक स्थापनार्थको लडाइँमा इतिहास रच्न अग्रणी भूमिका निर्वाह गर्नु भएका प्रजातान्त्रिक योद्धा आदरणीय महेन्द्रनारायण निधिको जन्मस्थल जनकपुरधाम हो । वीरताका अध्यायहरूले भरिएका इतिहास बोकेका नेपाली कांग्रेस पार्टीभित्र तराई मधेस क्षेत्रका ‘देहात’ को एक ‘जमिनदार’ परिवारमा जन्मिनुभएका सिद्धान्त निष्ठ, आदर्शवादी व्यवहार कुशलवादी तथा त्याग र बलिदानबाट उठेका क्रान्तिकारी राजनेता आदरणीय महेन्द्रनारायण निधि मुलुक र जनताबीचमा निर्वाह गर्नुभएका भूमिका सधैं नै बन्दनीय छ अभिनन्दनीय छ । 

निरंगुश जहानियाँ राणा शासनको दासता र निर्दलीय व्यवस्थाका हतकडीरू पनि चुँडाल्दै मुलुक र जनतालाई स्वतन्त्रताको अनुभूति गराउन नेपाली जनताको स्वाभिमान र सम्मानका लागि समर्पित निधिज्यूको भौतिक अवसान हुँदा मधेसका जनता स्तब्ध भएका थिए । 

आदरणीय महेन्द्रनारायण निधि जनकपुरधामको नगराइन गाउँमा विस १९७८ फाल्गुन कृष्णत्रयोदशीका दिन जन्मिनु भएको थिए । तात्कालीन महोत्तरी मौजा नगराइनका जमिन्दार राजेश्वर निधि तथा श्रींगारमणि देवीको कोखबाट माइला पुत्रको रूपमा निधिजीको जन्म भएको थियो । शिक्षा हासिल गर्ने सहज व्यवस्थामा नभएको हुँदा घरमै गुरु शिक्षाको माध्यमबाट सामान्यमात्र औपचारिक शिक्षा हासिल गर्ने अवसर पाए पनि स्वअध्यनकै आधारमा निधिले अनेकौं विषयका ज्ञान हासिल गर्नुभएको थियो । 

उहाँका पिता राजेश्वर निधि शिक्षाप्रेमी हुनुहुन्थ्यो र आफ्नो सम्पति तीन छोरालगायत शैक्षिक संस्था स्थापनार्थ चार भागमा बाँड्नु भएको उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । नगराइनमा राजेश्वर निधि माध्यमिक विद्यालय निधिज्यूकै पहलमा स्थापना भएको हो । 

महेन्द्रनारायण निधिको विवाह १३ वर्षको उमेरमा भारत विहारको सीतामढी जिल्लाको धनाढीवासी मनोहर लाल एवं देवकी देवीकी सुपुत्री प्रेमसागरी देवीसँग विसं १९९३ मा भएको थियो । उहाँहरूका सन्तानको रूपमा दुई छोरा र चारछोरी छन् । सानै उमेरदेखि आयआर्जनतर्फ प्रेरित निधिजी जानकी राइस मिलको मुन्सीको काम गर्नुहुन्थ्यो । तराई क्षेत्रमा कायस्त जातिलाई लेखापढी को जन्मसिद्ध जानकारको रूपमा मानिन्थ्यो त्यसैले प्रायजसो अड्डाअफिसमा लेखनदासको जागिर कायस्त जातिको पक्का नै हुने गर्दथ्यो । त्यही परम्परालाई निरन्तरता दिँदै डिठ्ठा गौरीनारायण गिरीद्वारा सञ्चालित राइस मिलको मुन्सीको जागिर आदरणीय महेन्द्रनारायण निधिज्यूलाई दिएको थियो । 

२००२ सालमा मिलकै कामले काठमाडौं आउनुभएका निधिज्यू राणाशासन कालमा नियमकानुनबाट अनभिज्ञ भएका कारण सिंहदरवार पुतली सडकमा बीचबाटोबाट हिँड्दा दण्डित हुनु र निर्दयी तरिकाले कुटिनु परेको घटनाले नै निधिजीलाई दमनकारी राणाशासनको विरुद्धको लडाइँमा लड्ने प्रेरित गरेको थियो । विसं २००३ सालमा मिलकै कामले पटना पुग्नु भएको बेला बीपी कोइरालाले निरंकुश राणा शासनको समाप्तिका लागि पार्टी संगठन गर्ने अभियानमा आफू लागेको र त्यस कार्यमा सहयोग गर्न भन्नुभएको थियो । 

२००३ साल चैत २७ गते राष्ट्रिय कांग्रेसको विशेष बैठक भारतीय सिमानाका जोगवनीमा हुँदा तात्कालीन कार्यवाहक सभापति मात्रिकाप्रसाद कोइरालाबाट नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिनु भएको थियो । दल प्रतिबन्धित अवस्था भएकाले जनकपुर नजिकको सिमानाकाहरूमा कांग्रेसका शीर्ष नेताहरू संगठन कार्य तीव्र रूपमा बढाउने क्रम थियो । भारतीय सीमाक्षेत्रको महिनाथपुर, उमगाउँ र मधावापुरहरूमा उहाँहरूको सभा सम्मेलन निरन्तर हुने गर्दथ्यो । 

त्यही क्रममा २००४ साल मार्ग ३ गते मटिहानीमा पक्राउ परी उहाँ जेल पर्नुभएको थियो । २ वर्षको जेल जीवनकै क्रममा अस्वस्थ भएपछि त्यही कारणले निधिजीलाई स्वास्थ्योपचारका निम्ति भारत जाने अनुमति दिएको थियो । त्यही क्रममा बैरगनियामा नेपाली कांग्रेसको सम्मेलनमा भाग लिँदै महिनाथपुर क्याम्पबाट सशस्त्र क्रान्तिमा भागलिनुभयो । २००७ सालको क्रान्तिमा जब जनकपुर राणा शासनबाट मुक्त भएको घोषणा भयो त्यस समयमा उहाँलाई जनसरकारको प्रधानमन्त्री बनाइएको थियो । 

२००७ साल फाल्गुन ७ गते राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएपछि निधि २००८ साल सालमा नेपाली कांग्रेस महोत्तरी जिल्लाको सभापतिमा निर्वाचित हुनु भएको थियो । मुलुकमा २००७ सालमा प्रजातन्त्र स्थापनाको घोषणा भए तापनि प्रथम जननिर्वाचन २०१५ सालमामात्र सम्भव भएको थियो । प्रथम आमनिर्वाचनमा क्षेत्र नं. ४३ बाट १०१२० मत प्राप्त गरी विजयी हुनु भएपछि उहाँलाई प्रतिनिधिसभाको उपसभामुख बनाइएको थियो । 

२०१७ साल पुस १ गते संसद र संसदीय सरकार विघटन गरी प्रधानमन्त्री कोइराला, गणेशमान सिंह, रामनारायण मिश्र, सूर्यप्रसाद उपाध्यायसमेतका मन्त्रीहरू र सभामुख कृष्णप्रसाद भट्टराईलाई पक्राउ गरी जेल हलिँदा उहाँलाई पक्राउ गरिएन किनभने राजा महेन्द्रले निधिजीलाई डा. तुलसी गिरीमार्फत आफ्नो कदमको समर्थका लागि प्रयास गरेका थिए । राजाले पुस १२ मा आफ्नो अध्यक्षाको मन्त्रीमण्डलमा मन्त्री बन्न गाडी पठाउँदा पार्टी र सिद्धान्तप्रति प्रतिबद्ध निधि जानु भएन । पुस २२ मा दलमाथि प्रतिबन्ध लागेपछि उहाँ पुस २६ मा पक्राउ पर्नुभयो तर पाँच घण्टापछि छुट्नुभयो । 

केही दिनपछि उहाँ भारतीय निर्वासनमा पुग्योभयो तर निर्वासनको सट्टा आफ्नै गृहनगरमा रही प्रजातन्त्रका लागि संघर्ष गर्ने प्रेरणा जाग्यो । २०१८ कात्तिक २६ गते जनकपुर रेल्वे स्टेसनमा नेपाली कांग्रेसको चारतारे झण्डा फहराउँदै सहकर्मी बलराम नायक र निधिजी इन्कलाव जिन्दावादको नारा लगाउँदै जानकी मन्दिर पुगेपछि फेरि पक्राउ पर्नुभएको थियो । यसरी २०४६ सालको जनआन्दोलनसम्म निरन्तर निधिज्यू प्रजातन्त्र प्राप्तिमा निरन्तर लागिरहनुभयो । 

राजनीतिक संघर्षको कारणले उहाँले पवरिवारलाई समय दिन भ्याउनु भएन । तर, उहाँकी पत्नी प्रेमसागरी निधिले सबै व्यवहार सम्हाल्नु भएको थियो । पछिल्ला समय उहाँका छोरा विमलेन्द्र निधिले उहाँको राजनीतिक यात्रामा सहयोग पु¥याउनुभयो । 

महेन्द्रनारायण निधि आदर्शवादी एवं निष्ठावान व्यक्तित्व हुनुहुन्थ्यो, उहाँ प्रखर वक्ताको रूपमा परिचित हुनुहुन्थ्यो । सत्य र अहिंसाको पुजारी हुनुहुन्थ्यो । समाजमा शिक्षा, स्वास्थ्य तथा सिँचाइसम्बन्धी विकासमा निधिको भूमिका अविस्मरीणय छ । कृषि कार्यलाई प्राथमिकता दिएर हरबखत आफ्नो गृहनगरको कृषि क्षेत्रमा उचित व्यवस्थापन गर्ने प्रयास गर्नुहुन्थ्यो । उहाँको खानपान तथा पहिरन सदैव सामान्य रहृयो । आफ्नो काम आफैं गर्ने बानी थियो उहाँको । जातभात, धनीगरिब तथा महिलापुरुष जस्ता विभेदको उहाँविरोधी हुनुहुन्थ्यो । धार्मिक र सांस्कृतिक मूल्य मान्यतालाई सदैव महŒव दिनुहुन्थ्यो । आदि शक्तिदेवीको अराधना तथा पूजार्चनामा आफ्नो केही समय बिताउने उहाँको दैनिकी थियो । कूलदेवी ज्वालामुखीको पूजा पाठ गर्नुहुन्थ्यो । 

तराई मधेसमा केही समयदेखि विभेदपूर्ण भावनाको कुरा सुन्दा निधिजी जस्ता नेताको अभाव खट्किरहेको अनुभूति स्थानीय समाजले गरेको छ । जातीयता र क्षेत्रीयताको भुँमरीमा मधेस फस्तै गएको छ । उहाँका विचार अनमोल छन् । त्यसैले महेन्नारायण निधिको ९९औं जन्मजयन्ती मनाउँदै गर्दा एक असल र नैतिकवान बन्ने प्रेरणा सबैमा मिलोस् । 

सुगा, महोत्तरी । 


Views: 303