18th April | 2021 | Sunday | 12:03:40 AM

अहिंसाका पुजारी महेन्द्रनारायण निधि

रामचन्द्र घिमिरे   POSTED ON : फाल्गुन १३, २०७७ (९:१४ AM)

अहिंसाका पुजारी महेन्द्रनारायण निधि

आज महेन्द्रनारायण निधिको जन्म जयन्ती हो । महेन्द्रनारायण निधिको जन्म १९७८ साल फागुन १३ गते धनुषाको नगराइनमा भएको थियो । गान्धीवादी नेता महेन्द्रनारायण निधिले २०५६ वैशाख २१ मा हामीबीचबाट बिदा लिनुभयो । जीवनका कठिन क्षणमा सत्याग्रही आन्दोलनलाई प्राथमिकता दिएर उहाँले आफ्नो संघर्षलाई निष्ठाको राजनीतिसँग सधैं जोडिरहनुभयो । 

महेन्द्रनारायण निधि २०५१ सालमा नेपाली कांग्रेसको महामन्त्री बन्नु भएको थियो । यसपछि चुनावी राजनीतिबाट उहाँ अलगिनु भएको थियो । यसपछि निधिले जनकपुर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महŒवको सम्पदा संरक्षण संबद्र्धन गर्न लाग्नुभयोे । २०५३ सालमा स्थापना गरिएको ‘बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्’ को संस्थापक अध्यक्षका रूपमा महेन्द्रनारयाण निधिले काम गर्नु भएको थियो । 

महात्मा गान्धीबाट अत्यन्तै प्रभावित महेन्द्रनारायण निधिले २००३ सालबाट राष्ट्रिय कांग्रेसमा आबद्ध भएर काम गर्नुभएको थियो । उहाँले जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । २००७ सालको क्रान्तिमा युवाहरूलाई संगठित गर्दै किर्तनीया मण्डली निर्माण गरेर गाउँगाउँमा भजन र कीर्तनले राणाविरोधी गतिविधि सञ्चालन गर्नुभएको थियो । त्यस समयमा महेन्द्रनारायण निधिलाई पार्टीले महोत्तरी जिल्ला हालको जनकपुर, महोत्तरी, सर्लाही क्षेत्रको ‘जनसरकार प्रधानमन्त्री’ बनाएर पनि पठाएको थियो ।

२००८ सालमा तत्कालीन महोत्तरी जिल्ला नेपाली कांग्रेसको महेन्द्रनारायण निधि सभापति बन्नु भएको थियो । २०१५ सालको चुनावमा महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । त्यो संसदको उहाँ उपसभामुख हुनुहुन्थ्यो । २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि निधि भारतमा निर्वासित जीवन बिताउन बाध्य हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेलजीवन बिताउन बाध्य निधिले १० वर्ष जेल जीवन व्यथित गर्नुभएको थियो । 

अहिंसाका पक्षपाती महेन्द्रनारायण निधिले नेपाली कांग्रेसले २०१८ साल र २०३१ सालमा गरेको सशस्त्र संघर्षको खुलेर विरोध गर्नुभएको थियो । तर पनि उहाँले पार्टीले अघि बढाएका अन्य सत्याग्रह, शान्तिपूर्ण आन्दोलनमा सधैं सक्रिय रहेर काम गर्नुभयो । निधिले २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । २०४६ सालको जनआन्दोलन सफल भएपछि उहाँ अन्तरिम सरकारमा जलस्रोत र स्थानीय विकासमन्त्री बन्नुभएको थियो ।

लोकतन्त्र पुनःस्थापनापछि २०४८ सालको चुनावमा आफ्नै गृहजिल्ला धनुषाको निर्वाच क्षेत्र नम्बर ४ बाट विजयी हुनुभएको थियो । २०५१ सालको मध्यावधि चुनावपछि उहाँ चुनावी राजनीतिबाट अलग हुुनु भयो । शान्ति र अहिंसाका पुजारी महेन्द्रनारायण निधिले सधैं देश र जनताको उन्नतिका लागि आफूलाई निरन्तर अग्रसर भने बनाइरहनुभयो । 

नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिबाट आफूलाई अलग राख्नु हुने महेन्द्रनारायण निधिले कहिले कृष्णप्रसाद भट्टराईले गर्नु भएको निर्णयको विरोध गर्नुभयो भने कहिले गिरिजाप्रसाद कोइरालाले गर्नुभएको निर्णयको विरोध गर्नुभयो । आफ्नो विचारमा स्पष्ट निधि विधि र लोकसम्मत्तिलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो । 

नेपाली कांग्रेसले २०३० सालमा गरेको प्लेन अपहरणको महेन्द्रनारायण निधिले खुलेर विरोध गर्नुभयो । विषय र निर्णयलाई मसिनो गरी हेर्ने उहाँको बानी थियो । पार्टीप्रतिको एक निष्ठ भाव राख्ने नेताका कारण ती कठिन वर्षहरूमा पनि उहाँ निरन्तर संघर्षमा अघि बढिरहन सम्भव भयो ।

मुलुकमा लोकतन्त्र स्थापना र अन्यायविरुद्ध निरन्तर संघर्ष गरिरहनु परेपनि निधिले कहिल्यै हिंसात्मक आन्दोलन रुचाउनु भएन । लोकतन्त्र र जनअधिकार शान्तिपूर्ण आन्दोलनबाट प्राप्त हुन्छ भन्ने दृढ इच्छा शक्ति थियो । उहाँ भन्ने गर्नुहुन्थ्यो, हिंसाको आन्दोलनले ल्याएको परिणाम स्थायी हुँदैन, त्यसले समाज परिवर्तन गर्न सक्दैन । शान्तिपूर्ण आन्दोलन धिमा गतिको हुन्छ तर यसले समाज परिवर्तन गर्छ, व्यक्तिलाई आफ्नो अधिकारको ज्ञान हुन्छ । यसरी मानिसलाई उहाँ प्रेरित गर्नुहुन्थ्यो ।

गान्धीवादी दर्शनका प्रचारक महेन्द्रनारायण निधिका बारेमा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलेसमेत जनकपुरमा आएर उहाँको स्मरण गर्दै भन्नुभएको थियो । २०७३ कात्तिक १९ मा जनकपुर आउँदा मुखर्जीले भन्नुभएको थियो ‘म बाल्यकालदेखि जब विद्यालयमा पढ्ने गर्थें तबदेखि स्वर्गीय महेन्द्रनारायण निधिको कार्यक्रमदेखि पूरा अवगत थिएँ । उहाँ महान् नेपाली नेतामात्र हुनुह्ुन्थेन बल्की आफ्नो जीवन र राजनीतिक दर्शनमा अत्यन्तै निष्ठावान र गान्धीवादी पनि हुनुहुन्थ्यो । यस अवसरमा म उहाँलाई गान्धीवादी र गान्धी दर्शनको प्रचारमा उहाँको महŒवपूर्ण योगदानलाई स्मरण गर्दै उहाँको सिद्धिलाई सादर नमन गर्दछु ।’ यसरी महेन्द्रनारायण निधि आफ्नो पथ आफैं बनाएर हिँड्नसक्ने नेपाली कांग्रेसका एक नक्षत्रकै रूपमा अहिले पनि उदाइरहनु भएको छ ।

महेन्द्रनारायण निधिको लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्त अटल थियो । यसै कारण राजनीतिमा उहाँ सबैका लागि प्रेरणाको स्रोत पनि हुनुहुन्छ । पछिल्लो समय महेन्द्रनारायण स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्वहरूको विकास र प्रेरणाका लागि स्वास्थ्य शिविर, सम्मान र पुरस्कारको व्यवस्था गरेर समाज र महेन्द्रनारायण निधिलाई जीवन्त राख्ने काम गरेको छ । 

महेन्द्रनारायण निधिको अर्को मान्यता थियो राजनीति परिवारका लागि होइन । समाज रूपान्तरणका लागि खरो उत्रनसक्ने निधिले आफ्नो परिवार, सन्तानका लागि कहिल्यै कसैलाई केही भन्न चाहनु भएन । आन्दोलनमा सरिक भएका छोरालाई प्रशासनले जिम्मा लिनभन्दा आफ्नो जिम्मा म आफैं लिन सक्दिन भने छोराको जिम्मा कसरी लिने भनेर जवाफ दिनुभएको थियो । 

निधिको निष्ठा, सर्मपर्णको राजनीतिबाट अहिलेको नयाँ पुस्ताले शिक्षा लिनुपर्दछ । उहाँले नेपाली कांग्रेसको पार्टी विधानलाई सर्वोपरि मान्नुभयो । पार्टी विधानविपरीत भए गरेका काममा सधैं औंला ठड्याउनुभयो । समकक्षी नेताहरूले गरेका निर्णयमा चित्त नबुझ्दा आफ्ना धारणा खुलेआम राख्नुभयो । नैतिकता, इमानदारीता र प्रतिबद्धता महेन्द्रनारायण निधिको पर्यायवाची बनेका छन् । 

नेपाली कांग्रेसको स्थापनादेखि कांग्रेसलाई जनताको बीचमा पु¥याएर जनतालाई गोलबद्ध गर्दै अधिकार र परिवर्तनका लागि प्रेरणादायी भूमिका खेल्ने निधि साधा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसभित्र मात्र होइन बाहिर पनि गान्धीवादी छवि हासिल गर्नुभएको एक सशक्त व्यक्तित्व हुनुहुन्थ्यो । नेपालमा पछिल्लो समय देखिएको राजनीतिक सन्दर्भमा महेन्द्रनारायण निधिले अपनाउनु भएको शैली सबैले अनुसरण गर्नु अति आवश्यक भएको छ । 


Views: 147