18th April | 2021 | Sunday | 12:14:19 AM

दिग्भ्रान्त समाजका लागि पथप्रदर्शक लोकार्पित शोधप्रबन्धको सर्वेक्षण

उमेशप्रसाद घिमिरे   POSTED ON : फाल्गुन १३, २०७७ (९:२० AM)

दिग्भ्रान्त समाजका लागि पथप्रदर्शक लोकार्पित शोधप्रबन्धको सर्वेक्षण

आलेखात्मक पूर्वपीठिका तथा विषय प्रवेश  

विश्वकै ज्येष्ठ, श्रेष्ठ र विशिष्ट पौरस्त्य सभ्यता तथा धर्मसंस्कृतिको उद्गमस्थल तथा साधनास्थल हो नेपाल । सृष्टिप्रक्रियाको सुरुवातदेखि नै मानवीय जीवन सार्थक तथा प्रयोजनपूर्ण बनाउने उद्देश्यले हाम्रा पूर्वज ऋषिमहर्षिले निकै चिन्तन, मनन, अनुसन्धान गरेका छन्, जसको परिणाम हो वैदिक वाङ्मयको आविर्भाव । ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद गरी चार वेद आविर्भूत भए । वेदको एउटा एउटा मन्त्र प्रत्येक ऋषिमहर्षिको जीवनभरको अनुसन्धान हो । त्यस मन्त्रको दर्शन र साक्षात्कारका लागि एकएक ऋषिले जीवन समर्पित गरेका छन् । 

श्रवण, मनन, निदिध्यासनको प्रक्रियाद्वारा गरिएको प्राच्य ऋषिमहर्षिको शोधअनुसन्धानकै परिणति हो वैदिक वाङ्मय । प्राचीनकालदेखि आजसम्म पनि संस्कृतभाषा वाङ्मय तथा वैदिक धर्मदर्शनअन्तर्गत थुप्रै महŒवपूर्ण शोध अनुसन्धान हुँदै आएका छन् । जसले विश्वलाई नै ‘उत्तिष्ठत जाग्रत भन्दै जागरणको सन्देश फैलाएका छन् । त्यसैले त कविवर माधवप्रसाद घिमिरे आफ्नो कवितामा लेख्नुहुन्छ ः ब्युझौँला कहाँ पूर्वको पैलो उज्यालै नरहे ।

अविनाशी ज्ञानराशि वेदद्वारा निर्दिष्ट धर्म भएकाले पौरस्त्य धर्म सनातन धर्म हो । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः को आदर्शलाई आत्मसाथ गर्ने भएकाले वैदिक धर्म वैश्विक धर्म हो । सबै प्राणीमात्रको कल्याण चाहने भएकाले यो धर्म प्राणीमात्रको धर्म हो । धर्म भनेको स्वभाव हो, आचरण हो, धारण हो र जीवनपद्धति पनि हो । प्राणीमध्ये मानव चेतनशील एवं विवेकशील प्राणी भएकाले वैदिक वाङ्मयले विशेषगरी मानवमात्रलाई जीवन सुधारका लागि पथप्रदर्शन गरेको छ । वेदले साक्षात् निर्देश गरेको धर्मलाई श्रौतधर्म र वेदानुकूल पुराणादि स्मृतिशास्त्रले प्रतिपादन गरेको धर्मलाई स्मार्तधर्म भनिन्छ । 

जीव, जगत् र ईश्वरको अन्तरसम्बन्धलाई जोड्ने सूत्र वा माध्यम भनेकै धर्म हो । वैदिक वाङ्मयले बताएको धर्म, अर्थ, काम, मोक्ष जस्ता मानवजीवनका चार पुरुषार्थमध्ये पहिलो पुरुषार्थ नै धर्म हो । धर्म नै अन्य पुरुषार्थ प्राप्तिका लागि पहिलो सिँढी वा प्रथम सोपान हो । ‘धर्मेण हीनाः पशुभिः समानाः’ भनेर धर्मविहीन मनुष्यलाई पशुसँग तुलना गरिएको छ । त्यसैले धर्मलाई मानवीय जीवन पद्धतिसँग गाँसेर हेर्ने गरिन्छ । धर्मले मानवीय जीवनलाई अनुशासित, व्यवस्थित तथा सुरक्षित बनाउने भएकाले जीवनको सार्थकताका लागि धर्मको आवश्यकता, अपरिहार्यता एवं उपादेयता सिद्ध हुन्छ । 

श्रीमद्भगवद् गीतामा ‘धर्मसंस्थापनार्थाय संभवामि युगे युगे’ भनेर यही वैदिक धर्मको संस्थापनका लागि समय समयमा आफ्नो प्राकट्य एवं उपस्थिति रहनेछ भन्ने भगवान्बाट प्रतिज्ञा नै भएको देखिन्छ । त्यसैअनुसार धर्मको स्थापना, संरक्षण, प्रचारप्रसार गर्ने उद्देश्यले कहिले आफैं अवतरित हुँदै र कहिलेकहीँ आफ्ना प्रतिनिधिपात्रका माध्यमले स्वकीय प्रतिज्ञा पूरा गर्दै आएको देखिन्छ । भगवानद्वारा प्रेषित त्यस्तै महान् प्रतिनिधि पात्रहरूको शृंखलामा देखापरेका विद्वान् मनिषी हुनुहुन्छ प्राडा. राधाकृष्ण अधिकारीज्यू ।

प्राडा.राधाकृष्ण अधिकारीको जीवनी, व्यक्तित्व र कृतित्व  

विसं १९९२ चैत २२ मा पवित्रतम गण्डकी प्रदेशमा अवस्थित कास्की जिल्लाको मादी ९, गोर्जे गाउँमा जन्मिनुभएका अधिकारीज्यूको विसं २०६४ मंसिर ४ मा कोटेश्वर, काष्ठमण्डपमा भौतिक अवसान हुन्छ । कीर्तिशेष गुरुवर अनुसन्धानमूलक योगदानका कारणले सदासर्वदा जीवन्त हुनुहुन्छ, अमर हुनुहुन्छ । उहाँका कृतिले उहाँलाई त अमर बनाएका छन् नै त्यसले समस्त मानवसमुदायलाई धर्माचरण तथा धर्मसंस्कृतिको संरक्षणका लागि घच्घच्याई रहेका छन् । उहाँको भौतिक समुपस्थिति तथा सान्निध्यमा शिष्यत्व ग्रहण गर्न नपाएका हामीजस्ता अनेकौं शिष्यको हृदयलाई समेत धर्मप्राण गुरुवरले धर्माचरण एवं समाजोपयोगी महŒवपूर्ण अनुसन्धानका लागि सर्वदैव प्रेरित गर्नुहुनेछ । त्यसैले त गुरुवरका लागि यो सूक्ति सार्थक हुन्छ ः ‘कीर्तिर्यस्य स जीवति’ ।

आफ्नै पिताजी मुखिया रामकृष्ण अधिकारीद्वारा आफ्नै घरमा सञ्चालित संस्कृत पाठशाला (गुरुकुल र पिँढी शिक्षा) बाट अक्षरारम्भ तथा प्रारम्भिक शिक्षा हासिल गर्नुभएका राधाकृष्ण अधिकारीज्यूले वाराणसेय संस्कृत विश्वविद्यालय, वनारसबाट धर्मशास्त्राचार्य (सन्ज्ञढटद्ध) र साहित्याचार्य (सन् १९६९) को उपाधि हासिल गर्दै उच्चशिक्षा ग्रहण गरेको पाइन्छ । अध्ययनपश्चात् अध्यापन कार्यमा संलग्न गुरुवरले स्वाध्यायप्रवचनाभ्याम् न प्रमदितव्यम्, तद्धि तपः, तद्धि तपः (तैत्तिरीय उपनिषद) को वेदानुशासनलाई जीवनमा पूर्णतः आत्मसात् गरेको पाइन्छ । 

सन् १९६४ बाट वनारसमा रहेको नेपाली संस्कृत महाविद्यालयबाट अध्यापन जीवन सुरु गर्नुभएका गुरुवर पछि आफ्नै देशमा शिक्षाको ज्योति फिँजाउने चाहनाबमोजिम नेपाल आउनुभएको र संस्कृत प्रधान पाठशाला रानीपोखरी, काष्ठमण्डपमा माध्यमिक शिक्षकका रूपमा दुई वर्ष (२०२२–२०२४) अध्यापन गरेर २०२४ देखि उपप्राध्यापकका रूपमा नियुक्त भई त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न लागेको देखिन्छ । 

तत्कालीन त्रिविअन्तर्गतको वाल्मीकि क्याम्पसमा सहप्राध्यापक (२०३६) हुँदै गुरुवर विसं २०४९ मा मसंविबाट ‘धर्मशास्त्रं सामाजिक व्यवस्थायाः साधनम्’ शीर्षकमा विद्यावारिधिको उपाधि ग्रहण गरी स्वकीय औपचारिक अध्ययनको पूर्णता दिन सफल हुनुभएको र पछि तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय (नेसंवि) को प्राध्यापक (२०५२) समेत बन्नुभएको तथ्यबाट उहाँको अध्ययनशील तथा प्राज्ञिक व्यक्तित्व स्वतः झल्किन्छ । 

मनुस्मृति, मीमांसा परिभाषा जस्ता धर्मशास्त्रीय ग्रन्थहरूको भाषानुवाद, नेपाली संस्कृतिमा धार्मिक पर्वविमर्श जस्तो अनुसन्धानत्मक ग्रन्थ, अनुसन्धानात्मक तथा व्यवहारोपयोगी लेखहरूको संग्रह धार्मिक विज्ञान र सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र विद्यावारिधि शोधपत्रलगायत महŒवपूर्ण लेखरचना तथा ग्रन्थलेखनका माध्यमले संस्कृत र संस्कृतिको सेवा, नेपाली भाषावाङ्मयको आध्यात्मिक क्षेत्र तथा नेपाली आध्यात्मिक समाजमा महŒवपूर्ण योगदान पु¥याउनुभएका गुरुवर पौरस्त्य धर्मदर्शनका क्षेत्रमा प्रामाणिक विद्वान् तथा आधिकारिक धर्मशास्त्रीका रूपमा सर्वदैव अमर रहनुभएको छ । 

अध्ययन–अध्यापनका क्षेत्रमा नित्यनिरन्तर लागिरहने ज्ञाननिष्ठ एवम् अथक अध्येता, अनुसन्धाता, पाण्डित्यपूर्ण शास्त्रीय लेखरचना, अप्रतिम प्राज्ञव्यक्तित्व तथा अपरिमित प्रशासनिक क्षमता आदि बहुमुखी प्रतिभापुञ्ज राधाकृष्ण अधिकारी महेन्द्र विद्याभूषण पदक (२०२१ र २०५४), श्रीमती गंगामनी स्वर्णपदक (सन् १९६४ स भारत), शिक्षा पुरस्कार (२०५६), दीर्घसेवा पदक (२०५७) आदि राष्ट्रिय तथा अन्ताराष्ट्र्रिय पदक, सम्मान तथा पुरस्कारद्वारा विभूषित हुनुहुन्छ । अझ ती ती पुरस्कार र पदकभन्दा बढी अखिल भारत (नेपाल–भारत) का संस्कृतसेवी विद्वज्जन तथा शिष्यगणका मानसपटलमा स्थापित तथा सम्मानित रहनुभएको छ । 

सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र कृतिको लोकार्पण 

गुरुवरद्वारा अनुसन्धित कृतिहरूमध्ये सर्वोत्तम लोकोपयोगी ग्रन्थरत्नका रूपमा सामाजिक व्यवस्थाका लागि धर्मशास्त्र शीर्षकको अनुसन्धानात्मक ग्रन्थ रहेको छ । यो ग्रन्थ विद्यावारिधि उपाधिका लागि संस्कृतमा तयार पारिएको धर्मशास्त्रं सामाजिक व्यवस्थायाः साधनम् शोधग्रन्थ हो । जसलाई नेपाली भाषामा अनुवाद गरी अधिकारी परिवारले भर्खरै बजारमा ल्याएको छ । पुस्तकलाई बिक्री गर्न हुँदैन भन्ने अनुसन्धाता र पिताज्यूको शुभेच्छालाई शिरोपर गर्दै अधिकारी परिवारले निःशुल्क रूपमा समस्त पाठकलाई समर्पण गरेको छ । 

त्यसैले यस मूल्यरहित अमूल्य कृतिको प्राप्ति गर्ने सुअवसर आलेखका रचयितासहित लोकार्पण सभामा समुपस्थित समस्त पाठकलाई मिलेको छ । मिति २०७७ साल माघ ४ गते सरस्वतीपूजाका पावन अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल शास्त्रीको प्रमुख आतिथ्य, नेकाकै शालीन तथा भद्र नेता नवीन्द्रराज जोशीको सभापतित्व तथा लोकार्पित ग्रन्थ संस्कृत शोधप्रबन्धकका भाषानुवादक तथा सम्पादक प्राडा.नुरापति पोखरेल, नेकाकै विशिष्ट नेता तथा पूर्वसभामुख तारानाथ रानाभाट, नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङ, नेपाली कांग्र्रेस प्रशिक्षण विभागका सभापति तथा वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल, कार्यक्रमका कुशल सञ्चालक एवं भूमिका लेखक र समालोचक प्राडा. भागवत ढकाल, अनुसन्धाता राधाकृष्ण अधिकारी गुरुवरकी धर्मपत्नी सरस्वती गुरुमातालगायत संस्कृत समुपासक सयौं विद्वज्जन तथा नेपाली राजनीतिका स्थापित नेतृत्वगण र प्रशस्त पत्रकारजनको विशेष समुपस्थिति वा सहभागितामा सम्पन्न भव्य, सभ्य र दिव्य समारोहबीच सार्वजनिकीकरण गरिएको ‘सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र’ शीर्षक ग्रन्थ आजको युगमा अनुकरणीय, अनुशीलनीय, अतुलनीय, अनुसरणीय तथा अद्वितीय ग्रन्थरत्नका रूपमा सभामा समुपस्थित समस्त समादरणीय वक्तागण तथा विद्वज्जनले मूल्यंकन गर्नुभयो । वन्दनीय गुरुवरद्वारा लिखित प्रस्तुत (लोकार्पित) ग्रन्थको संक्षेपमा सर्वेक्षणात्मक समीक्षण (कृति समीक्षा गर्ने प्रयास यस लघु आलेखमा गरिन्छ ।

शोधग्रन्थको बाहृयस्वरूप (संरचनात्मक आयाम) 

एफो साइजको ६ सय ८० पृष्ठमा विस्तृत प्रस्तुत ग्रन्थ विपुल र महŒवपूर्ण विषयवस्तु प्रतिपादनका दृष्टिले अझ गहन बनेको छ । अग्रभागअन्तर्गत १. नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङज्यूको लेखक अधिकारीज्यूको व्यक्तित्व प्रकाशक शुभाशंसा मन्तव्य, २. ग्रन्थका प्रकाशक सहप्रा. शान्तिकृष्ण अधिकारीज्यू एवं उपप्रा.वसन्ती आचार्यज्यूको कृतज्ञताज्ञापक प्रकाशकीय मन्तव्य, ३. अनुवादक तथा सम्पादक प्राडा. नुरापति पोखरेलज्यूको लेखक व्यक्तित्व तथा प्रकाशित कृतिको अनुसन्धानमूलकत्व प्रतिपादक गहन सम्पादकीय मन्तव्य, ४. गुरुवर अधिकारीज्यूका शिष्य तथा प्राज्ञिक व्यक्तित्व प्राडा. गोविन्दप्रसाद आचार्यज्यूको ग्रन्थप्रतिपाद्य विषयवस्तु तथा गुरुवरको ज्ञाननिष्ठा प्रतिपादक ‘श्रेयःप्राप्तिका निमित्त प्रेरक धर्म’ शीर्षकको महŒवपूर्ण भूमिका र ५. नेपाली भाषा साहित्य समालोचना क्षेत्रका सुपरिचित समालोचक प्राडा.भागवत ढकालज्यूको ‘प्रकाशित ग्रन्थको महŒवाधायक धर्मशास्त्रीय समाजका उन्नायक प्राडा. राधाकृष्ण अधिकारी’ शीर्षकको महŒवपूर्ण तथा गहन भूमिका लेखनले ग्रन्थका २८ पृष्ठ सुशोभित छन् ।

पुनश्च अग्रभाग (२) मै १. निर्देशक सम्मति, २. विशेषज्ञ सम्मति, ३. अनुसन्धान प्रबन्धसार, ४. कृतज्ञताज्ञापन, ५.भूमिका र ६.संक्षिप्त संकेतसूची जस्ता सामग्रीद्वारा २६ पृष्ठ खपत भएका छन् ।

त्यसैगरी जम्मा ६ सय २४ पृष्ठमा ‘धर्मशास्त्रं सामाजिक व्यवस्थायाः साधनम्’ (सामाजिक व्यवस्थाको साधन धर्मशास्त्र) विषयक शोधप्रबन्धको मूलभाग (संस्कृत मूलभाग र नेपाली अनुवाद) रहेको छ । जसअन्तर्गत १. प्रथमाध्याय पृ. १ देखि पृ. ३८ सम्म (३८), २. द्वितीयाध्याय पृ. ३९ देखि पृ.२२७ सम्म (१८८), ३. तृतीयाध्याय पृ. २२८ देखि पृ. ३४८ सम्म (१२०), ४. चतुर्थाध्याय पृ. ३४९ देखि पृ. ५६६ सम्म (२१७), पञ्चमाध्याय पृ. ५६७ देखि पृ. ५८८ सम्म (२१) अनि प्रमाणग्रन्थका रूपमा उपस्थापित मूल एवं टीकाग्रन्थको परिचयात्मक विवरण भाग पृ. ५८९ देखि पृ. ६१७ (२८) तथा सन्दर्भग्रन्थसूची अन्तर्गत पृ.६१८ देखि पृ. ६२४ सम्म (६) गरी जम्मा ६२४ पृष्ठ र अग्रभाग १ का २८ पृष्ठ अनि अग्रभागकै २४ पृष्ठसमेत संयोजन गर्दा पूर्ण ग्रन्थ ६७८ पृष्ठका साथै भित्री आवरण पृष्ठ दुईसमेत (लेखक दम्पतीको छविचित्र, वंशावली तथा लेखक परिचय आदि समेटिएका बाहृय आवरण पृष्ठबाहेक) गणना गर्दा जम्मा ६ सय ८० पृष्ठकै विपुल बाहृय आयाममा सम्पूर्ण ग्रन्थ विस्तारित तथा संरचित देखिन्छ ।

शोधग्रन्थमा प्रतिपादित प्रमुख विषयवस्तुको प्रस्तुति  

विद्यावारिधि उपाधि सम्प्राप्तिका लागि प्रबन्धित पाँच अध्यायमा विस्तारित शोधग्रन्थमा धर्मशास्त्र सामाजिक व्यवस्थाको साधन हो भन्ने तथ्य पुष्टि गरिएको छ । प्रबन्धमा वर्णित मुख्य विषयवस्तुलाई निम्नानुसार संक्षेपमा संकेतमात्र गरिन्छ ः

१. पहिलो अध्यायमा धर्मशास्त्रलाई साधन र सामाजिक व्यवस्थालाई साध्यका रूपमा वर्णन गरिएको छ । शोधप्रबन्धको परिचय खण्डका रूपमा विद्यमान यस प्रथम अध्यायमा सनातन धर्मको स्वरूप, धर्मको प्रकार, वैदिक धर्म र स्मार्त धर्म आदिको विशदरूपमा वर्णन गरिएको छ । धर्मरूप साधनद्वारा सामाजिक व्यवस्थारूप साध्यको सिद्धि हुन्छ भन्ने नै यस अध्यायको निष्कर्ष छ । 

२. दोस्रो अध्यायलाई प्रमेय (निरूपणाध्याय भनिएको छ र धर्मशास्त्रद्वारा व्यवस्थापन गरिने सामाजिक व्यवस्थालाई प्रमेयका रूपमा उपस्थापन गरिएको छ । अध्यायको आरम्भमा यौवन, धनसम्पत्ति, प्रभुता, अविवेकिता, अज्ञानता र इन्द्रियनिग्रहाभाव समाजमा अव्यवस्था उत्पन्न गराउने साधन हुन् भन्ने यथार्थ प्रतिपादन गर्दै तिनलाई नियन्त्रण गर्न प्रत्यक्षात्मक राजदण्ड र अप्रत्यक्षत्मक धर्मदण्डको अपरिहार्यता निर्देश गरिएको छ । त्यसैले यस अध्यायमा विशेषगरी धर्मदण्ड (पारलौकिक) र राजदण्ड (इहलौकिक) का सम्बन्धमा चर्चा गरिएको छ । यसैको क्रमिकता वा निरन्तरता पछिल्ला अध्यायहरू (३ र ४) मा पाइन्छ । 

हिन्दूधर्म संस्कृतिमा गर्भाधानदेखि मृत्युपर्यन्त विविध संस्कारहरू गरिन्छन् । गर्भाधानदेखि व्रतबन्धसम्मका संस्कारलाई दोष परिमार्जनपरक संस्कार र अन्य संस्कारलाई वैशिष्ट्योत्पादक र गुणाधान संस्कार र स्वस्त्ययनरकल्याणकारक संस्कार गरी संस्कारका त्रिविधताको परिचर्चा गरिएको छ । सबै प्रकारका संस्कारले आसुरी प्रवृत्ति (नकारात्मक भाव) निवारणपूर्वक दैवी गुण (सकारात्मक प्रवृत्ति) को विकास गर्ने निष्कर्ष निकालिएको छ । सबै संस्कार विशेष हुँदाहुँदै पनि व्रतबन्ध र विवाह संस्कार विशेष महŒवपूर्ण भएकाले व्रतबन्ध र विवाहमा विशेष ध्यान दिनु जरुरी हुन्छ भन्ने निष्कर्ष तथा लेखकीय अभिमत प्राप्त हुन्छ ।

३. तृतीयाध्यायमा राजदण्ड र धर्मदण्डमध्ये धर्मदण्डमा निहित सामाजिक व्यवस्थाको स्थापक तŒवको सम्यक् प्रतिपादन गरिएको छ । यसमा हाम्रो समाज वर्णाश्रम व्यवस्थामा आश्रित भएकाले वर्णाश्रम व्यवस्थालाई संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हुन्छ भन्ने बताइएको छ । समाजको व्यवस्थाका लागि दण्ड अपरिहार्य हुन्छ । दण्डकै भयले समाजका व्यक्तिहरू आआफ्ना कर्ममा संलग्न हुने र आपराधिक क्रियाकलापबाट विमुख हुने गर्दछन् भन्दै दण्डसजायको अभावमा समाज अस्तव्यस्त तथा भयावह बन्ने निष्कर्ष निकालिएको छ । 

त्यसैगरी गृहस्थका लागि देवहवनादिरूप देवयज्ञ, काग कुकुर गाई आदि प्राणीलाई भोजनप्रदानरूप भूतयज्ञ, पितृप्रति श्रद्धार्पित पिण्डतर्पणादिरूप पितृयज्ञ, अतिथिसत्काररूप मनुष्ययज्ञ र शास्त्रहरूको अध्ययन अध्यापनरूप ऋषियज्ञ जस्ता पञ्चमहायज्ञको अनुष्ठान अनिवार्य हुन्छन् भनिएको छ । यी पञ्चमहायज्ञहरू हरेक गृहस्थले नियमितरूपमा सम्पादन गर्नुपर्छ । धर्मानुष्ठानरूप यी कर्म सम्पादनद्वारा चित्तशुद्धि हुने भएकाले साक्षात् नभए पनि परम्परया मुक्तिको साधन कर्म हुन्छ भन्ने बताइएको छ । तसर्थ यश तृतीयाध्यायमा अनुसन्धाताबाट हाम्रा धर्मप्राण पूर्वज ऋषिमहर्षिद्वारा विधान गरिएका कर्म, अनुष्ठान, विधिनिषेधादि नीतिनियम सबै लोककल्याणकारी रहेको निष्कर्ष निकालिएको छ ।

४.चतुर्थाध्यायमा राजदण्डरूप धर्मलाई समाजको व्यवस्थापकका रूपमा विशद वर्णन गरिएको छ । कुनै पनि विवाद तथा झगडालाई कसरी समाधान दिने भन्ने विषयमा शास्त्रीय विवेचन गरिएको छ । त्यसअन्तर्गत कुनै विवादास्पद कुरालाई चार तरिकाले समाधान दिनुपर्छ ः १. समस्या निराकरणका लागि पहिलो उपाय धर्म हो, २. विवाद निवारणको दोस्रो उपाय व्यवहार हो, ३. विवाद समाधानार्थ तेस्रो उपाय चरित्र हो र ४. विवाद निराकरणार्थ चौथो उपाय राजशासन हो । दण्डव्यवस्थाको विशेषता प्रतिपादन गर्दै राजधर्मलाई सबै प्रकारका धर्महरूको मूल मानिएको छ । सामाजिक सुव्यवस्थाका लागि व्यवहार (ऋणादान आदिको) महŒवपूर्ण भूमिका हुने तथ्यलाई चौथो अध्यायमा निष्कर्षका रूपमा निरूपण गरिएको छ ।

५.पञ्चम अध्यायमा प्रथम अध्यायदेखि चतुर्थ अध्यायसम्म प्रतिपादित विषयगत तथ्यलाई संक्षेपमा निर्देश गर्दै धर्मशास्त्रलाई सामाजिक सुव्यवस्थाको साधनका रूपमा पुष्टि गरिएको छ । सामाजिक सुव्यवस्थाको साधनका रूपमा रहेको धर्मशास्त्रको समाजोपयोगिता स्वतः सिद्ध भएको तथ्यलाई निष्कर्षका रूपमा उपस्थापन गरिएको छ । 

यो अध्याय अन्तिम अध्याय भएकाले शोधप्रबन्धको सार तथा निचोडका रूपमा आएको छ । मानवका लागि उपभोग गर्न सकिने उपभोग्य फल उत्पन्न गराएर, व्यक्तिद्वारा इच्छित फल उपलब्ध गराएर, समाजद्वारा चाहिएको प्रवृत्ति उत्पन्न गराएर, समाजद्वारा आकांक्षा गरिएका वस्तुहरूलाई विविध किसिमका कर्महरूको अनुष्ठानद्वारा आपूर्ति गराएर, व्यक्तिलाई क्रमशः उत्कर्षतर्फ लैजाँदै पुरुषार्थ सिद्धिको माध्यम भएर धर्म, अर्थ, काम र मोक्षरूप चतुर्विध पुरुषार्थको सिद्धिका लागि सामाजिक व्यवस्था तथा व्यक्तिनिष्ठ अवस्थाको समेत संस्थापक साधनका रूपमा विद्यमान धर्मको अनुष्ठान हुने गर्दछ भन्दै धर्मानुष्ठानको प्रयोजक धर्मशास्त्र सामाजिक व्यवस्थाको साधन हो भन्ने अनुसन्धान प्रबन्धको निष्कर्ष नै पाँचौं अध्यायको निचोड बनेर आएको छ ।

उपसंहार तथा निष्कर्ष 

विद्यावारिधि उपाधि ग्रहणार्थ अनुसन्धान विधिलाई पूर्णतः अंगीकार गर्दै तयार पारिएको प्रस्तुत शोधप्रबन्धमा गुरुवर प्राडा.अधिकारीको प्रोज्ज्वल प्राज्ञिक क्षमता झल्किएको छ । धर्मशास्त्रीय प्रमाणहरूको यथोचित उपस्थापनपूर्वक गहन विश्लेषण गरिएको प्रस्तुत शोधप्रबन्ध अत्यन्त शास्त्रीय, प्रामाणिक, पाण्डित्यपूर्ण, लोकोपकारक, पठनीय, चिन्तनीय र अनुसरणीय प्राज्ञिक ग्रन्थरत्नका रूपमा रहेको छ । सम्पादक तथा अनुवादक प्राडा. नुरापति पोखरेलको विद्वत्तापूर्ण नेपाली भाषानुवादद्वारा समस्त सनातन धर्मानुयायी नेपाली समाजलाई पु¥याएको योगदान अतुलनीय एवं प्रशंसनीय छ । 

यस किसिमको प्राज्ञिक कार्यको प्रकाशनले अनुसन्धाता प्राडा.राधाकृष्ण अधिकारी पौरस्त्य धर्मदर्शनका क्षेत्रमा जीवन्त तथा अमर रहिरहनु हुनेछ । आजको पथभ्रष्ट बन्दगइरहेको नेपाली समाजलाई सही मार्ग निर्देश गर्न तथा दिग्भ्रान्त नेतृत्वलाई दिग्दर्शन गर्न सक्षम महŒवपूर्ण कृतिका रूपमा यो ग्रन्थ हाम्रा सामु देखापरेको छ । ‘एउटै सानो सरल कृतिमा पूर्ण संसार देऊ’ भनेझैँ धर्मशास्त्रीय गहन विचारहरूको सारसंग्र्रहका रूपमा देखापरेको यस प्राज्ञिक ग्रन्थरत्नलाई नेपाली समाजका सबै राजनीतिक नेतृत्व, प्राज्ञिक व्यक्तित्व, समाजका शुभचिन्तक तथा समस्त प्रबुद्धजनले पढ्न सके र यसमा निहित ज्ञानलाई ग्रहण गर्दै जतासामु पस्कन सके गुरुवरप्रतिको सच्चा सम्मान हुने लेखकीय अभिमत छ । 

तसर्थ अन्तमा यस शोधप्रबन्धका अनुसन्धाता समस्त भारत वर्षकै धर्मशास्त्रका मूर्तरूप एवं ज्ञानमूर्ति प्राडा. राधाकृष्ण अधिकारी गुरुवरप्रति सादर श्रद्धासुमन समर्पणसहित वन्दना गर्दै अनुवादकर सम्पादक प्राडा. नुरापति पोखरेलज्यू र भव्यसमारोहबीच ग्रन्थ लोकार्पण गर्ने प्रकाशक अधिकारी परिवार (गुरुमाता सरस्वती अधिकारी, पुत्र सहप्रा.शान्तिकृष्ण अधिकारी र पुत्रवधू उपप्रा. वसन्ती आचार्य) लाई पाठकीय कोणबाट सादर आभार समर्पणसहित हार्दिक बधाई । 

(घिमिरे नेसंवि., वाल्मीकि विद्यापीठमा उपप्राध्यापक हुनुहुन्छ ।)


Views: 777