18th April | 2021 | Sunday | 12:02:25 AM

काग, जुठेल्नु र राजनीति

प्रा.डा. कुलप्रसाद कोइराला   POSTED ON : फाल्गुन १६, २०७७ (८:२८ AM)

काग, जुठेल्नु र राजनीति

म सानै थिएँ संसारका कुरा बुझ्दिनथेँ । मलाई अलिअलिमात्र सम्झनाछ । हाम्रा घरमा केही दैविक या पैतृक कुनै कार्य थियो । हामी रमाएर आँगनमा उफ्रँदै थियौं । भानिज बा आएर बार्दलीमा बसेर भिजाएको कुशबाट के–के बनाउँदै हुनुहुन्थ्यो । म गाउँतिर गएर भएभरका मेरा उमेरका साथीसँगिनी बोलाएर लिएर आएँ । आमाभित्र रोटी पकाउने र सुशीलाकी आमा अचार आदि के–के बनाउँदै थिए । उनी हाम्री छिमेकी गृहिणी थिइन् र आमाकी अति मिल्ने साथी पनि । उनका दुईवटी छोरी अम्बिका र सुशीला मसँगै खेल्थे । हामी केटाकेटी भोकाउँछौं भनेर केही खानेकुरा अँगेनामा बनाएर मतानमा लगेर हामीलाई टपरीमा खानदिए । 

सधैं थालमा खाएको टपरीमा खाँदा स्वादै अर्कोजस्तो लाग्यो हामीलाई । फेरि परिकार पनि अलि नौलै थिए । हामीले खाएका जुठा टपरी जुठेल्नामा नफाली अलि पर फाल्नु भनेर बा अराउँदै हुनुहुन्थ्यो हामीले लगेर जुठेल्नामा फलिदियौं । फाल्नु के थियो कागको हुल काँ–काँ र कुँ–कुँ गर्दै ओइरियो ।

अहिले प्रधानमन्त्री ओलीले झुक्नुभन्दा भुक्नु असलभन्ने सिद्धान्तअनुसार भुक्ने दुईवटा काइदा प्रयोग गरी काग बोलाएको जस्तो लाग्यो मलाई । खाएर नअघाउने काग । ओलीका जुठेल्नामा जुन काग पुगेर भेटेको भोजन गरे तिनै काग फेरि भोलिपल्टै काँ–काँ गर्दै दाहाल नेपालका जुठेल्नामा जम्मा भएको पनि देखियो । अलि पहिले कांग्रेसका वर्तमान सभापतिले यसैगरी झुक्नुभन्दा भुक्नु नै असल भनेर भएभरका कागलाई आफ्ना जुठेल्नामा बोलाएको सम्झन्छु । त्यतिबेला एउटा पुरानो व्यक्तितन्त्र नेपालमा भएकाले जनताले छानेर पठाएका व्यक्तिलाई पनि असक्षमको पगरी गुताएर कागको मुखबन्द गरेको घटना अहिले सम्झन्छु । 

काग आफू काम नगर्ने, आफू कुनै व्यवसाय पनि नगर्ने तर अरूले भोग गर्न बनाएका सामग्री, उपभोगगरी फालेका फोहोरबाट छानेर खाने पक्षीहो । यसलाई यमदूत पनि भनिन्छ । यमको अर्थ हो दमन गर्नु । दमन शासकले गर्छन् । नेपाल शासकले सताएको देश रहेछ । यहाँका जनता सोझा सरल र परिश्रमी छन् तर तिनलाई कुहिराको कागब नाएर नचाउने शासकले आफ्ना जुठेल्नाका काग बनाउने धन्दा कहिल्यै परिवर्तन गरेनन् । 

शासकले कागजस्ता सञ्चारवाहक र हल्ला मच्चाउनेलाई अरनखटन गरी पालेका हुन्छन् । ओलीले पनि यस्तै अरिंगाल पालेका कुरा उहाँले नै सुनाउनु भएको थियो । अरिंगाल विषालु कीरो हो जो आफ्नै समूहमा मात्रै बस्छ । आफ्नै सजाति बछ्युँ, बारुलो, मौरी आदि कुनैसँग मिल्दैन । यो अरिंगाल जंगली कीट हो । यो गाउँ घरका वरिपरि बस्यो भने पनि अनेक खण्ड गरी मानव समूहले भगाउँछ । कमलकोटी भन्ने अर्को एउटा कीरो हुन्छ । यसको संख्या अत्यल्प हुन्छ । यो पनि अरूलाई आफूजस्तै बनाउने कीरो हो ।

ओली कमलकोटी हुनुहुँदो रहेछ । कमलकोटीले झुसिल कीरालाई पनि आफ्ना दुलामा हुलेर ढोकामा बसेर २४ घण्टा भुँ–भुँ गरेर अत्याउँछ । आत्तिँदा आत्तिँदै २४ घण्टामा त्यो विजातीय कीरो कमलकोटीमा परिवर्तन हुन्छ । तर यो कीरो सधैं एक्लै बस्छ । यसले प्रजनन् गर्दैन, प्रजनन् क्षमता हुँदैन । त्यसो भएकाले अरू नै कुनै कीरालाई आफूजस्तो बनाउन थुनेर अत्याउने प्रविधिको प्रयोग गर्दछ ।

यस प्रकारको प्रवृत्ति ओलीमा देखियो । देश खाई शेष भएका आफ्ना पूर्ववर्तीलाई पनि हामी यहाँ छौं भन्न विवश पारिदिनुभयो । सम्मानित अदालतले मात्रै उहाँलाई कमलकोटी बनाउने प्रक्रियामा भाँजो हालिदियो । यिनका खेमामा एकजना पुराना मित्र कानुनविद् र सफल किसिमले संसद् र संविधानसभा सञ्चालन गरेका नरम तर दृढ व्यक्ति उनको अनुचर बनेर आफ्नै मूल्यलाई अब मूल्यन गर्न विवश भए ।

सत्ताको माथिल्लो तहमा पुगेपछि अरिंगाल, बछ्युँ, बारुलो र घारे मौरीको पनि आवश्यकता बढी हुँदोरहेछ । मैले जानेका ठूला शासकका पदमा पुगेका तर अति नै साधु प्रवृत्तिका मान्छेमध्ये सुशीलदा र कृष्णप्रसाद भट्टराई थिए । यस्ता सादगीपूर्ण जीवन विताउने व्यक्ति पनि त्यहाँ बस्दा यस्ता तत्वको न्यूनतम प्रयोग ती दुई प्रधानमन्त्रीले गरेको मैले अनुभव गरेथेँ । विवेक, बुद्धि र त्यागका त्रिवेणीका रूपमा यिनलाई लिन सकिन्छ । पौरस्त्य जगत्मा राजा जनक (जो शीरध्वज जनक भनिन्थे) ती राजदण्ड धारण गरेर पनि आफ्ना जीवनमा कहिल्यै कसैलाई दण्डित नगर्ने विरलाकोटि शासकमध्ये पर्दछन् ।

सम्भवतः यस्तो राजा आजसम्म शीरध्वज जनकबाहेक अर्को छैन जस्तो लाग्छ मलाई । यस अर्थमा राजनीति र शासनलाई विवेकसम्मत ढंगले चलाउन प्लेटोको कुलीनतन्त्र चाहिन्छ कि क्याहो ? मैले भनेको कुलीनतन्त्रकोट बाहिर जनै लाउने र नाम नखुलेको कालो पदार्थको उपभोक्ता या रक्त मच्छेन्द्रनाथको असली भोटो बेलायत पु¥याउने चरित्रको होइन । ढाक्रेको ढाकरको विकल्प खोज्ने प्रशान्त चित्तभएको वंश परम्परा चाहिँ हो ।

एउटा संकल्प, एउटा सिद्धान्त एउटा दर्शनमा आबद्ध भएर २००७, २०१५, २०१७ देखि २०४६÷०४७ सम्म र त्यसपछि पनि लगातार २०६२÷०६३ को नेतृत्वगर्दै २०६६–०६८ सम्मको मियो बनेको दलका मान्छे अहिले मरेको बिरालो काखीच्यापेर ठिमी जाने बाटो सोध्न लागेको देखिन थाल्यो । अहिले म फेरि त्यही पुरानो बाल्यकालमा फर्केर आगनका डिलमा रहेको जुठेल्नामा काग जम्मा गर्ने खेलको रमिता हेर्न पुगेको छु । मलाई थाहा छैन यी काग जम्मा गर्नेहरूको कार्य केहो दैविक, मानुसिक, पैतृक या भौतिक । कागको बथान खानेकुराको क्वालिटी हेरेर आउँदैन । झिँगो भातमामात्र बस्दैन तत्काल फोहोरमा पनि बस्छ र तत्कालै खाने सामग्रीमा पनि । हेर्नेले त चंगा निकैमाथि पुगेको देख्छ । रमाउँछ पनि तर उडाउने मखुण्डी परे तत्कालै चुँडिन्छ । आज नेपालमा नेपाली कांग्रेसको भूमिका सकिएको देखिन थाल्यो । यसको चंगाको धागो चुँडिएर चंगा धूलामा झरेको छ । लटाई चलाउन नजान्नेले चंगा उडाउने रहर गरेजस्तो लाग्छ । विष्टका घरमा रोटी पाकेको सुगन्धले प्राचीनकालका पुहुनी छट्पटाए झैँ । मासु ताछेर फालेको हाड चुस्न तरतरी ¥याल काड्दै शहरका सडकमा बस्ने जीवझैँ कुरेको मात्रै देखिन थाल्यो । 

न लक्ष्य, न संकल्प, न योजना, न नीति न कार्यक्रम । सत्तासयरको सम्भावनाका कारणले पार्टीको महाधिवेशन जस्तो कुरो पनि सीमान्त महिनामा लगेर झुण्ड्याइयो । अब ओली र दाहाल–नेपाल जसका हुलमा समावेश भएर भए पनि सिंहदरबारको कुर्सीमा बस्ने हतार देखिनथालेको छ । यथा राजा तथा प्रजा । दलका नेताका चिन्तन, आचरण र क्रियाकलापको प्रभाव कार्यकर्तामा पनि पर्छ । बडाले गरेका कामको समर्थन साधारणले गर्दछन् । दुर्योधन, शकुनी र धृतराष्ट्र आफ्ना युगका आआफ्ना प्रवृत्तिका उदाहरण थिए । कस्तो र कुन उदाहरण बन्ने रोजाइ र भोगाइ पनि आफ्नै हातमा छ । 

बेलामा अधिवेशन नगरी ओलीका बोलीमा लोली मिलाएर बस्नाले कांग्रेस नेतृत्व लामो समयदेखि कांग्रेसका निमित्त दुःख गरेर पनि यश नपाउने र गालीका वर्षा सहनुपर्ने अवस्थामा पुगेको देख्दा संस्कृतको ‘भाग्यं फलति सर्वत्र नविद्या न च पौरुषम्’ भन्ने सूक्तिको स्मरण हुन्छ । हामी त सुझाबमात्रै दिनसक्छौं गर्ने तपाईंहरूले नै हो । वाद शाहका नयाँ कपडाको वाद शाहले जस्तो गर्दा बालकले पनि जेदेख्यो त्यही भनेथ्यो । आजका मिडियाले पनि त्यही गरेका छन् जस्तो तपाईंहरू हुनुहुन्छ । अतःप्रशंसा सुन्न चाहनेले आचरण र बोलीव्यवहार पनि आदर्श बनाउनुपर्ने रहेछ भन्ने बुझ्नोस् । बीपी, मनमोहन, सुशीलदा र कृष्णप्रसाद भट्टराई या गणेशमान् सिंहको सबैले प्रशंसा किन गरेका होलान् भनेर सोच्नुस् । होवस् चेतना छ भने । सत्ताको लुकामारी र खोसाखोसमा भन्दा आफ्नो दायित्व पूरा गर्ने प्रवृत्तिको विकास बुद्धिमानी होलाकि जस्तो लाग्यो ।


Views: 54