17th April | 2021 | Saturday | 10:15:36 PM

एक निष्ठावान् कर्मचारीको समाजसेवा

युवराज पौडेल   POSTED ON : फाल्गुन १६, २०७७ (८:३६ AM)

एक निष्ठावान् कर्मचारीको समाजसेवा

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा–५ सेतीदोभान स्थायी घर भएका जयराम पौडेल पेशाले निजामती कर्मचारी हुनुहुन्छ । उहाँ हाल पोखरा महानगरपालिकाको वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख (उपसचिव) हुनुहुन्छ । उहाँ सदाचारी कर्मचारीका रूपमा जति चिनिनुहुन्छ, त्योभन्दा बढी एक सामाजिक अभियन्ताका रूपमासमेत चिनिनु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाको सामाजिक विकास तथा विभिन्न योजना परियोजनाहरू निर्माणमा उहाँले महवपूर्ण भूमिका खेलनुभएको छ । 

खासगरी आँधीखोलाको शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा उहाँले योगदान पु¥याउनु भएको छ । उहाँकै नेतृत्वमा आँधीखोलामा ‘मानवीय विकास तथा दिगो पूर्वाधार ः समुन्नत समाज निर्माणको आधार’ भन्ने मूल सोचका साथ बीस वर्षअगाडि नै ‘आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह’ नामक संस्था स्थापना गरेर विभिन्न मानवीय विकास र वातावरणसँग सम्बन्धित कामहरू भएका छन् । 

आँधीखोला क्षेत्रमा खासगरी सेतीदोभान आसपासमा बिरामीहरूका लागि उपचारको समस्या थियो । वर्षेनी सुत्केरी व्यथाले महिलाहरूले ज्यान गुमाउनुपथ्र्याे । इमर्जेन्सी सेवाबाट वञ्चित हुनुपर्दा मानिसहरूले अकालमा ज्यान गुमाउनु पर्ने स्थिति थियो । पोखरासम्म उपचारको क्रममा लैजाँदा बाटैमा ज्यान गुमाउनुपरेको तितो यथार्थले धेरैलाई नमीठो अनुभूति गराउँथ्यो । यो समस्यालाई राम्रोसँग बुझेका पौडेलको मनमा सेतीदोभानमा एउटा सामुदायिक अस्पताल खोल्ने योजना बन्यो । आखिर ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ उहाँ पवित्र भावनाका साथ अस्पताल निर्माण गरिछाड्ने अभियानमा एकोहोरिएर लाग्नुभयो । 

उहाँको योजना सफल हुने दिशामा अगाडि बढ्यो । सामुदायिक अस्पताल खोल्ने उद्देश्यले उहाँकै नेतृत्वमा विसं २०६६ सालमा महायज्ञ सम्पन्न भई सो महायज्ञबाट संकलित रकमबाट छ रोपनी जग्गा खरिद गरी आँधीखोला सामुदायिक अस्पतालको पूर्वाधार तयार पार्ने काम गरियो । उहाँकै नेतृत्वमा स्थानीय समाजसेवीहरूको महŒवपूर्ण योगदानका कारण भौतिक स्रोत सम्पन्न सामुदायिक अस्पतालको निर्माण सम्भव भयो । 

यस क्रममा स्वास्थ्य मन्त्रालयबाट अनुदान ल्याउन उहाँले निकै ठूलो दुःख गरेको स्थानीयहरू बताउँछन् । आखिर अहिले उहाँको परिकल्पना साकार हुने दिशामा अगाडि बढिरहेको छ । सुरुमा यस संस्थाद्वारा सञ्चालित आँधीखोला सामुदायिक अस्पताल अहिले सरकारको घोषित नीति ‘एक पालिका ः एक अस्पताल’ अन्तर्गत सरकारलाई हस्तान्तरण गरिएको छ । सरकारले यसमा छिट्टै करिब नौ करोडको भवन बनाउने भएपछि उहाँको दश वर्षअगाडिको सपना साकार हुनै लागेको छ । 

यसले उहाँलाई निकै सन्तोष मिलेको छ तर उहाँको समाजसेवाको कर्म भने यत्तिकैमा रोकिएको छैन । उहाँकै नेतृत्वमा र स्थानीयहरूको सक्रियतामा दोस्रोपटक महायज्ञ सम्पन्न गराई ध्यान साधना केन्द्र खोल्ने उद्देश्यका लागि करिब १४ रोपनी जग्गा (दान र खरिदबाट) समुदायलाई प्राप्त भयो । नयाँ पुस्तामा देखिएको नैतिकताहीन संस्कृति र बिग्रँदो मानवीय सम्बन्धलाई पुनःस्थापित गर्न र आदर्श संस्कारको विकास गरी आरोग्यता प्रदान गर्ने उद्देश्यका साथ ध्यान साधना केन्द्र सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । उहाँकै पहलमा बजेट परेका बृहत् सेतीदोभानः एक घर एक धारा खानेपानी योजना, बराहे हरित पार्क, भुद्रुमपोला सामुदायिक होम स्टे योजनाहरू हाल कार्यान्वयनका चरणमा छन् । 

उहाँले आफूले पढेको विद्यालय ‘प्रद्युम्न पनेरू माध्यमिक विद्यालय’ को शैक्षिक उन्नतिमा ठूलो योगदान पु¥याउनु भएको छ । सो माध्यमिक विद्यालय स्थापना भएदेखि नै विसं २०४६ सालको एसएलसी परीक्षामा सर्वप्रथम प्रथम श्रेणीमा उत्तीर्र्ण गरी ऐतिहासिक रेकर्ड बनाउनु भएका उहाँले एसएलसी परीक्षा दिएपछि आफूले पढेको उक्त विद्यालयमा तीन महिना स्वयंसेवक (अवैतनिक) शिक्षकका रूपमा सेवा गर्नु भएको थियो । बाबुआमाका नाममा सबैभन्दा पहिलो औपचारिक अक्षयकोष ‘भागिरथी गंगा अक्षयकोष’ स्थापना गरी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक पुरस्कार दिने अभियानको सिलसिला पनि उहाँले सुरु गर्नुभएको छ । 

२०६८ सालमा २० हजार बिउ पुँजी राखी आजीवन मासिक १ हजार जम्मा गर्ने शर्त रहेको उक्त अक्षयकोषमा हाल १ लाख २८ हजार रुपैयाँ जम्मा भइसकेको छ । उहाँले औपचारिक रूपमा अक्षयकोष सुरु गरेपछि विद्यालयमा अक्षयकोषको बाढी नै आयो जसका कारण विद्यालयको अक्षयकोषमा ५० लाख रुपैयाँभन्दा बढी आम्दानी प्राप्त भइसकेको छ । 

यसरी स्थापना भएका विभिन्न अक्षयकोषलाई व्यवस्थित बनाउन उनकै नेतृत्वमा ‘अक्षयकोष व्यवस्थापन विनियमावली २०७१’ बनाई सबै अक्षयकोषको छाता संस्थाको रूपमा ‘प्रद्युम्न पनेरू माध्यमिक विद्यालय अक्षयकोष’ स्थापना भयो । उहाँकै सक्रियतामा विद्यालयमा पूर्वविद्यार्थी मञ्च स्थापना भई आफैं संस्थापक अध्यक्ष भएर उहाँले विद्यालयका विविध गतिविधिसहितको ‘मुखपत्र’ प्रकाशित गर्ने कामको समेत नेतृत्व गर्नुभयो । 

निजामती क्षेत्रमा सादगी र सदाचारी व्यक्तित्वका रूपमा पौडेल चर्चामा हुनुहुन्छ । धेरैले उहाँलाई ‘आँखामा राखे पनि नबिझाउने’ पात्रका रूपमा सम्झन्छन् । उहाँको निजामतीको जागिरे जीवनले रजत वर्ष पूरा गरिसकेको छ । विसं २०५२ सालमा जिल्ला वन कार्यालय मनाङमा रेन्जर पदमा स्थायी नियुक्ति पाई जिल्ला वन कार्यालय बाग्लुङ, वन तालिम केन्द्र पोखरा आदि विभिन्न ठाउँमा गरी एघार वर्ष उहाँले वन सेवामा बिताउनुभयो । वन सेवामा हुँदा पनि उहाँले प्रंशसनीय काम गरेको उहाँका सहकर्मी तथा सेवाग्राहीहरू बताउँछन् । 

विसं २०६३ सालमा उहाँ लोकसेवा आयोगको खुला प्रतिस्पर्धाबाट छनौट भई लेखा अधिकृत पदमा नियुक्त भएर कोष तथा लेखा नियन्त्रक कार्यालय बाग्लुङमा पदस्थापना भएबाट उहाँको जागिरे जीवनको दोस्रो मोड सुरु भयो । उहाँ विसं २०७३ सालमा उपसचिव (लेखा) पदमा बढुवा हुनुभयो । त्यसपछि उहाँ स्याङ्जा हुँदै हाल पोखरा महानगरको वित्तीय महाशाखा प्रमुखको रूपमा कार्यरत हुनुन्छ । पौडेलले जागिरको दौरानमा तीनवटै सरकार (केन्द्र, प्रदेश र स्थानीय) का मातहतमा रहेर फरकफरक अनुभव प्राप्त गर्ने मौका पाउनु भएको छ । 

उहाँले जागिरका क्रममा सरकारी कार्यालयमा हुने गरेका बेथिति र विसंगतिका विरुद्ध आवाज उठाउनु भयो । उहाँजहाँ जहाँ जानुहुन्छ त्यहाँ त्यहाँका ‘सेटिङ’ भत्किन्छन् । उहाँले हालैमात्र पोखरा महानगरपालिकाको डुब्नै लागेको करोडौंको राजस्व उठाउने अभियानको सफल नेतृत्व गर्नुभयो । यस क्रममा उहाँको सर्वत्र प्रशंसासमेत भयो । उहाँले लोभ गरेको भए व्यक्तिगत रूपमा ‘सेटिङ’ अनुसारको भागबण्डा पाउँनुहुन्थ्यो होला, तर ‘शून्य सहनशीलता’ का पर्याय पौडेलले राज्यको एक असल नागरिकको भूमिका निर्वाह गर्नुभयो । एउटा बफादार कर्मचारी तथा आदर्श राष्ट्रसेवकको भूमिका निर्वाह गर्नुभयो । 

उहाँले धेरै कर्मचारीसँग संगत र सहकार्य गर्नुभयो तर उहाँसँग सङ्गत र सहकार्य गर्नेहरूले उहाँलाई सत्पात्रका रूपमा नै बुझे । उहाँ भ्रष्टाचार गरेर पैसा कमाउनुपर्छ, राज्यलाई ठगेर भए पनि धनी बन्नुपर्छ भन्ने मान्यताका सशक्तविरोधी व्यक्ति हुनुहुन्छ । उहाँ सुशासनका पक्षमा सधैं दृढ भएर उभिनु भएको छ । पौडेल भन्नुहुन्छ, ‘राज्य धनी भयो भने व्यक्त स्वतः धनी हुन्छ, व्यक्ति धनी हुने राज्य गरिब हुने हो भने व्यक्तिले कमाएको धनको कुनै मूल्य हुँदैन । राज्यप्रति सबै नागरिक इमानदार भई प्रस्तुत हुने हो भने भ्रष्टाचार स्वतः कम हुन्छ तर यसका लागि मानिसको जीवनशैलीमा पनि परिवर्तन हुनुपर्छ ।’ 

ज्ञान, विज्ञान, प्रविधिको क्षेत्रमा समेत उत्तिकै अब्बल मानिने पौडेल अध्ययनशील हुनुहुन्छ । उहाँ प्रत्येक नयाँ कुरामा ‘अपडेट’ भइहाल्नुहुन्छ । नयाँ–नयाँ ज्ञानका क्षेत्रमा उहाँको विशेष रुचि छ । भ्रष्टाचार र बेथिति रोक्नका लागि असल व्यक्तिगत सोच चाहिन्छ; सकारात्मक सोचको विकास आध्यात्मिक मार्गबाट मात्रै सम्भव हुन्छ भन्ने उहाँको धारणा छ । जिब्रोको स्वादको पछि लागि जीवन बर्बाद गर्ने प्रत्येक मान्छेलाई जीवनको स्वाद दिलाउनका लागि योग र ध्यान जरुरी भएको उहाँ बताउँनुहुन्छ । 

विज्ञान र अध्यात्मलाई जोड्ने हो भनेमात्र जीवन सोचेजस्तो हुने उहाँको विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘जीवनको उद्देश्य पढ्नु, पैसा कमाउनु, घर बनाउनु, बिहे गर्नुमात्र होइन, जीवनको सार्थकता यीभन्दा बाहिर छ, यी सबैभन्दा पर मानव सेवामै जीवनको मूल सन्तुष्टि छ । निःस्वार्थ भावले मानव सेवा र समाजसेवामा लाग्दामात्रै सही अर्थमा सन्तुष्टि प्राप्त हुन्छ ।’


Views: 1143