17th April | 2021 | Saturday | 10:31:36 PM

अभिमत : खोइ परिवर्तन ?

  POSTED ON : फाल्गुन १६, २०७७ (८:३८ AM)

अभिमत : खोइ परिवर्तन ?

खोइ काहाँ आयो परिवर्तन जनता हेर्न चाहन्छन् । नेताको मुहारमा परिवर्तन आयो कि ? जनताको मुहारमा । पञ्चायत कालमा प्रतिव्यक्ति २ हजार ऋण थियो । अहिले लोकतान्त्रिक गणतन्त्र आएपछि त्यो बढेर ४४ हजार पुगेको छ राष्ट्रिय ऋण । केका लागि कसका लागि बढ्यो प्रश्न सोध्ने बेला आएको छ । जनताको मौन समर्थनले नै नेताहरूको मनोबल बढेको छ । २००३ सालदेखि परिवर्तनका लागि लडेका जनताले आज २०७७ सालसम्म आइपुग्दा पनि केही पाउन सकेनन् । पाए त महँगी, भ्रष्टाचार, बलत्कार, अराजकतामात्रै पाए । 

यसैका लागि हो परिवर्तन ल्याएको ? नेता मोटाउने प्रजातन्त्र को अर्थ छैन । नीतिविनाको राजनीतिले गर्दा जनताले दुःख पाएका छन् । राम्राले भन्दा हाम्राले अवसर पाएकाले नवयुवाहरूमा वितृष्णा पैदा भएको छ । दिनहुँ हजारौं युवा युवतीहरू आफ्नो सुरक्षित भविष्य खोज्न विदेशिएका छन् ।

भनिन्छ लोकतान्त्रिक गणतन्त्र आएको छ । जनताका छोराछोरी राष्ट्रप्रमुख, उपप्रमुख बनेका छन् । तर यो भनाइ भनाइमा मात्र सिमित भएको छर्लंग देखिन्छ । अहिले पनि उच्च भिभिआइपीको सवारी भयो भने सार्वजनिक यातायातहरू बाटामा गुड्न दिइँदैन । बाटो सबै खाली गरिन्छ । सडक पेटीमा यात्रुहरूलाई हिँड्नसमेत रोकिन्छ । यसरी बाटो बन्द गरेर सवारी चलाउँदा त्यसले पार्ने असरप्रति सम्बन्धित निकायको ध्यान जान सकेको छैन । एक घण्टा बाटो बन्द हुँदा त्यसको असर दिनभरि पर्छ । राष्ट्रपति या अन्य भिभिआइपीको सवारीमा त्यस्तै दृश्य अनगिन्ति देख्न पाइन्छ । जनताबाट विरोध पनि आउँछ तर समस्याको समधान भने कहिल्यै हँुदैन । साइरनवाला मोटर अघिपछि नलगाई सवारी चल्यो भने उच्च भिभिआइपीहरूको इज्जत घट्छ ।

वसन्त पञ्चमीका दिन राष्ट्रपति वसन्तपुर जाँदा राजधानीका बाटाहरू घण्टौंसम्म अस्तब्यस्त भए । राष्ट्रपति सवारी हुँदा अरू गाडी चल्दा के फरक पर्छ । एकछिन ढिला होला । हिजो राजा महाराजाको सवारीमा गाडी लाम लाग्थे । अहिले राष्ट्रपतिको सवारी चलाउँदा पनि गाडी अगाडिपछाडि लावालस्कर लाग्छन् । अनि राजा महाराजाभन्दा राष्ट्रपतिको रवैयामा फरक चाहिँ के आयो त ? अनुहार राजामहाराजाको फेरियो तर हुकुमी शासन भने फेरिएको छैन । जनतालाई दुःख कष्ट दिएर गरिने शासन व्यवस्था जनताको हितमा हुनसक्दैन । 

राजधानीका बाटाहरू विनाअवरोध सवारी चलाउँदा त बाटो अस्तव्यस्त हुन्छ । झन् भिभिआइपीहरूको सवारी भयो भने त दिनभरि नै बाटो जाम हुन्छ । एउटा तथ्यांकले के देखाएको छ भने देशभरिका सवारीसाधान एकै पटक निकाल्ने हो भने बाटामा गाडी एक इन्च पनि अघि बढ्ने ठाउँ हुँदैन । यस्तो अवस्था हुँदासमेत सरकारले पुराना मोडलका गाडी हटाउने काम गरेको छैन । गाडी भिœयाउने काम मात्र भएको छ । सरकारको गलत नीतिका कारण जनताले दुःख पाएका छन् । कर लिन पाइन्छ भन्दैमा बाटोको क्षमताभन्दा बढी गाडी भिœयाउन दिनहुन्छ ?

प्रश्न एउटै छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री हिँड्दा चाहिँ बाटो किन खाली गर्नुपर्ने उनीहरू जाममा बस्नु हुँदैन ? भिभिआइपीहरू जाममा बस्नुपरे पो जनताको समस्या थाहा हुन्थ्यिो । उनीहरू हिँड्ने बेलामा बाटो खाली अनि जाम छ भनेर कसरी पत्याउँथे । जनताले कष्ट सहनु हुने जनताले चुनेर पठाएका प्रतिनिधिले चाहिँ कष्ट सहन नहुने कस्तो सासन व्यावस्था हो यो । यही हो लोकतान्त्रिक गणतन्त्र ? भन्ने बेलामा जनताका छोराछोरी राष्ट्रपति प्रधानमन्त्री भन्ने । व्यवहारमा देखाउँदा राजा महाराजाको जस्तो शैली देखाउने ?

करडौं पर्नै गाडी, करडौं पर्ने बंगलालगायत हरेक सुख सुविधा राष्ट्र प्रमुखलाई चाहिने । आमजनता भने एउटा सिटामोल खान नपाएर मर्ने, यही हो लोकतान्त्रिक गणतन्त्र ? सबै देखेका छन् जानेका छन् बुझेका छन् । सबै जाने बुझेकालाई भन्नुपर्ने आवश्यक छैन । तर, के गर्नु भन्नुपर्ने बाध्यता नै हुन्छ । त्यसैले पत्रिकामार्फत आफ्नो कुरा राख्ने जमर्को गरिन्छ तर विडम्बना पत्रिकाहरूले जनगुनासालाई स्थान नै दिँदैनन् । 

पूर्वभिभिआइपीदेखि बहालवाला भिभिआइपीसम्मका लागि राज्यले करडौं खर्च गरेको छ । किन यसरी फजुल खर्च गरेर राज्यको अर्थतन्त्र कमजोर पार्ने काम गरिन्छ । पाकिस्तानी राष्ट्रपतिले आफू निर्वाचित भएर सपथ खाएको दिनमै सबै सेवासुविधा कटौती गरेर आफूसमेत सेनाको व्यारेकमा बस्दै आए । तर, दुःख लाक्दो कुरा हाम्रा राष्ट्रप्रमुखहरूलाई जति सेवासुविधा दिए पनि पुगेको छैन । यही बढी सुविधाकै कारण पदका लागि मरिहत्ते गरेका छन् । सुविधा सबै कटौती गरौं त भोलि त्यो ठाउँमा जान कोही मान्दैन । 

यहाँ त काम गर्न होइन सुविधा लिन राष्ट्रप्रमुख बनेका हुन्भन्दा फरक पदैन । प्रधानमन्त्री उपप्रधान मन्त्रीलगायत उच्च भिभिआइपीहरूलाई अवकाशपछि दिइँदै आएको सुविधा कटौती गरौं त । अनि असली राजनीतिज्ञ को रहेछ प्रष्ट छुट्याउन सकिन्छ । कम्तीमा गर्न सक्ने काम त नेताहरूले राष्ट्र र जनताका लागि गरेर देखाऊन् । 

हिजो राजा महाराजाले यसो गरे उसो गरे भन्ने नेताहरूले खोइ त त्याग गरेको । सधंै कुर्सीमा आफैंमात्र बस्नुपर्ने । सधैं पावरमा आफैं रहनुपर्ने । यही हो त प्रजातन्त्रको अभ्यास । हिजो चप्पल लगाएर राजनीतिमा छिरेको व्यक्तिको आज राजधानीमा महल खडा भएको छ । त्यो महल कसरी खडा भयो कहीँ कतैबाट खोजखबर भएको छैन । सम्पत्ति शुद्धीकण आयोगले आजसम्म ककसको सम्पत्ति छानबिन ग¥यो ? ककसलाई के के कारबाही ग¥यो ? खाली खानकै लागि आयोग बनाएर हुन्छ ?

पुरुषोत्तम घिमिरे

जोरपाटी, काठमाडौं । 


Views: 70