17th April | 2021 | Saturday | 11:53:41 PM

अविरल बगिरहेकी छिन् सरस्वती नदी

मणि शर्मा   POSTED ON : फाल्गुन १७, २०७७ (८:३८ AM)

अविरल बगिरहेकी छिन् सरस्वती नदी

करिब तेह्र वर्षअगाडि प्रयागराजमा गंगा, यमुना र सरस्वतीको संगममा वर्षाकालमा नुहाउने सौभाग्य प्राप्त भएको थियो । श्रावणको महिना भएकाले गंगाजी पूर्ण यौवनमा थिइन् । डंगामा चढेर बीच नदीमा जसलाई गंगा, यमुना र सरस्वतीको संगम भनिन्छ, त्यही संगममा नुहाएर डुंगामा चढी सकेपछि तीनवटै नदी हेर्न आँखा चारैतिर डुलाएँ । तर गंगा र यमुनाबाहेक सरस्वती नदी कतै देखिएन । माझीलाई सोधेँ । उनले भने, सरस्वती देखिँदैन, उनी भूइँमुनिबाट बग्छिन् । माझीको कुरा मान्नु सिवाय अरू कुनै उपाय थिएन ।

वास्तवमा सरस्वती नदी भूइँमा पनि छैनन् । कसले कहिले भूइँमुनि छिन् भन्यो त्यसैलाई विश्वास गर्दै धर्मपरायण जनहरू त्यहाँ पुण्यप्राप्तिका लागि नुहाउन जान्छन् । बाह्र वर्षमा त्यसै कारणले कुम्भ मेला लाग्दै आइरहेको छ यही विश्वासको आधारमा । म पनि त्रिवेणी संगममा स्नान गर्न गएको थिएँ विभिन्न तीर्थाटन गर्दै ।

ऋग्वेद र यजुर्वेदमा सरस्वती नदीको उत्पत्ति आदिबारे वर्णन गरिएकोले यो एकदमै प्राचीन नदी भएको स्पष्ट हुन्छ । वैज्ञानिक तथा भूगर्भीय अनुसन्धानबाट प्रमाणित भएको छ कि कुनै समयमा ठूलो भूकम्पको कारण जमिनमुनिको पहाडमाथि आयो र सरस्वती नदी पछाडि परिन् । वैदिक कालमा दृषद्वती नदीको वर्णन आउँछ । यी पनि सरस्वती नदीको सहायक नदी थिइन् । पहाडमाथि आएपछि यी नदीले आफ्नो दिशा बदलिन् र उत्तर पूर्वतिर बग्न लागिन् । महाभारतमा सरस्वती नदी मरुस्थलमा विनाशन नामक स्थानमा विलुप्त भएको वर्णन छ । 

महाभारतमा सरस्वती नदीको नाम प्लक्षवती, वेदस्मृति, वेदवती आदि नाम छ । ३६ सय ईशापूर्व यो नदी सुकिसकेको थियो भन्ने छ । ईसापूर्व ५ हजारदेखि ३ हजार ईसापूर्वमा सरस्वतीको केही जलधारा यमुनामा मिस्सिएको थियो । सरस्वतीको जल यमुनामा मिलेको र यमुना प्रयागराजमा गंगाजीसँग मिलेकोले यसलाई तीन नदीको संगम मानिएको हो । अन्यथा मूल सरस्वती नदी बगेको ठाउँ मरुभूमिमा परिणत भएकोले तिनी सुकिसकेकी थिइन् ।

जहाँसम्म नेपालको राजनीति छ, यहाँ जुनसुकै नेताले फुँई गरे पनि यहाँ कुनै पनि आन्दोलन वा सशस्त्र संघर्ष ती नेताहरूको नेतृत्व जनसहभागिताबाट प्राप्त भएको होइन । सबैमा विदेशीहरू आर्थिक तथा भौतिक सहयोगबाट भएको हो । न त बहुदलीय शासन व्यवस्था र न त गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनआन्दोलनको बलमा आएको हो । न त अहिलेको वर्तमान अस्थिर अवस्था डबल नेकपाको नेताहरूको व्यक्तिगत स्वार्थले नै आएको हो । 

जसरी वैदिक कालमा सरस्वती नदी थिइन् र महाप्रलयपछि उनको एउटा जलधारा यमुनामा मिस्सिएर प्रयागराजमा जाँदा उनलाई नै यमुना र सरस्वतीको रूपमा हामी लिँदैआएका छौं त्यसरी नै त्यो विदेशी शक्ति छ र ती विदेशी शक्तिहरू को को हुन हामीलाई थाहा छ । अहिले तिनीहरू सरस्वतीको एउटा धारा यमुनामा मिस्सिए जस्तै हाम्रा नेताहरूभित्र एकाकार भएका छन् । 

यी नेताहरूले विभिन्न ठाउँमा गरेका विशाल आमसभाहरू जहाँ दर्जनौं बसहरू परिचालित भएका थिए, हज्जारौं कार्यकर्ताहरूको उपस्थिति थियो, लाटासोझा जनतालाई विभिन्न प्रलोभन देखाएर, खासगरी काठमाडौंमा पशुपति दर्शनको बाहना बनाएर ओसारिएको थियो, खाना र भत्ता बाँडिएको थियो, यस अलावा प्रचारप्रसारको खर्च सबै जोड्दा एउटा आमसभामा लाखौं रुपैयाँ खर्च हुन्छ । अहिलेसम्मको खर्च हेर्दा यी दुई गुटले गरेको खर्च करोडौं नाघिसकेको छ । यो करोडौं रुपैयाँ कुन अदृश्य सरस्वतीले दिएका थिए ?

पुष्पकमल दाहाल जसले आफ्नो सम्पत्ति एक कट्ठा घडेरी र तीन तोला सुन भन्छन्, माधव नेपाल वा ओली जसको सम्पत्ति विवरणअनुसार कुनै अर्बपति होइनन् तर आमसभाहरूमा करोडौं खर्च कसरी गरे ? भोलिका दिनमा अहिले खर्च भएको पैसा असुल गर्ने त हामी नेपाली जनतासँग नै हो । 

नेपालको सबैभन्दा धनी दल पहिला एमाले थियो अहिले एमाले र माओवादी मिश्रित डबल नेकपा नै हो । राजनीतिक दल कुनै अर्बपतिझैँ धनी कसरी हुन सक्छ ? आउने स्रोत के हो ? कार्यकर्ताले दिने लेभीले कदापि धनी बन्न सकिँदैन ।

नेपालमा अहिले वर्षा ऋतुको च्याउ उम्रेझैँ राजनीतिक दलहरू उम्रिरहेका छन्, पार्टी र कार्यकर्ता सञ्चालन गर्न पैसा चाहिन्छ र यो पैसाको स्रोत के हो ? पहिलो नम्बर भ्रष्टाचार हो । कम्युनिष्ट पार्टीमा नेताहरूले गरेको भ्रष्टाचारको अंश पार्टीमा दिने चलन छ । नेता, मन्त्री र पार्टीबीच भ्रष्टाचारको भागबण्डा हुने गर्छ चाहे भ्रष्टाचार कम गरेको किन नदेखाउन् । तर, नेपाली कांग्रेसमा नेताहरूले गरेको भ्रष्टाचार अधिकांश आफैं पचाउँने गर्छन् र पार्टीलाई दिनै पर्ने अवस्था आए थोरै दिन्छन् । कांग्रेस नेताहरू व्यक्तिवादी हुन्छन् ।

२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले मोहनशमशेर प्रधानमन्त्री रहुञ्जेल प्रजातन्त्र आउँन सक्दैन भनेपछि राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नौ जना नेपाली कांग्रेसका र पाँच जना स्वतन्त्र व्यक्ति भएको मन्त्रिमण्डल गठन गरे । प्रतिक्रियावादी राणाहरू रहुञ्जेल उद्देश्य प्राप्त हुँदैन भनेर भन्ने नेपाली कांग्रेसले केशर शमशेर र शारदा शमशेर राणालाई मन्त्रीमण्डलमा सामेल गरे तर अरू राजनीतिक दलका प्रतिनिधिलाई लगेनन् ।

राजा त्रिभुवनले यो मन्त्रीमण्डललाई तीन काम सुम्पेका थिए । (क) कार्यपालिकाको प्रभावबाट मुक्त स्वतन्त्र न्यायपालिकाको स्थापना (ख) लोकसेवा आयोगको स्थापना (ग) सकभर २००९ भित्र आम निर्वाचन गर्ने । तर, मातृका नेतृत्वको सरकारले काम गर्न सकेन । मातृका र बीपीबीच अनमेल र पार्टी सभापति हुने होडबाजीले भारतीय राजदूत चन्द्रप्रसाद सिंह र भारतीय शाही परामर्शदाता गोविन्दनारायण सिंहको हैकममा परी भारतीय सिभिल सल्लाहकार मिसन तथा सैनिक मिसन आदि राख्ने राष्ट्रविरोधी कार्य हुँदैगए । 

सरस्वती नदी खुलेर बग्न थालिन् । अन्तमा, नेपाली कांग्रेसले मातृकाप्रसाद तथा उनका समर्थक मन्त्रीहरूलाई तीन वर्षका लागि निलम्वित गरेपछि सरकार ढल्यो । आज डबल नेकपाभित्र त्यस्तै अवस्था छ । त्यतिखेर भारतमात्रै थियो अब त इण्डोपश्चिमा शक्ति कहिले दृश्य त कहिले अदृश्य सरस्वतीझैँ पार्टीमा बग्न थालेका छन् ।

नेपाली राष्ट्रिय कांग्रेस र वस्तुतः नेपाली कांग्रेस भन्नु नै बीपी र सुवर्ण शमशेर थिए । नेपाली कांग्रेसको विराटनगर महाधिवेशनमा पार्टी सभापतिको लागि बीपीका विरुद्ध टेकबहादुर पन्थीले उम्मेद्वारी दिन लाग्दा सुवर्ण शमशेरले सार्वजनिकरूपमा भनेका थिए, यदि विश्वेश्वर बाबु निर्विरोधरूपमा चुनिन हुन्न भने मैले पार्टीलाई आर्थिक सहायता गर्नेछैन र म साधारण सदस्यबाट पनि अलग हुनेछुुु । अहिले पनि नेपाली कांग्रेसमा यही परम्परा छ । त्यसपछि सल्लाहकार सभा, परामर्शदात्री सरकार गठन । सरकार गठन हुनु तर नटिक्नु एउटा परम्परा नै बसिसकेको थियो । नेपाललाई अस्थिर राखिराख्ने नीतिमा पर्दापछाडिका शक्तिहरूको खेल थियो र अहिले पनि छ ।

मातृकाप्रसाद कोइरालाले बीपीबाट छुट्टिएपछि राष्ट्रिय प्रजा पार्टी गठन गरेका थिए । राजा त्रिभुवनले २०१० साल अषाढ २ गते उनको नेतृत्वमा सरकार गठन गरे, जसको मन्त्रिमण्डल राष्ट्रिय प्रजा पार्टीको मात्र थियो । जसको विरोधमा नेपाली कांग्रेस, प्रजा परिषद् आदि पार्टीहरूले अप्रजातान्त्रिक सरकार भनेर विरोध गरे । 

यो सरकार पतन गराउन नेपाली कांग्रेस, प्रजा परिषद् र नेपाली राष्ट्रिय कांग्रेसले नेपाल प्रजातन्त्र लिग भनेर स्वतन्त्र मोर्चा खोले । तर, १० माघ २०१० मा यो मन्त्रीमण्डलमा नेपाल प्रजातन्त्र लिग मोर्चाका डिल्लीरमण रेग्मी र टंकप्रसाद आचार्य मन्त्री बने । अहिलेको जस्तै त्यस बेलामा पनि नेताहरूमा न त प्रजातान्त्रिक मूल्य र सिद्धान्तप्रति निष्ठा थियो न त आफूले बोलेका कुराप्रति लज्जा र संकोच थियो ।

२०१२ साल माघ १३ गते राजा महेन्द्रबाट तीन पार्टीहरूको सल्लाहमा टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा सात सदस्यीय मन्त्रीमण्डल गठन गरे । टंकप्रसाद आचार्यको शासनकालमा नेपाल राष्ट्र बैंकको स्थापना, सर्वोच्च अदालतको स्थापना, नेपाल (रूस, नेपाल–इजिप्ट र नेपाल–जापान)बीच राजदूतस्तरीय दौत्य सम्बन्ध स्थापना, नेपाल र तिब्बतबीच कन्सुलटेन्ट स्तरमा समझौता, नेपाल र स्वीट्जरल्याण्डबीच मन्त्रिस्तरीय दौत्यसम्बन्ध स्थापना भयो ।

यिनले चीनसँग आर्थिक सहयोगसम्बन्धी सम्झौता गरी छ करोड भारतीय रुपैयाँबराबरको सहयोग नेपाललाई दिलाए । नेपाली कांग्रेसले यिनको विरोध गर्दै वैधानिक राजतन्त्रको हित र प्रजातन्त्रको रक्षाका लागि यो सरकार विघटनको माग ग¥यो । ३१ आषाढ २०१४ मा आचार्य सरकार विघटन भयो ।

चीन निर्वाचनबाट डा.के.आई.सिंह फर्केपछि राजाले राजनीतिक दलहरूसँग परामर्श लिई उनको प्रधानमन्त्रित्वमा मन्त्रिमण्डल गठन गरे । जजसले डा.के.आई सिंहको प्रशंसाको पुल बाँधेका थिए उनी प्रधानमन्त्री भएपछि उनको कटु आलोचक बने । नेपाली कांग्रेसले डा.के.आई.सिंहले गराएको निर्वाचनमा भाग नलिने भन्यो । अन्ततः तीन महिना आठ दिनपछि २९ कात्तिक २०१४ मा डा.के.आई.सिंहले आफ्नो पदबाट राजीनामा दिए । केआई सिंहको शासनकालमा भ्रष्ट कर्मचारी र कालोबजारियाहरूमाथि अंकुश लगाई र कार्यबाही गरिएको थियो । तीन महिनामा डा.के.आई. सिंहले जति राम्रा काम गरे, ओलीले तीन वर्षमा पनि त्यति गर्न सकेनन् ।

७ फाल्गुण २०१५ मा निर्वाचन भयो । नेपाली कांग्रेसको दुई तिहाइको सरकार बनेपछि ऊ दम्भले चुलियो । चुनाव हारेका दलहरूले उसको विरोध गर्न सुरु गरे । फलतः राजा महेन्द्रले २०१७ सालको कदम चाले । अहिले कुनै पनि दलको एकलौटी सरकार बन्ने स्थिति छैन । सांसद खरिद बिक्रीको प्रक्रिया फेरि सुरु हुनेछ । विदेशी हस्तक्षेप बढ्नेछ । 

देश पूर्णरूपमा विदेशीको रिमोट कन्ट्रोलबाट चल्नेछ । सत्ता बचाउन नेताहरूले जस्तोसुकै काम गर्नपछि पर्ने छैनन् । अदृश्य सरस्वती हाम्रो देशको दूषित राजनीति र नेताहरू, राज्यको चारै अङ्ग मात्र होइन नागरिक समाज, अधिकारवादी आदिमाथि अविरल बगिरहने छिन् । हामी जनता लाचार छाया भएर जिन्दावाद मुर्दावाद भनिरहनेछौं । 

सरकार गठन पनि विदेशीको चाहनाअनुसार हुनेछ । माधव नेपालले इन्डियामा फोन गरेर दलको बैठकपछि अरू कुरा जानकारी गराउने भन्ने भिडियोले पनि हाम्रो पराधीनता प्रष्ट पारेको छ । स्वास्थ्योपचारको नाममा तीनैजना पूर्वप्रधानमन्त्री र महन्त ठाकुरको भारत भ्रमण भएको छ । अहिले प्रचण्डले कांग्रेस, जसपा र आफूहरू सम्मिलित सरकार बने इण्डियालाई ‘कम्फोर्टेबल’ हुने भनेका छन् । विदेशी राजदूतहरूको सक्रियताले पनि विभिन्न आशंका उब्जाएको छ । १२ बुँदेको जगमा आएको यो व्यवस्था पनि नेताहरूका कारण नेपालका लागि फलदायी हुने देखिएको छैन । 


Views: 165