11th April | 2021 | Sunday | 5:49:34 PM

संकल्पको तात्पर्य : किन गर्नुपर्छ संकल्प ?

नारायणप्रसाद निरौला   POSTED ON : फाल्गुन २०, २०७७ (७:४७ AM)

संकल्पको तात्पर्य : किन गर्नुपर्छ संकल्प ?

हाम्रा हरेक धार्मिक कार्यको आरम्भमा संकल्प गर्ने वैदिक विधान रहिआएको छ । चाहे देव कार्य हुन् चाहे पितृकार्य सबैमा संकल्प अनिवार्य नै हुन्छ । यो किन र केका लागि गरिन्छ भन्ने कुरा जानेर होस् या नजानी जसरी भए पनि परम्परा धानिँदै आएको छ । वास्तवमा के हो संकल्प ? अनि किन गरिन्छ संकल्प ? संकल्प गर्नुको तात्पर्य के हो जस्ता प्रश्न मनमा खेल्नु स्वभाविक नै हो । कतिपय सन्दर्भ नजानेरै भए पनि प्रयोगमा आइरहेका हुन्छन् । तर यस्ता विषयको ज्ञान सबैमा हुनु आवश्यक छ । 

यस्तै एक विषय संकल्प हो जुन हाम्रा हरेक कार्यमा प्रयोग भइरहेका हुन्छ । यसको गुहृय रहस्य बुझ्न नसकेर नै आज हाम्रा धार्मिक कृत्यहरू क्षीण हुँदै गइरहेका छन् । आफूभित्रको मणिलाई चिन्न नसकेर पाश्चात्य शैलीतर्फ आकर्षित हुँदै गरेको आजको परिवेशमा यसको वैज्ञानिकता जान्नु आवश्यक छ । दिनानुदिन कर्मलोप हुँदै गरेको अवस्थामा वास्तविकताको पहिचान गर्नु र यसलाई अवलम्बन गर्नु नितान्त आवश्यक छ । 

व्याकरणमा सम्+क्लृप् पूर्वक घञ् प्रत्यय लागेर संकल्प शब्द निर्माण हुन्छ । यसको अर्थ निश्चय वा प्रण भन्ने लाग्दछ । एक विशिष्ट प्रकारको पूर्वकल्पना नै संकल्प हो । सामान्य शाब्दिक अर्थले पनि यही विषयको बोध गराएको पाइन्छ तर यसको विशिष्ट अर्थ भने भिन्नै रहेको पाइन्छ । हाम्रा हरेक कार्य संकल्पपूर्वक नै भएका हुन्छन् । यही कुरालाई पद्धतिमा उतार्ने कार्य नै वास्तवमा संकल्प हो । यी मानसिक वा वाचिक दुवै हुन सक्छन् । हामी निद्रबाट व्युझेपछि नै संकल्प गर्न थाल्दछौं । हाम्रा हरेक कार्य संकल्पपूर्वक नै भइरहेका हुन्छन् । कतिपय औपचारिक त कतिपय अनौपचारिक फरक यत्तिमात्र हो । आज यो यो काम यसरी गर्नु छ भन्नु पनि एक प्रकारको संकल्प नै हो । 

सामान्य कुरालाई विशेष संकल्प नभनिए पनि यी स्वतः संकल्प भइरहेका हुन्छन् । वाचिक रूपमा गरिने संकल्पको विशेष महिमा रहेको छ । जुन हाम्रो शास्त्रीय विधान हो । नित्यकर्मपद्धतिमा पनि प्रत्येक दिन संकल्पको विधान गरिएको छ । यसैगरी यही संकल्पको पद्धति नै आजको प्रशासनिक व्यवस्थापनमा प्रयोग हुने योजना हो । संकल्प विशेष प्रकारको योजना नै हो । योजनामा पनि पछि गरिने कार्यको पूर्वतयारी गरिन्छ । त्यसैगरी संकल्पमा पनि पछि हुने कार्यको पूर्वघोष हुने गर्दछ । शोध कार्यमा पूर्वकल्पनाको व्यवस्था हुन्छ । जसको इतिहास खोज्न वेदमै पुग्नुपर्ने हुन्छ । वेदमा पनि तन्मे मनः शिवसंकल्पमस्तु भनेर शिव अर्थात् कल्याणका निम्ति संकल्प गरिएको छ । 

यही र यस्तै वैदिक ऋचाले पनि संकल्पको चर्चा गरेका छन् । मनले संकल्प गरेको कुरा वचन र व्यवहारमा उतारेपछि मात्र त्यो संकल्पले पूर्णता पाउँछ भन्ने भविष्यपुराणले अथ्र्याएको छ । संकल्प मानसिकन नै हुन्छ । मानसकि संकल्प दुईप्रकारका छन् भाव र अभाव । मनले यो गर्नु छ भन्ने भाव संकल्प हो भने यही गर्नु छ भन्ने कुनै कुराको निश्चय नगरी हुने संकल्प अभाव हो । पूजा आदिमा गरिने संकल्प भाव र उपवास आदिको संकल्पलाई अभावको संज्ञा दिइएको छ । वर्तमानमा सामान्य संकल्प र महासंकल्प प्रचलनमा रहेका पाइन्छन् । धर्मशास्त्रमा संकल्प गर्ने विशेष विधि बताइएको छ । विशेषतः तिल जौ, कुश र जल संकल्पका आधारभूत वस्तु हुन् । 

मानसिक संकल्प भनेको मनको अठोट नै हो । यसका निम्ति कुनै वस्तु विशेषको आवश्यकता पर्दैन । संकल्पपूर्वक गरिएको कार्यको सिद्ध हुने भएकाले यसको धार्मिक महिमा अवच्छिन्न चलिरहेको छ । पुरश्चरणविधि नामक तान्त्रिक ग्रन्थमा संकल्पको विधान यसरी बताइएको छ : संवत्सरायने मासः पक्षः पञ्चांगमेव च । नवग्रहस्थितिं घस्रभागं मुहूत्र्तकत्विति ।। स्वदेशभेदाँस्तत्तुल्यान्कामनासहितान् वदेत् । द्वीपेऽमुकेऽमुके खण्डेऽमुके वर्षे न नीर्वृती ।। अमुकेचामुके पक्षे गोत्रप्रवरमुच्चरेत् । स्वनाम जातिनामान्तं द्विजाच्छर्म च वर्म च ।। अर्थात् कुश, तिल, जल हातमा लिएर कामनासिद्धिका लागिसंवत्सर, अयन, पक्ष, ग्रहस्थिति, देश, ठाउँ, नाम, गोत्र, प्रवर अनि गर्ने कार्य र फलको उच्चारण गर्ने विशिष्ट कार्य नै संकल्प हो । 

हरेक धार्मिक कार्यको थालनी संकल्पपूर्वक गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । संकल्पमूलः कामो वै यज्ञाः संकल्पसम्भवा । व्रतनियमधर्माश्च सर्वे संकल्पजाः स्मृताः ।। (तिथ्यादितत्त्वम्) संकल्प विना गरिएका कार्य निष्फल हुन्छन् भनी ब्रहृमपुराणमा बताइएको छ ः संकल्पेना विना राजन् यत्किञ्चित् कुरुते नरः । फलं चाल्पाल्पकं तस्य धर्मस्याद्धक्षयो भवेत् ।। (ब्रहृमपुराण) योगिनी तन्त्रमा पनि संकल्पको विशेष विधान गरिएको छ । संकल्पले कार्यलाई योजनाबद्ध रूपमा निर्धारित समयमा पूरा गर्न मद्धत गर्दछ । साथै यसको धार्मिक महिमा विशेष छ । संकल्पपूर्वक गरिएको कर्मको फल इहलोकका साथै परलोकमा प्रप्त हुन्छ भन्ने धर्मशास्त्रीय मत छ । 

यही लोकमा चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षको सिद्धि हुने भएकाले पनि हरेक शास्त्रीय कर्मको थालनी संकल्पसँगै ह्ुने गर्दछ । इह लोकदेखि परलोकसम्मको सम्बन्ध सेतुका रूपमा संकल्पले काम गरिरहेको हुन्छ । संकल्पले नै कार्यसिद्धि भएका थुप्रै इतिहास र वर्तमान पनि पाउन सकिन्छ । के हुन्छ संकल्पमा ? भन्ने प्रश्न सबैका मनमा जाग्न सक्छ । वास्तवमा पौरस्त्य संकल्प विधि अति नै वैज्ञानिक रहेको छ । सर्वप्रथम व्यक्ति कायिक र मानसिक रूपमा शुद्ध हुनु आवश्यक छ । शुद्ध आसनमा पवित्र भई बसेपछि मात्र संकल्पको विधान गरिएको छ । यसरी गरिने संकल्पमा कार्यअनुसारको दिग् व्यवस्थिति पनि गरिएको हुन्छ । सामान्यतः पूर्व फर्किएर अनि अन्य कर्मानुसार चन्द्रमाको अनुकूल भई संकल्प लिने व्यवस्था रहेको पाइन्छ । 

संकल्पमा सर्वप्रथम परमात्मा परमेश्पवरको स्मरण गरिन्छ । साथैै ईश्वरले सृष्टि गरेको समयको उच्चारण हुने गर्दछ हरि ॐ तत्सत् ३ ॐ विष्णु ३ श्रीमद्भगवतो महापुराणपुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारिणो....यसैगरी ब्रहृमाको एकाउन्न वर्षको आयु पुगेको छ । सोही भएर ब्रहृमणो द्वितीयपरार्धे भन्ने उच्चारण गरिन्छ । पचास वर्षसम्म पूर्वाद्ध र तत् पश्चात् पराद्र्ध भएको हो । वर्तमान समय श्वेतवराहकल्पको हो सोही भएर श्वेतवाराहकल्पे भन्ने उच्चारण गरिन्छ । ब्रहृमाको एक दिनलाई कल्प भनिन्छ । सृष्टि कर्ता ब्रहृमाजीको सय वर्षको आयु रहेको छ । ब्रहृमा एकाउन्नौं वर्षका पनि चौध मनु (स्वायम्भुव, स्वारोचिस, उत्तम, तामस, रैवत चाक्षुष, वैवश्वत, सावर्णि, दक्षसावर्णि, ब्रहृमसावर्णि, धर्मसावर्णि, रुद्रसावर्णि, रौच्यसावर्णि, भौत्यसावर्णि) मध्ये छ मनु व्यतीत गरी सातौं वैवश्वत मनुअन्तर्गतको सत्ताइसौं महायुग व्यतीत भइसकेका छन् ।

त्यसैले सातौं मनु वैवश्वतको पालो चलेकाले वैवश्वतमन्वन्तरे भन्ने उच्चारण गरिन्छ । यसैगरी सत्ताइसौ महायुगअन्तर्गतका पनि सत्य,त्रेता र द्वापर युग व्यतीत भइसकेका छन् । कलि युगका पनि पाँच हजार एक सय एक्काइस वर्ष (वि.सं २०७७) व्यतीत भइसकेकाले सत्यत्रेताद्वापरान्ते कलि युगे, कलियुगस्य प्रथम चरणे पनि भनिन्छ । यसैगरी भगवानका चौबीस अवतारमध्ये बौद्धावतार भएकाले बौद्धावतारे पनि उल्लेख गरिन्छ । यो क्षेत्र प्राचनि कालमा भारत वर्षको भरत खण्डअन्तर्गत जबूद्विपमा पर्दथ्यो जसको इतिहास पनि संकल्पमा भारतवर्षे भरतखण्डे जबमूद्विपे भनी उच्चारण हुन्छ । जसले गर्दा विगतलाई पनि स्मरण गराएको पाइन्छ । 

यसैगरी हाम्रो देश नेपाल जम्बूद्विपअन्तर्गतको हिमवत् खण्डमा पर्ने भएकाले हिमवत्खण्डे पनि उच्चारण गरिन्छ । यसपछि देशको कुन अञ्चल, जिल्ला, गाउँ हो सोको उच्चारण हुन्छ । यसपछि उक्त गाउँ के कस्ता धार्मिक तीर्थको नजिकमा छ सो को उल्लेख गरिन्छ । नदी मठ मन्दिरहरू सान्निध्यमा के के छन् सोको समेत उल्लेख हुने गर्दछ । यसरी समग्र भूगोलको कुन क्षेत्रमा उक्त संकल्पकर्ताको अवस्थिति छ सोको उच्चारण हुने गर्दछ । यसले समग्र भौगोलिक अवस्था र अवस्थितिको परिचय दिने गर्दछ । अर्थात् भनौं भूगोल, इतिहास एवं खगोलको पनि पूर्ण स्मरण संल्पमा गरिन्छ । 

वर्तमान समयको समग्र खगोलीय अवस्थितिको उच्चारण पनि संकल्पमा हुने गर्दछ । वर्तमान संवत्सर, अयन, ऋतु, सौर चान्द्र मास, चान्द्रमासका पक्ष, तिथि, बार, नक्षत्र योग, करणको के कस्तो अवस्थिति छ सोको उच्चारण हुने गर्दछ । तत्कालिक समयमा सूर्यादि ग्रहहरूको स्थिति के छ भन्ने कुराको स्मरण पनि हुने गर्दछ । कुन राशिमा सूर्य, कुन राशिममा चन्द्रमा, कुन राशिमा बृहस्पति आदि ग्रहहरू छन् सोको यकिन पनि यसैअन्तर्गत गरिन्छ । यसरी हेर्दा संकल्पले समग्र खगोललाई पनि समेटेको छ । 

यसपछि कर्ता व्यक्तिको नाम, गोत्र, प्रवर, राशिको उच्चारण हुने गर्दछ । जसले कर्ताको प्रामाणिका अवस्थिति झल्काउछ । यसैगरी कर्ताका माता, पिता, पति, पत्नी, भाइ, बन्धु, पुत्र, परिवार आदि सबैको यथा उल्लेख गरिन्छ । जसले कर्ताको पूर्ण परिचय गराएको हुन्छ । यी सम्पूर्ण भौगोलिक, ऐतिहासिक, खगोलीय अनि कर्ताका स्वकीय परिचय गराइसकेपछि मात्र फलअनुसारका कर्मको उल्लेख गरिन्छ । के कस्ता कर्म गर्ने हो ? क्ुन उद्देश्यका निम्ति गर्ने हो कस्तो फल प्रप्तिका निम्ति हो भन्ने कुराको पनि उल्लेख गरिन्छ । 

यो सामान्य संकल्पको विधि हो । महासंकल्पमा यो भन्दा बृहत्तर विषयवस्तुको उच्चारण गर्नुपर्ने हुन्छ । जुन सामान्य वाचन गर्न पनि तीस चालिस मिनेटको समय लाग्ने गर्दछ । कार्यअनुसारका संकल्प फरक भए पनि मूलरूपमा उच्चारण गर्ने विषयवस्तु भने यस्तै नै हुन्छन् । देव एवं पितृ दुवै कार्यमा संकल्पलाई अनिवार्य मानिएको छ । संकल्पपूर्वक दिएको वस्तुमात्र पितृले प्राप्त गर्ने भएकाले देवभन्दा पितृ कार्यमा संकल्पको विशेष महत्व रहेको पाउन सकिन्छ । एउटा संकल्पकर्ताले समग्र भूगोल, इतिहास, खगोल, अनि तत् कुलको इतिवृत्त जान्ने गर्दछ । वास्तवमा संकल्प जान्ने मान्छे विद्वान् हुन्छ । किनकि उसलाई समग्र ज्ञान भइसकेको हुन्छ । 

संकल्प समग्र ज्ञानको परिसूचक हो । कार्यका निम्ति लक्ष निर्धारक हो । एकप्रकारको अठोट हो । जसले कार्य गर्नमा अभिप्रेरित गरेको हुन्छ । संकल्प गरेर कार्य गर्न नसक्नु पाप हो । जसरी राजा वलिले संकल्प गरेर अन्तिममा दिने वस्तु केही नहुँदा सर्वस्वसहित आफ्नै शिर प्रदान गर्नुपरेको थियो । त्यसैले संकल्पमा सधंै सावधान हुनु आवश्यक छ । संकल्प समग्र अवस्थितिको द्योतक हो । जसको ज्ञान सबैमा हुनु आवश्यक छ । यसले इतिहास भूगोल, खगोल एवं समग्र ब्रहृमाण्डका विषयवस्तुको ज्ञान दिइरहेको हुन्छ । त्यसैले पौरस्त्य वांमयमा रहेको संकल्पलाई सबैले मनन् गर्नु आवश्यक देखिन्छ । समग्र मानव कल्याणका निम्ति यसको ज्ञान हुनु र यसलाई प्रयोमा निरन्तरता दिनु जरुरी छ । 


Views: 72