11th April | 2021 | Sunday | 5:58:14 PM

हिमालपारिको जिल्ला जाँदा

लेखनाथ पोखरेल   POSTED ON : फाल्गुन २०, २०७७ (७:५१ AM)

हिमालपारिको जिल्ला जाँदा

प्रसस्त धान फल्ने लम्जुङको उत्तरपूर्वी भेग उब्जनीमा अब्बल मानिन्छ । बेसींशहरबाट करिब दुई दिनको बाटो टाडा रहेको दुराडाँडा शिक्षितहरूको समाज र सामाजिक क्रान्तिको अगुवाहरूको थलोका रूपमा परिचित छ । राजनीतिक र सामाजिक परिवर्तनको सोच भएका शिक्षित र सम्पन्न त्यहाँका मानिसका कारण राणा शासकहरू पनि आजित थिए । २००६ सालमा त्यहाँका २७ जना ब्राहृमणहरूले, ब्राहृमण जातिले पनि हलो जोत्न हुन्छ भनेर ‘हलो क्रान्ति’ सुरु गरेका बेलाको एउटा गीत अहिलेसम्म पनि त्यहाँको जनबोली बनेर बसेको छ । 

शेषकान्त लप्टन, हरिभक्त तिघ्रे, 

तोयानाथ पण्डित हलो जोती बिग्रे,

हलो जोत्ने मुख्खे यिनै तीन जना हुन्,

हलो जोती खालान् पाथीभात बाहुन ।

अपर मस्र्याङ्दी हाइड्रो पावरको कामको शिलशिलामा पुनः एक पटक बेंसीशहर पुग्ने अनुकूलता जुटेको थियो । थपिएका केही होटेल र पक्की बाटोबाहेक सोह्र वर्षको अन्तरालमा बेंसीशहरमा मैले त्यत्रो कुनै ठूलो अन्तर पाइनँ । त्यो रात होटेल सयपत्रीमा बित्यो । पर्यटकका सामान बोकेर टुकुचे जाने खच्चडको घाँटीमा बाँधेको घण्टी र गोठालाको स्यु....स्यु....को आवाजले निद्रा खुल्दा उज्यालो भर्खर भूइँमा खस्दै थियो । होटेलको बरण्डामा निस्किएर चारैतिर आँखा डुलाएँ । कोटडाँडाको जंगलदेखि बेंसीशहरसम्म नै चकमन्न थियो । हिमालचुलीतिर नियालेँ, हिमालचुली बादलले छोपिएको देखियो ।

होटेलको छतमा बसेर चियाको चुस्की लिँदैगर्दा केहीबेर अगाडि देखिएको हिमालचुलीको बादलको घुम्टो उठ्दै गयो । हिमालचुली कपासका अग्ला चुचुराझैँ देखिए । क्षणभरमा नै सूर्यदेवले आफ्नु आभा फिँजाएर हिमालचुलीलाई सुनौलो रंगले पोतिदिए, त्योसँगै, क्रमशः पाखा र भित्ताभरि छरिँदै बेंसीशहर आइपुगे ।

खाना खाएर हामी स्याँगेतर्फ लाग्यौं । निर्माणाधीन बेंसीशहर चामे सडकको २६ किमी गाडीको बाटो पार गरेर स्याँगे पुग्दा सूर्यदेव अस्ताचलतर्फ लाग्दै थिए । जाडोयाम सुरु भएसँगै मस्र्याङ्दीको यो खोँचमा घाम झुल्किन पाएको हुँदैन मिलिक्कै गरेर अस्ताए जस्तो लाग्छ । मस्र्याङ्दीको दायाँ किनारमा बसेको सानो बजार हो स्याँगे । बजारको माथिल्लोपट्टि देखिन्छ एक सय मिटरभन्दा अग्लो छङ्छङ् गर्दै खसेको एउटा विशाल छाँगो । स्याँगे बजारको विद्युत् आपूर्तिको स्रोत हो यो छाँगो । बायाँ किनारमा छ हरियालीले झकिझकाउ सुन्दर गुरुङ बस्ती । 

स्याँगे बजारमा चिया पिउँदै गर्दा भारी बोकाएर ल्याएका खाच्चडहरू बाँध्ने बेला भएको थियो । गोठालाहरू बाटोको छेउमा आआफ्ना खच्चडहरू लाइन लगाएर उभ्याउँदै थिए । लाइनको ओल्लो र पल्लो छेउमा उभिएका एक–एकवटा खच्चडलाई यिनीहरूले राम्रोसँग बाँधेका हुन्थे । बाँकी खच्चडलाई भने गोठालाले आफ्नु हातमा लिएको डोरीले प्रत्येकको खुट्टामा हलुका हिर्काएर खुलै छोडीदिन्थ्यो ।

खच्चड बाँध्ने उसको तरिका देखेर मलाई अचम्म लागेको मैले सोधेको थिएँ ‘यी नबाँधेका खच्चड भाग्दैनन् ?’ गोठालोले भन्यो, मैले सबै खच्चडको खुट्टामा डोरीले हिर्काइसकेको छु । यति भएपछि यी सबैले आफूलाई बाँधेको मान्छन् । भ्रमले के केलाई मात्रै बाँधेको छैन ! आफैंतिर फर्केर हेर्ने हो भने, आफ्ना, पराया, मान, सम्मान, माया, प्रीतिजस्ता भ्रमित विषय र वस्तुमा हामी पनि त चुडिन नसक्ने गरी यसरी नै बाँधिएका छौं ! बन्धन त छ नै काहाँ र ?

मनाङ्तिर जाने सामान ढुवानीको एकमात्र निर्विकल्प साधन हुन् खच्चड । खच्चड अनौठो जातको जानवर हो । यो आफू जन्मिन्छ तर यसबाट बच्चा जन्मिदैन । मानव नाकको सहनशक्तिभन्दा परको यसको लिदीको दुर्गन्धको कारण खच्चड हिँड्ने बाटो हिँड्नुपर्ने भएमा स्थिति असैहृय र भयावह बन्न पुग्छ ।

बजारपारिको गुरुङ बस्तीमा थियो प्रोजेक्ट अफिस । गुरुङ जातिले आफू बस्ने गाउँठाउँलाई साह्रै माया गर्ने भएकाले, उनीहरूको बस्ती सधैं हरभरा र सम्पन्न देखिन्छ । कर्मलाई धर्म मान्ने र आफ्नो कामको चोरी आफूले गर्नुहुन्न भन्ने यिनीहरूको मान्यताबाट म प्रभावित पनि हुँ । होमस्टेमा पर्ने यो गाउँका सफा घर आँगनले यिनीहरूको जाँगरको परिचय दिन्थ्यो । काठको खाटमा, आफैंले बुनेको राडीमाथि बिच्छ्याएको गलैंचा । भित्तामा अडेस लगाएर राखिएको खोल हालेको सफा गोलो बालिस्ट । छेउमा राखेका काठ र प्लास्टिकका कुर्सी । सफा भाँडा र सुग्घर भान्सा, यिनीहरूको पहिचान हो । 

अर्को दिन बेलुकी मनाङको ‘ताल’ पुग्नुपर्ने बाध्यता थियो । सर्भेयर चन्द्रमान चन्द र म बिहान सबेरै निस्कियौं । हामीहरूभन्दा अगाडि ठूल्ठूला रुकस्याक बोकेर स्याँ..स्याँ गरेर पसिना पुछ्दै उकालो लागेका तन्नेरी कुइरेका एकजोडी भेटिए । कुराको प्रसंगमा भन्थे–नयाँपन भएन र एकैखाले रहनसहन, खानपिन र मोजमस्ती भयो भने जीवन उच्याटलाग्दो हुन्छ । उनीहरू त्यस्तै कुनै नयाँ अनुभूतिका लागि मनाङको ट्रेकिङमा निस्केका थिए । वास्तवमा नै, नयाँपनसँग अनौठो मोहिनी गाँसिएको हुन्छ मान्छेको । त्यसो त नयाँपन वस्तुविशेषमा सीमित नभएर भोगाइको अनुभूतिमा भरपर्ने कुरा हो ।

मानिस आफ्नो लोभी जिब्रो जस्तै हुन्छ । जे छ त्यसलाई महŒव नदिने, जे छैन त्यसको पछि कुध्न नछोड्ने । पट्यार लाग्दा यी डाँडाकाँडा देखेर थाकेका हामी । यिनै डाँडाकाँडामा रमाएका यी खैरेका जोडी देख्दा अनौठो लागेन । यो जोडी थाकेरमात्र फर्किने हो कि सन्तुष्टिको कुनै अनुभूति पनि संगाल्ने हो ! यो उनीहरूको भोगाइमा भर पर्ने कुरा भएको हुँदा भन्न भने गाह्रो छ ।

कुनै बेला हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ अब हिमालवारि आइसकेको छ । धारिलो खुकुरीले चट्ट काटेर बनाएको जस्तो देखिने खोँचको बीचबाट बगेको मस्र्याङ्दी नदी, जति अगाडि गयो त्यत्ति नै रहस्यमयी दृश्यजस्तो बन्दै गहिरो झन् गहिरो भएर बगेको देखिन्छ । भनिन्छ, हजारौं वर्षदेखि केही दशकअगाडिसम्म पनि हिउँले छपक्क छोप्पिएका हुन्थे यहाँ देखिएका अग्ला डाँडाहरू । त्यो बेलाको मनाङ जाने विकल्पविहीन यो बाटो वर्षा र हिउँको कारण वर्षको सात आठ महिना नै बन्द हुनेगथ्र्याे । जोखिमपूर्ण अक्करको बाटो हिँड्दा, खोल्सा तर्दा, त्यहाँ बनाएका फड्केबाट खसेर कति मान्छे मर्थे भन्ने लेखा जोखा हँुदैनथ्यो अरे ।

हिउँले शोभायमान त्यो बेलाका डाँडाहरू अब निर्जन कालो ढुंगाको पहरामा परिणत भएका छन् तर प्रकृतिको स्वभाव अनौठो छ । हिउँबाट वञ्चित यहाँका पहरालाई सुन्दर बनाउन प्रकृतिले आफ्नो क्यानभासमा अर्को एउटा सुन्दर रूप कोरिदिएको छ । पहराको चेप चेपबाट निस्किने कञ्चन सेतो पानीका अग्लाअग्ला छहराहरूबाट शोभायमान बनेर उभिइराखेको मस्र्याङ्दीको यो खोंचको सुन्दरतामा कमी भने देखिँदैन ।

कतै झुरुम्म परेर बनेका व्यवस्थित त कहीँ पाखा भित्तामा बनेका थुप्रै एक्ले होटेल भेटिन्छन् यो बाटोमा । तल बग्दै गरेको मस्र्याङ्दी । मस्र्याङ्दीभन्दा करिब एक सय फिटमाथि झुण्डिएको कहालीलाग्दो एउटा पहरो । पहरोमा बनेको एउटा होटेल । अक्करमा मुस्किलले अडिएर बसेको त्यो होटेल तारेभीरमा झुन्डिएको घ्याम्पा जस्तो देखिन्थ्यो । होटेलभित्रको व्यवस्थापन भने अनौठो थियो । 

छेउमा बग्दैगरेको खोल्साको पानी उपयोग गरेर सानो टर्बाइनको माध्यमबाट निकालेको विद्युत्ले होटेल झलमल्ल थियो । सफा बाथरुम । गलैंचा बिछ्याएका खाटहरू । टेबल पङ्खासहितको वेटिङरुम । भान्सामा राखिएको फ्रिज र ओभन देख्दा म चकित परेँ । अझ चकित बनायो इटालियन, चाइनिज, थाई र कन्टिनेन्टल डिसले भरिएको यहाँको मिनुले । यतातिर भेटिने सबैजसो होटेलको व्यवस्थापन प्रायः एकै किसिमको पाइन्छ । 

रूले समयमात्र पाउनुपर्छ जुन प्रकारको खाना चाहिने हो त्यो तयार हुन्छ । जल र जमिनको सदुपयोग गर्दै पौरखी पाखुरी बजारेर जीविकोपार्जनमा लागेका उनीहरूको सुझबुझ र हिम्मतलाई सलाम गर्नै पर्छ । ‘अन्नपूर्ण ट्रेल’ मा यस प्रकारको साधन सम्पन्नता भेटिन्छ भन्ने कुरा यो ठाउँमा पुगेर आफैंले नदेखेसम्म विश्वास गर्न सकिँदैन । 

स्याँगेबाट करिब चार घण्टाको पैदल बाटो हिँडेपछि काला नांगा डाँडाको शृंखलापछि छुट्दै गए । त्यसको सट्टामा हरिया र अग्ला पहाडको शृंखला देखिन थालेका थिए । हरियालीको दृश्य विस्तारै फैलिँदै गइराखेको थियो । हामी मनाङ जिल्लाको छेउछाउ भएर हिँड्दै थियौं । 

हरियो जंगलको आवरणभित्र छपक्क छोपिएर आकाशलाई छुन उठेका अग्लाअग्ला डाँडा । डाँडाका खोँच भएर खस्दैगरेका सानाठूला थुप्रै झरनाको मनोरम दृश्य । पाँच सय मिटरमाथिबाट सुस्तरी खसेको मस्र्याङ्दीको रोमान्चक छहरा । आँखै नझिम्क्याई त्यहीँ बसेर हेरिराखौँ परेको कस्तो आकर्षण ! व्यक्त हुनै नसक्ने कस्तो सौन्दर्य हो यो ! ती दृश्यले यसरी मौन र मुग्ध बनायो कि हिँड्दै गरेको मलाई कुनै गन्तव्यमा पुग्नु छ भन्ने कुराको हेक्कासम्म रहेन । मेरो सहयात्रीले मलाई घच्घच्याएर तालसम्म पुग्न हिँड्न बाँकी रहेको बाटोतिर इसारा गर्नुपरेको थियो ।

आधा घण्टाको उकालो उक्लेर टुप्पाको फलैँचामा पुग्दा सिनेमाको पर्दामा जस्तैगरी एकाएक दृश्य परिवर्तन हुनपुग्यो । अस्ताचलतिर ओह्रालो लाग्दैगरेको पहेंलो घामको दृश्यसँगै देखिने ‘ताल’ को सौन्दर्यले मलाई चकित तुल्यायो । यो हदसम्मको प्राकृतिक सुन्दरता पनि हुन्छ भन्ने कुराको त मैले कल्पनासम्म गरेको रहेनछु । मेरा आँखा टोलाएका मात्र नभई लोलाएका थिए । कुनै दृश्यले यतिसम्म द्रवीभूत गराउँन सक्दोरहेछ भन्ने कुराको अनुभूति मलाई यहाँ पुगेरमात्र भएको थियो । प्रेमका पारखी र पुजारी, सन्यासीले किन खोज्दछन् हरिया डाँडा र हिमाल भन्ने कुराको जवाफ मैले पाएको थिएँ ।

५ हजार ५ सय फिटको उचाइमा रहेको मनाङ जिल्लाको एउटा सानो बजार हो ताल । एक किलोमिटर माथिसम्म बेगले बगेको मस्र्याङ्दी तालमा आइपुग्दा मधेसमा जसरी कुनै आवाज नगरी बगेको छ । यहाँ भएका २५–३० वटा साधनसम्पन्न पक्की र कच्ची होटेलले दैनिक तीन सय पर्यटकलाई सुविधा उपलब्ध गराउन सक्ने क्षमता राख्दछन् । 

कात्तिक महिना आधाउधिमात्र बितेको भए पनि, जाडो बैंसालु बनिसकेको थियो तालमा । यस्तोबेला आगेनाको छेउमा बसेर हातखुट्टा सेकाउँदाको मज्जै अर्कै ! चुलोमा दन्किएको आगाको न्यानु रापमा बसेर घ्यूचिया पिउँदा र खाना खाँदै गर्दा मैले चालीस वर्ष अगाडिको ओलाङ्चुङगोलाको माइलो गोभाको घर सम्झिएको थिएँ । 

आठ कोस लामो उकालो ओरालो हिँडेर थाकेको शरीरले निद्राको माग गर्न थाल्यो । भ¥याङ उक्लेर होटेलको माथिल्लो तलामा रहेको बेडरुममा पुगेँ । कोठाको दक्षिणपट्टिको झ्याल खोलेसँगै चिसो सिरेटोले कोठा भरियो । झ्यालमा उभिएर बाहिर हेरेँ । पूर्णिमाको रात, बाहिर झलमल्ल उज्यालो थियो । मटमैलो मोटो धर्सोझैँ लाग्ने निशब्द बगिराखेको मस्र्याङ्दीको दुवै किनारको बालुवा र रोडा चाँदी टल्किएझैँ टल्किराखेका थिए । 

एक क्षण अगाडिसम्म मीठो लागेको चिसो सिरेटो बाक्लिँदै गएकाले झ्याल बन्द गरेर, ओच्छ्यानमा राखेको बाक्लो सिरकलाई चिउडोसम्म तानेर लमतन्न परेर पल्टिएँ । छेउको पाखाबाट छङ्छङ् गर्दै झरेको झर्नाको मधुरो आवाज कानमा गुञ्जायमान भइरहृयो । झरनाको मधुरो गुञ्जनले कुन बेला निद्रामा पु¥यायो पत्तै भएन ।

अर्को बिहान ब्युँझिँदा शरीरमा आलस्य थियो । कहिलेकहीँ आलस्यमा पनि सन्तोष हुन्छ । उठौं कि नउठौं गर्दै निकै बेरसम्म न्यानो सिरकभित्रै पल्टिइरहेँ । झर्नाको छङ्छङ्को कर्णप्रिय धुनले आनन्दित बनाइरहृयो । खच्चडको ताँती हाँक्दै च्यामेतिर लागेका गोठालाको गीत कानमा पसेसँगै, होटेलको भूइँतलामा बन्दैगरेको घ्यूचियाको वास्ना नाकभित्र पस्यो । सिरकबाट बाहिर निस्किएर झ्याल छेउमा पुगेँ । दिनको उज्यालो डाँडाको माथिसम्म आइसकेको थियो । 

घुम्दै गरेका मेरा आँखा मस्र्याङ्दीपारिको हरियो पाखामा अडिन पुगे । पाखामा, बेँसीसहर च्यामे सडक निर्माणको काममा लागेका ज्यामीहरू ढुंगा फुटाउन र माटो फाल्नेमा व्यस्त देखिन्थे । रंगीन गलैंचा बिच्छ्याएजस्तो देखिने यहाँका पाखाभित्ताका रंगीचंगी भूइँफूलहरू बाटो खन्ने ज्यामीले फाल्दै गरेको माटोले दोहो¥याएर फेरि कहिल्यै नभेटिने गरी पुरिँदै थिए । सुन्दर भूइँफूलहरू माटोमुनि पसेर हराउँदै गरेको त्यो दृश्यले मन खिन्न बनायो ।


Views: 108