11th April | 2021 | Sunday | 6:25:30 PM

वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका

डा. राजकुमार राई   POSTED ON : फाल्गुन २३, २०७७ (८:२८ AM)

वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका

सत्ताधारी पार्टी नेकपाको आन्तरिक कलहको चरमोत्कर्षको परिणामस्वरूप अहिले नेपालको राजनीति नराम्रोसित गिजोलिएको छ । यसले कस्तो आकार लेला ? अबको राजनीति कसरी अगाडि बढ्ला ? कसैले पनि ठ्याक्कै भन्नसक्ने अवस्थामा छैन । सम्भावनाका खेलहरू धेरै छन् । त्यस्तै आन्तरिक र बाहृय खेलाडीहरू पनि धेरै छन् । सबैको आआफ्नो किसिमका स्वार्थहरू जोडिएका छन् । नेकपा भावनात्मक र व्यावहारिक रूपले दुई चिरा भइसकेको भएपनि अहिलेसम्म कानुनी रूपले फुटिसकेको छैन । उनीहरू दुवै पक्षलाई पार्टी फुटाउन सकस परिरहेको छ । कानुनी हिसाबले नराम्रोसित गाँठो परेको छ । 

दुवैले एक अर्कालाई गालिगलौज गर्दै थकाउने गलाउने रणनीतिमा छन् । दुवै पक्षले एक अर्कालाई राम्रोसित चिनेको बुझेको हुनाले यो खेल केही समयसम्म तन्किन सक्ने देखिन्छ । दुवैले समूह पार्टीको नाम ‘नेकपा’ र चुनाव चिन्ह ‘सूर्य’ आफ्नो पक्षमा पार्ने कसरतमा छन् । दुवै पक्ष आफूले पार्टी फुटाएको अपजस लिन चाहन्नन् । केन्द्रीय कार्य समितिमा प्रचण्ड–माधव समूहको बहुमत छ । गतवर्ष पार्टी फोर्ने मनसाय राखी संसदीय दलमा ४० प्रतिशत सांसद संख्या पु¥याउन सके पार्टी फोर्न सकिने गरी प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएका थिए । तर सर्वत्र विरोध भएपछि उनले त्यो अध्यादेशलाई फिर्ता लिए । 

यसरी फुट्नलाई सकस परे पनि अन्तत्वगत्वा नेकपा फुट्ने निश्चित छ । किनकि यी दुवै समूहहरूको संगठन विस्तार तल जिल्ला तहसम्म पुगिसकेको छ । नेताहरूमात्र नभएर कार्यकर्ताहरू पनि विभाजित छन् । नेकपा फुटेपछि वर्तमान सरकारले बहुमत गुमाउँछ । यो अवस्थामा सत्ताको चावी नेपाली कांग्रेसको हातमा आउने भएको छ । यसले नेपाली कांग्रेसभित्र पनि ठूलो हलचल ल्याएको छ । यो अवस्थामा राजनीतिक निकास दिन नेपाली कांग्रेसले एउटा महŒवपूर्ण भूमिका निभाउनुपर्ने समय आएको छ । 

यसै सन्दर्भमा दुई हप्ताअघि मैले नेपाली कांग्रेसको एउटा फेसबुक ग्रुपमा ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने अवस्थामा ओली समूहसँग भन्दा प्रचण्ड–माधव समूहसँग मिलेर सरकार बनाउँदा राम्रो हुन्छ ।’ भन्ने स्टाटस पोष्ट गरेको थिएँ । उक्त स्टाटसले राम्रै बजार लियो । करिब सात सयजनाले प्रतिक्रिया जनाए । त्यसमा तीन सयभन्दा बढीले लिखित प्रतिक्रिया दिए । ती प्रतिक्रियाहरू विभिन्न कोणबाट गरिएका थिए । कुनै प्रतिक्रिया त स्टाटस लेखकप्रति नराम्रो अशिष्ट भाषा प्रयोग गरेर गाली पनि गरिएको थियो । वास्तावमा त्यो किसिमको प्रतिक्रिया उनीहरूको त्यो स्टाटस चित्त नबुझेर गरिएको आक्रोश हो भन्ने मैले बुझेको छु । 

यी प्रतिक्रियाहरूमा थोरैले मात्र प्रचण्ड–माधवको समूहसित मिल्नु राम्रो हो भनेका छन् । नेपाली कांग्रेसको सहयोगमा प्रचण्डले आफ्नी छोरीलाई चितवनको मेयरमा जिताए पनि पछि आमनिर्वाचनमा ओलीतिर लागेर नेपाली कांग्रेसलाई धोका दिएको भनेर धेरैले आक्रोस पोखेका छन् । केहीले ओली समूहसित मिल्नु राम्रो हो भने । धेरैले भनेका छन् ‘यी दुवै खराब हुन्, कुनैसित पनि मिलेर सरकार बनाउनु हुँदैन, अहिले नेपाली कांग्रेस सरकारमा जानु हुँदैन, जनताले पाँच वर्ष प्रतिपक्षीमा बस्ने म्यान्डेड दिएको हो, बरु सरकार बनाउनका लागि बाहिरबाट समर्थन गर्ने ।’ 

त्यस्तै नेपाली कांग्रेसमा पनि दुई किसिमका विचार आइरहेका छन् । अवसर आए कांग्रेसले नेतृत्व गरेर सरकारमा जानुपर्छ भन्ने एकथरी छन् भने अर्कोथरी नेपाली कांग्रेस अहिले प्रतिपक्षमा बस्नुपर्छ भन्छन् । यी भनाइहरूमा नेपाली कांग्रेसको यही आउने भाद्र महिनामा हुन लागेको महाधिवेशनको सन्दर्भलाई पनि जोडेर हेर्न सकिन्छ । 

सभापति देउवा महाधिवेशनभन्दा ठीकअघि प्रधानमन्त्री भए भने दोस्रो कार्यकालका लागि उनको पल्ला भारी हुनेछ भन्ने इतर पक्षलाई लागेको हुनसक्छ । त्यसो भएर सभापति इतर पक्षले यदि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने अवस्था हुन्छ भने प्रधानमन्त्रीको उम्मेदवार प्रकाशमान सिंह वा डा. शशांक कोइराला हुनुपर्छ भन्ने बहस पनि ल्याइएको छ । नेताहरूको भनाइअनुसार अरू विमति जे जस्तो भए पनि आफ्नै पार्टीका नेताको नेतृत्वमा मात्र सरकारमा जाने भन्ने विषयमा नेपाली कांग्रेसमा मत्यैक्य हुने निश्चित देखिन्छ । 

यदि नेपाली कांग्रेसले नेतृत्व गरेर सरकारमा जानुपर्ने अवस्थामा ओली समूहको समर्थनमा वा प्रचण्ड–माधव समूहको समर्थनमा जाने भन्ने बहस पनि चलेको छ । प्रचण्ड–माधव पक्षले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरिसकेको भन्ने हल्ला छ । यसमा केही सत्यता पनि छ किनकि त्यो समूहबाट प्रधानमन्त्री बन्न पाउने राजनीतिक परिस्थिति त्यत्ति अनुकूल छैन । केपी ओली समूहले भरसक आफ्नै नेतृत्वको सरकारमा नेपाली कांग्रेस मिसिन आओस् भन्ने चाहना राख्न सक्छ । परिस्थितिले साथ नदिएर बाध्य भएको अवस्थामा मात्र केपी ओली समूहले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको अफर गर्न सक्छ । 

यसरी नेपाली कांग्रेसले कुन समूहको समर्थन लिएर सरकार बनाउने भन्ने अवस्था आएमा केपी ओली समूहभन्दा प्रचण्ड–माधव समूहको समर्थन लिनु निम्न कारणहरूले गर्दा उपयुक्त हुने देखिन्छ । पहिलो ः भ्रष्टाचार, कुशासन र केपी ओलीको नक्कली राष्ट्रवादले केपी ओलीको सरकार जनताको नजरमा गिरेको छ । उनीसित सरकार बनाएर भोलि निर्वाचनमा जाँदा जनताले दुवैलाई एउटै देख्नेछन् र नेपाली कांग्रेसले त्यो मुद्दालाई उचालेर केपी ओली समूहको नेकपालाई कडा प्रहार गरी राजनीतिक फाइदा लिन मिल्दैन । 

देस्रो ः अर्कोतिर प्रचण्ड–माधव समूह एक देखिए पनि यो भनेको एउटा मिश्रणमात्र हो । समूहमा सँगै बसे पनि आआफ्नोे फरक विशेषताहरू यथावत् रहेकाले आफूआफूबीच कतिखेर मन फाट्ने हो थाहा छैन । त्यसकारण कमजोर समूहसँग मिलेर सरकार बनाएको खण्डमा भोलि निर्वाचनमा जाँदा नेपाली कांग्रेसलाई फाइदा हुनसक्छ । 

तेस्रो ः गत पुस ५ गते संसदबाट बहुमत प्राप्त सरकार प्रमुख हुँदाहुँदै केपी ओलीले संसद भंग गर्ने असंवैधानिक कदम चालेका थिए । त्यसको विरुद्धमा नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहको नेकपा एकै ठाउँमा उभिएको थियो । त्यसले गर्दा नेपाली कांग्रेसले प्रचण्ड–माधव समूह छाडेर केपी ओली समूहको नेकपासँग मिल्दा नेपाली कांग्रेससामु एउटा नैतिक प्रश्न तेर्सिनेछ ।

हुन त धेरै कांग्रेसीहरूलाई यो लागेको छ प्रचण्ड धोकेबाज हुन्, उनीसित मिल्नु हुँदैन । वास्तवमा त्यो बेलामा उनले नेपाली कांग्रेसलाई थाहा नदिई खुसुक्क केपी ओलीतिर गएका होइनन् । उनले भनेरै गएका हुन् । खालि नेपाली कांग्रेसले उसको माग पूरा गर्न असमर्थ भएको हो । केपी समूहसित मिलेर जाँदा हुनसक्ने अर्को खतरा निर्वाचनताका २०७४ सालमा प्रचण्ड रातारात एमालेसँग गएजस्तै आफू ज्यादै कमजोर भएको लागेमा प्रचण्ड–माधव समूह फेरि ओली समूहसित मिलेर निर्वाचन लड्ने सम्भावना हुन्छ । 

एउटा ख्याल गर्नुपर्ने विषय नेपाली कांग्रेसले प्रचण्ड–माधव समूहको समर्थनमा सरकार बनाए पनि यो मध्यावधि निर्वाचनको लागि चुनावी सरकार हुनुपर्छ । यो सरकारले संसदको बाँकी समय पूरा गर्छु भन्नु हुँदैन । यदि पूरै समय चलाउँछु भन्न थाल्यो भने ओली समूहले राम्रो प्रतिपक्षीको भूमिका निभाएर उसले राजनीतिक फाइदा उठाएर भोलि ओली समूह नै सबैभन्दा ठूलो पार्टी बन्ने उत्तिकै खतरा पनि छ । 

धेरैलाई यो लागेको छ कि पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्ड–माधव समूहभन्दा केपी ओली समूहको नेकपाको समर्थनमा सरकार बनाउन चाहन्छन् । किनकि सभापति देउवा र केपी ओलीबीच सत्ता पक्ष र प्रतिपक्षको प्रमुख हुँदाखेरि देखिनै राम्रो सम्बन्ध रहिआएको सर्वविदितै छ । 

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दा अब चुनावी सरकार बन्नुपर्दछ । यसका लागि तीनवटा विकल्पहरू उपलब्ध छन् ः १. केपी ओलीको नेतृत्वमा सरकार बन्ने, २. नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने, ३. राजनीतिक सहमतिमा कसैको नेतृत्वमा सरकार बन्ने । यी विकल्पहरूमध्ये सकेसम्म नेपाली कांग्रेस आफैंले नेतृत्व गरेर चुनावी सरकारमा जानुपर्ने हुनसक्छ । 

यसको लागि नेपाली कांग्रेसले पहल गर्नुपर्ने हुन्छ । यही फाल्गुन २३ गतेबाट बस्न गइरहेको संसदको बैठकमा जनता समाजवादी पार्टीसहितको समर्थनमा केपी ओली सरकारको विरुद्धमा नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । अब नेपाली कांग्रेसले ‘पर्ख र हेर’ भनेर धेरै समय खेर फाल्नु हुँदैन । अहिलेको राजनीतिक निकास दिन नेपाली कांग्रेसको काँधमा जिम्मेवारी आएको छ । 


Views: 294