16th May | 2021 | Sunday | 5:17:24 PM

सहकारी नै आर्थिक विकासको मेरुदण्ड

विश्वनाथ खरेल   POSTED ON : चैत्र २९, २०७७ (९:४३ AM)

सहकारी नै आर्थिक विकासको मेरुदण्ड

प्रत्येक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा यस साल ६४औं राष्ट्रिय सहकारी दिवस २०७७ मनाइयो । मूलतः सहकारिताको वास्तविक अर्थ सहकार्य हो । सहकारिता श्रमबाट सुरु हुन्छ । श्रम नै उत्पादन र सहकार्यको स्रोत हो । यसलाई सामूहिक उन्नयनमा लगेर नै पारस्परिक हित विस्तार गर्न सकिन्छ भन्ने सोचका साथ सहकारी अभियानको विकास भएको हो । यो समतामूलक सामाजिक उत्थानको स्वयंसेवी अभियान थियो । मुलुकमा करिब ३० हजारको संख्यामा खुलेका सहकारी संस्थाहरूले राष्ट्रिय वित्तीय परिचालनको २२ प्रतिशत जति हिस्सा ओगटेका छन् । 

यसबाट ७० हजार जतिलाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको देखिए पनि आर्थिक उत्पादन र अप्रत्यक्ष रोजगारीमा योगदान ठूलो छ, जुन राष्ट्रिय लेखामा समेटिएको छैन् । यसर्थ यस सेवाबाट विविधीकरण र विस्तारका साथै प्रविधिमैत्री पनि बन्दै गएका छन् । मुलुकमा विसं २०१० सालमै सहकारी विभाग गठन भए पनि विसं २०१३ सालदेखि दर्ता प्रक्रिया सुरु भएको थियो । पञ्चायतकालमा राम्रोसँग फष्टाउन नसकेको यो क्षेत्रलाई विसं २०४८ सालमा आएको ऐनले व्यवस्थित गर्ने प्रयास गरेको थियो । 

पछिल्लो समय विसं २०७४ सालको सहकारी ऐनका आधारमा यो क्षेत्र सञ्चालित छ तर सुरुको वर्षदेखि नै यो क्षेत्रमा स्वतन्त्रताको तुलनामा नियन्त्रणको पाटो कमजोर देखियो । यही कमजोरीको फाइदा उठाउनेको कर्तुतले सहकारीको मर्ममा प्रहार गरेको छ । नयाँ राजनीतिक परिवर्तनसँगै बनेका कानुनले यो क्षेत्रलाई अझै स्वायत्त बन्ने अवसर दियो । राज्यले कानुनी रूपमै स्वतन्त्रताको दायरा फराकिलो बनाइदिए पनि उनीहरूको अनुगमन र समीक्षाको पाटोलाई भने चटक्कै बिर्सियो । 

यसरी अर्कोतिर हेर्ने हो भने देशमा सहकारी प्रणालीलाई संस्थागत गर्ने क्रममा सहकारी संस्था ऐन–२०१६, सहकारी नियमहरू–२०१८, साझा संस्था ऐन–२०४१, साझा संस्था नियमावली–२०४३, सहकारी ऐन–२०४८ र सहकारी नियमावली २०४९ बमोजिम सहकारी विभागले सहकारी संघसंस्थाहरूको दर्ता, नियमन तथा प्रवद्र्धनलगायत कार्यहरू गर्दै आएको छ । विसं २०१३ साल चैत २० गते बखान सहकारी संस्था सर्वप्रथम चितवन जिल्लामा खुलेको थियो । त्यसरी नै अरू सहकारी संस्थाहरूको स्थापना भएका हुन् । हाल यी सबै संघसंस्था सहकारी ऐन, २०४८ र सहकारी निममावली, २०४९ अन्तर्गत दर्ता भई सञ्चालनमा छन् ।

सहकारीको सामान्य अर्थ सँगसँगै मिलेर काम गर्नु हो तर विशेष अर्थमा भन्नुपर्दा आर्थिक र सामाजिक जीवन दरिलो बनाउन एक आपसमा मिलेर व्यवसाय गर्नुलाई नै सहकारी भनिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले यसलाई एउटा जीवन्त आन्दोलन मानेको छ । यसरी सहकारिता मूलतः व्यावसायिक क्रियाकलापमा आधारित हुन्छ । व्यवसाय सञ्चालन गरी मुनाफा आर्जनबाट आफ्नो कारोबार फराकिलो बनाएर आफ्ना सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नति गर्ने सहकारीको उद्देश्य हुन्छ । सहकारिताका मूल्यहरूलाई आधारभूत मूल्यहरूले संस्था र सदस्यबीच एवं नैतिक मूल्यहरूले संस्था र समाजबीचको सम्बन्ध निर्धारण गर्न मद्दत गर्दछ । 

यसरी सहकारी संस्था समान आर्थिक उद्देश्य भएका मानिसहरूले आफ्नो आर्थिक, सामुदायिक हितका लागि आफ्नै जोखिममा प्रजातान्त्रिक ढंगले सामूहिक क्रियाकलाप सञ्चालन गर्ने अभिप्रायअनुसार स्वेच्छाले स्थापना गरेको व्यावसायिक संगठन हो । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीयस्तरमा स्वावलम्वनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि जनसहभागिता परिचालन गर्ने आधार स्तम्भको रूपमा सहकारी संघ÷संस्थाहरूको स्थापना र नियमनलगायत कार्यहरू सञ्चालन हुँदै आएका छन् । 

विसं २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापश्चात सहकारी संघसंस्थालाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोच विचार एवं मान्यतानुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यकता महसुस भएर सहकारी ऐन २०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, २०४८ को प्रस्तावनाअनुसार कृषक, कालीगढ, कम पुँजीबल, निम्न आयवर्ग, श्रमिक मजदुर, बेरोजगार आदि जस्ता वर्गहरूले सहकारी स्थापना र सञ्चालन गर्नसक्ने व्यवस्था गरेको पाइन्छ । 

यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पुँजी हुन्छ ती वर्गहरूले त्यस्तो सीमित स्रोत र साधनलाई समूहीकरण गरी सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न स्वतन्त्रपूर्वक स्वैच्छिक रूपमा समूहमा आबद्ध हुन्छन् त्यसलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ । भनाइको तात्पर्य के हो भने एक्लो व्यक्तिसँग सीमित स्रोत र साधनमात्र हुन्छ तर उसको आवश्यकता असीमित हुन्छ । त्यस्तो अवस्थामा असीमित आवश्यकता परिपूर्तिको लागि सामूहिक प्रयासभन्दा अर्को विकल्प केही हुन सक्दैन । उदाहरणको लागि हामीसँग भएको थोरै साधन र स्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । 

यसमा समाजमा रहेर स्वेच्छिक रूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकताको परिपूर्ति गर्नका लागि आफ्ना सीमित स्रोत, साधन एवम् पँुजीका संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ जुन कारोबारबाट हुने नाफा र नोक्सानमा सबै हिस्सा हुन्छ । सहकारी स्थापना र सञ्चालन गर्नुको प्रमुख उद्देश्य सदस्यहरूको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो, आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु आदि छन् । यसरी सहकारी ऐन २०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्तअनुसार सहकारी संस्थाहरूको स्थापना र सञ्चालन हुने कानुनी आधार निर्माण भयो । 

सरकारले कृषि प्रसारका कार्यक्रमहरू किसान समूह तथा सहकारीमार्फत सञ्चालन गर्ने नीति लिएको छ । गठन भएका कृषक समूहहरूलाई सहकारीकरण गर्दै देशका अधिकांश जनतालाई समेट्दै कृषिको विकास गर्ने र किसानहरूको जीवनस्तर सुधार्ने नीति लिएको छ । नेपालमा हावापानीको विविधता भएकाले विश्वमा उत्पादन गर्न सकिने प्रायःसबै किसिमको बालीहरू उत्पादन गर्न सकिन्छ । यसैलाई उपयोग गरी विभिन्न किसिमको बाली उत्पादन गर्न हामीले सहकारीताको माध्यमबाट मात्र कृषि क्रान्ति गर्न सकिन्छ । बाली विशेषानुसारका सहकारीको स्थापना गरी आधिकारिक मात्रामा यसको परिचालन गर्ने र त्यसको माध्यमबाट सेवा तथा सुविधा दिने नीति अवलम्बन गर्न जरुरी छ । 

नेपालमा हाल दुग्ध व्यवसाय, कुखुरापालन, मौरीपालन, रेशमखेती, अन्नखेती, तरकारी तथा फलफूलको उत्पादन व्यावसायिक रूपमा विस्तार हुँदै गइरहेको र सबै कुरा सरकारबाट मात्र गर्न सम्भव नभएकाले पनि सहकारीको कार्यक्षेत्र दिनानु दिन फराकिलो हुँदै गएको छ । यो एक व्यावसायिक प्रणाली हो ।

अन्त्यमा भन्नुपर्दा नेपालमा पहिलो सहकारी ऐन, २०४८ बन्दा ८ सय ३३ मात्र सहकारी भएकोमा हाल झण्डै ३० हजार सहकारीमा ५४ लाखभन्दा बढी मानिस शेयर धनीका रूपमा संगठित भएको पाइन्छ । कूल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत, वित्तीय क्षेत्रमा २० प्रतिशत १ लाख प्रत्यक्ष रोजगारी, १० लाख स्वरोजगारी र कम्तीमा पनि ५ खर्बको वित्तीय कारोबार सहकारीले गरेको तथ्यांकीय आकलनले देखाएको छ । 

देशव्यापी रूपमा छरिएर रहेका ससाना पुँजी तथा सीपलाई एकत्रित गरी सहकारीको माध्यमबाट आफ्नो आवश्यकता आफैं पूरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकालप वृद्धि गर्न सहकारी मूल्य मान्यता र सिद्धान्तनुरूप सहकारी संघसंस्थाहरूको स्थापना हुने वातावरण तयार एकातिर गर्नुपर्ने स्थिति छ भने अर्कोतिर ग्रामीण भेगमा रहेको अधिकांश पुँजीलाई समेट्ने खालका कार्यक्रमलाई बढी जोड दिई सहकारीलाई युद्धस्तरमा अगाडि बढाउनु समयको माग भएको छ । 

अतः सहकारी भनेको दिगो व्यावसयिक प्रक्रिया हो । व्यावसायिक निरन्तरताबाट मात्र यो कुरा सम्भव हुन्छ । संस्थाबाट सुरुवात गरिएको व्यवसाय भविष्यमा स्थापित, क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा फैलिन सक्नुपर्ने हुन्छ । यद्यपि उत्पादनदेखि बजारसम्मको व्यावसायिक प्रक्रियामा आफ्नो पहँुच बढाउन खास गरी यसलाई व्यावसायिक सम्बन्ध सिद्धान्तको रूपमा स्थापित गरिएको हुन्छ । यस अर्थमा देशको राजनीति, अर्थनीति, भूमिनीति, सम्पत्तिसम्बन्धी नीति आदि पक्षसँग सहकारीको सम्बन्ध र सरोकार हुन्छ । अतः आवश्यकताले आफैं बाटो तय गर्छ भन्ने सिद्धान्त सहकारी आन्दोलनमा मात्र अपवाद हुन सक्दैन । तर, यो राजनीतिक क्षेत्रको सामाजिक आर्थिक क्षेत्रमा रहने भूमिकालाई व्यवहारमुखी बनाउने प्रणाली सहकारी हो । 


Views: 104