16th May | 2021 | Sunday | 5:41:08 PM

खोइ बर्दियाका शिवरतन थारूहरूको इतिहास ?

मणि शर्मा   POSTED ON : चैत्र ३०, २०७७ (८:१० AM)

खोइ बर्दियाका शिवरतन थारूहरूको इतिहास ?

आमजनतामा साधरणतया नेताहरूप्रति वितृष्णाको भाव व्यक्त भएको पाइन्छ । युवाहरू निदरल्याण्ड, क्यानाडा र भुटानका प्रधानमन्त्री जस्तो हाम्रा प्रधानमन्त्री, मन्त्रीहरू पनि विनासुरक्षा गार्ड सार्वजनिक यातायातको साधनमा भ्रमण गर्ने, साइकल चढेर कार्यालय जाने, बाटाघाटामा आमजनतालाई भेटेर समस्याहरू सुन्ने, इमानदार तथा देशभक्त भइदिए हुन्थ्यो भन्ने सोच्छन् । उनीहरू आफ्नो धर्मप्रति कट्टर छन्, आफ्नो धर्मग्रन्थ छोएर पद तथा गोपनीयताको कसम खान्छन्, आफ्ना धर्म, संस्कृति, संस्कार र कलाको संरक्षणमा जोड दिन्छन्, हाम्रा पनि त्यस्तै भइदिए हुन्थ्यो । 

तर, जनता कबीरको यो दोहा जस्तो छन् ‘करता था सो क्यों किया, अब कर क्यों पछताय । बोया पेड बबुल का, आम कहाँ से खाए ।।’ काँडा हुने बबुरको रूख रोपेर आँपको फल कहाँ पाइन्छ र ? भ्रष्ट र राष्ट्रघाती साथ साथै यहाँ त धर्म भ्रष्ट गर्न सरकार र राजनीतिक दलहरू जनगणनामार्फत थप लागि रहेका छन् । 

यिनै नेता हुन् जसले हिजोको पञ्चायती व्यवस्थालाई सत्तोसराप गरेर थाक्दैन्थे । प्रतिव्यक्ति हजार बाह्र सय ऋणभार थपिँदा देश नै डुबाए भन्दथे, राजालाई सामन्ती देख्दथे । तर, आज यिनै नेता महासामन्त बनेका छन्, प्रतिव्यक्ति ऋण बाउन्न हजार थप्दा गर्व गर्छन् । ओद्योगिकीकरणको दिशातर्फ अग्रसर भएको मुलुकको सबै उद्योग बेचेर खाएर आत्मनिर्भर नेपाललाई परनिर्भर बनाएका छन् । कृषिमा आत्मनिर्भर नेपाललाई अर्बौंको खाद्यान्न आयात गर्ने मुलुकमा परिणत गरेका छन् । शिक्षा र स्वास्थ्यलाई ज्ञान र आरोग्यताको माध्यम नभएर व्यापारको र लुटी खाने उद्योगको रूपमा विकास गरेका छन् । 

दोषी को ? नेता कि हामी नेपाली जनता ? जब हामीलाई यी नेताहरू मन परेको छैन भने चुनावमा यिनीहरूलाई भोट हाल्न किन जान्छौं ? किन यी महासामन्त र राष्ट्रघातीहरूलाई हाम्रो संरक्षक र पालनकर्ता बनाउँछौं ? किन हामी यी नेतालाई वहिष्कार गरेर हाम्रो अनुकूल गर्न लागिपर्दैनौं ? नेता दोषी होइनन्, दोषी हामी आमनेपाली जनता हौं । भ्रष्ट तथा राष्ट्रघातीलाई हाम्रो मालिक बनाउने हामी नै भ्रष्ट र राष्ट्रघाती हौं ।

पञ्चायती व्यवस्थामा केही महापञ्चहरू महाभ्रष्ट थिए जो आज पनि राजनीतिको पसल खोलेर जनतालाई झुक्याउने काम गरिरहेका छन् । तर, अधिकांश नेता इमानदार तथा देशभक्त थिए । नेपालको धेरै जिल्लाहरू भ्रमण गर्दा वा ती जिल्लाहरूमा बस्दा पञ्चायतकालमा इमानदार तथा देशभक्त नेताहरूमात्र भेटिन्थे । चुनाव आफ्नै सम्पत्ति बेचेर लड्थे । कसैसँग आर्थिक सहयोग लिँदैनथे । आफ्नो जिल्लाको विकासको लागि अहोरात्र खट्दथे । 

त्यस्तै एउटा नेता थिए बर्दिया मोतीपुरका शिवरतन थारू । आज जसले बर्दियामा भेरी डाइभर्सन र बबई नहर ल्याएको भन्ने डंका पिट्दै छन् र हामी सुरुमा वामदेवको नहर भन्थ्यौं त्यसको परिकल्पनाकार थिए यिनै शिवरतान थारू । आजको लेख पहरा थारू, सामाजिक अभियन्ता लीलाधर शर्मा, देवकमल पौडेल लेखक तथा सामाजिक अभियन्ता अयोध्याप्रसाद श्रीवास्तवको सहयोगमा तयार पारिएको छ । हरिहर गौतम जो बर्दियाका एकमात्र ठूलो जमिन्दार जसको भनिन्छ सोह्र हजार बिघा जग्गा थियो उनको घरमा कमैया बसेका सन्तानपछि गएर राष्ट्रिय पञ्चायतका सदस्य भए ।

विसं १९९३ सालमा कपिलवस्तुको चैनपुरबाट विश्रामप्रसाद थारू हरिहर गौतमको कमैयाको रूपमा आफ्नी पत्नी तथा तीन छोराहरूसहित बर्दिया आएका थिए । जेठा छोरा थिए शिवरतन । कमैयाका छोरा भएकोले उनले सामान्य लेखपढ गर्नबाहेक अन्य शिक्षा पाएनन् । कमैया थारूहरूको दुष्कर जीवन देखेर उनी छटपटाउँथे तर गर्न केही सक्दैन्थे ।

त्यही समयमा नेपाली कांग्रेसका नेता तथा बर्दियाबाट २०१५ सालमा निर्वाचित सांसद राधाकृष्ण थारूसँग भेट भयो । राधाकृष्ण थारू आफ्नो दलको जनमत बलियो बनाउन थारू गाउँहरूमा गइराख्दा उनको संगत उनीसँग भएपछि राजनीतिमा उनको चासो बढ्यो तर कमैयाको छोरा भएकाले उनी उनको पछिपछि लाग्न सकेनन् । नजानिँदो ढंगले राधाकृष्ण थारू उनको राजनीतिको गुरु बने । २००७ सालमा प्रजातन्त्र आउँदा उनी १४ वर्षका थिए । २०१५ सालको आमनिर्वाचनमा उनी २२ वर्षका थिए र आफ्नो भोट नेपाली कांग्रेसका उम्मेद्वार राधाकृष्ण थारूलाई दिए । 

२०१७ सालमा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर पञ्चायती व्यवस्था लागू गरे । २०१९ साल पुस १ गते संविधान लागू भएपछि २०२० सालमा भएको स्थानीय निर्वाचनमा उनी २७ वर्षको उमेरमा मोतीपुर गाउँ पञ्चायतको प्रधानपञ्च बने । मोतीपुरबाट कमैया शिवरतनले चुनाव जितेसँगै गुलरिया गाउँ पञ्चायतबाट उनका जमिन्दार मालिक हरिहर गौतमले पनि प्रधानपञ्चको चुनाव जितेका थिए । जमिन्दार मालिक र कमैया अब जिल्ला पञ्चायतको बैठकमा एकै ठाउँमा बस्ने भए भनेर मानिसहरू हाँँस्न थालेको उनका नाति पहरा थारू बताउँछन् ।

२०२० साल जेठ २० गते मुकुन्दराज उपाध्यायको अध्यक्षतामा जिल्ला पञ्चायत समितिको बैठक बस्यो भावी सभापति छनोटका लागि । कमैया शिवरतन र मालिक हरिहर गौतम एकै ठाउँमा बसेको त्यो पहिलो घटना थियो । शिवरतन हरिहर गौतमको अगाडि बसेका थिए । कमैया हुँदा जहिले पनि उनको अगाडि शिर निहुराएर बस्नुपर्ने शिवरतन त्यहाँ शिर ठाडो पारेर आफ्नो मालिकको अगाडि बसेका थिए । विस्तारै उनको राजनीतिक कद बढ्दै गयो । भादापारिको उनी एउटा चर्चित थारू नेता बनिसकेका थिए । प्रधानपञ्च भएपछि सदरमुकाम गुलरिया आवतजावत बढ्न थाल्यो, विभिन्न व्यक्तिसँगको भेटघाटले उनको बौद्धिक क्षमतामा वृद्धि हुँदै गयो ।

शिवरतनमा भूमिसुधार हुनुपर्छ, खेतीपातीको लागि सिँचाइको व्यवस्था कुलो नहर आदि बन्नुपर्छ भन्ने सोच बढ्दै गयो र आवाज पनि उठाउन थाले । तर, त्यो समयमा स्थानीय निकायमा बजेट धेरै कम हुन्थ्यो, उनले गर्न केही सक्दैनथे । देशको वस्तुस्थिति बुझेर विकासको मूल फुटाउने उद्देश्यले राजा वीरेन्द्र २०२९ साल माघ १८ गते बर्दिया जिल्ला पञ्चायतको प्रांगणमा आइपुगे । बर्दिया भ्रमणबाट राजाले थारू जातिको बारे जान्न बुझ्न पाए । 

यहीँबाट राजाले शिवरतन थारूलाई चिन्न पाए । २०३४ सालमा शिवरतन जिल्ला पञ्चायतको उपसभापति हुँदा राजाले उनलाई राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित गरे । एउटा कमैयाको छोरा कपिलवस्तुबाट भविष्यमा हरिहर गौतमको कमैया हुन बर्दिया आएका थिए उनी माननीय भएर काठमाडौं जाने भए ।

उनी सामान्य लेखपढ गर्न जान्ने भएकाले उनले नेपाली कांग्रेस समर्थित नवीनचन्द्र शर्मालाई आफ्नो सहयोगीको रूपमा काठमाडौं लगे । दशैँ आयो । चलनअनुसार राजाले सबै माननीयहरूलाई एक एकवटा खसीबोका उपहार दिए । अरू माननीयहरू आफूले उपहार पाएको खशी बोका लिएर आआफ्ना जिल्ला फर्किँदा उनी राजालाई नभेटी नजाने निधो गरी दरबारमा बिन्तिपत्र हाले । राजाबाट हुकुम भएपछि शिवरतन राजालाई भेट्न दरबार पसे । राजाले उनलाई सोधे ‘तिमी दशैँ मनाउन किन घर नगएको चौधरी ?’ 

उनले भने, ‘महाराज मै तो ज्यौं त्यौं कर के दशैँ मनालेब मगर बर्दियाक हमार थारू किसान कैसिन दशैँ मनाई ?’ त्यसपछि राजाले उनलाई सोधे, तिम्रा किसानहरूलाई दशैँ मनाउन के गर्नु पर्छ ?’ उनले भने, ‘महाराज, दो पुलवा एक कुलवा होएक परल सरकार ।’ उनको कुरा राजाले नबुझेपछि सचिवलाई यिनले के भनेको भनेर सोधे । सचिवले अर्थ लगाउँदे भने माननीयज्यूले दुईवटा पुल र एउटा कुलोको माग गर्नु भएको छ । राजा वीरेन्द्र शिवरतनतिर हेरेर हाँसे र शिवरतनले शिर निहुराए । राजाले तुरून्तै सचिवलाई आदेश दिंँदै भने, ‘सिँचाइ र सडक विभाग हेर्ने मन्त्रीहरूलाई बोलाई शिवरतनसँग सम्पर्क गरी बर्दियामा दुईवटा पुल र सिँचाइका लागि कुलोको लागत इष्टिमेट तयार गरी हामी सामु पेश गर्नू ।’

राजाको आदेशबमोजिम सम्बन्धित विभागका कर्मचारीहरू दशैंताका शिवरतनका साथ बर्दिया आए र मागबमोजिम भादा र मानखोला पुल निर्माणका लागि नापजोख गरे र कुलो खनाएर त्यो कुलोमा पानी ल्याउन हाल बबई सिँचाइ आयोजनाको कार्यालय भएको ठाउँमा बाँध बाँधेर पानी जम्मा गर्ने उद्देश्यअनुसारको लागत इष्टिमट बनाई टोली काठमाडौं फर्कियो ।

उनको मागबमोजिम बबई सिँचाइको काम सुरु भयो भने भादा तथा मान खोलामा पुल निर्माणको काम पनि सुरु भयो । उनले यस अलावा विद्यालयहरू बनाए । मैनापोखर, मोतीपुर बाँसगढी सडक पनि बनाए । उनकै कार्यकालमा बबई सिँचाइ आयोजनको कार्यालय स्थापना भएर बैदीमा बसिसकेको थियो, भवनहरू निर्माण भइरहेका थिए । बबई सिँचाइको पानी ८ किमीको कुलो बनाई राजकुलवासम्म आइसकेको थियो । ठीक यही समयमा २०४६ सालको परिवर्तन भयो र काममा व्यवधान आयो ।

उनलाई व्यत्तितगत रूपमा कैयौंचोटि भेट्दा उनको शिष्ट व्यवहार र मीठो बोली वचनले म धेरै प्रभावित भएको थिएँ । उनमा पदको घमण्ड एकरत्ती थिएन । साह्रै सोझा व्यक्ति थिए । आज बर्दियाका थारू संघ संस्थाहरूले उनको नाम उच्चारण गर्न चाहँदैनन् । शायद पूर्वपञ्च भएर होला । उनको शालिक बनाउनुपर्ने हो तर बनाउँदैनन् ।

उनी इमानदार थिए । पदको दुरुपयोग गरेर पैसा कमाएनन् । गरिबीमा उनको जीवन बित्यो । उनको अन्तिम अवस्था कष्टकर बित्यो । आफ्नो सन्तानलाई शिक्षा दीक्षा दिन सकेनन् । लामो समयसम्म अस्वस्थ्य रहेर २०६२ सालमा ८१ वर्षको उमेरमा उनको निधन भयो । 

उनले राजनीति गर्दा आफ्नो भएको खेत पनि बेचेकाले उनकी धर्मपत्नी चिन्तित थिइन्, उनलाई भेट्न जाने सबैसँग शिवरतनलाई राजनीति छाड्न दबाब दिन भन्थिन् । उनको पिरलो थियो उनले राजनीति नछोडे उनीहरू फेरि सुकुम्बसी बन्नेछन् । अहिले उनका छोरानातिको अवस्था दयनीय नै छ । वामदेव गौतम गृहमन्त्री हुँदा यो आयोजनमा बजेट ल्याएर निरन्तरता दिएबापत उनले बर्दिबाट करिब ३० वर्षदेखि शिवरतनले ल्याइदिएका नहरकोे नाम बेचेर राजनीति गरिरहेका छन् तर शिवरतनको नाम कहीँ पनि आउँदैन । 

बर्दियाको सदरमुकाम गुलरियाको चिनारी थियो विसं १९९६ मा बनेकोे दुईवटा विशालकाय धर्म भकारी, जो राणा शासकले अनिकालमा प्रजाहरू भोकले नमरून् भनेर अनाज भकारी गरेर राख्ने ठाउँ बनाएका थिए । गुलरिया नगरपालिकाको पहिलो एमाले नेतृत्वका पदाधिकारीले जनताको विरोधको बावजुद धर्मभकारी भत्काएर नगरपालिका भवन बनाउने निर्णय गरे २०५३÷०५४ सालतिर । राणाकालमा मनोरञ्जन, खेलकुद र अन्य कार्यक्रमहरूको लागि छुट्याइएको जग्गा जुन २०२२ सालमा मञ्जुश्री बालबाटिकाको नामबाट दर्ता भयो भत्काउनुका साथै विशाल चौरको पनि सत्यानाश गरे पञ्चायत तथा राणाकालीन अवशेषहरू मेटाउने नाममा । कसो १९९४ साल असार ५ गते स्थापना भएको बगलामुखी मन्दिर भत्काएनन् । 

बर्दियाको पहिलो क्याम्पस बबई बहुमुखी क्याम्पस स्थापनामा जिल्ला पञ्चायतका सभापति सुरेन्द्र चन्दलगायत पदाधिकारीहरू र अञ्चालाधीश नवराज गुरुङ र सिडियो मञ्जुलकुमार सिंह याक्थुम्बाको महŒवपूर्ण देन छ । तत्कालीन जिपंका सभापति तथा अर्थ सहायक मन्त्री दमनध्वज चन्दले राजालाई भेटेर हुकुम प्रमांगी गराई क्याम्पसका लागि गुलरियामा ११ बिघाभन्दा बढी र मानपुर टपरा गाउँ पञ्चायत हाल राजापुर नगरपारिलकामा साढे तीन बिघाभन्दा बढी जग्गा क्याम्पसका नाममा पास गराएका थिए । 

सुरेन्द्र चन्दले क्याम्पस सञ्चालनका लागि जिपं सदस्यहरूले पाउने भत्ताबाट १० लाख रुपैयाँ काटी क्याम्पसलाई दिएका थिए भने नवराज गुरुङले भवन निर्माणका लागि जग्गा खरिदमा एक प्रतिशित राजस्व उठाउने नियम बसालिदिएका थिए । आज ती अग्रज व्यक्तिहरूको सम्झना गरिँदैन किनकि ती पञ्च थिए ।

पञ्चायत कालमा यस्ता शिवरतनहरू धेरै थिए । त्यस बेला राजनीति जनताका लागि गरिन्थ्यो, नेता इमानदार थिए, देशभक्त थिए, विकास चाहन्थे, सबैलाई राजाको डर थियो । राजा भनेका अभिभावक हुन्, उनी कुनै दलको हुँदैनन्, सबै नेपालीको हुन्छन् । उनी सनातन धर्मका संरक्षक र पालक पनि हुन् । आज नेताहरूले देशमात्र होइन, हाम्रो धर्म, संस्कृति, संस्कार र परम्पराहरू विदेशीलाई बेचेर खाइसके । तैपनि हामी यिनै दल र यिनै नेताहरूलाई हाम्रा मालिक र संरक्षक बनाइरहेका छौं । सरकार हाम्रो बन्छ तर सञ्चालित विदेशी शक्तिकेन्द्रबाट हुन्छ ।  


Views: 253