16th May | 2021 | Sunday | 5:53:28 PM

जैविक विविधता संरक्षणको आवश्यकता

के.बी. बस्नेत   POSTED ON : चैत्र ३०, २०७७ (८:११ AM)

जैविक विविधता संरक्षणको आवश्यकता

जैविक विविधता भन्नाले जीवहरूको भिन्नता, प्रकार र जम्मा संख्या तथा तिनीहरू बीचको अन्तरसम्बन्ध हो । हालसम्म पनि यसको आर्थिक दृष्टिकोणले मात्र मूल्यांकन गरिएको पाइन्छ । 

वस्तुतः विश्वको उत्पत्ति एवं विकास प्रवृत्ति जैविक विविधतामा निहित हुन्छ । यसको महŒवपूर्ण परम्परागत प्रयोग, खानेकुरा, औषधि तथा उद्योगधन्दाबाट उत्पादित सामानहरूको रूपमा पाइन्छ । 

नेपालका १८ जिल्ला जैविक विविधतामा धनी छन् । तर, उचित संरक्षणको कमीले जैविक विविधतामा नकारात्मक प्रभाव परेको छ । आज जैविक विविधताको संरक्षणमा यथोचित ध्यान नपुग्नाले सिंह, बाघ, गैँडा, अर्नाजस्ता वन्यजन्तुहरूको संख्या निकै कम भएको छ भने नौ प्रजातिका चराहरू लोप भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसहितको साझेदारी संस्थाले गरेको सर्वेक्षणमा उक्त तथ्य प्रकाशमा आएको हो । 

वनजंगलमा पाइने चराचुरुंगीहरूको विषयमा गरिएको २०७३ सालको एक सर्वेक्षणमा नेपालबाट ६७ प्रजातिका चराचुरुंगी अति संकटपूर्ण अवस्थामा छन् । साधारणतया हरेक चार वर्षमा गरिने सर्वेक्षणमा यहाँका चराचुरुंगीको संख्या घट्दो क्रममा रहेको छ । यसो हुनुमा चराचुरुंगीहरूको बासस्थान मासिँदै जानु, नहर तथा कुलाजस्ता संरचना धेरै निर्माण गर्नु, जथाभावी सडक तथा भौतिक संरचनाको निर्माण गर्नु, विद्युत्को हाई टेन्सनको निर्माण आदि विभिन्न किसिमका संरचनाले निकै प्रभाव पारेको छ । यतिमात्र होइन, बढ्दो चोरी शिकारी र खाद्यान्नमा विषादीको प्रयोग गर्नाले पनि यहाँका चराचुरुंगीहरूमा नकारात्मक प्रभाव परेको छ । 

केही वर्षयता वन्यजन्तु तथा चराचुरुंगी विस्तारै लोप हुन थालेपछि पर्यावरणमा केही असर परेको छ । वन्यजन्तु तथा चराचुरुंगीहरू लोप हुँदै गएकाले पर्यावरणमा असन्तुलन बढ्दै गएको संकेत देखिएको छ । यस्तो अवस्थामा मानव जातिलाई अस्तित्वमा राख्नका लागि पनि वातावरण सन्तुलन राख्न आवश्यक देखिन्छ । 

यहाँ केही वन्यजन्तु तथा चराचुरुंगीहरू लोप हुन थालेकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यिनीहरूका लागि २७ स्थानलाई अति महŒवपूर्ण स्थानको रूपमा छुट्याई संरक्षणका लागि केही काम थालनी गरेको छ । तर, यस कामको सफलताका लागि स्थानीय जनताको सक्रिय सहभागिताको आवश्यकता छ । 

सिमसार क्षेत्रमा विभिन्न किसिमका वनस्पति हुन्छन् । यहाँ धेरै थरीका जीवजन्तुहरू बसोबास गर्ने हुनाले उक्त क्षेत्रको संरक्षण गर्न सकेमा वनस्पति तथा जीवजन्तुहरूको सुरक्षा हुन्छ । फलतः यहाँको वातावरण संरक्षणमा पनि सकारात्मक प्रभाव पर्छ । यद्यपि, धेरैजसो देशहरूमा बढ्दो शहरीकरण, अनियन्त्रित बसाइँसराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारहरूको तीव्ररूपले निर्माणलगायत विभिन्न क्रियाकलापले गर्दा सिमसार क्षेत्रको अस्तित्व संकटमा परेको छ । केही राष्ट्रहरूमा भूमाफिहरूको चलखेलको कारण उक्त क्षेत्र तीव्र रूपले संक्रमित हुँदैछ भने अव्यवस्थित रूपमा बढिरहेको आवास क्षेत्रको कारणले केही सिमसार क्षेत्रको अस्तित्व लोप हुने अवस्थामा छ । 

अधिकांश जीवजन्तुले वनजंगल, घाँसे मैदान र जलक्षेत्र वरपर बच्चा कोरल्ने, वासस्थान बनाउने र विचरण गर्ने भएकाले सिमसार क्षेत्रले जैविक विविधताको संरक्षणमा महŒवपूर्ण भूमिका खेल्छ । तर वनजंगलको बढ्दो अतिक्रमण, चुरे क्षेत्रको अत्याधिक दोहन, भूमाफियाद्वारा जग्गा अतिक्रमण र अव्यवस्थित फोहोरमैला विसर्जनको कारण नेपालको सिमसार क्षेत्रहरू घट्दो क्रममा छन् ।

एक आधिकारिक तथ्यांकअनुसार नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जग्गा सिमसार क्षेत्रले ओगटेको छ । उक्त क्षेत्र संरक्षण गर्नसके यहाँको जैविक विविधता संरक्षणमा धेरै सघाउ हुनेछ । 

नेपालमा पवित्र स्थलहरूको संरक्षण यहाँ विद्यमान धर्मसँग आबद्ध छ । आजसम्म पनि यहाँको परम्परागत समाजमा विभिन्न किसिमका वनस्पतिका पवित्र प्रजातिहरूको संरक्षण, खाना तथा औषधिको रूपमा प्रयोग गरेको पाइन्छ । यसबाट यहाँका पवित्र स्थल तथा गुफाहरूको समेत संरक्षण भएको छ । 

धार्मिक दृटिले यहाँ वर, पिपल, बेल, निम आदि वनस्पति प्रजाति महŒवपूर्ण मानिन्छन् । त्यसैले यिनीहरूको संरक्षणले यहाँको पारिस्थितिक प्रणालीको संरक्षणमा समेत सकारात्मक असर पर्छ । पिपल परिवारका प्रजातिले उष्ण प्रदेशका चरा तथा ससाना किराहरूलाई बास तथा खानेकुरा प्रदान गरेको छ । पहाडका देवीस्थान तथा तराईका ब्रहृमस्थानहरूले वर पीपललगायत लोप हुने अवस्थामा पुगेका चाप र पलाँसजस्ता प्रजातिको सुरक्षा गरेको पाइन्छ । 

केही देशमा पवित्र प्रजातिको वनस्पति संरक्षण गरिए तापनि पवित्र भूस्वरूपको संरक्षणमा ध्यान दिएको पाइँदैन । तर, नेपालमा गोसाइकुण्ड, खप्तड र मुक्तिनाथ जस्ता स्थललाई पवित्र भूस्वरूपको रूपमा अंगीकार गर्न सकिन्छ । यी पवित्र भूस्वरूप सांस्कृतिक तथा धार्मिक महŒवका हुनुका साथै जैविक दृष्टिकोणले महत्वपूर्ण छन् । यस्ता पवित्र भूस्वरूपलाई एक एकाइको रूपमा लिँदा विभिन्न पारिस्थितिक प्रणाली जस्तो कि वनजंगल, घाँस मैदान, जलाधार तथा सिमक्षेत्र र स्थानीय जनताबीच अन्तरसम्बन्ध हुन्छ । यसैले पवित्र भूस्वरूपको संरक्षण पारिस्थितिक प्रणालीको विविधता तथा मानव कल्याणका लागि पनि नितान्त आवश्यक छ । 

नेपालमा मध्यवर्ती क्षेत्रको व्यवस्थापन, संरक्षित क्षेत्रहरूको व्यवस्थापन, पार्क–पिपल कार्यक्रम, सामुदायिक वन आदिको माध्यमबाट जैविक विविधता संरक्षण गर्ने प्रयास गरिएको छ । परन्तु संरक्षित क्षेत्रहरूको भूस्वरूप व्यवस्थापन भने एक नौलो कार्य हो । 

यहाँका केही स्थानीय भूस्वरूप, व्यवस्थापन गर्ने काम नेपाल सरकार, संयुक्त राष्ट्र संघ विकास कार्यक्रम र विश्ववन्यजन्तु कोषको संयुक्त प्रयासमा सुरु गरिएको छ । यस सन्दर्भमा मकालु वरुण क्षेत्र, कञ्चनजंघा तथा बर्दिया निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षको भूभागलाई जनसहभागिता जुटाई भूस्वरूप व्यवस्थापन गरिएको छ । तर, स्थानीय जनताको आवश्यकता पूर्ति गर्दा जैविक विविधताको संरक्षण, पारिस्थितिक प्रणालीको स्थायित्व, परम्परागत ज्ञान तथा सीपको सम्बद्र्धन तथा प्रबद्र्धन भएमा मात्र भूस्वरूपको व्यवस्थापन प्रभावकारी हुन्छ । 

वस्तुतः आनुवांशिक स्रोतको संरक्षण प्रबद्र्धन र सही परिचालन गरी स्थानीय समुदायको परम्परागत ज्ञान, सीप र अभ्याससम्बन्धी हकहितको संरक्षण गर्न जैविक विविधता ऐन १९९२ लाई नेपालले अनुमोदन गरेको छ । तर यसलाई व्यवहारमा उतार्न जरुरी छ । 

जैविक विविधताको व्यापारिक खोजको प्रक्रियाद्वारा जैविक स्रोतहरूको आर्थिक महŒव बढ्छ । परन्तु यिनीहरू लोप हुने डर हुँदा समयमै आनुवांशिक स्रोत तथा सम्पत्ति अधिकारसम्बन्धी नीतिनियमहरू अविलम्ब बनाई कार्यान्वयन गर्न आवश्यक छ ।


Views: 103