16th May | 2021 | Sunday | 6:07:09 PM

समता र समन्वयका लागि मिलन बिन्दु

गोकुल अधिकारी   POSTED ON : चैत्र ३०, २०७७ (८:२२ AM)

समता र समन्वयका लागि मिलन बिन्दु

‘कोरोना कहर र लकडाउनले यसै पनि जीवन शून्य भइरहेको थियो । ठीक त्यही समयमा रुकुमको चौरजहारीमा उच्च जातकी छोरीलाई विवाह गर्न खोजेका कारण केटी पक्षद्वारा नवराज विकसहित पाँचजनाको हत्या गरिएको दुःखद् घटनाले केही दिनसम्म मनलाई खिन्न बनाइहृयो, हामी समाजमा मानव भएर बाँच्न किन सकिरहेका छैनौं भन्ने प्रश्नले मनलाई निरन्तर चिमोटिरहृयो, घटना सम्झदा अहिले यतिखेर पनि मन बिझाइहाल्ने सोही नमीठो अनुभूतिको उपज हो मेरो यो मिलनबिन्दु भन्ने खण्डकाव्य ।’

साहित्यकारहरूको उपस्थितिले खचाखच भरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षको मञ्चमा उभिएर कवि निर्मला कोइरालाले यसो भनिरहँदा सभाकक्षमा उपस्थित सबैजना अत्यन्तै भावुक बनिरहेका थिए । मानौं त्यतिबेला कवि कोइराला मिलन बिन्दुका पानाहरू पल्टाउँदै शोकसन्देश पढिरहनुभएको थियो अनि सभाकक्षका सबैजना शोक सन्तप्त बन्दै पश्चिम रुकुमको त्यो घटनालाई सम्झेर केही मिनेट मौनधारण गर्न पुगेका थिए । 

समालोचक ज्ञानु अधिकारी र छन्दसाहित्यका ज्ञाता प्रल्हाद पोखरेलले त्यसअघि नै यो कृतिको उचाइका बारेमा श्रोताहरूलाई धेरै कुरा बताइसकेका कारण पनि स्वयं कृतिकारले यी मार्मिक अभिव्यक्तिहरू राखिरहँदा सो सभाकक्षमा उपस्थित श्रोताहरू बढी नै एकाग्र र भावुक बन्नपुगेका थिए । 

विराटनगरको प्रतिभा पुरस्कार प्रतिष्ठानले आफ्नो ६३औं कृतिको रूपमा प्रकाशन गरेको ‘मिलन बिन्दु’ नामको यो खण्डकाव्यलाई सो प्रतिष्ठानले २०७७ चैत ६ गते काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी सार्वजनिक गरेको हो । उक्त संस्थाले काठमाडौंका गनेचुनेका धेरै साहित्यकारलाई सो सभामा उपस्थित गराएको थियो । उक्त कृतिको लोकार्पण भने सो सभामा प्रमुख अतिथिका रूपमा आमन्त्रित व्यक्तित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेतीले गर्नुभएको थियो । 

यस कृतिका कृतिकार निर्मला कोइराला यसअघि २०७५ सालमा एउटा कवितासंग्रह प्रकाशन गरेर कवि व्यक्तित्वका रूपमा देखापरिसक्नु भएको छ । यो दोस्रो कृतिसम्म आइपुग्दा उहाँले आफूलाई खण्डकाव्य लेख्ने स्रष्टाको रूपमा चिनाउनुभयो । 

रहेछ मान्छे सब एक जात

आभा पसी खुल्न गयो प्रभात

म चेतनाको अब दीप बाल्छु

चिराग बोकी समता समाल्छु 

यस कृतिभित्रको सातांै खण्डमा रहेका यी चार हरफहरू मात्र पढ्दा पनि यस खण्डकाव्यको विशिष्टता प्रष्ट हुन्छ । 

शहरमा पढ्न बसेका किशोर किशोरीबीच प्रेमको मुना लहराएको, प्रेमालापका पाइलाहरू गतिशील भएको र दाम्पत्यको नयाँ संसार निर्माण गर्ने संकल्पका साथ उनीहरूबीचको प्रेमयात्रा अगाडि बढेको प्रसंग मीठा र स्वादिला काव्यात्मक पंक्तिको माध्यमबाट निर्मलाले यस कृतिमा व्यक्त गर्नुभएको छ ।

मेरी हितैकी सफला तिमी हौ 

मेरी दिलैकी अचला तिमी हौ

यो देह तिम्रो मुटुको सिरानी

लेख्नेछु सच्चा हृदय कहानी । 

काव्यका नायक र नायिकाकै नामबाट यो खण्डकाव्यको नामकरण गरिएको देखिन्छ । ती नायक नायिकाको मिलन र समागमलाई नै काव्यकारले प्रतीकात्मक रूपमा मिलन बिन्दु भन्नुभएको छ । यस खण्डकाव्यका मूल पात्रले आफ्ना अभिभावकलाई सम्झाई बुझाई गरेर आफ्नो प्रेमयात्रालाई सफल तुल्याएको घटनाका कारण यो कव्य सुखद् सन्देशसहित समाप्तिमा पुगेको छ । 

उदार आत्मा नगरी हुँदैन

बन्धुत्व मारी थिति बद्लिँदैन

स्वदेशका इज्जतका निमित्त

आऊ पखालौं अब सानु चित्त (पाँचौ खण्ड)

समाजले निर्माण गरेका जातीय बन्धनभन्दा प्रेम र प्रणय निकै उचाइको र पवित्र विषय हो भन्ने कुरालाई कृतिकार कोइरालाले सुललित छन्दमा राम्रोसँग व्यक्त गर्नुभएको छ । यस काव्यभित्र परम्परागत र आधुनिक विचारबीचको द्वन्द्वलाई उधिन्ने प्रयत्न कृतिकारले गर्नुभएको देखिन्छ

छन् बिन्दु ती ब्राहृमणकी सुपुत्री

र उच्चताकी प्रतिमूर्ति जस्ती

विवाह गर्छाैं अब माग्छु फेरि

यो जातको बन्धन क्यै नहेरी 

कृतिकार कोइरालाले आफ्ना पिताजी स्वर्गीय देवीप्रसाद निरौलामा समर्पण गर्नुभएको जम्मा ५२ पृष्ठको यो पुस्तकका भूमिकाकार साहित्यकार डा.गोपाल भण्डारी लेख्नुहुन्छ, ‘यो खण्डकाव्यले सामाजिक परिवर्तनका लागि परम्परागत मान्यता र चिन्तनमा नयाँ दृष्टिकोण राखेको छ ।’ 

पुस्तकको पृष्ठ भागमा रहेको आफ्नो छोटो भनाइभित्र प्राध्यापक डा.कुमार कोइरालाले लेख्नुभएको छ, ‘जो कोहीले पनि सजिलै वाचन गर्ने शास्त्रीय छन्दमा आलंकारिक, तार्किक र व्यंग्यात्मक शैली प्रयोग गरिएको सहज र सरल अभिव्यक्ति कौशलले गर्दा यो कृति कलात्मक र पठनीय बन्नपुगेको छ ।’

समग्र कृतिको सार खिच्दै प्राज्ञ विवश पोखरेलले लेख्नुभएको छ ‘कवि निर्मला कोइरालाको प्रस्तुत कृतिमा प्रेमका मीठा अनुभूति छन्, संघर्ष छ अनि समाजमा व्याप्त कुरीतिको चित्र कोरिएको छ ।’ 

पुस्तकको पहिलो पानामै पढ्न पाइने मूल समीक्षकीय मन्तव्यमा साहित्यकार दधिराज सुवेदीले भन्नुभएको छ । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने सुक्तिमय पंक्तिबाट महाकवि देवकोटाले हामीलाई मानवताको पाठ राम्रोसँग पढाएपछि नेपाली साहित्यमा मानवताको खोज अझ घनिभूत रूपमा अगाडि बढ्यो र सोही लेखनयात्रा निर्मला कोइरालाको कलमसम्म आइपुग्दा मिलन विश्वकर्मा र जातीय आधारमा उच्च मानिएकी ब्राहृमणपुत्री बिन्दुबीच मानव प्रेमको पराग काव्यको मूल प्रसंग बनेर छचल्किन पुगेको छ ।’

स्रष्टा रमेश पौडेलको आवरण रहेको यस पुस्तकको मूल्य रू दुई सय छ । जम्मा सात खण्डमा रहेको यस काव्यभित्रका त्यस्ता खण्डलाई कृतिकारले तरेली भनी सात तरेलीमा विभक्त गर्नुभएको छ । 

मूलतः शिक्षण पेशामा रहेर विराटनगरको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई पाठ्यक्रमले तोकेका सीमित विषय पढाउने गर्नुभएकी निर्मलाले दुई फरक पृष्ठभूमिका पात्रलाई माध्यम बनाएर यस कृतिमार्फत हामी नेपाली साहित्यका आमपाठकलाई समता र समन्वयको पाठ पढाउने प्रयत्न राम्रोसँग गर्नुभएको छ । यस खण्डकाव्यले समाजलाई पक्कै पनि सही मार्गदर्शन गर्नेछ र नेपाली साहित्य भण्डारमा यो पुस्तक गहकिलो कृति बनेर रहनेछ । 


Views: 249