16th May | 2021 | Sunday | 7:06:41 PM

राजनीतिमा पूर्वसुकुम्बासीहरूको बिगबिगी

प्रा.देवीभक्त ढकाल   POSTED ON : चैत्र ३१, २०७७ (७:२८ AM)

राजनीतिमा पूर्वसुकुम्बासीहरूको बिगबिगी

दशकसम्म जंगलमा बसेर शहरमा लुट मच्चाउनेहरू, दशकौंदेखि राष्ट्रको ढुकुटी लुटेर धनी भएका केही मुठ्ठीभर नेता हुँ भन्ने विदेशीहरूको निर्देशनमा काम गर्ने छद्मभेषी एजेन्टहरूले धनको बलमा सबै पार्टीहरूमा विग्रह उत्पन्न गरेर सत्ता हत्याउने नियमित नौटंकीका कारण अब राजनीतिमा मात्र होइन समाजमा समेत अराजकताको बिगबिगी हुने लक्षणहरू देखिँदैछन् । समाजलाई प्रदुषित गर्ने काममा राजनीतिले मलजल गर्ने काम दुर्भाग्यपूर्ण भन्नुपर्छ । अस्थिरताबाट लाभ लिने देशी विदेशी तत्वहरूसँगको साँठगाँठका कारण केही राजनीतिसँग घनिष्ठ सम्बन्ध राख्ने मानिसहरू आफूलाई सदाबहार शक्तिशाली रहेको अनुभूति र दम्भ गर्दछन् । 

वर्तमान राजनीतिक संक्रमणकालमा यस्तो परिस्थिति बन्नु स्वाभाविकै हो । सबै मानिस मुद्राका बसमा हुन्छन् भन्ने कुरा नेपाली राजनीतिका खेलाडीहरूले बेलाबखत प्रमाणित नै गरेका छन् । सरकार बनाउन र सरकार भत्काउन भएका घटनाक्रमलाई नियाल्दा के देखिन्छ भने सबै घटनाक्रम त मुद्राको सेरोफेरोमा वा प्रभावमा हुने सत्यलाई लुकाउने प्रयास नै राजनीति बनेको यथार्थ बोध हुँदा राजनीतिले लज्जाबोध र धृणासमेत उत्पन्न गर्ने विषय अब आममानिसले बुझेको विषय हो । सत्यलाई जतिसुकै ढाकछोप गर्दा पनि कतै न कतैबाट प्रकट हुने हुँदा नेपाली राजनीतिको अग्रभागमा देखिएका विदेशीहरूद्वारा पालित पोषित र निर्देशित एजेन्टहरूको क्रियाकलापले समयक्रममा यस्ता विषय उदांगै भएका उदाहरण हामीले खोज्दा भेटिन सक्छ । 

एउटा पार्टीको मानिस अर्को पार्टीको नेताको निर्देशनमा काम गरेर आफ्नो नेता र पार्टीलाई नै भताभुंग र लथालिंग पार्न कत्ति पनि लज्जाबोध गर्दैन भने अब सिद्धान्त, नैतिकता र इमानदारीताको अवस्था के छ त्यो स्वतः स्पष्ट हुने नै भयो । सिद्धान्त, नैतिकता र इमानदारीताको आधार भनेको हामी हिन्दूहरूमा धर्म हो । हिजो एकआपसमा झगडा भयो भने त्यो अवस्थामा एकले अर्कोलाई गाली गर्ने पेचिलो र मार्मिक गाली थियो धर्म छाडा । धर्म छाडा भनेर कसैले गाली गर्दा उसको मन मस्तिष्कमा ठूलो चोट र आघातको अनुभव र अनुभूति हुन्थ्यो । त्यो गालीलाई मानिसहरूले सामान्य अवस्थामा प्रयोग नै नगरेर अत्यन्तै पीडादायी र असामान्य परिस्थिमा मात्र प्रयोग गर्दथ्ये ।

हिजो मानिस धर्मसँग धेरै डराउँथे । धर्मप्रतिको अगाध आस्था र विश्वास भएका कारण मानिस गलत काम गर्न सधैं हच्किन्थ्यो । धर्मसँगको त्रासले उसले गलत काम गर्ने हिम्मत र आँट नै गर्दैनथ्यो । तर, अहिले परिस्थिति नाटकीय रूपमा फेरिएको छ । राजनीतिमा हेर्ने हो भने अधिकांश धर्म छाडाहरूको उपस्थिति छ । आफ्नो परम्परागत धर्मप्रति विश्वास नगर्नेसँग हामीले विश्वास गर्दा नै जनताले सधैं हार व्यहोर्नुपरेको छ । धर्म, इमानदारीता, नैतिकता र सच्चाइको प्रतीक हो । आफ्नो परम्परागत धर्मलाई परित्याग गर्नेहरूले सिद्धान्ततः सनातनसँगसँगै इमानदारीता, नैतिकता र सच्चाइ परित्याग गरेका कारण नै यिनीहरू एकआपसमा आत्तिने, मात्तिने, पात्तिने, ठस्किने, मस्किने गर्दछन् । 

सर्वप्रथम यस्ता प्रवृत्तिका नेताहरूबाट राजनीति मुक्त हुनैपर्छ । राजनीतिमा परिवर्तित परिस्थितिले हाम्रो मूल्य, मान्यता र सोच तथा व्यवहारमा समेत परिवर्तन आएको छ । परिवर्तन सधैं सकारात्मक हुनुपर्छ भन्ने छैन । नकारात्मक पनि हुन सक्छ र नकारात्मक परिवर्तनलाई आदर्श मान्ने जमात पनि उत्पन्न हुने विषय नौलो नहुँदो रहेछ । त्यस्तै यहाँ सिद्धान्तप्रति निष्ठा भएको मानिस नै देखिएन । निष्ठाको मूल स्रोत धर्म रहेछ । धर्म नै छाड्ने र परिवर्तन गर्नेसँग निष्ठाको अपेक्षा आफैंमा मूर्खतापूर्ण भन्नुपर्छ । निष्ठाको अर्थलाई नै अपभ्रंस गर्ने गरेर धर्म छाडाहरूले समेत त्यो शब्दलाई प्रयोग गरेको सुन्दा गर्नेलाई भन्दा हेर्नेलाई लाज जस्तो भएको अनुभूति हुन्छ । 

सबै मुद्राप्रति निष्ठावान भएपछि पार्टी फुटाउन र पार्टीभित्र विग्रह सिर्जना गर्ने काम सजिलै हुने रहेछ । यस्तो क्रियाकलापले अस्थिरतालाई आमन्त्रण स्वाभाविक हुन्छ । त्यसैले अहिलेसम्म नेपालमा निर्वाचित सरकारले आफ्नो अवधि पूरा गरेको रेकर्ड नै छैन । यी सबै क्रियाकलापले राजा महेन्द्रले संसदीय व्यवस्था अफापसिद्ध भन्ने तर्कलाई पुष्टि गर्दै त छैन भन्ने कुरालाई स्मरण गराउने अवस्थाप्रति किन जिम्मेवारहरू सोच्दैनन् ? राजनीतिको अनुचित लाभ लिन केही मानिसहरूले धनको बलमा मैले राजनीतिक वृत्तमा जे पनि गर्न सक्छु भन्ने दम्भ देखियो । अर्कोको पार्टीमा बिग्रह ल्याउन धनलाई प्रयोग गर्ने लोभी पापी नेतृत्व भएको अवस्थामा हुने सबै प्रकारका राजनीतिक अस्तव्यस्तता अब देशले भोग्नै पर्ने स्थिति टड्कारो रूपमा देखियो । 

भ्रष्टहरूलाई कारबाही नहुँदासम्म भ्रष्टाचार गरेर जम्मा गरेको धनको आडमा नेताहरू नै किनबेच हुने क्रम जारी रहँदासम्म न स्थिरता हुन्छ न विधि र पद्धतिले काम गर्छ । यस्तो अवस्थामा कसैले पनि समृद्धि र सुशासनको गीत नगाए हुन्छ । कसैले यस्तो अवस्थामा विकास र सुशासनको कुरा गर्छ भने त्यो भ्रम हो । राजनीतिलाई अस्तव्यस्त पारेर आफ्ना गुरुहरूको मुराद पूरा गर्ने अवस्थाले कतै हाम्रो सार्वभौमसत्ता नै संकटमा पर्दै त छैन भन्ने आशंकालाई थप पुष्टि गरेको त होइन ?

दलका टाउकेहरू सबैलाई प्रधानमन्त्रीको पद चाहिएको छ । तिनै टाउकेका आसेपासे र लाउके सबैलाई मन्त्री चाहिएको छ । टाउके नेताका ढोके, बैठके सबैलाई विभिन्न स्थानहरूमा नियुक्ति चाहिएको छ । कसैलाई पनि जनताको सामाजिक, आर्थिक उत्थानको चासो नै छैन । चासो छ भने आफूले के पद पाउने भन्ने विषयको मात्र चासोभित्र नेपालको राजनीति रूमलिएका कारण जनताका विकास र उत्थानका चाहनाहरू कुनै पार्टी र नेताका लागि प्राथमिकतामा नै छैनन् । प्रथमिकतामै नपरेको विषयमा सम्बोधन भएन भन्नुको के अर्थ ? जनता र जनताको विकासको चाहना साथै प्राथमिकता खालि निर्वाचन घोषणापत्र र भाषणमा मात्र सीमित हुँदा ती सबै विषय हात्तीका देखाउने दाँत हुन् चपाउने दाँत होइनन् । 

राजनीतिमा सिर्जित वर्तमान द्वन्द्व, विकृति, निषेधको राजनीति, अहंकार एवं अहंको राजनीतिको मुख्य कारण पूर्वसुकुम्बासी नेताहरूसँग भ्रष्टाचारबाट थुपारेको सम्पत्ति हो । राजनीतिको शुद्धीकरण र सुशासनको बाटो भनेको भ्रष्टहरूलाई भ्रष्टाचारमा निर्मम कारबाही हो । हाम्रो दुर्भाग्य भनेको प्रायःसबै अपराधी सत्तामा हुनु हो । अपराधीहरूले धनको आडमा सत्ता कब्जा गर्ने स्थिति रहँदासम्म सुशासन र विकासको आधार नै बन्दैन । यहाँ विकासका अहिले देखिएका प्रयासहरू जनताको हितमा केन्द्रीकृत नभएर यिनै भ्रष्टहरूको स्वार्थ सिद्धिको साधन बनाइएको छ । 

काठमाडौंका सडकहरूको निर्माणको सूक्ष्म अध्ययन गरौं त प्रायः धेरै सडकहरू भ्रष्टहरूको घरमा जान सजिलो हुनेगरी बनेका छन् । जुन क्षेत्रमा भ्रष्टहरू बस्दैनन् त्यहाँका सडकहरू न चौडा भएका छन् न तिनको सुधार नै । भ्रष्टहरूलाई सुविधा पु¥याउन बनेका सडक र अन्य संरचनालाई नै जनताले विकास मान्नुपर्ने हाम्रो विडम्बना नै आम नेपालीको दुर्भाग्य हो । 

हाम्रा सबै आन्दोलनहरूको नेतृत्व विकासको दृष्टिकोण हुनेहरूबाट नभएर सत्ताको डाह हुनेहरूबाट भएकोले उनीहरूको ध्यान र मन सधैं सत्तामा हुन्छ जनताको समृद्धिमा हुँदैन । जनताप्रति जिम्मेवारहरूले कुनै पनि आन्दोलनको नेतृत्व नगरेका कारण नै विकास र समृद्धि प्राथमिकताको विषय नै बन्न सकेनन् । विकास र समृद्धि प्राथमिकतामै छैनन् भने कसरी र किन त्यो प्राप्त हुन्छ भन्ने विषयमा हामी प्रष्ट हुनु पर्दैन ? 

अहिले नेपालका राजनीतिका हस्ती भनिने सबै नेताहरू हामी सबैले जानेका भूतपूर्व सुकुम्बासीहरू हुन् । आज राजनीतिक परिवर्तनका कारण राज्य शक्तिको चरम दुरुपयोगको साहारामा उनीहरू सबैको हैसियत एकाएक काठमाडौंमा दरबार बनाउने हैसियत कसरी भयो ? 

यो नै नेपाल र नेपाली जनताको उन्नतिको व्यवधानको सूत्र हो । जनताको समृद्धिका नाममा भएका आन्दोलनहरूले कसरी र किन नेताहरूलाई मात्र समृद्ध बनायो ? जनता धनी बनाउने नाममा भएका आन्दोलन र परिवर्तनहरूबाट किन सीमित नेताहरू मात्र धनी बने ? त्यही धनको तुजुकको परिणाम हो पार्टी–पार्टी बीचको द्वन्द्व र आफ्नै पार्टीका साथीहरूबीचको पदका लागि झगडा, चीरहरण र लुछाचुँडी । यस्तै चुरिफुरीले देशमा अराजकता र बेथिति सिर्जना गरेका कारण वर्तमानको द्वन्द्वको उपचार भनेको भ्रष्टहरूको अकुत सम्पत्तिको छानबिन, आर्थिक अपराधको अनुपातमा सख्त कारबाही र भ्रष्टाचारबाट जम्मा भएको सम्पत्तिको राष्ट्रियकरण नहुँदासम्म नेपाली राजनीतिले सही दिशा किमार्थ अख्तियार गर्दैन ।

अबको समस्याको समाधान नयाँ निर्वाचन, नयाँ पद्धति तथा नयाँ पात्रको परिवर्तनले मात्र हँुदैन भन्ने निष्कर्षका साथ सम्बन्धित सबैलाई छानविनको घेरामा पार्नुपर्छ । भ्रष्टहरूलाई कारबाही विना यदि नेपालको राजनीतिक द्वन्द्वको उपचार खोजिएको अवस्थामा यसले समाधानभन्दा झन जटिलता उत्पन्न गर्छ भन्ने हेक्का सबैसँग हुनुपर्छ । 

हामीले सधैं समाधानको नाममा समस्याको विजारोपण गर्दा देश र जनताको परिस्थिति सधैं रसातलतिर उन्मुख भएको छ । त्यही रसातलतिर निर्देशित अवस्थालाई विकास र समृद्धिको अवस्था देख्ने र भन्नेहरूबाट राजनीतिक नेतृत्व नखोस्दासम्म भ्रष्टाचार अन्त्य हुँदैन । 

नेपाली राजनीति सधैं एउटा वर्गको हतियार बनेका कारण त्यो हतियार जहिले पनि जनताको विपक्षमा प्रहार हुँदैआएको कुरामा इतिहास साक्षी छ । राजनीतिलाई असुलीको रूपमा ग्रहण गर्नेहरूले नेपाल र नेपालीको भाग्य र भविष्यमा ग्रहण लगाएका छन् । हाम्रा सबै परिवर्तनहरूले एउटा नयाँ वर्ग जन्माएको छ । अहिले उच्च र नयाँ वर्ग भनेको भ्रष्टाचारले निर्माण गरेको वर्ग हो । त्यही वर्गले जनताको उत्थानको नाममा चरम शोषण गरेको छ । 

गरिबहरूका नाममा राजनीति गर्नेहरू गरिबलाई नै शोषण गर्ने रणनीतिका साथ राजनीतिमा प्रवेश गरेका छन् । भ्रष्ट नेताहरूको भ्रष्टाचारको भण्डाफोर कार्यकर्ताले नगर्दासम्म भ्रष्टाचार रोकिँदैन । भ्रष्टाचार नरोकिँदासम्म भूतपूर्व सुकुम्बासी नेताहरूको भ्रष्टाचारको बिगबिगी रोकिँदैन । देशको विकास र जनताको समृद्धिको पूर्वाधार भनेको नै भ्रष्टाचारको अन्त्य र सुशासनको सुरुवात हो । 

नेपालका आन्दोलन र परिवर्तनहरू व्यक्तिगत लाभ र लोभबाट निर्देशित र सञ्चालित हँुदा परिवर्तनको सकारात्मक प्रभाव आमजनता समक्ष जाने बाटो नै खुलेको छैन भने जनताले परिवर्तनको अनुभूति किन र कसरी गर्ने ? 


Views: 251