16th May | 2021 | Sunday | 2:20:44 AM

धुर्मुस, रंगशाला र विश्वविद्यालय

मेघनाथ दाहाल   POSTED ON : चैत्र ३१, २०७७ (७:३१ AM)

धुर्मुस, रंगशाला र विश्वविद्यालय

विगत एक महिना जतिको मिडियाको सबैभन्दा पेचिलो तथा रमाइलो विषयवस्तु नै किनारा नलागेर गिजोलिएको नेपाली सत्ता राजनीतिको साथै चितवनमा निर्माणाधीन क्रिकेट रंगशाला र सो रंगशाला बनाउन दिने कि नदिने र यो विषयवस्तुको छलफलको उपयुक्त समय यो हो कि होइन भन्ने बारेको बहसले सबैको ध्यानलाई आकृष्ट गरेको पाइन्छ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई नचिन्ने नेपाली समाजमा शायदै होलान् तर पनि उनीहरूको काम वास्तवमा कलाकालिता तथा अभिनय नै हो । 

यसको अर्थ के लाउन नखोजियोस् भने कलाकारहरूले देश निर्माणमा कुनै पनि योगदान पु¥याउन हुँदैन भन्न खोजिएको चाहिँ होइन । प्रजातन्त्र, गणतन्त्र तथा लोकतन्त्रको माध्यमद्वारा नै देशको मुहार फेर्न अघिसरेका सम्पूर्ण पार्टीपंक्तिको विधि, व्यवहार तथा तौरतरिकाबाट आजित सर्वसाधारणलाई जोकसैले पनि विकासका लागि गरेको वा गरिदिएको जस्तोसुकै प्रयास स्वीकार्य लाग्नु स्वाभाविक नै भएको छ ।

 तिर्खाएको मानिसहरूको झुण्डलाई कसले पानी किन दिन्छसँग मतलव हुँदैन तर पानीको तिर्खा मेट्नु नै पहिलो र अन्तिम सत्य हुने कुरामा मेरो पनि स्वीकारोक्ति नै छ । तर, पनि किन त यसरी यो मुद्दा सडकमा आयो र पक्ष तथा विपक्षमा विभिन्न किसिमका अनर्गल कुराहरू नै मिडियाबाजी भइरहँदा सम्बन्धित निकाय किन मौन तथा कानमा तेल हालेर निदाएको स्थिति छ त ।

खेल मैदान तथा व्यवस्थित रंगशालाको निर्माणले कुनै पनि समाजका लागि नभइनहुने कुरामात्र नभएर यसले व्यक्तिको चौतर्फी विकास तथा राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि देशको इज्जत तथा पहिचानलाई देखाउन सक्ने कुरामा कुनै पनि संदेह नरहने कुरामा सबैको एकमत नै रहेको हुन्छ तर जसरी जुन हिसाबमा र जुन बेलामा यो प्रसंग वा मुद्दा राष्ट्रियस्तरमै मिडियाबाजी हुनुपर्ने थियो, गहन रूपमा नै छलफल हुनुपर्ने थियो तर सो बेलामा चाँहि नभएर किन काम सुरु भइसकेर एउटा महŒवपूर्ण स्थानमा पुगेपछिमात्र हुने वा नहुने भन्ने बारेमा जसरी पक्ष तथा विपक्षमा तर्कहरू छरिएर आइरहेका छन्, तिनले यो कामलाई त्यति शोभा दिँदैन । 

धुर्मुस वा सीताराम कट्टेल र सुन्तली वा कुञ्जना घिमिरे नेपाली समाजका लागि अत्यन्त नै इज्जतिला तथा गहकिला नामहरू हुन् । नेपाली समाजको यथार्थ चित्रणलाई कमेडीमार्फत आफूलाई चिनाउनमात्र नभएर स्थापित गराउन सफल यो जोडी आजको दिनसम्म पनि सबै नेपालीको मन मस्तिष्कमा बास बस्न सफल छन् । कलाकारीताको आफ्नो यात्रालाई केही समय विश्राम गरेर उनले गरिब बस्ती निर्माणमा आफूलाई अर्को नाम दिन सफलमात्र भएनन् यो निर्माणाधीन रंगशालाको निर्माण सम्पन्न गर्ने अठोटका साथ आपूmलाई यो परियोजनामा दिलोज्यान दिएर लागि पनि परे ।

सुरुवाती चरणमै यसको लागत तीन सय करोड वा तीन अर्बको लेखाजोखा भएको पाइएको छ । नेपालको अर्थतन्त्र, हाम्रो काम गराइ, विभिन्न योजनाको वित्तीय लागत तथा सम्पन्नताको समयावधिलाई नियाल्दा के बुझिएको छ भने यो पनि राष्ट्रियस्तरमा नै गर्नु तथा गराउनुपर्ने किसिमको आयोजना हो । यदि यो आयोजनालाई धुर्मुस–सुन्तली फाउण्डेशनले समयमै सम्पन्न गरेर राष्ट्रलाई बुझाउन सकेको खण्डमा हामी तीन करोड नेपाली सबै नै यो दम्पत्तीको ऋणी हुनेछौं । 

यसैको परिणामस्वरूप आज यसले विस्तारै आफ्नो आकार तथा स्वरूप ग्रहण गरिहेको अवस्था छ । एउटा आमनेपाली त्यसमा पनि कलाकारिताले आफ्ना सबै पारिवारिक तथा व्यक्तिगत वस्तु तथा सेवाहरूको जोहो गर्नुपर्ने तथा सामाजिक–सांस्कृतिक र आर्थिक रूपमा सबैखालको जिम्मेवारीको सामना गर्नुपर्ने व्यक्ति तथा दम्पत्तीको रूपमै सबैले यो जोडीलाई चिनेको छ । आजसम्मको हाम्रो जानकारीअनुसार धुर्मुस पनि निम्न मध्यम परिवारको व्यक्ति नै भएको कारणले उनलाई यो राष्ट्रियस्तरको कामको साहसको लागि सादर धन्यवाद नदिरहन सकिँदैन । 

तर पनि कुरा यतिमा मात्र सीमित रहेन । यदि साँच्चिकै उदार मन र पादर्शिताको साथै र कानुनसम्मत हिसाबले यो काम अगाडि बढेको भए, किन र कसको उक्साहटमा यो अनर्गल प्रचारप्रसारले स्थान पाइरहेको छ ? सम्बन्धित निकायहरू किन मौन बसिरहेको स्थिति हो ? एउटा क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला निर्माण भनेको खुला स्थानमा चिया पसल त्यो पनि अस्थायी प्रकृतिको सानो आकारको घर टहरा तथा संरचना नभएर ठूलो नै भएका कारण थोरै यसको कानुनी प्रक्रिया थियो नै होला । विश्वविद्यालय एउटा स्वायत्त संस्था भएका कारण उसको आफ्नै किसिमका पक्रियाबाटै स्वीकृतिका लागि अगाडि बढेको थियो होला । नत्रभने किन यत्रो जोजात्रा र जगहँसाउने क्रियाकलाप गर्नुपरेको हो ?

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा रहेको चितवनको रामपुर क्याम्पस जुन देशको एकमात्र कृषि, फलफूल तथा पशुपालनका लागि आवश्यक मानव स्रोतको सैद्धान्तिक तथा सबै किसिमका ज्ञान हासिलका लागि स्थापना गरिएको एउटा सशक्त शैक्षिक संस्था हो । यसलाई नेपाल सरकारले २०६८ सालमा कृषि विश्वविद्यालयको रूपमा मान्यता दिएको भए पनि यसको चालअचल जायजेथा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै रहेको पाइएको छ । समान्यतया कुनै मुलुकको कृषि विश्वविद्यालयका लागि हजारौं बिघा जग्गा जमिन आवश्यक हुने गरेको कुरालाई विदेशमा अन्तर्राष्ट्रिय रूपमा इज्जतिला विश्वविद्यालयहरूको स्थितिले पनि देखाउँछ । 

रामपुर क्याम्पसको अधिनको ५ सय बिघा जमिनमा पहिले नै एउटा समान्य अवस्थाको एउटा क्रिकेट रंगशाला रहेको पाइएको छ । सोही रंगशालाको छेउछाउ यो रंगशाला निर्माणले स्थान पाइरहेको कुरालाई विभिन्न मिडिया तथा सञ्चारमाध्यमले प्रचारप्रचार गरिरहेको एवं पक्ष तथा विपक्षमा तर्कहरू आइरहेका छन् । 

के त क्रिकेट रंगशाला र विश्वविद्यालयबीचको औचित्यको सवाल हो त ? साँच्चिकै धुर्मुस तथा सुन्तली मोहोरा नै बनेको हुन् वा जानीजानी नै बनेको जस्तो अभिनय गरिरहेका छन् त । यथार्थ के पनि छ भने हामीले यस्तो व्यवस्थाको निर्माण तथा सञ्चालन गरिरहेका छौं जहाँ कुनै व्यक्ति नागरिक नभएर कार्यकर्ता र तिनको झुण्ड र कार्यकारिणी तथा उनका क्याबिनेटका मित्रहरूले कहिल्यै यो झुण्डबाट उन्मुक्ति पाउने न त सार्थक प्रयास नै गरेको देखियो न त बाहिर निस्किएको नै देखियो । त्यसैको कारण हुनसक्दछ यो परियोजनामा राजनीतिक सुवास वा गन्ध आइसकेको सबैले महसुस गरेकै अवस्था हो । 

विश्वविद्यालय र खेलकुदको आआफ्नै किसिमको औचित्य, आवश्यकता तथा महŒवको साथसाथै आवश्यक पूर्वाधारहरूको व्यवस्था तथा जोहो गर्नु गराउनु राज्यको प्रमुख दायित्वभित्र नै पर्दछ । आजका दिनमा पनि हाम्रो यथार्थता भनेको नै आधारभूत जीवनयापनका लागि आवश्यक खाद्यान्न तथा धेरैजसो कृषि सामग्रीहरू आयात गरेर नै नेपालीहरूको चुलो बलेको छ । कृषि नै साठी प्रतिशतभन्दा बढी जनताहरूको मुख्य पेशा भएको विभिन्न तथ्यांकहरूले देखाइरहेका छन् । कृषिप्रधान मुलुक भन्न हामीले छोडेका चाहिँ छैनौं तर कृषिका लागि न त राज्य नै जिम्मेवार बनेको देखिन्छ न त निजी क्षेत्र नै । 

यस्तो स्थितिमा भएको एउटा कृषि विश्वविद्यालयलाई छुट्याएको थोरै जग्गामा खेल्नका लागि रंगशाला निर्माणमा किन र कसरी स्वीकृति प्रदान गरियो साथै यसमा भएका सबै किसिमका गतिविधिको पारदर्शिता किन भइरहेको छैन ? कानुनी तथा अन्य किसिमका कुनै बाधा व्यवधान भएका भए किन धुर्मुस तथा सुन्तलीमाथि मानिसहरूले विभिन्न किसिमका आरोपहरूको खेती गर्ने दुस्साहस गर्थे होलान् ? किनभने स्थापित कलाकारहरू भनेको कुनै व्यक्ति तथा समूह विशेषको नभएर समग्र समाज तथा समुदायको हुने गरेको हुँदा उनीहरूलाई समाजले राम्रो स्थान दिन पछि नपर्ने कुरामा दुई मत रहँदैन । 

खेलकुद तथा यससँग सम्बन्धित विषयलाई नजरअन्दाज गर्न खोजिएको पटक्कै होइन तर कृषि विश्वविद्यालयको सिनेट, प्रधानमन्त्रीको कार्यालय, भरतपुर महानगरपालिका, मन्त्रिपरिषद् तथा विभिन्न तह तथा तप्काहरूको लामो स्वीकृति तथा मन्जुरीपछि मात्र यो कामको सुरुवात हुने कुरामा सबै जानकार हुँदाहुँदै किन र कसका लागि र कसको निहित स्वार्थको खातिर यस्तो क्रियाकलापको सुरुवात हुन गयो ? यसको वैधानिक, व्यावहारिक तथा सर्वमान्य निचोडमा पुग्नु नै श्रेयस्कर देखिन्छ । 

साथै यदि धुर्मुस तथा सुन्तलीले पनि शक्तिको आडमा सबै नेपालीलाई इमोस्नल ब्ल्याकमेलिङ गरेको देखिएमा उनीहरू पनि सजायको भागिदार हुनुपर्ने हुन्छ र सम्बन्धित सबै पक्षहरूले नैतिक जिम्मेवारीका साथ काम नगर्ने हो भने भोलि बालुवाटारको निरन्तरता कृषि विश्वविद्यालय हुँदै त्रिभुवन विश्वविद्यालयलगायत धेरै यस्ता संवेदेनशील स्थान छन् जुन मूल्यमा खर्बाैं र शक्तिकेन्द्रहरूको नियतमा तलमाथि हुने बित्तिकै सम्भावना भएका स्थानहरूको सुरक्षाको प्रश्न पनि झन् पेचिलो बन्दै जाने देखिन्छ । 

यसर्थ यो काम कुनै सर्वसाधारण तथा शक्तिकेन्द्रको छत्रछाहारीविना कसैले गर्ने साहस गर्न नसक्ने भएकाले सबैले विश्वविद्यालय तथा सबै राजनीतिक केन्द्रहरूको पनि आआफ्नो हिसाबमा स्वच्छता कायम गरेमा भोलि कसैले पशुपति विकास कोष वा राष्ट्रिय निकुञ्ज वा टुँडिखेलको जग्गा व्यक्ति तथा समूहको पार्ने पो हुन् कि भन्ने डर पाल्नुपर्ने थिएन ।


Views: 290