16th May | 2021 | Sunday | 2:29:27 AM

अल्लारे बहर

लेखनाथ पोखरेल   POSTED ON : चैत्र ३१, २०७७ (७:३४ AM)

अल्लारे बहर

दास प्रथाको समयमा खरिद गरिएका र मुखियाका बुहारीको दाइजोमा आएका कमारा कमारीको संख्या गाउँमा थुप्रै भइसकेको थियो । विसं १९८२ ताका कमारा कमारी प्रथाको उन्मुलन गरिएको भए पनि उनीहरूजस्ता धेरै परिवार गाउँमा यथास्थितिमा बसेका थिए । 

मानिस जुन काममा अभ्यस्त हुन्छ उसको स्वभाव पनि त्यस्तै बन्ने गर्छ । कमारा कमारीको त्यस बेलाको स्थिति पनि त्यस्तै थियो । आफ्नै जीवन भोगाइको यथार्थलाई उपदेश मानेर त्यसको सम्मान गर्ने । जिउनुप्रति कुनै गुनासो नभएका, विनासाधन नै सन्तुष्ट, कर्तव्यप्रतिको निष्ठा र अनुशासनको बोध भएका, सिंगो पाठशाला थिए उनीहरू । स्वामीभक्ति र कार्यकुशलता उनीहरूको क्षमता थियो । सहज–असहज सबैखाले परिस्थितिसँग तालमेल गर्ने सीप भएका पारखी थिए उनीहरू । त्यसो त उनीहरूको आँखामा पनि सजिएर बसेका हुन्थे होलान् सुख र सम्पन्नताका सपनाहरू । मुखियाका छोराछोरीजस्तै आफ्ना बालबच्चालाई पनि सिंगार्ने र मीठोमसिनु खुवाउने रहर उनीहरूभित्र पनि हुन्थ्यो नै होला । उत्पीडनबाट प्रताडित त्यो समुदायका त्यस्ता सपना साकार हुने क्षीण सम्भावनासम्म पनि नभएको परिवेश थियो त्यो । उनीहरूका सपना यथार्थमा परिणत नभएर सधैंका लागि सपनामात्र बन्ने गर्थे ।  

प्रत्येक साँझबिहान आँ...गरेर उनीहरूलाई पर्खिबस्ने अगेनाका रित्ता सिलिबरे डेक्ची र कान फुक्लिएका कराहीले उनीहरूलाई गिज्याइरहेका हुन्थे । पेटमा कसेर बाँधेको पटुका र सुखद सपनालेमात्र भोक मेटाउने कामलाई कति नै सघाउ पु¥याउन सक्थ्यो र ! भोकले तिर्मिराएका उनीहरूका आँखामा उम्रिएका त्यस्ता सबै सपनाहरू ऐना फुटेजस्तो गरी झ¥यामझुरुम भएर टुक्रा टुक्रा हुनेगर्थे । 

तर, ती धुजा भएर छरपष्ट भएका आफ्ना सपनाको झल्को न उनीहरूको आँखामा झल्किन्थ्यो न त बोलीबाटै उम्कन्थ्यो । आज आएर भन्न मन लाग्छ उनीहरू समताका कुशल साधक थिए होलान् ।  नत्र, जहाँ आफ्नै बाबुआमा र सन्तानसम्म पनि सहृय छैनन््, त्यस्तो परिवेशमा कसरी सम्भव हुन्छ, गाउँका फरक–फरक स्वभावका सन्की मुखिया र मुखिनीसँग तालमेल मिलाएर उनीहरूलाई समान रूपले रिझाउन । 

तीमध्येको एक थियो कालुमान भुजेल । उसलाई सबैले ‘काले घर्ती’ भन्थे । अनौठो थियो काले घर्ती । ऊ इमानदार र आज्ञाकारी त थियो नै । त्योसँगै उसको मेहनत पनि उदाहरणीय हुन्थ्यो । खाँडीको भोटो र लामु लँगौटी लगाएको ऊ, मेरो घरमा, ‘घोसा पस्यो है बज्यै’ भन्दै हाम्रो घरभित्र पस्यो भने आमाले बुझ्नु पथ्र्याे उसको घरमा खानपिनको व्यवस्था नभएकाले उसकी श्रीमती रिसाएर बसेकी छ भन्ने कुरो । मेरो घरमा ‘स्वास्नी कुटुवा पस्यो है बज्यै’ भन्दा बुझ्नु पथ्र्याे, लोग्ने स्वास्नीको झगडा प¥यो भनेर । हाम्रा बाले पुल्पुल्याउनु भएको कमारो भएकाले, ऊ यस्तै–यस्तै उट्पट्यांग कुरा गथ्र्यो र आफ्ना समस्या सुनाउँथ्यो । आमाले हरेक पटक उसको आवश्यकताको परिपूर्ति गरिदिनु हुन्थ्यो । 

कालेकी श्रीमतीको नाम थियो ‘पानमती’ । पैसा हात परेको दिन काले घर्तीले खोल्सापारिको राईकोमा पुगेर जाँड धोक्ने गरेको कुरा कसैले पानमतीलाई सुनाइदिएको रहेछ । त्यो सुइँको पाएको दिनदेखि, काले कता जान्छ भनेर उसले खुब चियोचर्चो गर्न थालेकी थिई । कुनै अरू नै काम परेर खोल्सापारि गएको सुइँको मात्र उसले पाई भने साँझपख घरमा मारामार हुने भएकाले, जाँड धोकेको दिन कालेले हाम्रो घरमा आएर मज्जाले अदुवा चपाउने गरेको कुरा मलाई धेरैपछि थाहा भएको हो । 

गफ गर्न र मीत लगाउन बिछट्ट सिपालु थियो काले घर्ती । म पहिलो पटक मधेस जाँदाको एक दिनको कुरा हो, काले घर्तीले झण्डै अभर पारेको थियो । भँडारे घाटमा मान्छेको भीड थियो । घाट तर्ने हाम्रो पालो ढिलो आउने भएकाले हामीले धेरैबेर कुर्नुपर्ने भयो । ‘घुमेर आउँछु है कान्छा मुखिया’ भन्दै हिँडेको काले माझी गाउँतर्फ लागेको थियो । 

त्यहाँ उसले घटवारे माझीसँग मित लगाए छ । मित लगाएबापत सित्तैमा पाइने माझीको घरको जाँड बेस्सरी धोकेको कालेले, डुंगा तर्दा गीत गाउन सुरु गरेदेखि नै, बाले त भन्नु भएको थियो, ‘काले आज तेरो चाला निको छैन है भनेर’ ! डुंगा तरेर पारि पुगुन्जेलसम्म त ठीकै पो थियो । त्यसपछि बालुवामा पल्टेको कालेले एक घण्टापछि उठेर बल्ल आफ्नो ढाकर बोकेको थियो ।

लामीडाँडा जाने बाटाको मुन्तिरपट्टि हाम्रो एउटा ठूलो बारीको पाटो थियोे । कुनै समय त्यो बारीमा धने घर्तीको बसोबास भएको कारण त्यो बारीको नाम रहन गयो ‘धनेको पाटो’ । मकै छर्ने बेलाको त्यो बारी जोत्ने काम काले घर्तीको जिम्मामा थियो । त्यो दिन हाम्रो घरमा पूजा हुने भएकाले आमाले काले घर्तीलाई बासीभात र मोही खुवाएर बिहानै जोत्न पठाउँदै हुनुहुन्थ्यो । 

काले घर्तीलाई के कुरामा चित्त नबुझेर हो भुत्भुताउँदै थियो । बासीभात खाएर भुत्भुताउँदै आँगनमा पुगेको कालेलाई आमाले बोलाएर सम्झाउनु भएको थियो,  ‘घरमा पूजा छ । खाना अलि ढिलो हुन्छ । खाना ढिलो भयो भनेर रिसाएर गोरु चुट्लास् नि ! ती त जोत्ने गोरुमात्र होइनन् बाबै, हामीलाई पालपोस गर्ने हाम्रा छोरा हुन्’ ! त्यति कुरा सुनेको उसले हलगोरुको काँधमा जुवा ना¥यो र आफ्नो काँधमा हलो बोकेर धनेको पाटातर्फ लाग्यो । त्यो बेला मलाई आमाले कालेलाई किन त्यति धेरैकुरा भन्नु भएको होला भन्ने लागेको थियो ।

म चौध महिनाको नहुँदै बहिनी जन्मिइसकेकी थिई । आमाको दूध छोडेर बाबुको घुँडो चुस्न पुगेसँगै म तारी गाईको अवैध सन्तान बन्न पुगेँ । तारी गाई र मेरो सम्बन्ध आमा छोराको बन्नपुग्यो । अचम्मकी थिई तारीगाई । चार पाँच वर्षको हुँदा पनि राति म दूध खानलाई जबजब रुन थाल्थेँ, बाले एक हातले मलाई च्याप्नु हुन्थ्यो अर्को हातमा पानीको अंखोरा हुन्थ्यो । 

मतानमा बाँधेको तारी गाईको छेउमा पुगेर भन्नुहुन्थ्यो ‘तारी तेरो छोरो आयो दूध दे’ । अचम्म थियो ! मलाई देख्ने बित्तिकै तारी गाई जुरुक्कै उठ्थी । बाले उसको फाँचो धोइदिनु हुन्थ्यो र गाईको थुन मेरो मुखमा लगाइदिनु हुन्थ्यो । मैले दूध चुसुन्जेल तारी गाई चुपचाप उभिई रहन्थी । मैले अघाएर उसको थुन छोडेपछि ‘बाँ’ गर्थी अनिमात्र बस्थी । जंगल चर्न गएकी तारी गाई दिउँसो पनि एक पटक ‘बाँ’ गर्दै घरमा आउँथी र मलाई दूध खुवाएर चर्न जान्थी । म तारी गाईको दूध र काली भैंसीको घ्यू खाएर नै हुर्किएको थिएँ । 

वर्ष दिनको फरकमा तारी गाईले दुईवटा बाछा जन्माएकी थिई । मैले उनीहरूकी आमाको दूध चुस्दै गरेको बेलादेखि नै ती दुईवटा बाछा मेरा साथी बनेका थिए । अलि ठूलो भएपछि तारी गाईका दुवै बाछा मलाई देख्ने बित्तिकै ठाडो पुच्छर लाएर उफ्रिँदै मसँग खेल्न मेरो छेउमा आइपुग्थे । सुम्सुम्याउँदै लगेर दुवैलाई दाम्लोमा नबाँधेसम्म म स्कुल जान पाउँदिन थिएँ । 

दाम्लोमा बाँधेर डोरीमा घाँस झुण्ड्याई दिएपछि मात्र म फुर्सद पाउँथे । डोरीमा घाँस झुण्ड्याएर मैले आफ्नो झोला भिर्दै गर्दा दुवै एकै स्वरमा ‘बाँ..’ गरेर मलाई बिदा गर्थे । स्कुलबाट फर्केर घरपुग्दा पनि उनीहरूको मुखबाट एकपटक फेरि ‘बाँ..’ शब्द निस्किने गथ्र्यो । 

समय बित्दै गयो । बित्दो समयसँगै हामी पनि हुर्किंदै गयौं । बाछा बहर बने, म जवान हँुदै गएँ । बाच्छाबाट अल्लारे बहर बनेका उनीहरू बारीको डिलसँग सिँगौरी खेल्न सुरुगरेसँगै काले घर्तीले उनीहरूको काँधमा जुवा बाँध्यो । स्कुलको क्लास चढ्न थालेसँगै हुर्किंदै गएको मेरो काँधमा स्कुलब्यागको भारी थपिँदै गयो ।

काले घर्तीले नै हुर्काएको थियो ती बाछालाई । सानो छउन्जेल उसैले खुवाउने गरेकाले हुर्केर बहर भएपछि दाउनको लागि उनीहरूको काँधमा जुवा राख्दा नाइँनुकुर गरेका थिएनन् । दुवै बहरयति धेरै बलिया थिए कि कालेबाहेक अरू जो कोहीले तिनीहरूको काँधमा जुवा राख्ने आँट गर्न सक्दैनथे । 

हलो जोत्दा उसले ती दुवै बहरलाई चुक्चुक्याएर जोत्ने गरेको देखेको थिएँ मैले । जोत्न सुरु गरेको केही समयपछि भने कहिलेकहीँ यिनीहरूको ग्रह मिल्न छाडेकोझैँ लाग्थ्यो । बारी जोत्ने बेलामा काँधमा जुवा राख्न खोज्दा कहिलेकहीँ दुवै बहरले कालेलाई  फाँ..फाँ..र फुँ ..फुँ...गर्ने गर्थे । सधैँ मलाई चाट्न आउने ती बहरले कालेलाई किन त्यस्तो गर्छन् भन्ने कुराको मेसो मैले पाएको थिइनँ ।

त्यो दिनको पूजा सकिनुअगाडि आमाले मलाई बोलाएर ‘जा बाबु ! काले भोकायो होला । भनेको बेला खान पाएन भने त्यसले अप्ठेरोमा हलो अड्काएर गोरु चुट्न थाल्छ । उसलाई खानेकुरा पु¥याई दे’ भन्दै, टालोमा बाँधेको खाना र एक लोहोटा पानी दिनुभयो । काले घर्तीले मलाई औधी माया गर्ने भएकाले, आमाले दिनुभएको पोको र लोहोटाको पानी बोकेर म खुरुक्क धनेको पाटातिर लागेको थिएँ ।

जोत्दै गरेको बारीभन्दा दुई कान्लामाथि पुगेर हेर्दा जोत्दै गरेको कालेको हलो ढुंगामुनि अड्किएको देखिन्थ्यो । त्यो हलो आफैं अड्किएको थियो कि उसले अड्काएको थियो ? त्यो कुरा मैले थाहा पाइनँ । अप्ठेरोमा अड्किएको हलो तान्न नसकेका अल्लारे बहरलाई भोकाएको कालेले बेस्सरी चुट्दै थियो । गोरुलाई चुट्दै गरेको लट्ठीको आवाज म उभिएको ठाउँसम्म नै सुनिन्थ्यो । दुवै गोरुको मुखबाट ग्वाँ..ग्वाँ..को आबाज निस्किराखेको थियो । 

त्यसअगाडि ती बहरले चुटाइ खाएको कहिल्यै नदेखेको मलाई त्यो दृश्य देख्दा रुन मन लाग्यो । ‘ए काले ! ती गोरुलाई नकुट’ भन्दै माथिबाटै कराएँ । रिसले चुर भएको कालेको कानसम्म मेरो आवाज पुगेझैँ लागेन । त्यो दृश्य देखेर आत्तिएको म, हतारमा ओरालो झर्दै गर्दा हातमा बोकेको लोहोटाको पानी भूइँमा खसेर पोखियो । टालोमा बाँधेको खानेकुरा फ्याँकिदिउँझैँ लाग्यो । 

म बेस्सरी कुद्दै तल पुगेँ । म त्यहाँ पुग्दासम्म चुटाइ खाएर बिच्किएका गोरुले हलो र हली दुबैलाई घिस्स्याएर बारीको पल्लो छेउमा पु¥याइसकेका थिए । जुवाबाट हलो फुत्किएसँगै, अनौ समातेको काले घर्तीले हलो अचेट्न सकेन । जोत्दै गरेको बारीको डल्लामा पछारिन पुगेको काले घर्ती घोप्टो परेर लड्यो । जुवाले काँध बाँधिएका दुवै गोरु हाम्फाल्दै मलाग्रीको खोल्सातिर दौडिए ।

धुलो टक्टक्याउँदै उठेको काले घर्ती गोरुको पछिपछि दौडियो । उसको पछि म दौडिएँ । हामी खोल्सामा पुग्दासम्म दुवै बहर पानी पिएर केही शान्त भइसकेका थिए । रिसाएका गोरुले हान्लान् भन्ने डरले काले घर्ती खोल्साको डिलमाथि उक्लिएर बसेको थियो । घाँसको दुईवटा डाला भाँचेर उनीहरूको छेउमा पुगेको मलाई देखेर दुवै गोरु म भएतिर आए । उनीहरूलाई लिएर म घर फर्किए । सने घर्ती मेरो पछिपछि आउंँदै थियो ।


Views: 313