18th May | 2021 | Tuesday | 7:32:48 AM

नयाँ वर्ष २०७८ को शुभकामना !

शम्भु कोइराला   POSTED ON : बैशाख ३, २०७८ (८:३६ AM)

नयाँ वर्ष २०७८ को शुभकामना !

नमागिएको सल्लाह 

जीवन र जगत नै आशा र भरोसामा चलेका छन् । त्यसैले आशावादी हुनै प¥यो । भरोसा पनि गर्नै प-यो । नयाँ वर्ष २०७८ पनि नयाँ आशा सञ्चार गर्दै आएको छ । नववर्षको उपलक्षमा हाम्रो देश र यो सम्पूर्ण विश्व समुन्नत, सभ्य बनोस् र मानवताको पक्षमा अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

हामी नेपालीहरू हरेक नयाँ वर्षलाई एक अर्काप्रति शुभकामना व्यक्त गरेर मनाउछौं । व्यक्तिगत शुभकामना साटासाटका साथ हामी मुलुकको समृद्धिको कामना गरिरहेका हुन्छौं । धेरै वर्ष भयो मुलुक समृद्धिको शुभकामना साटासाट गरेको तर यो औपचारितामा मात्र सीमित भयो । मुलुकले अरूको तुलनामा खासै प्रगति गर्न सकेन । कोही कतै सुध्रिने छनक देखिँदैन । परोपदेशे पाण्डित्यंमा सबै अब्बल देखिन्छन् तर परिणाम ल्याउँने विषयमा र आफू सुध्रिने कुरामा कोही टसकोमस भएको देखिँदैन । बितेको वर्ष २०७७ हाम्रो लागि कस्तो रहृयो भन्ने विषयमा र नयाँ वर्ष २०७८ का राम्रा सम्भावनाका बारेमा यो आलेखमा चर्चा गरिनेछ । 

सत्पात्रताको खडेरी

नेपालको राजनीतिमा सत्पात्रताको खडेरी छ । केही आशालाग्दा अनुहारहरू छन् तर उनीहरू विकृत राजनीतिक धन्दा नगर्ने कारणले नेतृत्वमा पुग्न नै सक्दैनन् । हिजोका दिनदेखि चलेको यो रोग झन् झांगिदो छ । महान् नेता बीपी कोइरालाले भन्नुभएजस्तै राजनीतिमा सुकिलामुकिला हावी भएका छन् । नेतालाई दाम, दस्तुर र भक्ति अर्पण गरेपछि मात्र अगाडि बढ्न सकिने भएको छ । 

राजनीति नै विकृत भइसकेपछि प्रशासन त्यही मुहानबाट आएको पानी जस्तै भएकाले प्रशासनयन्त्र पनि राजनीतीकरण भएको छ । राजनीतिक भक्ति प्रमाणित गरिसकेपछि बुझाइने दस्तुर विभिन्न निकायमा हुने नियुक्तिको आधार बनेको छ । अहिले सबै निकायमा देखिएको नैतिक स्खलन विकृत राजनीतिको उपज हो ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि बनेको नेकपाले विसं २०७४ सालमा भएको चुनावमा दुई तिहाइ नजिकको परिणाम हासिल गरेपछि स्थायी सरकार पाउँने आशामा सर्वसाधारण नेपालीझैँ म पनि उत्साहित भएको थिएँ । एकजना प्रधानमन्त्री नजिकका हैसियत भएका व्यक्तिसँगको भेटमा केही राष्ट्रिय गौरवका आयोजनाको नाम लिएर ती आयोजनाको समाप्तिपश्चात् नेपाल अब समृद्धिको बाटोमा अगाडि बढ्ने कुरा बताएको थिएँ । 

उक्त भेटमा यो÷यो काम गर्नुपर्छ भनेर बुज्रुक बनेर मैले नमागिएको सल्लाह दिएको थिएँ । उक्त भेटमा चुनावताका राम्रो व्यक्तित्व बनाएकाले प्रधानमन्त्री केपी ओलीलाई समकालीन नेतामा अपेक्षाकृत सक्षम र राम्रो भन्न भ्याइएको थियो । यो भनाइ उनले कुरो पु¥याइदेलान् भन्ने मनशायले भनिएको थिएन । केवल मन शान्त पार्न मात्र भनिएको थियो र मनमा लागेको कुरा भनिएको थियो । यसो गर्दा मनको असन्तुष्टि शान्त हुने गर्दछ । 

आजका दिनमा आएर मेरो बुझाइ कति भ्रमपूर्ण रहेछ भनेर लज्जाबोध भएको छ । प्रधानमन्त्री ओलीको सुरुवाती दिनदेखि आफूमा शक्ति केन्द्रित गर्ने, आफ्नो आलोचना गर्नेहरूमाथि असहिष्णु बन्ने, बुद्धिजीवी र सञ्चार माध्यमप्रति आक्रामक बन्ने यति समूहप्रति बढी आशक्ति देखाउने, केही मन्त्रीलाई अनावश्यक रूपमा काखी च्यापी अरूमाथि हिलो छ्याप्ने किसिमको काम गराइले सर्वसाधारण जनतामा आशंकाको परिस्थितिले मलजल गरेको थियो । विसं २०७७ सालको वैशाख महिनाबाट प्रधानमन्त्रीबाट राजनीतिलाई प्रदूषित गर्ने खेल सुरु भयो । वैशाख ८, २०७७ मा जारी भएका दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिएपछि प्रधानमन्त्री ओलीको खराब मनशाय प्रकट रूपमा आयो ।

मुलुकको प्रधानमन्त्री, दुई तिहाइ नजिकको पार्टीको शक्तिशाली अध्यक्ष भएको नाताले उहाँको दायित्व आफ्ना सहकर्मी, सहयात्रीलाई सँगसँगै लिएर हिँड्नुपर्ने कर्तव्य थियो तर उहाँले उल्टो हिँड्न रोज्नुभयो । उहाँको दिल, दिमाग आफ्नालाई समाप्त पारेर अन्यसँग शक्ति बाँडफाँड गर्नेतिर लाग्यो । अरू त के कुरा तटस्थ रहनुपर्ने र सम्मानित भनिएका निकायसमेतमा शक्तिको बाँडफाँड गरेर हुर्मत लिने काम भयो । यो क्रम जारी नै छ । 

यो उल्टो हिँडाइ अहिले पनि कायम छ । तत्कालीन अवस्थामा व्यापक जन दबाबपछि ती अध्यादेश फिर्ता भए तापनि प्रतिगमनको यात्राप्रतिको प्रधानमन्त्रीको आकर्षण कत्ति कम भएन । पार्टी कमिटीहरूमा अल्पमतमा पर्दा विवाद समाधान गर्नुको सट्टा अहंकार प्रदर्शन गरेर आफूले ओगटेको कुर्सी छोड्नु प¥यो भने कुर्सी नै भाँचिदिनेसम्मको नसुहाउने कुरा गरेर पार्टीभित्रका आलोचकलाई तर्साउने कोसिस गर्नु भएको थियो । 

विसं २०७७ पुस ५ गते संसद् विघटनको सिफारिश गरेर उहाँले कुर्सीमात्र होइन संविधान नै भाँच्ने अक्षम्य राजनीतिक अपराध गर्नु भयो । त्यो सिफारिशलाई विनापरामर्श स्वीकृति दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमालाई विवादास्पद बनाउनुभयो । प्रधानमन्त्रीलगायत सबै पार्टीका नेताहरूले विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन भएपछि अदालतलाई प्रभावित गर्ने काम गरे । अदालत, निर्वाचन आयोग, सबैतिर सेटिङ मिलाएको चर्चाले व्यापकता पायो । यद्यपि, व्यापक जनदबाबका कारण संसद् पुनःस्थापना त भयो तर अर्को फैसलाबाट राजनीतिक संकट निम्त्याउन जजहरू सहयोगी बने । 

संविधानले कल्पनै नगरेको संसद् विघटनको गैरसंवैधानिक काम गरेकोमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आक्रामक विरोधमा उत्रनुपर्नेमा औपचारिकता पूरा गर्नमात्र विरोध गरेजस्तो ग¥यो । त्यो पनि पार्टीभित्र र बाहिरको जन दबाब थेग्न नसकेरमात्र यसो गरिएको भान हुन्थ्यो । पार्टी सभापति देउवाको त संसद पुनःस्थापना नहोस् भन्ने मनशाय स्पष्टै देखिन्थ्यो । उहाँको बुझाइ कम्युनिष्टहरू विभाजित भएको बेलामा चुनावमा गयो भने आफू र आफ्नो पार्टीलाई लाभ पुग्छ भन्ने नै हो । वैदेशिक शक्तिको चलखेल ओली, देउवा, महन्थ ठाकुर समीकरण बनाउन करार भएको देखिन्छ । चुनाव भएको अवस्थामा पार्टीलाई पुग्ने लाभले पुनः पार्टीसभापति बन्न सजिलो हुने बुझाइ देउवाको रहेको हुनुपर्छ । 

वर्ष २०७७ राजनीतिक हिसाबले संविधान डिरेल गरेर अस्थिरता सिर्जना गर्ने वर्षको रूपमा रहृयो, राज्यका अन्य अंगहरू पनि सही समयमा सही निर्णय दिन नसकेर अस्थिरताका कारकका रूपमा रहे । संविधान पुनःस्थापना भएपछि मुलुकलाई राजनीतिक निकास दिनमा भन्दा पार्टीहरू हलो अड्काउनमै व्यस्त देखिन्छन् । समग्रमा भन्नुपर्दा गएको साल २०७७ राजनीतिक अस्थिरता र राज्यका अन्य अंगहरू कमजोर बनेको वर्षको रूपमा रहृयो । 

यद्यपि, कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरिनु र त्यसमा संसदमा सर्वसम्मति देखिनु सकारात्मक पक्ष थियो । तर, यो काम पछिल्लो दिनमा भारतीय इशारामा मुल्तवीमा परेको आभास भएको छ । समग्रमा, वर्ष २०७७ मा मुलुकले राज्य संयन्त्रमा सत्पात्रताको अभावमा असामान्य कष्टको सामना गर्नु प¥यो ।

समस्या कोभिड १९ र आर्थिक गतिविधिको

गत वर्षको वैशाखमा केही संख्यामा कोरोना संक्रमित देखिएका कारण मुलुक लक डाउनमा थियो । मानिसहरू घरमा कैद भएर बसेका थिए । अर्थतन्त्र ठप्प भएको थियो । आज कमाएर आजै खानुपर्ने वर्गलाई ठूलो समस्या भएको थियो । यो अवधिमा अर्थतन्त्रले ठूलो मार खेप्नु प¥यो । कूल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षमा १.२ प्रतिशतमात्र पुग्ने अनुमान गरिएको छ । धेरैले रोजगारी गुमाएका छन् । वैदेशिक रोजगारका गन्तव्य बन्द भएका कारण वैदेशिक रोजगारको अवसर गुम्यो । 

गरिबी बढ्यो । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकमा भित्रिने रेमिट्यान्सको दर खुम्चिएको छ । माघ महिनासम्म १० प्रतिशत रहेको वृद्धिदर फागुनमा ८.६ प्रतिशत सीमित छ । अनौपचारिक प्रणाली (हुण्डी) पुनः सक्रिय भएका कारण रेमिट्यान्सको वृद्धिदर घट्न थालेको अनुमान गरिएको छ ।

कोभिडका कारण धेरैमा मानसिक समस्या देखाप¥यो । हालसम्म लगभग ३०७० जनाको मृत्यु भयो भने संक्रमितको संख्या तीन लाख पुग्न लागेको छ, सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा विश्वकै पहिलो देश बनेकाले त्यसको प्रत्यक्ष असर नेपालमा परिरहेको छ । नेपालले समयमै ध्यान पु¥याएन भने संक्रमणले भयावह रूप लिन सक्नेतर्फ विज्ञहरूले सतर्क गराएका छन् । वर्ष २०७७ कोभिड १९ महामारीका कारण विस्मृतिमा राख्न लायक वर्षको रूपमा रहृयो । यद्यपि केही स्वास्थ्य पूर्वाधार थपिनु, गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको काम आंशिक सम्पन्न भई काठमाडौं उपत्यकामा पानी आइपुग्नु सकारात्मक उपलब्धि रहे । 

समाजमा महिला हिंसामा वृद्धि भयो । बलात्कारका घटनाले वर्षभरि नै चर्चा पाइरहे । संसद विघटनको विरोधमा र समर्थनमा जनता उतार्ने प्रतिस्पर्धाका गाउँठाउँमा मानिसलाई प्रलोभन दिएर ल्याउने क्रमले समाजलाई नै भ्रष्ट बनाउने काम ग¥यो । राजनीति गर्नेमाथि सर्वसाधारण जनताको सम्बन्ध व्यक्तिगत लाभ लिने र दिनेको जस्तो बन्यो । बन्ने क्रम जारी छ । यसरी सामाजिक रूपमा वर्ष २०७७ उपलब्धिपूर्ण रहेन ।

वर्ष २०७८ को शुभकामना ! 

वर्ष २०७८ कोरोना कहर बढ्ने क्रमसँगै प्रारम्भ भएको छ । राजनीतिले सही दिशा समात्न सकेको छैन तथापि नयाँ वर्ष मुलुकका लागि सुखद् रहने कामना गर्ने आधारहरू देखिन्छन् । कोरोनाको धेरै किसिमका खोपहरू निस्केका छन् । केहीमात्रामा खोप ल्याएर प्राथमिकताका आधारमा लगाउने काम सम्पन्न भइसकेको छ । अरू खोप ल्याउने तयारी भइरहेको छ । आशा गरौं, सबै नेपालीलाई पुग्नेगरी खोपको आपूर्ति हुनेछ र कोरोना कहरले नेपालको समाज र अर्थव्यवस्थालाई क्षति पु¥याउने छैन ।

विश्व बैंकले हालै जारी गरेको प्रतिवेदनमा चालु आर्थिक वर्षमा नेपालले २.७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको छ, जबकि गत वर्ष चालीस वर्षपछि आर्थिक वृद्धि ऋणात्मक थियो । आशा गरौं अरू आर्थिक सूचकांक सकारात्मक रहने छन् र नेपालको अर्थतन्त्र क्रमशः सही दिशातर्फ उन्मुख बन्नेछ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटका अनुसार अहिले भएको निर्यात व्यापारमा नेपालले १२ गुणासम्म वृद्धि हुनसक्ने सम्भावना रहेको भनी औंल्याएको छ । नेपालको उपयोग गर्न सकिने निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर हो तर अहिले करिब ७६ करोड डलरमात्र भइरहेको छ । यो गुमेको निर्यात क्षमता हासिल गर्न पर्यटन क्षेत्रमा सुधार गर्नुपर्ने, वैदेशिक लगानी आकर्षित गर्न प्रक्रिया सरलीकृत र सुव्यवस्थित गर्नुपर्ने, निर्यात प्रबद्र्र्धनलाई आधुनिकीकरण गर्नुपर्ने, निर्यातकर्ताको क्षमता सुधार गर्नुपर्ने, व्यापार लागत घटाउनुपर्ने, डिजिटल व्यापार र ई वाणिज्यलाई बढावा दिनुपर्ने विषय प्रतिवेदनमा जोड दिइएको छ । 

वर्ष २०७८ मा नेपाली जनताले नचाहेको चुनाव थोपरिने सम्भावना भएको वर्ष हुनसक्ने परिस्थिति देखिँदैछ । कोरोनाको बढ्दो लहरसँगै चुनाव गर्नु सबै हिसाबले जायज छैन । आशा गरौं, नेताहरूमा सद्बुद्धि पलाउनेछ र समयमा मात्र आवधिक निर्वाचन हुनेछन् । राष्ट्रका नाममा सम्बोधन गरेर अहंकार प्रदर्शन गर्नु र यसरी कर्मकाण्ड निर्वाह गर्नुभन्दा जिम्मेवार नेताको रूपमा राजनीतिमा नैतिकता केही अर्थ राख्ने विषय हो भन्ने आभास दिन सकेमा मुलुकको हितमा हुनेछ । अपेक्षा गरौं, वर्ष २०७८ ले राजनीतिकर्मीमा सकारात्मक सोचलाई बढावा दिएर मुलुक अग्रगमनतर्फ बढ्नेछ ।

वर्ष २०७८ माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुने वर्ष हुनेछ । यसले नेपाल विद्युत् प्रधिकरणलाई थप ४५६ मेगावट बिजुली प्राप्त हुनेछ । पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउनेछ र कोभिडले नकारात्मक रूपमा प्रभावित गरेको पर्यटन व्यवसायलाई फष्टाउने अवसर दिनेछ ।

नेपालको विकासको सम्भावना भएको ऊर्जा क्षेत्रमा आशालाग्दा संकेतहरू देखिएका छन् । ठूला आयोजना र केही साना आयोजना सम्पन्न हुने अवस्थाम छन् । यसले मुलुक विद्युत्मा आत्मनिर्भर भई विद्युत् निर्यातको ढोकासमेत खोल्नेछ । पर्यटन उद्योगको विकासका लागि शान्ति सुरक्षा र पूर्वाधारको विकास मुख्य आधारशीला हो । नेपालमा सक्रिय हिंसा प्रेरित भूमिगत संगठनहरू सबैले हिंसा त्यागेर मूल धारमा आएको अवस्था भएकाले शान्ति सुरक्षाको चुनौती अन्त्य भएको छ भने पूर्वाधारको विकासमा केही सुधार भइरहेको छ । 

अर्को सम्भावनाको क्षेत्र कृषि हो । कृषिमा युवाशक्तिलाई आकर्षण गरेर नयाँ प्रविधिको प्रयोगबाट ग्रामीण गरिबीलाई कम गर्नुपर्ने अवस्था छ । यसमा हाम्रा प्रयास क्रमशः सुधारोन्मुख देखिएका छन् । आशा गरौं यी क्षेत्रमा भएको सुधारले नयाँ वर्ष २०७८ ले नेपाल आमालाई शुभ गर्नेछ । सबैमा नयाँ वर्ष २०७८ को हार्दिक शुभ कामना । 


Views: 180