16th May | 2021 | Sunday | 1:36:37 AM

विद्यार्थीको अनुहारमा ट्यास्स फेसशिल्ड र मास्क टाँस्न बाध्य पार्दा सुरक्षात्मक उपाय पूरा हुन्छ ?

महेश थापा   POSTED ON : बैशाख ३, २०७८ (६:०२ PM)

विद्यार्थीको अनुहारमा ट्यास्स फेसशिल्ड र मास्क टाँस्न बाध्य पार्दा सुरक्षात्मक उपाय पूरा हुन्छ ?

कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै स्वास्थ्य मन्त्रालय र सीसीएमसीले विद्यालयहरूमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस गर्यो । यस्तो सिफारिस हुनसक्ने खबर चुहिनासाथ सक्रिय प्याब्सनलगायत निजी विद्यालय संचालकहरूका बहुरंगी संगठनहरूले विरोधमा विज्ञप्ति निकाले । उनीहरूको जिकिर थियो– “बरू सुरक्षात्मक उपाय राम्रोसँग अपनाऔं, विद्यालय बन्द नगरौं ।“

यसबीच सुरक्षात्मक उपाय ’राम्रोसँग’ अवलम्बन गर्नबाट केले रोकेको थियो त हाम्रा विद्यालय संचालकहरूलाई ? के सरकारले तोकेको भौतिक दूरी कक्षाकोठामा मेन्टेन गरेर पठनपाठन गराउन सक्षम छन् यी संगठनहरू ? कक्षाकोठाको त कुरै छाडौं, बहुसंख्यक निजी विद्यालय प्रांगणमा सुरक्षित उभिने स्पेससमेत हुँदैन विद्यार्थीलाई । तीन हजार विद्यार्थी पढ्ने विद्यालयमा दुई रोपनी खुल्ला स्पेस नभएको हामीले देखेकै छौँ । विद्यार्थीको अनुहारमा ट्यास्स एउटा फेसशिल्ड र मास्क टाँस्न लगाएको देखाएर सुरक्षात्मक उपाय पूरा हुन्छ ?

भौतिक पूर्वाधारको अवस्था हेर्दा जनघनत्व बढी भएका ठूला सहरी क्षेत्रमा भौतिक कक्षा संचालन गर्न दिने निर्णय नै गलत थियो । साधन अभावमा अनलाइन कक्षा लिन असमर्थ विद्यार्थीहरूको लागि मात्र भौतिक कक्षा चलाएको भए दूरी मेन्टेन गर्न सकिन्थ्यो । र त्यही कक्षामा अनलाइन पढ्नेहरूलाई पनि जोड्ने गरी प्राविधिक तैयारी गर्न सकिन्थ्यो । तर त्यतापट्टि ध्यान गएन । संचालकहरूले सजिलो र नाफामुखी उपाय मात्र हेरे । 

एउटा डेस्कमा एक वा दुई विद्यार्थी मात्र राख्नेगरी कोभिडपछि भौतिक कक्षा आरम्भ गराइयो । त्यसो गर्न एक दिन बिराएर विद्यार्थी स्कूल जान्थे । पन्ध्र दिन हेर्ने कुरा थियो । तर त्यति पनि नकुरी नियमित कक्षा संचालन गरियो । धन्दा चलेपछि सुरक्षात्मक उपाय बालै भएन । एउटै डेस्कमा चार जना खाँदेर कक्षाकोठालाई भेडीगोठ बनायो, अनि मोबाइलमा ’६ फिटे दूरी’को ढ्वांग फुकायो । हाजमोलाबिनै जे पनि मज्जाले पचाइदिने मान्छेचाहिँ जुलुमै हौं हामी !

पाँच हजार जति सहरी स्कूले विद्यार्थीको र्यान्डम स्याम्पल लिएर पीसीआर तथा एन्टीजेन टेस्ट गरिहेरौं त, कस्तो चित्र आउँछ ? 

निजी क्षेत्रले नाफाबाहेक अर्थोक हेर्दैन भनेर त राज्य चाहिएको । तर व्यापारिक दवाब थेग्न नसकी सरकारले निर्णय लिन सकिरहेको छैन । यता स्वास्थ्य मन्त्रालय ’आफ्ना छोराछोरीलाई विद्यालय नपठाइदिनुहोला’ भन्दै रोइलो गरिरहेको छ । के गाईजात्रा हो यो ?

’विद्यालय बन्द गर्ने भए सिकाइको सुनिश्चितता हुनुपर्यो’ भन्ने जस्ता प्याब्सनादिको क्रन्दनले खासै अर्थ राख्दैन । बात पैसोमा अल्झेको छ । अनलाइन पढाएर पनि सम्पूर्ण शीर्षकअन्तर्गतका शुल्क उठाउन पाइने निर्णय गरिदिएको भए अहिले यो झमेला हुने थिएन । र ’सिकाइको सुनिश्चितता’ जस्ता गह्रुँगा प्रवचन हामीले बित्थामा सुनिरहनुपर्ने थिएन । हाम्रो एजुकेशन सिस्टमले के÷कति सिकाउँछ भन्ने कुरा स्कूल÷कलेजबाट निस्कँदा हामी के जान्दथ्यौं भनेर स्वयंलाई सोध्दा छर्लङ्ग भइहाल्छ ।

आइन्स्टाइन भन्थे– ’घोकेको कुरा बिर्सिसकेपछि जे बाँकी बस्छ, त्यही शिक्षा हो !’ त्यस कोणबाट हेर्दा हामी रहने भनेको लगभग एउटा ठूलो लड्डुको आसपासै हो । त्यही लड्डुको लागि यत्रो जोखिमबीच आफ्नो छोरोलाई झोस्नु मलाई उचित लागेन । मैलेचाहिँ अब उसलाई ’आइतबारदेखि कलेज जानुपर्दैन, आफै पढेर परीक्षा दिए हुन्छ’ भनिदिने निधो गरेँ । बाह्र पढ्ने केटो, टेर्ला÷नटेर्ला उसैको कुरा भो ।

यो विचार थापाले आफ्नो सामाजिक संजालमार्फत व्यक्त गर्नुभएको हो ।

Views: 254