16th May | 2021 | Sunday | 2:56:07 AM

सोझोबांगो : शहर बस्ने बहर–रहर, कहरै–कहर !

बद्रीप्रसाद दाहाल   POSTED ON : बैशाख ४, २०७८ (९:३० AM)

सोझोबांगो : शहर बस्ने बहर–रहर, कहरै–कहर !

म मोरो गुच्चेलाई फुच्चे हुँदादेखि शहर बस्ने रहर बहर भएर भित्रैदेखि डुक्रिएको थियो । कमाउने ट्याक्टिसमा छक्कापञ्जा गर्न भने आपूm नाथे ठन्डाराम ! तै चाइनिजहरूले पोखरा जाने राजमार्ग खनिदिएकोले पृथ्वीराजमार्गमा पर्ने बलौटे माटोका विनाकामका खोरियाका ढिस्काहरू नम्बरी सुनको हजुर्बाउ बने । त्यसैले त मूल शहर राजधानीमै बस्नसक्ने भाग्योदय चिठ्ठा परिहाल्यो म मोरो अल्छी तिघ्रो स्वादे जिब्रोको मनुवालाई । अनि त भनेबमोजिमको घरबनाएर बस्न थालेको दुई दशकभन्दा बढी भयो पनि । 

भुरैदेखि शहरमा बस्ने बहर बनेको मेरो मनको रहर यतिखेर कहर र जहरजस्तो ठहर भएको छ । देशको राजधानी, कलाको नगरी, देउतै देउताहरूको वासस्थान, पर्यटकहरूको आकर्षक महापत्तन यतिखेर विश्वकै एक नम्बरको प्रदूषित खत्तम महानगरीमा दर्ता भएको कुराले मनै भंग्रालिएको छ । हरेक मामिलामा बिप्ल्याँटोबाट प्रथम हुने प्रतिस्पर्धामा रहेको यो महाशहर स्वास्थ्यको दृष्टिकोणले त अति नाजुक बन्न पुग्यो । भीम काय भवन र अति महँगा हस्पिटल चर्को उपचार मूल्य र अनावश्यक अंगका समेत रंग न ढंग जाँच गराउन लगाएर बिरिल–बिरिल पैसा झार्ने स्वास्थ्यमाफियाको बिग्बिगी विचित्रकै पो छ त ?

उपचारशालाको डिपोजिट रकम, प्रयोगशाला शुल्क, डा. परीक्षण चार्ज र ओखतीको भुक्तानी चुक्तानी गर्दा बाउकै बिहे देखाउँछ बा बा ! ब्रेकफाष्ट नलिई, ब्रेकफाष्ट लिएर, खाना खाएर, खाजा भकुरेर अर्थात् खाली, अर्ध खाली टन्न पेट पारेर मलदान, मूत्रदान, खकारदान रक्तदान इको, इसिजी, एक्स्रे गर्दा गर्दै हालाबाला र हत्तुहैरान । सद्दे मान्छे पनि झन् बिरामी हुने थिति आउँदो रहेछ । लुट्ने घरको धन्दाले आमपेसेन्टलाई उपचार गर्ने काम निल्नु कि ओकल्नु वा राम राम भन्दै हराम बनेर भागूँ जस्तो बनाउँछ हे दैव ! 

काठमाडौंलाई व्यस्त महाशहर भन्नुभन्दा अस्तव्यस्त स्याटलाइट महासिटी भन्नै राम्रो हो भनेर जानिफकारहरू बताउँछन् । यतिखेर त सुविधविहीन शहर पनि दुविधा नभई स्मार्टसिटी, मेघासिटी, स्याटेलाइटसिटी र के के हो के के अंग्रजी नामको झिल्के ठिटी बनेका छन् । त्यही कारण त भद्दा जनकर असुलेर वडाध्यक्ष तहको जनप्रतिनिधि पनि कारमा अप्सरागण हार लगाएर डेटङिमा सामेल हुन्छन् । यहाँ मेलम्चीको के कुरा उनकै हजुररामा पेलम्ची आए नि धाराबाट पानी झर्नु भनेको उन्यू फुल्ने र ढुंगा टुसाउँनेजस्तै हो । 

झन्नै चौतीस लाख सबारी साधन दैनिक गुड्ने हुँदा यहाँको सडक पिचको हजुर्बाउ नै गरे नि नाफाखोर ठेकेदारहरूका करामतले तीन महिनामै भक्लक भक्लक उप्किन थालिहाल्छन् अनि त धुलाको राज्य चलिहाल्छ । हिँउदभर धुलोधुवाँको घोलनले कुइरिमण्डल बनाउँछ भने बर्खामा गज्याउ–गज्याउ दब्दबे हिलो, टुटेफुटेका ढल, असरल्ल फुटपाथे पसल, मान्छेको भीड र घुम्ती छाप्राहरूले ठूला शहर बस्नै नहुने प्रदूषित नरक भइरहेका छन् । 

उमेर घर्किसकेका पुराना गाडीहरूले फ्याँक्ने टनका टन धुवाँ फुटपाथे मनुवाका नाक कान घाँटी हुँदै फोक्सो र मुटुमा गएर समाधिस्थ हुन रुचि राख्छ । धुलो र धुवाँमा लुकामारी खेल्दै कति दिन महानगर नामधारीमा महाकहरको यात्रा जारी राख्ने त गाँठे यो चरम फोहरमा शरम नमानी ? वातावरण प्रदूषण नाप्ने यान्त्रिक ठाँडो ठाम ठाममा झुण्ड्याएको पनि छ, हरियो स्टिकर टाँसिएका गाडीहरू प्रदूषणमुक्त छु भन्दै यसपालि लागेको दावानलको धुवाँ बिर्साएर मुस्लोका मुस्लो विरेचन गरिरहेका छन् । 

पैँतीस रुपैयाँ पर्ने स्टिकरमा हजार थपिदिएपछि जतिसुकै बुढा गाडीहरू पनि तन्नेरी बन्ने अनुमति दिएर मति बिग्रिएकाहरूले के के गरे गरे । हरे दैव यो देशको कानुन, भगवान्ले जानुन् भनेको बल्ल पो थाहा पाइयो । साँच्चै दिलदेखि जाँच गर्ने हो भने यहाँ चल्ने आधाजति सवारीसाधन सबारी मर्मत चिकित्सालयमा पुग्छन् र कतिपय त संग्रहालयमा आजीवन रेष्ट गर्न पाउँछन् । व्यवस्थाले आधुनिक फेसन जति फेरे देश खाने लड्डुभक्त ढड्डुहरूका व्यसन वा आदतमा झन् संक्रामक भ्रष्ट कोरोनाले गालेको गाल्यै बनायो । 

यसरी महानगरदेखि लघुनगरसम्म प्रदूषण टम्म र डम्म भएर गच्छेअनुसार जनतालाई सित्तैमा सयौं रोगहरू भोग गर भनिरहेका छन् । ठूला तर लुला, तुला, दुला मुला खाले मान्छेहरूले उखानटुक्का, वाक्पद्धति, मुहावरा, शास्त्रीय सूक्ति, देशविदेशको उदाहरण दिएर शहरी कहरलाई बहर बनाउने रफ्तार जारी राखेका छन् । त्यसैले त शहर बस्ने मजस्ता असंख्यका बहर रहरमा असुरक्षित मासु पसल आँसु झार्दैछ । कुइगन्धे मिलावटी मिष्टान्न भण्डार लाजै नमानी विष्ठान्न बाँडिरहेका छन् । 

बस नामधारी उठ् सेवा गुन्द्रुक बनाएर पेसिन्जरको जिउडाल नै कुच्याउँनमै मस्त छन् । निउरिमुन्टे न भइसकेका सागहरू खागकै मोल लिएर कुर्लिरहेका, हे हरि मजस्ताको महाशहर बस्ने बहर रहर कहर कडा जहर र तासको दहर बनेकाले सधैंको भुटभुटीमा महँगी, रोग, लुटखसोट, बेथिति, झगडा, रगडा र फट्याइँको निरिह साक्षी बनेर कहरमा जीवन काट्ने क्रम जारी छ । मुर्दावाद–मेरो बहर, रहर, शहर, लहर, कहर र जहर ! ! ! 


Views: 176