21st June | 2021 | Monday | 11:52:53 AM

नेपाली कांग्रेसको चौधौं महाधिवेशन र वैधानिकता

डा. राजकुमार राई   POSTED ON : जेठ २, २०७८ (१२:०३ AM)

नेपाली कांग्रेसको चौधौं महाधिवेशन र वैधानिकता

नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो । पार्टीको विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन हरेक चार–चार वर्षमा हुनु पर्दछ । विशेष परिस्थितिले गर्दा ४ वर्षभित्रमा अर्को महाधिवेशन गर्न नसकिएमा एक वर्षसम्म म्याद थप गर्न पाउने सुविधा पार्टीको विधानले दिएको छ । तेह्रौं महाधिवेशन भएको २०७७ साल फागुनमा ५ वर्ष पूरा भयो । त्यो समय सीमाभित्र पनि चौधौं महाधिवेशन हुन नसकेकोले संविधानमा उल्लेख गरिएको राजनीतिक पार्टीहरूले ५ वर्ष ६ महिनाभित्रमा अधिवेशन गरिसक्नु पर्ने भन्ने प्रावधानलाई टेक्दै २०७८ भदौ ७ देखि १० सम्ममा केन्द्रको अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रकाशन भएको छ । 

तर, जिल्लाहरूबाट क्रियाशील सदस्यता टुङ्गो लाग्न ढिलो भइरहेको र हाल आक्रामक ढङ्गले फैलिरहेको कोरोनाको कहरलाई हेर्दा नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकिएको समयमा हुनेमा धेरैले शंका गरेको पाइन्छ । केन्द्रले विवाद नभएका जिल्लाहरूलाई क्रियाशील सदस्यहरूको फारमको काम सक्न वैशाख १५ सम्म र समस्या भएका जिल्लाहरूलाई वैशाख अन्तिमसम्मको म्याद दिएको थियो । 

तर, यही बीचमा कोरोनाको कहर बढेर सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेकोले सो काम कतिपय जिल्लाहरूमा सम्भव भइरहेको छैन । कोरोनाको कहर कति समयसम्म लम्बिन्छ त्यो ठ्याक्कै भन्न सकिने अवस्था पनि छैन । यदि पछिल्लो पटक तोकिएको समय (२०७८ भदौ) मा पनि महाधिवेशन नहुने हो भने नेपाली कांग्रेस पार्टीमा संवैधानिक संकट आउँछ भनेर धेरैले चिन्ता व्यक्त गरेको पाइन्छ । 

सँगसँगै यो संवैधानिक संकट टार्नका लागि कानुनका विभिन्न छिद्रहरू प्रयोग गर्न सकिन्छ भन्ने बजार हल्ला पनि छ । उदाहरणका लागि अध्यादेशमार्फत संविधानमा उल्लेख भएको ५ वर्ष ६ महिनाको प्रावधानलाई बदलेर समय अवधि बढाउँन सकिन्छ । त्यस्तै कुनै अमुक पार्टीसित पार्टी मिलन गरेको नाटक गरेर महाधिवेशनलाई अर्को ५ वर्षसम्म पछाडि धकेल्न सकिन्छ । अथवा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३’ मा उल्लेख भएको प्रावधानअनुसार ५० हजार रुपैयाँ जरिवाना तिरेर अरू ६ महिनासम्म लम्ब्याउन पाइन्छ । यसरी कानुनको आधारमा टेकेर पार्टीको वैधानिकतालाई निरन्तरता दिन सक्ने यी उपायहरू भएपनि आवधिक निर्वाचनबाट पार्टीले पाउने जुन नवजीवन हो त्यसबाट वञ्चित हुने छ । 

पार्टीको आवधिक अधिवेशन हुनु भनेको पार्टीले प्राकृतिक रूपमा श्वासप्रश्वास क्रिया गर्नु सरह हो । अर्थात् पुरानो अशुद्ध हावा फालेर र नयाँ शुद्ध हावा लिनु सरह हो । अशुद्ध भइसकेको पुरानो हावाले जीवनलाई तन्दुरुस्त राख्न सक्दैन । जसरी शरीर स्वस्थ रहनका लागि बीच बीचमा नयाँ शुद्ध हावा लिइराख्नु पर्छ र अशुद्ध हावालाई बाहिर फाल्नु पर्छ त्यसरी नै पार्टीहरूलाई नयाँ ऊर्जा दिनका लागि अनिवार्य तोकिएको समयमा अधिवेशन भइरहनु पर्छ । समयमा अधिवेशन नगरेर कानुनी तबरले मात्र पार्टीलाई वैधानिकता दिनु भनेको पार्टीलाई भेन्टिलेटरको प्रयोगद्वारा कृत्रिम तरिकाले श्वासप्रश्वास गराएर जीवन्त राखिएको बिरामी जस्तो बनाउनु हो । त्यसो हुँदा पार्टीले मुलुक र जनताको लागि आफ्नो सान्दर्भिकता गुमाउँदै जान्छ । 

अर्कोतिर पार्टीको विधानअनुसार तोकिएको समय अवधिमा अधिवेशन हुनु भनेको पार्टीको आन्तरिक लोकतन्त्र मजबुत र सुनिश्चित बनाउनु हो । आवधिक अधिवेशनले पार्टीहरूलाई गतिशील बनाउँछ र पार्टीको भविष्य सुन्दर हुनका साथै लोकतन्त्र पनि सुदृढ हुन्छ । कार्यकर्ताहरूमा ऊर्जा ल्याउँछ, संगठन विस्तार हुन्छ, नेतृत्वलाई पुनर्ताजगी गराउँछ, पार्टीमा बहस छलफल भई नयाँ नयाँ विचारहरू सिर्जना हुन्छन् र नयाँ नेतृत्वको विकास हुन्छ । 

हुन त यो बीचमा कोरोनाको कहरले जनजीवनलाई त्राहिमाम बनाइरहेको छ । परिस्थिति त्यति सहज छैन तर नेतृत्वको इच्छाशक्ति हुने हो भने यसका लागि छलफलबाट अनेक उपायहरू निकालेर तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सकिन्छ । गत वर्ष कोरोनाको कहरले आक्रान्त हुँदाहुँदै पनि अमेरिकाको राष्ट्रपतिको निर्वाचन भयो, भारतका विभिन्न राज्य सरकारहरूको निर्वाचन भयो, नेपालमै पनि पत्रकार महासंघको निर्वाचन सम्पन्न भयो । त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि भर्खरै अधिवेशन सम्पन्न ग¥यो । 

तोकिएको समयमा महाधिवेशन गर्ने इच्छाशक्ति नहुँदा नेतृत्वमा रहेकाहरूले कोरोनाबाहेक अन्य कुतर्कहरू पनि दलिल गर्न सक्छन् । जस्तै ः तोकिएको समय अवधिमा अधिवेशन नगर्ने नेपाली कांग्रेस मात्र होइन । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी पनि छन् । नेकपा एमालेले पछिल्लो अधिवेशन २०७१ सालमा गरेको थियो भने नेकपा माओवादी केन्द्रले २०६९ सालमा गरेको थियो । जनता समाजवादी पार्टीको कुरै छोडौँ उनीहरूले पार्टी मिलनको नाममा कहिल्यै पनि अधिवेशन गर्नु परेको छैन । 

त्यस्तै यो पनि भन्न सकिन्छ – संविधानै संशोधन गरेर म्याद थप्ने घटना नौलो होइन, पार्टी सभापति सुशील कोइरालाको पालामा पनि संविधान संशोधन गरेर म्याद थप गरिएको थियो । पार्टीको विधानमा तोकिएको ५ (४ जोड १) वर्षमा तेह्रौं अधिवेशन नहुने अवस्था भएकोले प्रतिपक्षी पार्टीहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमतिमा तत्कालीन संविधानमा व्यवस्था भएको ५ वर्षको अवधिलाई नयाँ संविधान २०७२ मा ५ वर्ष ६ महिना राख्ने सहमति भएर सोही मुताविक तेह्रौं महाधिवेशन ५ वर्ष ६ महिनाभित्रमा सम्पन्न गरिएको थियो । 

वर्तमान संविधानमा उल्लेख भएअनुसार ५ वर्ष ६ महिनाभित्रमा यो चौधौं अधिवेशन नहुने हो भने यो पनि एउटा नयाँ इतिहास बन्ने छ । यसभन्दा पहिला सबैभन्दा लामो रिक्तता सातौँ (२०१७) र आठौँ (२०४८) महाधिवेशनका बीचमा भएको थियो । त्यसपछि भएका सबै महाधिवेशनहरू (तेह्रौं महाधिवेशन बाहेक) ५ वर्षभित्रमा भएका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा पनि एघारौँ अधिवेशन (२०६२), दशौँ अधिवेशन (२०५७) भएको ५ वर्षमा सम्पन्न भएको थियो । नेपाली राजनीतिमा नेपाली कांग्रेस लोकतन्त्रको जननी भएको नाताले यो पार्टीले जे जसरी भए पनि तोकिएको मिति अर्थात् २०७८ भदौमा चौधौं महाधिवेशन सम्पन्न गर्नु पर्दछ । यदि यो महान कार्यबाट पन्छिने हो भने नेपाली कांग्रेस आफँै लोकतान्त्रिक पार्टी बन्न सक्दैन । त्यसो हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत अरू पार्टीहरूबाट के आशा गर्ने ? विधि, विधान र पद्धतिलाई नमानेर पार्टीहरूले आवधिक अधिवेशन नगर्ने हो भने लोकतन्त्र वास्तवमा दलतन्त्र र त्यसमा पनि नेतातन्त्रमा परिणत हुन्छ । 

यस्तोमा जालझेल, तिकडमबाजी र षडयन्त्रको राजनीतिले प्रश्रय पाउँछ । पार्टी र सम्पूर्ण व्यवस्था नै जाली फटाहा र बदमासहरूको खेलो गर्ने साधन बन्दछ । नैतिकता र इमानदारको राजनीति ओझेलमा पर्छ । बेइमान र धुर्तहरूको जगजगी हुन्छ । साथै पार्टीको महाधिवेशनलाई विभिन्न बहानाबाजीमा लम्ब्याउँदै जाने हो भने राजनीति पनि एकपटक लोकसेवा उत्तीर्ण गरेर जिन्दगीभर जागिर र पेन्सन खान पाउने पेसाजस्तो बन्नेछ । 

त्यसकारण पार्टी नेतृत्वले महाधिवेशन आफूअनुुकूल हुने हो कि होइन भन्ने नसम्झी, कुनै पनि बाहनाबाजी नगरी इमानदारीपूर्वक चौधौं महाधिवेशन तोकिएकै मितिमा गराउनु पर्छ । पार्टीमा संवैधानिक संकट आउँन नदिनका लागि पार्टी नेतृत्वले दृढ इच्छाशक्ति देखाउनु पर्छ । नत्र अहिलेका नेतृत्वपंक्तिले अक्षमता र कलङ्कको भारी इतिहासको कालखण्डभरि बोक्नु पर्ने हुन्छ ।


Views: 1053