शास्त्रमा लेखिएको महिला विभेद कि बन्धन ?

✍️ मुना धिताल   POSTED ON : श्रावण २२, २०७८ (६:३२ AM)

शास्त्रमा लेखिएको महिला विभेद कि बन्धन ?

धर्म र संस्कृतिमा मूल कुरा फरक हुन्छन् । ज्ञान र विज्ञान धर्म र संस्कारबाट नै आधारशिला निर्माण भएका हुन् । गहिरो अध्ययन गरेर ज्ञान आर्जन हुन्छ भने ज्ञानलाई परिचालन गर्दा विज्ञानको जन्म भएको हो । हाम्रो हिन्दू नेपाली समाजमा धर्मलाई मात्र हेर्ने परम्पराले गर्दा संस्कारलाई आज तिलाञ्जलि दिएको आभास भएको छ, अनुभूति भएको छ । धर्मका नाममा चलाइएको विकृति र संस्कारका नाममा भित्र्याइएको परदेशी संस्कृतिलाई हामीले किन आत्मसात् गरिरहेका छौं ? चासो र चिन्ताको विषय यहाँनेर हो । 

हामी धर्म र संस्कारका बारेमा किन कर्मकाण्ड गर्ने ब्राहृमण (पुरोहित) हरूलाई मात्र सोचिराखेका हुन्छौं ? धर्म र संस्कारका बारेमा विभिन्न विद्वान्हरूका विचारहरू पढ्छौं, किन हामी अनुशरण गर्दैनौं ? यही छ हामीबीचको जड कुरा अन्धकारको भुमरी । विशेषगरी हाम्रो धर्मसँग जसरी विभिन्न संस्कार, संस्कृति, परम्पराभित्रका रीतिरिवाज र मान्यताहरू जोडिएका छन् र तिनीहरूको विविधताबारे सबैमा सदा कौतुहलता छ । सबै जिज्ञासाको समाधान पण्डित, पुरोहित वा कुनै विद्वान्बाट हुनसक्छ ? कदापि हाम्रो समाजमा अहिले धर्मभन्दा संस्कृतिलाई एक दिनका लागि त्यो पनि बढी ब्राहृमण बोलाएर पूजा गरुन्जेलसम्म मात्र महत्व दिएको देखिन थालेको छ । हाम्रा संस्कृति तथा परम्पराहरू केही परिष्कृत हुँदै दुवो मौलाएझैं मौलाउँदै गएका छन् ।

शास्त्रमा लेखिएको विभेद कि बन्धन ? जहिले जसको कौतुहलता हुने गर्छ, हाम्रो धर्मभित्र संस्कृति अडेको छ कि संस्कृतिभित्र धर्म ? केही संस्कृतविद्हरू भन्नुहुन्छ मानव जातिको जन्मदेखि मृत्युसम्मका हरेक क्रियाकलापहरू हाम्रा संस्कार र संस्कृति हुन् भने जन्मेपश्चात् उसले ग्रहण गर्ने नैतिक विधि धर्म हो । यसरी हेर्दा संस्कृतिभित्रै धर्म रहेको हो कि भन्ने बुझ्न सकिन्छ तर धर्मका ज्ञाताहरू भन्नुहुन्छ– संस्कृतिको आधार नै धर्म हो, यसैको जगमा रहेर नै हाम्रो संस्कृति उभिएको हुन्छ र विभिन्न शास्त्रहरूबाटै संस्कारहरूको जन्म भएको होे, त्यहींबाटै संस्कार र संस्कृतिको प्रादुर्भाव भएको हो ।

हाम्रो हिन्दूधर्मले महिलालाई कहीं सम्मान गरिएको छ भने अर्कोतिर महिलालाई हेयका रूपमा हेरेको पाइन्छ । विभिन्न पक्षहरूमा पुरुषको स्थान उच्च हुँदा महिलालाई कमजोर मानिएको छ र नियन्त्रण गर्न खोजिएको छ । हिन्दूधर्ममा महिलालाई देवी, पवित्रता र शुद्धताका नामले पूजा गरिन्छ । 

मूलतः सारसंक्षेपमा धर्म मानव जीवनयापनको नैतिक विधि हो भने संस्कृति मानव जीवनयापनको निरन्तर व्यवहार नै हो । त्यसैगरी संस्कृतिभित्रै धर्म अडेको हुन्छ भने धर्मले संस्कृतिलाई जीवन्त राखेको हुन्छ । धर्म र संस्कार यी दुवै अन्योन्याश्रित सम्बन्धका विषय हुन्् । यहाँ हाम्रो सामन्ती समाजमा महिलालाई बत्तीस लक्षणले युक्त कहिन्छ भने पुरुषचाहिँ रसले युक्त हुनुपर्ने मान्यता कहीं शास्त्रमा छ ? त्यही कुरा पुरुषहरूका हकमा भने केही लागू नहुने पनि शास्त्र हुन्छ ? यस अर्थमा हाम्रा विविध सामाजिक मान्यता र परम्पराहरूले विभिन्न लक्षण र गुणको हवाला दिँदै महिलालाई दासत्वको जाँतोभित्र राख्ने प्रचलन परापूर्वकालदेखि यदाकदा कायमै छ ।

भानुभक्तको बधुशिक्षादेखि हाम्रा धर्मग्रन्थहरू महिला अधिकारका सन्दर्भमा निकै संकुचित रहेका छन् । चाहे त्यो वेद होस्, गरुड पुराण होस्, स्वस्थानी होस् वा बाइबल यी सबै ग्रन्थले कुनै न कुनै रूपमा महिलालाई बन्धनमा राख्ने र पुरुषलाई भने स्वच्छन्दता प्रदान गरिरहेका छन् । समानताको आवाज जति उठे पनि हामी महिलाका हकमा कहिल्यै भ्यागुताको धार्नी पुगेन । त्यही कारण सामाजिक परम्परा र रुढिवादी मान्यताले हाम्रो समाज रुमलिएको छ । 

शास्त्रीय मान्यतामा महिला 

कुरा महिलाकै लक्षण-

महिलालाई ३२ गुणले युक्त हुनुपर्ने मान्यताले अहिले पनि समाजमा उत्तिकै जरो गाडेर बसेको छ । तर, पुरुषचाहिँ कति गुणले युक्त हुनुपर्छ ? यसबारे हाम्रा शास्त्र बोल्दैनन्, या यसको व्याख्या गर्नेमा पुरुषमात्रै भएर हो । हाम्रो सामाजिक मूल्यमा पुरुषको कुनै लेखोट नै छैन ? महिलाका लागि चाहिँ यो एकखालको विभेद र बन्धन हो । महिलाका लागि ३२ गुणबारे शास्त्रीय मान्यता ? हिन्दू धार्मिक परम्पराअनुसार विवाहका बेला वरबधुको चिना मिलाउँदा महिलामा हुने लक्षणलाई विशेष ध्यान दिइन्छ । खासगरी ३२ गुणले युक्त भएकी ती युवती सर्वश्रेष्ठ मानिन्छन् भनिएको रहेछ । 

अब हामी शास्त्रलाई होइन समयको विज्ञानलाई हेरौं । परिवारबाट बाहिर निक्लिएर हेरौं, विश्व समाजलाई फर्केर हेरौं । हामी आफैं महिला भनेर आफैंलाई कमजोर मानसिक वर्गमा राखिरहने हो भने कहिल्यै अगाडि बढ्न सक्दैनौं । महिला समुदायले कहिल्यै कुनै पनि पुरुषलाई कमजोर र महिलामात्रै अब्बल बनाऊँ भन्ने सोचबाट हामी महिला ग्रसित हुनुहुँदैन तर पुरुषको सोचको संकुचनचाहिँ यहींनेर आएर अड्किएको छ । महिलाको जायज अग्र स्वरलाई पोथी बासेको भन्ने गरिएको छ ।

हाम्रो नेपाली समाज विद्यमान पितृसत्तात्मक महिलाविरोधी सोचबाट स्वतन्त्र रही सामाजिक वर्गमा आफ्नो सहभागितालाई सधैं सबै क्षेत्रबाट केन्द्रित हुनुपर्छ । महिलाका हकअधिकार कानुनमा पुरुषसरह छन् । अझ हालको संविधान महिलाअधिकारमा सचेत र ग्राहृय बनेको छ । कानुनभन्दा माथि जाने हक हामी महिलाका लागि कल्पनाबाहिरको कुरा छ । जब हाम्रो समाजमा साँच्चैको परिवर्तन तब आउँछ त्यतिबेला महिलापुरुष यो पितृसत्तात्मक सोचलाई मिलेर परास्त गर्ने नै छौं । एकपटक हामी सोचौं त पितृसत्तात्मक सोच विलय भए के होला ? 

छोरा या छोरी, तिनलाई संस्कारका नाममा हामीले दिने गरेका कतिपय उपदेशका कारण महिला र पुरुषका रूपमा अन्यायपूर्ण विभाजन गराउने काम हामी आफैं परिवारभित्रैबाट गरिरहेका छौं । सोच बदल्नुभन्दा पहिला म के सोच्दैछु र भोलि यसको फल र विफलको परिणाम के हुन्छ ? त्यहाँसम्म सोचियो भने त्यो सोचको परिणामले सार्थकता पाउँछ ।    


Top